~चिनियाँ लघुकथाबाट भावानुवाद~
अनुवादक : प्रतिभा
एकदम जान्ने मान्छे रे। ठ्याम्मै मिल्ने भविष्यवाणी गर्ने भनी उनको ख्याति टाढाटाढासम्म फैलिएको थियो। आफ्नो भविष्य थाहा पाउन कहाँबाट मात्र मान्छे आउँदैन थिए। एक दिन तीन जना केटा भविष्य थाहा पाउन त्यहाँ आए। अमेरिकाको भिसा लाग्छ कि लाग्दैन भन्ने उनीहरुको मूल जिज्ञासा थियो। इन्टरभ्यु पर्सि हुँदै थियो। पैसासैसा छेउमा चढाए, प्रणाम गरे र आफ्ना कुरा भने।
आँखा बन्द गरेर ‘जान्ने’ले आफ्नो चोर औँला उठाए, उही पृथ्वीनारायण शाहको शालिकको शैलिमा। ती तीन केटाहरु वाल्ल। के भन्न खोजेको भेउ पाएनन् उनीहरुले। अर्थ बताउन उनीहरुले आग्रह गरे। तर जान्नेले भन्यो- “दैवी इच्छालाई सीधा शब्दमा भन्न मिल्दैन। समय आएपछि आफै बुझ्छौ।”
ती तीनै जना ट्वाँ परेर फर्किए।
उनीहरु गइसकेपछि जान्नेका सहयोगीले सोधे, “तीन जना मध्ये कसले भिसा पाउँछ हजुर?”
जान्नेले भन्यो, “सही संख्या त पहिलेदेखि नै ज्ञात छ।”
“एक मात्र औँला उठाउनु अर्थ उनीहरु मध्ये एक जनाले मात्र भिसा पाउँछ ? ”
“हो”
“तर अनि उनीहरुमध्ये दुई जनाले भिसा पाए भने नि ?”
“त्यसो भएमा मेरो एउटा औँला उठाउनुको अर्थ एक जनाले पाउँदैनन् भन्ने हुन्छ।”
“तर अनि तीनै जनाले भिसा पाए भने नि ?”
“त्यसको अर्थ एक जना पनि असफल हुँदैनन् भन्ने हुन्छ”
“तीनै जनाले पाएनन् भने नि ?”
“त्यस्तो भएमा एउटा औँला उठाउनुको अर्थ उनीहरु मध्ये एक जनाले पनि भिसा पाउँदैनन्”
सहयोगीले कुरा बुझे। भने, “ए, यसो रहेछ दैवी इच्छा”
(श्रोत्:-Mysansar)