~राजन~
टिभीको रिमोट थिच्दाथिच्दै एम. टि. भि. मा पुगेर टक्क अडिएँ। राम्रो गीत आयो भनेर आवाज पनि ठूलो पारें। शायद आवाज ठूलो भयो भनेर कराउन मेरी श्रीमती भान्छाबाट कोठा तिरआउँदै थिइन्, टिभी कराउन छोड्यो। “लौ ठिक्क भयो !”, मेरी श्रीमतिले लोडसेडिङबारे जानकारी गराइन्, “अब त राती ११ बजे मात्र आउँछ।” यसो घडी हेरेको भरखर बेलुकाको ४ मात्र बजेको रहेछ। बत्तीको स्वीच अन गरेर हेरें, पक्का लोडसेडिङ नै हो रहेछ। बाहिर हेरें हल्का पानी परिरहेको थियो। यो हिउँदको अन्तिम वर्षाले वातावरण चिसो बनाएर मलाइ सिरकबाट बाहिर ननिस्कन उत्प्रेरित गरिरहेको थियो। बत्ती पनि गयो, अब के गर्ने? निराशाको बिच झुल्कने झिनो आशामा रमाउने यो मनले तुरुन्तै लोडसेडिङ नामको महामारीमा पनि एउटा आशाको त्यान्द्रो देखिहाल्यो।
“ल बुढी, आज बेलुका हामीले स्पेसल भोजन गर्ने है !” मैले झ्वाट्ट भनिहाले। “के के न स्पेसल भोजन पो हुन्छ र हाम्रोमा ? बढी भए त्यो वर्ड फ्लु त होला नि?”, ब्रोइलर कुखुरा तिर इशारा गर्दै मेरी श्रीमतीले जवाफ फर्काइहाली। एउटा “इच्छा अनेक तर रुपैयाँ एक” मात्र भएको मध्यम वर्गीय परिवारको वाध्यता मेरी श्रीमतीले स्पष्ट पारी। “त्यसो भए आज चार–खुट्टे ल्याउँ त?”, मैले विकल्प दिँदै भने। “भैगो, धेरै खर्च गर्न पर्दैन”, उनले तुरुन्तै जवाफ दिइन्। “ल त्यसो भए, आज धेरै अघि देखिको तिम्रो एउटा इच्छा पुरा हुने भयो”, मैले भनिहालें।
विदेशबाट फर्के पछि मेरी श्रीमतिले मलाइ त्यहाँको खानपिनको बारेमा धेरै सोध्ने गर्थिन्। उनको सबैभन्दा कौतुहलको विषय चाहिँ सधै रक्सी हुने गर्दथ्यो। उनका अधिकांश जिज्ञासाहरु यस्ता हुन्थेः विदेशमा त परिवार सँगै बसेर रक्सी खान्छन् रे, हो? तपाँइले चाहिँ के–के खानुभयो त? ह्वीस्की, वियर, वाइन भनेको एउटै हो? कस्तो हुन्छ त? आदि आदि। हुनत अचेल नेपालमै पनि परिवारमा बसेर वियर, वाइन खाने प्रचलन फैलिसकेको छ तर पनि आफूले यो प्रचलन अपनाउन सकिरहेको थिएन। तर आज श्रीमतीको वाइन चाख्ने सपना पुरा गर्ने विचार मैले गरिसकेको थिँए। “ल आज हामीले पनि भ्यालेन्टाइन डे मनाउने है!” मैले उत्सुकताका साथ भनें।
“आज के को भ्यालेन्टाइन नि?”
“अब हामी बुढा–बुढीले भ्यालेन्टाइन मनाउन पनि किन १४ फेब्रुरी कुर्नु प¥यो र? म कुखुरा किनेर ल्याउँछु, तिमी अरु चीज तयार पार, आज वाइन चाखेर भ्यालेन्टाइन डे मनाउने हामी पनि।”
“ल ठीक छ”, उत्सुकताका साथ उनी भान्छा भित्र गइन्।
बेलुकाको ४.३० भैसकेको थियो। म बजार जान निस्किएँ। मेरो मनले आज वाइनको साथमा क्यान्डल लाइट डिनर गर्ने विचार गरेको थियो। अँध्यारोले बाटो छोप्ने बेला भैसकेको थियो। म हतार हतार एउटा पसलमा गई क्यान्डलहरु हेर्न थालें। अब वाइनको चुस्की लिँदै खाना खान त पक्कै अलि धेरैबेर बल्ने क्यान्डल चाहिन्छ। मैले एउटा राम्रो बुट्टा भएको ठूलो क्यान्डल उठाएर मूल्य सोधें। ए गाँठे एउटा क्यान्डललाई २५०, झन्डै दिमागले कामै गर्न छोडेको। लौ त नि एक चोटि लाई ठिकै छ, जिन्दगीमा पहिलो चोटि क्यान्डल लाइट डिनर गर्न आँटेको भनेर मन थामें। अरु १० वटा स–साना रंगी चंगी सस्तो क्यान्डलहरु सहित म वाइन शप तिर लागें।
हुन त देशले प्रगति त गरेकै हो नि, केहि वर्ष अघि सम्म वाइन भनेको एअरपोर्टमा पाइन्छ भन्थे, आज मेरो टोलमा ४ वटा वाइन शप छन्। म एउटामा छिरें। हुन त आफू वाइन पारखी नभएकोले कुन वाइन राम्रो भन्ने छुट्टाउन गाह्रो परिरहेको थियो, तर रुल अफ थम्ब अपनाउँदै प्राइस ट्याग हेरेर यो वाइन राम्रो होला भनेर निकै विचार विमर्श गरें। महंगो पनि कति हो कति, ६०० देखि २५०० सम्मका। अब जिन्दगीमा पहिलो चोटि क्यान्डल लाइट डिनर गर्न आँटेको भनेर १४०० पर्ने एउटा बोतल किनेर सिधै मिट शप तिर लागें।
“मलाई आधा किलो दिनुस्…” भन्ने मुखबाट के निस्कन लागेको थियो मैले फेरी सोचें “अब जिन्दगीमा पहिलो चोटि क्यान्डल लाइट डिनर गर्न आँटेको, टाइम पनि धेरै भएको छैन, मासुको दुई थरी परिकार बनाएर टन्न खाउँला नि…”, “हैन, मलाई एक किलो दिनुस् न”। केही बेरको प्रतिक्षा पछि मेरो उत्साहजनक पाइलाहरु सबै सर–सामान लिएर घर तिर लागे।
श्रीमति अझै भान्छा मै व्यस्त थिइन्। म आएको थाहा पाएर दौड्दै कोठा तिर आइन्। “खै, के के ल्याउनु भो?”, उनले प्रश्न नभ्याउँदै मेरो हातको झोलाहरु खोतल्न थालिन्। “कति पर्दाे रहेछ यसको ?”, उनले वाइनको वोतल नियाल्दै सोधिन्। मैले फेरी पनि उही उत्तर दिएँ, “अब जिन्दगीमा पहिलो चोटि क्यान्डल लाइट डिनर गर्दै वाइन खान आँटेको, जति परे पनि छोड्देउ, एक पटक त हो नि। सधै खर्च गर्न सकिन्न क्यारे।” उनको मन अन्तै लाने हिसाबले मैले मासुको पोको दिँदै भनें, “एक किलो ल्याएको छु, दुई थरी बनाएर खाने है”।
उनी भान्छामा व्यस्त भइन्। म टेबुल सजाउन तिर लागें। टेबुलको बिचमा ठूलो क्यान्डल राखें, अरु स–साना क्यान्डलहरु टेबुलको वरिपरि राखें। एकचोटि सबै क्यान्डल बालेर हेरें, अध्याँरो कोठाको बीचमा टेबुल झलमल्ल देखियो। यस्तै त हुने होला नि क्यान्डल लाइट डिनर भनेर एक्लै रमें। टेबलमा प्लेट, गिलास, वाइन, पानी सबै राख्दै गएँ। श्रीमतीले भान्छाबाट पाकेका खानेकुराहरु दिँदै गइन्, मैले टेबुलमा राख्दै गएँ। लगभग ८ बज्न थालेको थियो, हाम्रो डिनर शुरु हुने अवस्थामा पुग्यो। क्यान्डलले कोठाको चमक नै वेग्लै बनाएको थियो। मैले वाइन गिलासमा हाल्न थालें। उनी मासु चाख्दै थिइन् वाइनको गन्धले नाक खुम्चाइन्। मैले यसको गन्ध यस्तै हो, अब चाखेर हेर भनेर दुई वटा गिलासमा वाइन भरें। एउटा गिलास उनीतर्फ बढाँए। उनले पिउनै आँटेकी थिइन्, मैले रोकें। “रक्सी त्यसै पिउनु हुँदैन रे क्या”, मैले उनलाई सम्झाएँ, “पहिले गिलास जुधाएर चियर्स भन्नुपर्छ”। उनले टाउको हल्लाइन्।
हामीले गिलास जुधाएर “चियर्स” मात्र भन्न के भ्याएका थियौं। मेरो आँखा अगाडि अखण्ड ज्योति प्रज्जवलित भएजस्तो भयो, सूर्य देवले रिसाएर मलाई घुरिरहेको जस्तो भान भयो, निद्रामा कसैले मेरो कानमा ठूलो स्वरमा “शीला की जवानी” भन्ने गीत बजाएजस्तो भयो, म एक्कासी एउटा लोक बाट अर्को लोकमा पुगे जस्तो लाग्यो। मेरो मुखबाट मात्र अंग्रेजीका ३ शब्द निस्किए, जसको नेपाली अनुवाद यस्तो थियो “थूइक्क मोरो प्राधिकरण”, एघार बजे आउनुपर्ने बत्ती आठै बजे आएर मरेछ, मेरो जीवनको पहिलो क्यान्डल लाइट डिनरको सत्यानाश गर्न ?
(श्रोत्:-Mysansar)