अँध्यारो सडकमा एउटा मानिस हिँडिरहेको थियो । एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी जुरुक्क उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट क्यामेरा झिक्यो र सटासट १०/१२ सट फोटो
खिच्यो, कागजमा केही टिप्यो र हिँड्यो ।
महानुभावहरू, म थिएँ एक लोपोन्मुख जङ्गली जनावरको श्रेणीमा पर्ने अनौठो पत्रकार जसलाई समयले सके दुनियाँकै विरक्त पात्र सावित गरिदिएको थियो । खगेन्द्र थापा मगरको नाम संसारकै होचो मान्छेका रूपमा गिनिज बुकमा लेखाउने प्रयास हुँदैछ । संसारकै सबैभन्दा विरक्त मान्छेका रूपमा मेरो नाम लेखिन सक्छ कि सक्दैन ? प्रश्नको सिरूपाते खुकुरी बारम्बार मनको अचानोमा बजि्ररहन्थ्यो ।
समाचारको खडेरी लागेको कति दिन भइसकेको थियो । सम्पादक बारम्बार चेतावनी दिइरहेको हुन्थ्यो, एट लिस्ट डेली एउटा न्युज, विक्ली स्कुप न्युज ।
खासमा मलाई बिट नै यस्तो दिइएको थियो जसबाट नियमित समाचार आउन सम्भव थिएन । अलि दुःखी मनको दोधारकै पनि खेल होला, कैयन् हप्तादेखि म समाचार भन्नलायक समाचार दिन असफल भइरहेको थिएँ ।
‘किरण कपाली, के छ आज तिम्रो
न्युज ?’ सम्पादकले सोध्यो ।
‘सर आज एउटा साहित्यिक कार्यक्रमको न्युज मात्र छ । त्यसैलाई इलाबोरेट गरेर लेखूँ कि ?’ भित्रभित्रै काम्दै, बाहिर अलि नरम भएको देखाउँदै मैले भने ।
‘ड्याम द साहित्यिक कार्यक्रम त्यस्तो न्युजले के हुन्छ ? कसले पढ्छ ?’
‘सर……..’ ‘मिस्टर, डोन्ट यु वान्ट टु डु जर्नालिज्म ?’
‘सर….’
‘लिभ, लिभ राइट नाउ । अ स्कुप न्युज मस्ट बी सबमिटेड बाई टुमारो इफ यु वान्ट टु कन्टिन्यु द जब, ओके ?’
‘ओके सर ।’
ओके त भनिदिएँ । यस्तो प्रश्नको निर्विकल्प जवाफ सायद त्यही हुन्थ्यो तर त्यस्तो कुनै समाचार दिमागमा आइरहेको थिएन । म उठेँ, उठ्नैपर्यो, युद्धमा उत्रनु छ भने । लगत्तै इन्टरटेनमेन्ट रिपोर्टर कुमारी उपाध्याय भित्र पसिन् । सम्पादक मुसुक्क हाँस्यो । कुमारी ‘द भर्जिन’ मुसुक्क हाँसी । देख्छु, सम्पादक निकै उत्साहित छ ‘भर्जिन’प्रति ।
-ह्वाट डु यु हृयाभ टुडे ?
-सर, झरना थापाको हट इन्टरभ्यु ।
कुमारीले पि्रन्टकपी सम्पादकको अगाडि राखिदिई । सम्पादक मुसुमुसु हाँस्दै पढ्न थाल्यो । अन्तर्वार्तामा एउटा प्रश्न पहिलो सेक्स अनुभवबारे थियो । झरनाले निकै उत्तेजक जवाफ दिएकी थिइन् । सम्पादकले कुमारीप्रति मोहित मुस्कान फ्याँक्यो । कुमारी स्मित मुस्कानसहित अगाडि उभिएकी थिई । सम्पादकले ‘एक्सिलेन्ट’ भन्दै कुमारीसित हात मिलायो । सम्पादक र कुमारी दुवै खित्खिताएर हाँस्न थाले, जुन सुनेर दुवैको एकैपल्ट हत्यै गरेर हिँडिदिऊँजस्तो घृणाको गोली मनको बन्दुकमा भरिएर आयो ।
म त्यहाँबाट निस्किएँ । हराएको सामान खोज्न निस्केको मान्छेजस्तै समाचार खोज्न निस्किएँ भन्नुपर्ला । भोलिसम्म सम्पादकलाई कुनै एउटा स्कुप न्युज बुझाउनु छ । त्यसो त पहिलापहिला मैले ब्रेकिङ न्युज प्रशस्त गरेकै हुँ, जसको राम्रै चर्चा पनि भएको थियो, मैले भन्नुपर्दा । अरूले नभन्नुमा मेरो दोष छैन । तर सम्पादकले कहिल्यै मलाई प्रोत्साहन दिएन । उसको ध्यान सदैव पेज थ्रीका रिपोर्टरहरूले ल्याएको इन्टरटेनमेन्ट न्युज र ग्लेमरस तस्बिरमा मात्र आकषिर्त हुन्थ्यो ।
म हातमा क्यामरा झुण्ड्याएर हिँडेँ । समाचारसँगै अब तस्बिर पनि खिच्नु अनिवार्य थियो । तस्बिरबाहेक समाचार मात्र बुझाउँदा बारम्बार मैले हप्की खानुपरेको थियो ।
एक मन त लाग्यो- सम्पादक, समाचार संयोजक र चिफ रिपोर्टरलगायत सबैलाई जनही १५/१५ लात्ती हानेर हिँडूँ र नफर्कूं । त्यसो गर्दा भोलिदेखि बेरोजगार बन्न तयार हुनुपथ्र्यो जसको कल्पनाले मात्र पनि मलाई कहाली लागेर आउँथ्यो । परिवारमा मुटुरोगी आमा र किशोरी बहिनीबाहेक कोही थिएनन् । २० वर्षअघि एउटा दुर्घटनामा बाको निधन भएको थियो, जतिखेर म नाबालक थिएँ । एक दिन मर्नु त छँदै थियो, बाँचेको भए यतिञ्जेल उहाँ सामाजिक यातनाले बारम्बार मर्न बाध्य हुनुहुन्थ्यो । दुःखको कुरो, उहाँसँगै एउटा विद्रोहको पनि मृत्यु भएको थियो । मर्दापर्दा लगाइने सबैखाले जातीय परम्परागत काम विद्रोहस्वरूप बाले त्यागि दिनुभयो, जसका कारण हाम्रै समुदायमा उहाँ ध्रुवताराजस्तै एक्लो हुनुपरेको थियो । उहाँ सिकर्मी काम गर्नुहुन्थ्यो -होइन, जान्नुमात्र हुन्थ्यो किनभने घरभित्र छिरेर गर्नुपर्ने भएकाले एउटा दलितलाई काम दिन कोही तयार हुन्नथ्यो ) । थोरै जमिन पनि तल्सिङ र दलाल मिलेर हामीलाई मोहियानी भागसमेत नदिई बेचिदिएका थिए । बालाई यदाकदा पाखामा ठूल्ठूला रूख चिरानी गर्ने काम दिइन्थ्यो । उहाँ भयङ्कर फाली भएको जङ्गी आरो तान्नुहुन्थ्यो । यसै क्रममा एक दिन मचान भत्कियो र काठले थिचिएर उहाँको मृत्यु भयो ।
बाको कुरा अब एकादेशको कथा भइसक्यो । हामी गाउँ छाडेर सहर आयौँ । आमाले जसोतसो हामीलाई पढाउनुभयो । अखबारमा म बारम्बार कविता र पाठकपत्र पठाउँथँे । एक पल्ट सम्पादकले सोध्यो, पत्रकार बन्छौ ? त्यसबेला खुसीका कति उडे, बयान शब्दमा कसरी गरूँ ? अर्को आकाश नै चाहिएला जस्तो भएको थियो ।
मेरो लेखनबाट सम्पादक प्रभावित थियो । दुर्भाग्य चाँडै नै सम्पादकमाथि ‘कु’ भयो । उसलाई कर्पोरेट सम्पादक बनाइयो र अर्को युवा सम्पादक नियुक्त भयो । यस प्रक्रियामा सम्पादक पूरै अनभिज्ञ थियो । नयाँ सम्पादकले पदभार ग्रहण गर्ने कार्यक्रममै पुरानो सम्पादकले राजिनामा गर्यो ।
नयाँ सम्पादक ‘पक्का व्यापारिक’ थियो । व्यापारिक भएपछि समाचार र विचारको ठाउँमा एडभर्टोरियल छापे पनि हुन्छ, जुन उसले प्रकाशकलाई ऋण तिरे बराबर हुन्थ्यो । त्यसै सम्पादक बन्न पाइन्छ नत्र ? कतिपय महìवपूर्ण समाचार ऊ डम्प गरिदिन्थ्यो र अर्थ न बर्थका समाचारलाई मुखपृष्ठमा छापिदिन्थ्यो । हालसालै मेरा दुई ब्रेकिङ न्युज डम्प गरिएका थिए । एउटामा मन्त्रीकै संस्था बालबालिका बेचबिखनमा संलग्न भएको भण्डाफोर गरिएको थियो । अर्कोमा मन्त्री स्वयं वेश्यालयबाट भाग्दै गरेको तस्बिरसहितको समाचार थियो । लागेको थियो, यी समाचारले मेरो क्यारियरलाई सफलताको सगरमाथामा पुर्याउनेछन् । भोलिपल्ट अखबार हेर्छु, समाचार कतै थिएन । म हिस्स भएँ । सम्पादकले उल्टै थर्कायो, ‘लेख्नुअघि सल्लाह गर्नुपर्दैन ? रिपोर्टर भएर के छापिन्छ, के छापिन्न, बुझ्नुपर्दैन ?’
कस्तो समाचार लेख्नुपर्ने हो ? अब त म दुबिधामा पर्न थालिसकेको थिएँ । यो सम्पादक खातिरदारी चाहन्छ जुन मेरो ग्रन्थीमै छैन । जागिर कसरी
जोगिएला ? म यस्तै सोचेर हिँडिरहेको थिएँ । न्युरोड गेटमा एक नवयुवतीसँग बेस्सरी ठोक्किएँ । विनम्रतापूर्वक मैले सरी भनेँ तर त्यसले मलाई ‘इडियट’ भनिदिई । ओभर बि्रजनिर सडकमा थुप्रै किताब बिक्रीमा राखिएका थिए । महँगो भए पनि त्यहाँ मैले निकोलाई गोगोलको ‘ओभरकोट’ किनेँ । झुम्पा लाहिरीले ‘नेमसेक’ मा यसको चर्चा गरेकी छन् जुन पढेपछि लामो समयदेखि म यसको खोजीमा थिएँ ।
सडकमा कपडा, जुत्ता, र सबै सामग्री फिँजाइएका थिए । सोचेँ, सडकमै सबै सामग्री पाइन्छन् भन्नेबारे एउटा समाचार लेखुँ । त्यसका लागि धेरै दुःख पनि गर्नुपर्ने थिएन । त्यसलाई कथा बनाएर रोचक शैलीमा लेखे पुग्थ्यो जसमा म सफलै हुन्थेँ । सोचेँ, डाँका सम्पादकले यस्तो समाचार मेरै अगाडि च्यातेर डस्टबिनमा मिल्काइ दिनेछ । यस्तो भयो भने त मर्नु भएन ?
एक्कासि एउटी केटी भेटिई । आपत् परेको ठानेर कुनै दिन यसलाई मैले एक महिनाको पूरै तलब सापटी दिएको थिएँ, जसका कारण मेरो दैनिकीमा कत्रो हाहाकार मच्चिएको थियो उसले केही दिनमै तिरिदिने वाचा गरेकी थिई, पैसा लिएपछि दुई वर्षसम्म देखै परिन ।
मलाई किन हो, त्यसको सामना गर्न अफ्ठ्यारो भइरहेको थियो । त्यसले मेरो पाखुरा समाएर सोधी, ‘सञ्चै हुनुहुन्छ ?’ सापटी लिएको त यसले तिर्दिन पक्का छ, क्या मीठो बोल्छे भने म त थरहरि भइरहेको थिएँ, कतै फेरि यसले पैसा झार्ने जुक्ति नगरोस् । खल्तीमा केबल तीन सय रूपियाँ बाँकी थियो, जसबाट अझै दस दिन गुजार्नु थियो । कसैले केही मागिहाले हार्न नसक्ने बानीले मलाई डुबाइरहेको थियो । उसले चिया खाने अफर गरी । जरुरी काम छ, भनेर म उम्किएँ र उम्किन सकेकामा आफैँलाई बधाई दिएँ ।
रत्नपार्कमा अनेक जोडी प्रेमवार्तामा मस्त थिए । मानिसहरू राजनीतिक गफ गरिरहेका थिए । बदाम, सुन्तला, चुरोट, चना, दालमोठ बेच्न आउनेहरूलाई मैले निराश पारेर फर्काइरहेँ । एउटी केटी आई । खास राम्री होइन तर आकर्षक थिई । त्यसले भनी, ‘जाने हो दाइ ?’ म अलमल्ल परेँ । केटी मुसुक्क हाँसी । कुरा बुझियो । त्यसो भए यसले किन मलाई ‘दाइ’ भनेकी ?
‘४५ प्रतिशत कन्सेसन पनि दिन सकिन्छ, विद्यार्थी हो भने’, उसले साउतीको स्वरमा भनी, ‘अहिलेको चलन ’
‘म विद्यार्थी थिएँ ।’
‘हुनुहुन्छ भने हुनुहुन्छ भन्ने, मानिदिउँला नि ’
ऊ निराश भएर फर्किँदै थिई । मैले रोकेँ । एक्कासि मलाई ठूलै कुरा फेला परेझैँ लाग्यो । कृपया मलाई गलत नठान्नुहोला । अखबारका लागि यसैसँग नगरबधू-संवाद गर्ने लोभले मनमा पखेटा फिँजायो । सम्पादकलाई मनपर्ने कुरा यस्तै थियो त म के गरूँ ? म केटीको पछि लागेँ ।
र्फकँदा मैले पूरै फिःस दिन चाहेको थिएँ । उसले मानिन किनभने मैले ऊसँग अखबारका लागि अन्तर्वार्ता मात्र गरेको थिएँ । खबरदार नैतिकताका ठेकेदारहरू, देशमा इमान पूरै बाँझो पल्टिइसकेको छैन । त्यो कम्तीमा एउटी वेश्यासँग चाहिँ रहेछ है Û
डेरा आइपुग्नै लाग्दा अँध्यारोमा एउटा दृश्यले म अचम्भित भएँ । एउटी स्कुले किशोरीलाई कारले ठक्कर दिएको थियो । किशोरी लडी तर तुरुन्तै उठी । सहारा खोज्दै त्यो मतिर आउँदै थिई, कारले फेरि ठक्कर दियो र टाप कस्यो । केटीलाई उठाएर अस्पताल पुर्याउनेतर्फ मेरो ध्यानै गएन । घटनाको सुरुआतदेखि नै मैले १०/१२ सट तस्बिर लिएँ । रगतपच्छे केटी छट्पटाइरहेकी थिई । मान्छे जम्मा भए । प्रहरी आयो । म भने अफिसतिर दौडिएँ । मसँग अब एउटा स्कुप न्युज थियो ।
तस्बिर हेरेपछि सम्पादक खुसी भयो । ‘गुड न्युज । राइट अ प्लेफुल स्टोरी । फस्ट पेज बक्स एङ्कर’, सम्पादकले भन्यो ।
समाचार लेख्न म कम्प्युटरअगाडि बसेँ । मैले त्यो केटीको हुलिया लिएको थिइनँ । प्रहरी कार्यालयमा सोध्न फोन डायल गरेँे । एक्कासि प्रहरी कार्यालयबाटै मोबाइलमा फोन आयो । फोन अपराध अनुसन्धान शाखाको डीएसपी मेघराज सिलवालको थियो । खबर पाएर म स्तब्ध भएँ । आफैँले खिचेको तस्बिर गहिरिएर हेरेपछि एक्कासि म मूर्तिवत भएँ । मेरो चेत टक्क कतै अडिएको थियो । डेस्क सम्पादक आफ्नो कक्षबाट समाचार छिटो लेखिसक्न मलाई दबाब दिइरहेको थियो ।
बेलैमा अस्पताल पुर्याइएको भए घाइते किशोरी बाँच्न पनि सक्थी । अत्यधिक रक्तश्रावले अस्पताल पुग्नेबित्तिकै उसको मृत्यु भएको थियो । कथाको सुरुआतमा एउटा फोटो पत्रकारको प्रसङ्ग उठेको थियो । महाशय, त्यो संवेदनाहीन पात्र -होइन यन्त्र) म थिएँ । विपत्तिका बेला आफन्तलाई देखेर किशोरी सायद मतिर आएकी थिई । म कसरी यस्तो भएँ ? माफ गर्नुस् । एक त्यसबेला अलिअलि अँध्यारो थियो । दुई- जागिर जोगाउने धुनमा म पूरै अन्धो भएको थिएँ । तीन- आफैँले खिचेको तस्बिर मैले राम्ररी हेरेको थिइनँ । यी शब्द आँसुले लेख्दै गर्दा मुटुमा गाँठो परेको कुरा अब तपाईँलाई भन्छु- मारिएकी किशोरी ट्युसनबाट डेरा र्फकँदै गरेकी मेरी आफ्नै बहिनी थिई ।
समाचार लेख्न छोडेर वीर अस्पतालतिर दौडँदै गर्दा सोचिरहेँछु, यस्तो खबर मुटुरोगी आमालाई अब कसरी सुनाउ ?
(श्रोत:-मधुपर्क साउन, २०६७))