~विकाश सापकोटा~
फुल्छ, ओइलाउँछ अनि झर्छ
अनि फेरी समयसँगै
त्यही चक्र दोहोर्याउँछ
फेर्छ आफ्नो रुप यसले
हजारौँ पटक, लाखौँ पटक
तर जति पटक फेरिएपनि
जति पटक झरेर
नयाँ आशाको साथ फुलेपनि
देख्न पाउँदैन उसले
आफ्नो मातृभूमी फेरिएको,
बदलिएको
सधैँ देख्छ केवल कोपिला
ओइलाएको कोपिला
न कहिल्यै झर्ने,
न कहिल्यै मर्ने,
न त कहिल्यै फक्रने,
केवल ओइलाइरहने,
कहिल्यै नफेरीने कोपिला
फेरिएको छ त केवल
त्यसको वरीपरी झुम्मिएर
रस चुस्न तम्सिएका माहुरी र भमराहरुको संख्या
प्रत्येक पल बढीरहेको हुन्छ तिनको संख्या
बढीरहेको हुन्छ तिनको प्रकार
बढीरहेको हुन्छ तिनको निर्दयी प्रहार
अनि फेरीएको छ कोपिलाको
रोदन र चित्कार
बढेका छन् आँशुका थोपाहरु
तर देख्दैनन् कसैले ति आँशुहरु
वास्ता गर्दैनन् त्यो चित्कारको
मस्त छन् तिनीहरु कलिलो कोपिलाको रस चुस्न
सबै देख्दादेख्दै पनि
सबै सुन्दासुन्दै पनि
बढाउन सक्दैन आफ्नो हात
उसको आँशु पुछिदिन
नरोउ भनि थुम्थुम्याउन पनि सक्दैन
नक्कली मुस्कानका साथ फक्रिन्छ
नक्कली बासना छर्छ
केही भमरा आँफूतिर तानी
मद्दत गर्न सक्छु कि भनि
तर सबै किराहरु
उसलाई बेवास्ता गर्दै
कोपिलाको पिँडा बेवास्ता गर्दै
रस चुसीरहन्छन् खुशिसाथ
फुल्न, फक्रन र झर्न
अनि फेरी फुली
बढ्न नसक्ने,
फक्रन नसक्ने कोपिलाको पीँडा
मुकदर्शकभई हेर्न
विवश छ लालीगुराँस
थाहा छैन कहिले सम्म
(श्रोत:-अन्तर्जाल)