~सुनिल सङ्गम~
आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको तस्तै ! तर पनि म भित्र भने अचेल अचम्मको जाँगर खुबै चलेर आँउछ। पहिले त अफिस भने पछि वाक्कदिक्क लाग्थ्यो। कहिले छुट्टी लिउँ ! कहिले बिदा पर्ला ! कहिले शनिबार आउला र आनन्दले बसुँला जस्तो लाग्थ्यो तर अचेल त शनिबार नै नआए नि हुन्थियो , कुनै दिन पनि बिदा नपरे हुन्थियो, हरेक दिन अफिस खुलोस र हरेक समय त्यो रिसेप्सनको कुर्सी नछोडु जस्तो ! लाग्छ हरेक समय त्यही कुर्सीमा बसिरहुँ-बसिरहुँ त्यो कुर्सीमा बसे पछि कहिले रात नपरोस र कहिले अफिस बन्द नहोस।
अचेल घरमा पनि आमाले खाना बनाउनु हुन्न। म आफै बनाउँछु किनकी 5-10 मिनेट भए पनि छिटो गरूँ र अफिस पुगुँ अनि त्यो रिसेप्सनको कुर्सीमा थचक्क बसेर आनन्दको श्वास फेरुँ। आमा पनि अचेल मेरो जाँगर र परिबर्तन देखेर चकित हुनु भएको हुनु पर्छ किन कि पहिले-पहिले केही काम नगरी अफिस जाने मान्छे ! तर अहिले आमाले त भान्साको काम केही छुनै नपर्ने भएको छ।
अचेल म चाँडो अफिस आउन थालेको मीरालाई पटक्कै मन परेको छैन। 1-2 पटक त उनले मलाई सम्झाई पनि सकिन्। तर मेरो आफ्नै कुरा ………! मेरो परिबर्तन देखेर मीरा पनि अचेल अचम्म मान्दिहोलिन्। मीरा मेरो अफिसको सबै भन्दा पुरानो र असाध्य मिल्ने साथी हुन्। उनी सोझी , जेहेन्दार ,इमान्दार ,सरल र राम्री पनि छिन्। उनी मलाई हरेक कुरामा सल्लाह-सुझाव दिने गर्छिन्। वास्तवमा उनी मेरो परिवारको सदस्य जस्तै भए पनि अहिले सम्म मेरो घरमा भने पाइला टेकेकी छैनन्। न त म नै उनको घरमा पुगेकी छु। तर पनि हामी असाध्य मिल्छौं।
चाँडो-चाँडो अफिस आउने त मेरो आदत नै भै सक्यो। सायद उसलाई पनि मेरो आदत थाहा भयो क्यारे ! उ पनि त अचेल अलि चाँडो आउन थालेको छ। कति सुन्दर मान्छे ! अग्लो , गोह्रो .चिटिक्क परेको जुँगा अनि मीठो मधुर हाँसो , कति मायालु अनुहार ,चौडा छाती , टम्म मिलेको खाइलाग्दो जीउडाल , देब्रे तिर लरक्क लर्किएको केश ,जति हेरे पनि नघाउने रुप ! मिल्ने भए देखि त म आँखै भित्र राख्ने थिएँ ! अनि आफैलाई हेरे जस्तो ऎना भित्र हेर्ने थिएँ !
के होला उसको नाम ? कहाँ होला घर ? घरमा को को होलान् ? बिहे गरेको छ कि छैन होला ? पक्कै छैन ! भए त सँधै मलाई हेरेर हाँस्ने नै थिएन नि ! हुन त केटा मान्छेहरू केटी देखे पछि यसै गर्छन् भन्छन् ! तर मलाइ उ प्रति पुरा बिश्वास छ। हे भगवान मेरो बिश्वासको घर कहिल्य-कहिल्य नभत्कियोस। भत्किने छैन पनि। काम नै गर्ने होला कहाँ होला उसको काम ! यतै कतै नजिकै होला। नत्र किन दिनहु यही बाटो ओहोरदोहोर गर्थ्यो होला र ? काम पो कस्तो छ कुन्नि ! राम्रै होला। मान्छे त त्यति राम्रो छ। सँधै 10.00 बजे आएर 05.00 बजे फर्किन्छ सायद सरकारी जागिर हुनु पर्छ। सरकारी पनि अधिकृत नै जस्तो छ ! तलब पनि राम्रो होला ! सायद भन्सारमै होकी ! ज्यान हेर्दा पनि हाकिम जस्तै छ। प्राइभेटमा भए कहा 10.00 बजे गएर हुन्छ ! यी हाम्रो त 09.00 बजे नै खुल्छ। बरु नजिकै भएर पो गाडी नचढेको होला ! आ अब जे सुकै होस ज्यान गए नि छोड्दिन म उसलाई। अँह कुनै हालतमा नि छोड्दिन। बरु एकदिन खुसुक्क बोलाउँछु अनि सबै कुरा छर्लङ्ग सोध्छु र छर्लङ्ग भनिदिन्छु। साच्चै कति धेरै मन पराउँछ होला मलाई उसले ! नत्र किन सँधै यही बाटो हिंडछ त ? हिंडे पनि किन मेरो रिसेप्सनको कुर्सी अर्थात म बसेको तिर ढल्की-ढल्की हेर्छ ? हेरे मात्र पनि ठिकै फेरि किन मलाई नै हेरेर मुसुक्क हाँस्छ ?
अचेल उसको त्यो मधुर मीठो हाँसोमा मायाको अनुभव गर्न थालेकी छु। जिन्दगीको सपना बुन्न थालेकी छु अनि दिन-प्रतिदिन त्यो मीठो सुन्दर सपनाको संसारमा कता-कता हराउन थालेकी छु। उसको हरेक हेराईमा अचेल जिन्दगी खोज्छु म। उसको हरेक हाँसो संगै मायाको श्वास आनन्दले फेर्छु। सोच्छु अनि सम्झन्छु कति सुन्दर हुन्छ होला जिन्दगी ! कतै केही कहिल्य कमी महसुस हुने छैन। उसको भन्सारमा सरकारी अधिकृतको जागिर ! प्राइभेट नै भए पनि मेरो पनि राम्रै छ। बिहे पछि पनि म जागिर छोड्दिन। पोलिक्ल्निक बाताबरण पनि राम्रो छ। कोही बिरामी पर्दा पनि त सजिलो। तलब पनि राम्रै छ किन छोड्नु ? मेरै तलबले खान पुगी हाल्छ। उसको त पुरै जोगिन्छ। बरु गाडी छैन भने बिस्तारै त्यो पो किन्नु पर्छ। घर त राम्रै होला खानदानी जस्तो छ मान्छे हेर्दा त ! जिन्दगी साँच्चै सुनौलो हुने भो ! भगवानले पनि मेरो लागि राम्रै मान्छे पठाएको रहेछ। भावीले भाग्य पनि बलियो साइत मै लेखिदिएको रहेछ। जोडा पनि असाध्य मिल्छ हाम्रो। धन्य छ भगवान तिमीलाई पनि। सबैले डाहा गर्ने भए बा ! मेरो जस्तो भाग्य र जिन्दगी त कसैको नहुने भो।
मीराको पनि उ जस्तो राम्रो त पक्कै छैन होला। उ जस्तो हुनु त यो जुनीमा त्यतिकै हो। मीरालाई पनि एकचोटी देखाई दिन्छु त्यो मेरो मान्छे। आ होस् ! डाहा मात्र गर्छे बेकारमा भो देखाउदिन। मिल्ने साथी भनेर हुन्छ र ? हुन त सबै कुरा उनलाई भनेकी छु तर त्यो मान्छे भने कहिले पनि देखाएकी छैन मैले। बिहेमा देखिहाल्छे नि ! बरु अब चाडो भन्दा चाडो त्यो मान्छेलाई भेटेर कुरा गर्छु अनि आमालाई भनेर यही बैशाखमै बिहे गर्छु। बिहे गर्ने बेला पनि त भयो अब ! आमा पनि भन्दै हुनुहुन्थियो अब छोरी हुर्की ज्वाइको घर पठाउने !
ठिकै हुने भो। 25 बर्ष काटे पछि हामी केटीहरुको बिहे गर्न हतार नै गर्नु पर्छ। हुन पनि हो नत्र फेरि केश फुलाएर चाहुरिदै बुढी कन्या भएर बस्नु पर्छ। के को चाहुरिनु के को बुढीकन्या नि अब ! मेरो उ सँग चांडै बिहे हुदै छ नि ! आमा पनि उसलाई देखेर मख्ख पर्नु हुन्छ सायद ! सपनामा पनि कहिले सोच्नु भाको छैन होला त्यस्तो राम्रो ज्वाई त !
अब त झन मेरो राजा बोलु-बोलु गर्न थालेको छ। मलाई हेरेर नहाँसेको त दिनै छैन। मैले जस्तै उसले पनि मीठा-मीठा सपनाहरु सजाएको हुनु पर्छ। बिचरा …………..! सबै कुरा मलाइ भनेको भए पनि त हुने थियो नि ! कति निष्ठुरी छुच्चो कहीको ! आ होस एकदिन मै बोलाउँछु। समय मिलाएर कतै जानु पर्ला ! टाढा-टाढा कतै सुनसानमा जहाँ हामी दुइ बाहेक अरु कोही हुने छैन। अनि हाम्रो कुराकानी कोही कसैले सुन्ने छैन। मेरो राजालाई चाहे जति माया गर्ने छु म ! अनि उसको चौडा छातीमा लपक्क टाँसिएर मायाको श्वास आनन्दले फेर्ने छु ! उसले पनि माया गर्दै घ्वाप्प अंगाल्ने छ। अनि मेरा यी बैशालु अंग-अंग चाहे जति धीत नमरे सम्म चुम्ने छ। सपनाको सुनौलो मीठो संसारमा हामी दुवै हराउने छौं।जिन्दगीका खाली पानाहरु सबै मायाले कोरिने छ। अनि समय सँग सम्झौता गर्दै जबरजस्ती फर्किने छौं। फर्किए पछि सबै कुरा एकएक मीरालाई सुनाउने छु। उनी दंग पर्नेछिन्। डाहा/इष्या पनि गर्नेछिन्। अनि जिद्दी गर्नेछिन् र भन्नेछिन् मलाई पनि देखाई देउन त्यो तिम्रो राजा ! अनि उसको जिद्दी पन सँग म सजिलै हार्ने छु र भोलिपल्ट मेरो राजकुमार मीरालाई देखाउने छु। मीराले डाहा र इष्या सँगै धेरै-धेरै तारिफ पनि गर्नेछिन्।
खै उसलाई देखे देखि, उसले हेर्न थाले देखि मेरो मन बरालिएको छ। आजभोलि मनमा यस्तै-यस्तै कुराहरु मात्र खेली रहन्छ। उ आउने बाटो तिर मात्र आँखा दौडी रहन्छ केवल उसकै आकृति खोज्दै निरन्तर-निरन्तर ! मनभरी अनेक कुराहरु खेलाउँदा खेलाउँदै कहिले निकै चाडो अफिस आइपुग्छु। के के सोच्छु के के ! पागल्नी जस्तो ! पागल्नी नै हुन लागि सकें म ! कहिले खाना खानै बिर्सन्छु ! कहिले एउटा आँखामा मात्र गाजल पोत्छु ! निद्रा पटक्कै पर्दैन ! आँखाभरि पल-पल उसैलाई मात्र देखि रहन्छु। कोही कसै सँग बोल्नै मन लाग्दैन ! हे दैव के हुन लाग्यो यस्तो ? मायामा बाँच्न कति गाह्रो हुँदो रहेछ ! माया साँच्न झन गाह्रो हुँदो रहेछ ! तड्पिएर बाँच्न त झन त्यो भन्दा नि गाह्रो हुँदो रहेछ ! तर पनि भोलिको सुन्दर सपाना बोकेर आशै आशमा बाँचेकी छु अचेल उसको निम्ति केवल उसैको निम्ति !
आज मैले मीराको जिद्दी पन सँग हारेर बचन दिएकी छु त्यो मान्छे देखाउने खै के ठान्ने हुन मीराले ! डर,त्रास र खुशी मनभरि सबै एकैचोटी तछाड-मछाड गर्दै छ। मीरा भने भित्र काममा व्यस्त छिन्। त्यो मान्छे आउने बेला नि भै सक्यो। न भन्दै उ पनि आयो तर सदा झैँ हाँसेर गएन आज ! उ त सोझै म भए तिरै आयो ! मेरो खुशीको सिमा रहेन। खै कसरि आज यस्तो भयो ? सपना हो कि बिपना यो ! मेरो राजा ! मेरो राजकुमार ! मेरो प्राण ! मेरो मुटु म भएतिरै मलाई भेट्न हतारिदै आउँदैछ। के गरूँ कसो गरूँ म आत्तिएँ। होस सबै हरायो। तै पनि क्षण भरमा आफुलाई सम्हालें। उ त मेरो छेउमै आएर टक्क उभियो अनि मुसुक्क हाँस्यो। म पनि उ जसरि नै हाँसें। उ नम्र भएर भन्न लाग्यो – ” मीरा कहाँ छिन् ? म मीराको श्रीमान। आज अलि ढिला फर्किनु पर्ने भो त्यसैले यो चाबी मीरालाई दिनुस है।” खै त्यस पछि के के भन्यो उसले केही थाहा भएन। केही बेरमै उ हिड्यो। म हेरेको हेरेकै भएँ। मुहार रातो भयो। मनभरि पीडा र डाहाको आगो एकैचोटी दन्कियो। यतिनै बेला भित्रवाट मीरा फुत्त निस्किन् र मेरो छेउमै आएर सोधिन् -” खै त् तेरो राजकुमार आज आएन ? ” मेरो बोलि ठप्प रोकियो। केही बोल्नै सकिन। अनुहार रातो र तातो भयो अनि उसले छोडेको त्यही मीराको चाबीको झुत्तामा एकोहोरो हेरिरहें – हेरिरहें …………..!
(श्रोत्:-Mysansar)