~बूँद राना~
सेती हो जिन्दगी, काली हो जिन्दगी
बग्न नजाने गन्दा नाली हो जिन्दगी।
पैरिन्छ माला कैले मोसो दलाउँछ
ताली कतै कसैको गाली हो जिन्दगी।
खल्ती जुवाडेको या खहरे भने हुने
छिन्मा भरिलो, छिन्मा खाली हो जिन्दगी।
मीठो, नमीठो दाना, पक्वान पस्किने
टपरी कहीँ त सुनको थाली हो जिन्दगी।
ढङ्ग नपुग्दा ढुङ्गा काँडा बिझाउँछ
हैन भने त फूलको डाली हो जिन्दगी।
सिद्धान्त हो कसैको सङ्घर्ष हो भने
कसैकसैको सालासाली हो जिन्दगी।
दुर्गन्ध या अरुले लिने सुगन्ध हो
आफैँ बगैँचा, आफैँ माली हो जिन्दगी।
रुँदा करुणगाथा हो किन्तु गाउँदा
झाम्रे, भजन, गजल र ख्याली हो जिन्दगी।
कसैकसैको डिस्को, पिकनिक हो यहाँ
कसैकसैको धर्ना र्याली हो जिन्दगी।
राती, अँधेरी, कोप्ची, काली भई त के
प्रभातमा उषाको लाली हो जिन्दगी।
बिर्सी मुलुकलाई आफैँमा मस्त भै
भन्छ रे राजधानी– ‘भ्याली’ हो जिन्दगी।
गाँसेमा फूल माला झुल्छ गलाभरि
च्यातेमा माकुराको जाली हो जिन्दगी।
अग्लो हिमाल बन्छ उचाले हातले
भत्काए बालुवाको आली हो जिन्दगी।
(श्रोत:-अन्तर्जाल)