मञ्जरी दिदी !

~विनोद दीक्षित ~

पुष्पालाई एक वर्षदेखि देख्दै आएको थिएँ । बोलचाल पनि धेरै पटक भएकोले क्यान्टिनमा सँगै खाना पनि खाएका थियौँ । हप्तामा दुई पटक जति भेट हुन्थ्यो पुष्पासित । उनी पनि हाम्रै फ्याकल्टीमा पढ्थिन् पहिलो वर्षमा । म भने तेस्रो वर्षमा ।

मभन्दा दुई वर्षअघि मेडिकल पढ्न आउनुभएकी मञ्जरी दिदीले एकदिन पुष्पालाई मनिर ल्याई-”मेरी बहिनीजस्तै हो, धेरै कुरा बुझ्दिन भन्छिन्, त्यसैले बेलाबखत फुर्सद भएको समयमा उसलाई पढाइदिनुहोला” भन्नुभयो ।

मभन्दा उमेरमा पनि जेठो हुनुहुन्थ्यो मञ्जरी दिदी । उहाँलाई बाहिर जहाँ पनि देख्दा सारीमा, सेतो डाक्टरी एप्रोनका साथै निधारमा अलि ठूलो गोलाकार रातो टीका र घाँटीमा स्टेस्थेस्कोप झुण्डिएको हुन्थ्यो । अनि मलाई देख्नेबित्तिकै सोध्नुहुन्थ्यो, ”साँझ आउने हो भने केके पकाऊँ ?”

मञ्जरी दिदी र मेराबीच आत्मीयता थियो । छात्रवृत्ति पाएको तेस्रो सातादेखि नै पैसा सिद्धिन्थ्यो । अनि म सरासर गएर पैसा माग्थेँ बिना कुनै हिचकिचाहट । कुनै दिन छैन भन्नुभएन मञ्जरी दिदीले, बरू मैले माग्ने समय आउन लाग्यो भन्ने थाहा हुन्थ्यो उहाँलाई । त्यसैले पहिलेबाटै पैसा हालेर खाम ठीक पारेर राख्नुहुन्थ्यो । कुनैबेला यस्तो पनि हुन्थ्यो, खाना खाएर गीत पनि गाइसकेपछि छुट्टनिे बेलामा पनि मैले पैसा नमाग्दा आफैँ खाम दिन खोज्नुहुन्थ्यो तर त्यस्तो बेला मैले भन्ने गर्थें, ”यो पटक चाहिँ शङ्करसित पैसा लिएँ, पर्दैन ।”

मञ्जरी दिदी गुल्मीमा व्यापार गर्ने, नेवार परिवारकी हुनुहुन्थ्यो । सधैँ क्लासमा फस्र्ट भएपछि उहाँ पाल्पाको तानसेनमा पढ्न जानुभयो र एसएलसीमा फस्र्ट डिभिजनमा पास हुने पहिला १० जनाभित्र पर्नुभयो ।

आइएस्सी पढ्न ठूलोबुबाकहाँ काठमाडौँ आउनुभयो । ठूलोबुबाको औषधिको पसल थियो र विदेशी पर्यटकलाई घुमाउने उद्देश्यले उहाँले ट्रेकिङ कम्पनी पनि खोल्नेपट्ट िकाम सुरू गर्न लाग्नुभएको थियो, आफ्नो जेठो छोरो जो आइए पनि पास गर्न नसकेर केही वर्षदेखि औषधि पसल चलाउँथ्यो, त्यसलाई साथ लिएर ।

मञ्जरी दिदीको दाजु थिए, ठूलोबुबाका जेठो छोरो भने कान्छो छोरोलाई एसएलसीमा राम्रो नम्बर ल्याउन मञ्जरी दिदी आफूले कम पढी भाइलाई नै पढाउनपट्ट िलाग्नुभएको थियो ।

भाइले एसएलसी फस्र्ट डिभिजनमा पास गर्‍यो, मञ्जरी दिदीले भने आइएस्सी सेकेन्ड डिभिजनमा । यसो हुनुको कारण अर्को पनि थियो, जाँच हुनेताक नराम्रोसित बिरामी पर्नुभयो, धेरैपछि थाहा भयो उहाँलाई त टाइफाइड भएको रहेछ । डाक्टरी पढ्न छात्रवृत्ति पाउनेमा उहाँ पर्नुभएन, बाध्य भएर बीएस्सी पढ्न थाल्नुभयो एक वर्षपछि ।

डाक्टरी पढ्न उहाँ नछानिँदा अत्यन्त निराश हुनुभएको थियो । ठूलोबुबाले बीएस्सी पढ, मलाई पूरा विश्वास छ, तिमीले राम्रो गछ्र्यौं, तिमीले स्कलरसिप पाउँछ्यौँ भनेर अनेक पटक भने पनि मञ्जरी दिदीमा न ठूलोबुबाको, न दाजुभाइको, न ठूलीआमाका कुराले असर पार्‍यो, उहाँ गुल्मी र्फकनुभयो र झण्डै छ महिना जति बस्नुभयो ।

एमएस्सी पढ्दापढ्दै उहाँ यहाँ पढ्न आउनुभएको रहेछ । त्यो वर्ष कन्फरमेसन आउन अलि ढिलो भएको थियो रे ।

म यहाँ पढ्न आएको केही महिनापछि थाहा पाएँ, मञ्जरी दिदी र विष्णुबहादुरबीच प्रेम चलिरहेछ । नेपालबाट पढ्न आएका प्रायः सबै केटीका आआफ्नो प्रेमी भएको देखेँ । प्रेमको सुरुआत केटाहरू नै गर्थे, केटीहरूको केही लाग्दैनथ्यो विदेशी भूमि भएकोले तर प्रेममा लागेपछि केटाहरूमाथि केटीहरूकै बढी नियन्त्रण देखिन्थ्यो ।

झण्डै दुई वर्षजति चलेछ विष्णुबहादुर र मञ्जरी दिदीको प्रेम, पछि दुवै छुट्टिए । विष्णुबहादुर अर्कै नेपाली केटीसित लागे । ती केटी काठमाडौँका धनी परिवारकी एक्ली छोरी रहिछन् ।

एक दिन मञ्जरी दिदी आएर ”जाडोको बिदामा इभानोभा भनिने टेक्सटायलको सहर हामीसित जानुहुन्छ ? हाम्रा मेडिकलका छात्रहरूलाई डोकेको छ, त्यहाँको एउटा ठूलो कपडा कारखानाले जतिलाई डाके त्योभन्दा जानेहरू कम भएपछि पाहुनाहरू ल्याए हुन्छ भनेकोले तपाईंलाई सोध्न आएकी हुँ । आउने-जाने रेलको टिकट मात्र आफूले बेहोर्नुपर्ने” भन्नुभएपछि ‘हुन्छ’ भनेँ ।

मञ्जरी दिदीले मलाई भाइजस्तो माने पनि मलाई सधैँ तपाईं भनी सम्बोधन गर्ने गर्नुहुन्थ्यो । मैले एकदिन आपत्ति जनाउँदा ”भाइ-भाइजस्तो हुन्छ, तर तपाईं मात्र उमेरमा म भन्दा कान्छो हुनुहुन्छ, नत्र व्यवहारमा मेरो बाबुआमा, दाइहरूजस्तै अग्रज हुनुहुन्छ । हामी विदेशमा छौँ, हामी पूर्वीया संस्कृति भएका नारीहरूलाई अभिभावक चाहिन्छ, तपाईंलाई मैले अभिभावक मानेकी छु । मैले तिमी भनेर सम्बोधन गर्न सक्छु र ?” भन्नुभयो ।

हप्तामा एक दिन पढाउन जान्थेँ पुष्पालाई, यद्यपि उनी मेरो प्रत्येक दिनको आगमन चाहन्थिन । उनी पढाइमा कम ध्यान दिने तथा गफ गर्न बढी रुचाउने गर्थिन् र क्लासका केटाहरूका बारेमा बढी कुरा गर्थिन् । कुन देशका केटा कस्ता हुन्छन् र कुनकुन देशका केटाको चिम्पाञ्जीसित ठ्याक्क अनुहार मिलेको हुन्छ भन्दै र त्यस्तै अनुहार बनाउँदै मरीमरी हाँस्थिन् । म चुपचाप सुन्थेँ, कुनै प्रतिक्रिया नजनाएर ।

मलाई पछि लाग्न थाल्यो ममा आफूप्रति आकर्षण पार्न उनी पूरै सजिएर बस्न थालिन् र हुँदाहुँदा छाती पनि अर्धनग्न पार्न थालिन् । मलाई उनका त्यस्ता क्रियाकलापले कुनै प्रभाव पार्न सकेन । एकपटक त भनिन् पनि ”तपाईं कस्तो लायकको हुनुहुन्छ तर चिसो हुनुहुँदोरहेछ ।” मैले उनको आसय बुझे पनि नबुझे जस्तो गरेर ”यहाँ अहिले माशनस टेम्प्रेचर चलिरहेछ, त्यस्तो बेला मानिसजति सबै चिसो भइहाल्छन्” भनेँ । मेरो कुरा सुनेर मुसुक्क हाँसिन् र म नजिकै आएर मेरो दाहिने हात समातेर ”मलाई छाम्नोस्त म चिसी छु कि ताती ?” भनेर सोधिन पनि ।

मैले आफ्नो हात उनको हातबाट छुट्याउँदै प्रसङ्ग बदलेँ र भनेँ, ”भासिल्चुक सरले पढाएको तिमीलाई कस्तो लाग्छ ?”

उनले पनि प्रसङ्ग बदल्दै ”मञ्जरी दिदीसित तपाईं घुम्न जाने रे हो ?” भनेर अनुहारमा पूरै उत्सुकता झल्काउँदै सोधिन् ।

मैले जवाफ दिइनँ ।

एकदिन भेट हुँदा पुष्पाले मलाई ३ बजे पढाउनका लागि भोलिको दिनमा डाकिन् । म जाँदा त के देख्छु भने तीघ्रासम्म देखिने टेनिसका महिला खेलाडीले लगाउनेभन्दा पनि छोटो टाइट स्कर्ट र भित्रपट्ट िब्रा नलगाएर उनले झण्डै पारदर्शीजस्तो देखिने मसिनो कपडाको ब्लाउज लगाएकी थिइन् । अनुहार र कपाल पूरै सजिएको थियो । उनले म कोठामा पस्नेबित्तिकै सदाझैँ कोठाको ढोका लगाइन् र मलाई एउटा चुरोट दिएर अर्को चुरोट आफ्नो ओठले च्याप्दै लाइटर बालिन् र मेरो चुरोटपछि आफ्नो चुरोट सल्काइन् । केहीबेरमै मलाई अँगालो मार्दै जब आफ्ना दुवै ओठ मेरा गालासित जोडिन्, म बिउझिएँ अनि ढोका खोलेर बाहिर निस्केँ चुरोट निभाएर ।

——

वास्तवमा त्यो टेक्सटायल सहरमा कपडाका कारखाना मात्र थिए । हामी गएको कारखाना डाक्टरहरू, मजदुरहरू वा अन्य पेसामा काम गर्नेहरूलाई लगाउनैपर्ने विभिन्न प्रकारका स्तरीय, आकर्षक र सस्तो एप्रोन उत्पादन गर्नमा विश्वविख्यात रहेछ । डाक्टरी पढ्ने विदेशी छात्रहरूलाई बर्सेनि बिदा भएको बेलामा कारखाना र उत्पादन हेर्न निमन्त्रणा गर्दोरहेछ ।

महिला छात्राको रूपमा मञ्जरी दिदी मात्र हुनुहुन्थ्यो इभानोभा सहरमा । म र मञ्जरी दिदीसँगै हुन्थ्यौं दिनभरि अनि साँझदेखि अबेला रातिसम्म उहाँकै कोठाको अर्को बेडमा बसेर हामी कुराकानी गरिरहन्थ्यौँ र सुत्ने बेलामा म आफ्नो कोठामा जान्थेँ ।

मञ्जरी दिदीले विष्णुबहादुरसित कसरी प्रेम भयो अनि कसरी उनलाई छोडेर शमीसित विष्णु लागे भन्दै प्रायः भए-गरिएका सबै कुरा पटक्कै नढाँटेर भावुक हुँदै आँखा रसाउँदै मलाई भन्नुभयो । त्यसबेला मलाई भनेको एउटा वाक्यको दुरुस्त सम्झना छ- ”तपाईंको पवित्र प्रेम सफल हुन्छ वा हुँदैन, उनले तपाईंलाई कुरेर बस्छिन् वा बस्दिनन् थाहा छैन तर म तपाईंको प्रेम सधैँ सम्भिmरहनेछु । मैले सुनेको र जानेबुझेका प्रेमी शाहजहाँ, फरहाद, मजनु, रोमियो सबै तपाईं हो, तपाईं मात्र हो । म तपाईंभन्दा कान्छो भएको भए तपाईंमाथि प्रेमको वषर्ा नै गर्ने थिएँ । यो थाहा हुँदाहुँदै कि तपाईं प्रेममा कठोर हुनुहुन्छ र एक पटक दिल बिसाएपछि दायाँबायाँ कतै हेर्नुहुन्न तर पनि पुरुष भएर तपाईंजस्तो हुनुहुन्छ, म पनि तपाईंप्रति त्यस्तै हुन्थेँ । मञ्जरी दिदीले भन्दै जानुभयो ।

”मैले यो सहर आउनुअघि पुष्पालाई उसले गरेको अपमान सहेर भए पनि सम्झाउने कोसिस गरेको थिएँ । उसले मलाई भनेको कुरा सुनाउन चाहन्न, मानिस सबै एकथरिकै हुँदैनन् भन्ने कुरा बुझेकी छैन त्यसले । नारी भएपछि सबै कुरा सोच्नुपर्छ, मनोविज्ञान नपढे पनि मनोवैज्ञानिक हुनैपर्छ । उसले मलाई भनेको कुराले त एकछिन भए पनि रिस उठ्यो, चित्त दुख्यो तर मैले माफ गरिदिएकी छु त्यसलाई ।”

मञ्जरी दिदीले भनिरहँदा मैले केके सुनेँ, केके सुनिनँ, मेरो आँखाको अगाडि पारदर्शी ब्लाउजभित्रका पुष्पाका वक्ष देखिए, उसका ओठले मेरो ओठ छोएको अनि म उठेर बाहिर निस्केको दृश्यहरू मात्र फनफनी घुमिरहे ।

”हेर्नोस् तपाईं असल मान्छे, के गर्दा राम्रो हुन्छ, के गर्दा राम्रो हुँदैन भन्ने थाहा छ तपाईंलाई । मैले नै भनेपछि तपाईंले पुष्पालाई बेलाबखत आएर पढाउन थाल्नुभएको हो । मेरो ठूलोबुबाले पुष्पालाई मद्दत गर्नु भनेको चिठी ऊ पढ्न आउँदा मैले पाएकीले मैले बैनीजस्तै व्यवहार गरेँ, सबै नेपाली छात्रहरूलाई मैले पुष्पा मेरो बैनी पर्ने भन्ने गरेँ । उसको बुबा दार्जिलिङबाट आउनुभएको रहेछ र ठूलो बुबाको ट्रेकिङ कम्पनीको पार्टनरका साथै अन्तरङ्ग मित्र हुन पुग्नुभएछ । उसले मसित निम्नकोटिको व्यवहार गर्दै एउटा असभ्यले बोल्ने शब्द प्रयोग गरी । म अब उसलाई पढाइदिनोस् भनी भन्दिन । तपाईं जे चाहनुहुन्छ गर्नोस् ।” मञ्जरी दिदीले भनिन् ।

पुष्पाले सबभन्दा पछिल्लो भेटमा मसित गरेको हरकतबारे केही भनिनँ, म चुप रहेँ, यसै पनि पुष्पाकहाँ अब म कहिल्यै जान्न भन्ने निर्णय गरिसकेको थिएँ ।

एक दिन फ्याकल्टी एरियामा पुष्पासित भेट भयो । उसले मलाई देख्नेबित्तिकै मनिर आएर ”मञ्जरीसित १० दिनसम्म मोज गरेर आउनुभयो, कस्ती लागी हाम्री मञ्जरी ?” भनेपछि पुष्पाको गालामा चड्कन दिन मेरो हात उठ्न खोज्दा भासिल्चुक सरले आफ्नो हात उठाएर मेरो नाउँ काढ्दै अभिवादन गर्नुभयो ।

म उहाँलाई सबभन्दा बढी आदर गर्ने गर्थें । लम्किएर उहाँनिर गएर आफ्ना लामालामा जिज्ञासा राखेँ । भासिल्चुक सर मुसुमुसु हाँसेर मेरा कुरा सुनिरहनुभएको थियो ।

(श्रोत:-मधुपर्क २०६७ असोज)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.