~उत्तम पौडेल~
हिजोसम्म दिनभरी दाएको गोरुजस्तो देखिने श्यामे आज बेग्लै छ। मनमा शान्ती, मुहरमा कान्ति, शरीरमा फुर्ति -सबै छ। नहोस् पनि कसरी ? अमेरिका आएको ४ महिनामा आज पहिलो तलब बुझेको दिन, त्यो पनि पूरै महिनाको। पहिलो तीन महिनामा उस्ले खानु हण्डर खायो,सबै भोग्यो- अचानोको चोट, खुकुरीको मार, कुकुरले नपाएको दु:ख, धोबी कुकुर्याइं, गेडी नहुँदाको आफन्तको टेड्याइं…. सबै।
उ मित्ररास्ट्रबाट आएको तर अलि कम मित्रबत मालिकको रेस्टुरेन्टको भान्छामा काम गर्छ, एकदमै रुन्चे काम। दिनमा सैयौं प्याज काट्नुपर्दा भीमकाय, बिसआँखे लंकापति रावण त बाल्टीभरी आँशु झारेर रुन्थे होलान, श्यामे त नाथे दुई आँखे, ज्यान हेर्दा पनि मकैबारिको सुकेको ढोंड जस्तो।गुच्चाजस्तो आँखा गोलभेँडा जस्तो भएपछी एकपटक अगाडि सिसा भएको हेल्मेट लगाएर पनि प्याज काटेको थियो, ठ्याकै मौलो लगाएको गोरु जस्तै देखिएको थियो तेतिबेला।
श्यामे कोठामा आइपुग्यो। धेरै पसिना र आँशु सोसेको दुई हजार डलर खल्तिबाट निकाल्यो, खाटको पल्लोपट्टीको फुच्चे टेबलमा फ्यात फाल्यो अनी आफु चाँहीं खाटमा पल्टेर अनेक कुरा कल्पिन थाल्यो। कोठाभाडा, बिजुली-पानी, फोन, नुन-तेल-राशनमा हजार डलर खर्च हुने देखियो। अर्को हजार चाहीं नेपाल पठाउन पर्ला, करिब नेपाली नब्बे हजार, यस्तै योजना बनायो उसले।
सबैभन्दा खुशी चैं आमा हुन्छिन होली, छोरोको पहीलो कमाइ पाएर।सधैंभरी त्यै थोत्रो निलो साडी लगाउंछिन आमा, उनलाई एउटा नयाँ साडी किन्न भन्छु। बाले चैं घडी किन्छन होला, पुरानोमा पानी पस्न पनि कहिल्यै छोड्दैन। भाईले नयाँ मोबाइल भनेर ट्यौँउ-ट्यौँउ कराउँदै थियो अस्ती फोन मा, बैनी एउटा लेडिज साइकल किन्दे भन्दै थिइ| उसले भाइबैनीको ईच्छा पुरा गरिदिने सोच्यो| मुखैमा आएको दसैं छ, एउटा खसी किनिदिने अनी घरमा पनि नयाँ रङ लगाउने योजना बनाउदैं के थियो, भुसुक्कै निदायो श्यामे। आखिर थकाइले लम्पट भाको शरीर न पर्यो।
उ ब्युँझ्यो, पैसा तिर हेर्यो। ओहो !! पैसा त अलि थोरै देख्छ उ। एकैसासमा खाटबाट हामफालेर पैसा गन्यो, तर मात्र एक हजार मात्रा छ,अर्को हजार कता गयो ? श्यामेको ओठ-तालु सुक्यो। खाटमुनी, सिरानीमुनी, यताउती-जताततै खोज्यो तर कतै पैसा भेटिएन।
अचानक उसको आँखा एउटा नयाँ झोलामा पर्यो। उ भुइंमा टुसुक्क बस्यो अनी निकै उत्सुकतापुर्बक झोला खोल्यो, खोतल्यो। उसका उत्सुक अनुहार एकैछिनमा मलिन र निरस भयो, आँखा रसाय। झोलाभित्र निकै महंगा ब्र्यान्डका सृंगारका सामाग्रीहरु थिए। लिपिस्टिक, क्रिम, पाउडर, फाउन्डेसन,के हो के के ……
बिक्षिप्त अनि टुक्रिएको मन सम्हाल्दै, जोड्दै श्यामे बिस्तारै उठ्यो। अनी मनमनै सोच्यो ” धन्य छ्यौ मेरी श्रीमती ”
(श्रोत्:-Mysansar)