~नारायण श्रेष्ठ~
‘राष्ट्रियता खतरामा परेको’ भन्ने बहस अहिले चर्चामा छ । राजनीति अप्ठ्यारोमा परेका बेला यो विषयले मानिसको ध्यान सजिलै तान्छ भन्ने नेताहरूलाई थाहा हुन्छ । त्यसैले ‘चलाख’ नेताहरू अप्ठ्यारो पर्दा ‘राष्ट्रियता’को तुरूप फाल्छन् । र यो विषयले जोशिलो रगत भएका तन्नेरी अलि बढी भावुक र देशप्रेमको भावनामा छोपिन्छन् पनि । राजनीति जटिल मोडबाट गुज्रिएका बेला, अर्थतन्त्र, सुरक्षा, पूर्वाधर निर्माणलगायत विषयजस्तै देशको अस्तित्व अर्थात् राष्ट्रियताको सवाल पनि स्वभावैले अप्ठ्यारोमा हुन्छ । तर, ‘खतरामा परेको राष्ट्रियता’ जोगाउने बहानामा गरिने वा चलाईने गतिविधिले यो देशलाई मजबुद बनाउँछ कि अन्य कुराहरूको विकास र बिस्तारले ?
मलाई लाग्छ, अवसरहरूको सिर्जना, व्यक्तिको क्षमता विकास र प्रतिष्पर्धा गर्न सक्ने वातावरणको बिस्तारले जब नागरिक आफैँमा सबल हुन्छ, तब अन्य कुरासँगै देशको अस्तित्व पनि बलियो र दिगो हुन्छ ।
०००
यो देशलाई माया गर्ने कुरा थाल्दा मलाई मेरै गाउँको सम्झनाले अँगाल्छ ।
पञ्चायत व्यवस्थाको अन्ततिर कछारको गाउँमा मैले पढ्ने स्कुलको छानामा धुरी थिएन । कक्षामा उज्यालो दिनमा घाम छिथ्र्यो र झरी परेको दिन पानी । हावा हुरी आयो भने हामी असाध्यै खुसी हुन्थ्यौँ । त्यस्तो दिन पढ्नु पर्दैनथ्यो । धुरीबाट छिर्ने पानीको बाछिटाले कोठा पूरै भिज्थ्यो, अनि त्यसदिन कक्षा छुट्टी ।
गोरखा सदरमुकामबाट झन्डै १५ कोष टाढा, दक्षिण–पूर्व, बूढीगण्डकी र त्रिशूली नदीको खोँचमा पर्ने त्यस गाउँमा पञ्चायतको राजनीति गर्नेहरूको ध्यान जाँदैनथ्यो । त्यसैले कम्युनिस्ट गतिविधि सक्रिय थियो । कछारको गाउँ, कम्युनिस्ट राजनीति गर्नेहरूको अखडा भएपछि पूर्वाधार विकास हुने कुरै भएन । बूढापाकाहरू भन्थे, ‘राजाको जगजगीमा कम्युनिस्टले राज गर्न खोजेको गाउँमा के विकास हुनु ?’
गाउँमा केही थिएन भन्दा पनि हुन्छ । त्रिशूलीपारि पृथ्वीराजमार्ग जोड्न झोलुंगे पुल थिएन । पारि सडकमा उज्यालो बल्थ्यो, वारि अन्धकार । स्वास्थ्यचौकी परैको कुरा भयो । स्कुल नाममात्रैको थियो । झरी/हुरी पर्दा पानी चुहिएर बन्द गर्नुपर्ने । सायद देशैभरिका गाउँको अवस्था यस्तै थियो त्यसबेला ।
तर, ती दिनहरूमा स्कुलमा पढ्दा, अहिले पनि मलाई सम्झना छ, सरहरूले ‘हरियो वन नेपालको धन’ भन्दै वन सम्पदाको खुब बखान घोक्न लाउँथे । देश सानो भए पनि प्रकृतिले अपार सुन्दरता दिएको कुरा सिकाइन्थ्यो । किताबहरूमा त्यस्तै लेखिएको हुन्थ्यो । महाकवि देवकोटाको निबन्ध ‘के नेपाल सानो छ ?’ पढ्न त पर्दैनथ्यो तर ठ्याक्कै त्यही हिसाबको भाव घोकाइन्थ्यो । त्यसबेला लाग्थ्यो, अहो † संसारमा मेरो देशजस्तो सुन्दर र राम्रो कसैको देश पनि छैन । अरू देशका बारेमा केही पनि जानकारी थिएन । तैपनि, यो सानो देशको खुब माया लागेर आउँथ्यो । भला गाउँको गरिबी आँखैअघि किन नहोस् †
अहिले सोच्छु, यो देशलाई माया मात्रै गरिरहनुपर्ने कारण के छ ?
मेरा तर्कमा तपाई निराशा पाउनुहोला । तर, आज संसारका अरू ठाउँहरूसँग तुलना गरेर हेर्दा देशलाई माया मात्रै गर्नु पर्नाको अर्थ खासै देखिन मैले । राज्यलाई कर तिर्ने नागरिकको हिसाबले प्रत्येकको केही दायित्व हुन्छ– देशको कानुनअनुसार कर तिर्नु र कानुनको पालना गर्नु । तर, राज्य सञ्चालनको निकायमा पुगेका र बसेकाहरूको झन् धैरै जिम्मेवारी हुनुपर्छ– कानुन कार्यान्वयन गर्न, थिति बसाउन र सरकार र सरकारी संयन्त्रलाई ‘राज्य’ जस्तो बनाउन । त्यस्ता अनगिन्ती ठाउँ छन्, यो देशले ‘देश’जस्तो व्यवहार गर्न सुधार्नुपर्ने र राज्य ‘राज्य’ जस्तो हुन पूरा गर्नुपर्ने ।
रोजगारीको झिनो सम्भावना पनि देशभित्र नभएपछि अरब गएकाहरूले आयोजना गरेको भानु जयन्तीमा पुगेका कवि श्रवण मुकारुङ लेख्छन्–
यो देशले के दियो र तिमीहरूलाई
यति धेरै तिमीहरू देशको माया गर्छौ ?
यही देशले खाली खुट्टा लखेटेको होइन तिमीहरूलाई
यही देशले नांगेझार घोक्रयाएको होइन तिमीहरूलाई
तैपनि किन तिमीहरू नेपाल भन्नासाथ छातीमा हात राख्छौ, शिर झुकाउँछौ
आँखाभरि टलपल आँसु उमार्छौं ?
०००
राष्ट्रवादी बन्ने नाममा जन्मेको माटोलाई माया गर्नुपर्छ भन्ने हो भने भन्नका लागि गरिने मायाको सार नै के भो र ? होइन, व्यावहारिक बनेर हेर्ने हो भने व्यापार र बजारले मानव उन्नतिको सीमा निक्र्याेल गर्ने आजको विश्वमा जहाँ सुविधा, फाइदा र नाफाको जिन्दगी बिताउन सकिन्छ, मान्छे पाएसम्म र सकेसम्म त्यहीँ जान्छन् । यस्तोबेला लाग्छ, कहाँ छ त माया गर्न मन लाग्ने चिज यो ठाउँमा ? कुन चिजको माया मानेर बसुँ यो देशमा ?
मलाई लाग्छ, माया गर्नै पर्ने चिज– पहाडको चिसो पानी, निर्मल हावा र अबोध किसानको सरल जीवनबाहेक बाँकी निकै कम छन्, यो देशमा । बाँकी कसलाई माया गर्ने ? राज्यलाई ? शासनलाई ? वा शासन गर्नेलाई ? यो प्रश्नले मेरो मथिंगल रिंग्याउँछ ।
मेरो पुस्ताको तन्नेरी, जसलाई आर्थिक उन्नति गरिरहेका दुई छिमेकी देशका तन्नेरीहरूजस्तै उन्नति गर्ने मोह र जोश छ । ‘नेपालको राष्ट्रियता खतरामा छ’ जस्ता राजनीतिक नाराका भरमा उनीहरू देशप्रेमी बन्न अब सक्दैनन् । पढे/लेखेका तन्नेरीहरू युरोप, अमेरिका पुगेका छन्, अवसर नपाएका वा कम पढेका मलेसिया, कतार र कोरियामा । देशभित्र बाँकी रहेकाहरू पनि केही सर्तमा मात्र ‘देशको सेवा’ मा हुनेछन् । देशभित्रै रोजगारी, शान्ति प्लस रोजगारी, खुला रूपमा आर्थिक गतिविधि गर्न पाउने वातावरण, सुरक्षा, वैयक्तिक स्वतन्त्रताजस्ता सर्तले निर्धारण गर्नेछ अबका युवाहरूको ‘देश प्रेम’ । र त्यसैले कोर्नेछ प्रगतिको रेखा – युवाहरूको र देशको । त्यसो हुन सकेन भने जहाँ अवसर प्राप्त हुन्छ ‘सक्षम तन्नेरी’ हरू त्यहीँ जानेछन्, गइरहेका छन् । ‘ब्रेन ड्रेन’ को समस्याले यो देशलाई झन उजाड बनाउनेछ ।
त्यसोभए के नेपाल सबैलाई प्यारो छ त ? यो देशलाई मनैदेखि माया गर्ने को छ ?
श्रम विभागका अनुसार गत वर्ष साउन महिनामा मात्रै दैनिक एक हजार चार सयका दरले युवा कामका लागि बिदेशिए । भारतबाहेक र युरोप, अमेरिका, अस्ट्रेलिया पढ्न भनेर गएकालाई नगन्दा पनि सरकारी रेकर्ड राखेर कामका लागि बिदेसिएका तन्नेरीहरूको संख्या तीस लाख नाघिसक्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने जुनसुकै प्लेनमा आधाभन्दा धेरै रोजगारीका लागि उडेका हुन्छन् । के उनीहरू देशको माया लागेर उडेका होलान् ? कि यो देशको माया नलागेर उडेका ? यी प्रश्नको जवाफ खोज्दा म आफ्नै तस्बिर आफू अघि पाउँछु ।
यो लेखको सुरुप्रति लेख्दै गर्दा म बाबु बन्न प्रतीक्षारत एक युवा थिएँ । मेरी श्रीमतीको गर्भमा ६ महिनाको बच्चा थियो । ऊ तीन महिनापछि यो संसारमा पाइला टेक्नेछ भन्ने कल्पना मात्रैले पनि म रोमाञ्चित भइरहेको हुन्थँे । तीन महिनापछि मैलेजस्तै तँछाड–मछाड गर्ने छ र सालाखाला एउटा नेपालीको जीवन बिताएर उमेर कटाउनेछ उसले, म यस्तै कल्पनामा हुन्थेँ ।
तरकारी र अरू दैनिक सामान किनमेलका लागि पाटनढोका आसपास सडकमा साँझको घुम्ती पसल जाँदा मानिसहरू परसम्म आँखा घुमाएर हामीलाई हेर्थे । चिनेजानेकाहरू त सोधी पनि हाल्थे, ‘कतिको भयो बच्चा ?’
‘६ महिनाको’ पावना जवाफ फर्काउँथिन् । पेट भित्रैको पनि हामी दिन गन्दै थियौँ । दिनदिनै बाक्लिँदै गरेको पेटले उसलाई हिँड्न झन् कठिन बनाउँदै थियो ।
‘छोरा कि छोरी ?’ धेरैले सोध्थे ।
‘जुन दिन बच्चा धर्तीमा पैदा होला, त्यहीबेला थाहा लाग्ला उसको लिंग ।’ हाम्रो जवाफले मानिसहरू खिस्स हुन्थे ।
हामी अमेरिकाबाट फर्केको पनि ६ महिना भएको थियो । चिनेकाहरू भेट हुँदा प्रसंग उठाइहाल्थे, ‘किन फर्केको अमेरिकाबाट ? एउटा बच्चा त अमेरिकामै प्लान गरेको भए राम्रो हुन्थ्यो ।’ अधिकांशको सुझाव हुन्थ्यो ।
खासमा अहिलेसम्म मैले एकजना पनि भेटेको छैन ‘नेपाल आएर राम्रो गरिस्’ भन्ने । हामीलाई अलि नजिकबाट चिनेकामध्ये एक/दुईबाहेक बाँकी कसैले पनि नेपालमै बच्चा जन्माउने हाम्रो योजनालाई राम्रो भनेनन् । अनि सोच्छु, के दिएको छ अमेरिकाले ? के दिन सकेको छैन नेपालले ? कवि मीनबहादुर विष्टको कविता सम्झना हुन्छ यस्तो बेला :
त्यस्तो केही छैन पहाडमा जसको म एउटा कविता लेख्न सकुँ
खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जसको कुनै लेखकले एउटा निबन्ध लेख्न सकोस्
जस्तो कि धेरै वर्ष लाहुर खाएर केही महिनाको छुट्टीमा घर फर्कंदा
बातैपिच्छे भन्ने गर्छन् लाहुरेहरू
‘साला पहाडमे क्या है’
हो केही छैन ‘साला’ पहाडमा
खोजीपस्ने हो भने नेपालका उच्चपदस्थ र प्रभावशाली नेता वा पूर्वमन्त्रीमध्ये धेरैको छोरा/छोरी वा नातीनातिना अमेरिका, युरोप वा अस्ट्रेलियामा छन् । तिनीहरू नेपाल फर्कन्नन्, उतै बस्छन् । यस्तो बेला लाग्छ, यदि नेपाल राम्रो भइदिएको भए तिनीहरू पनि नेपालै फर्कन्थे होलान् कि ? आफ्ना छोराछोरी यहाँ नबस्ने भएपछि नीति बनाउने नेता र उच्चपदस्थ अधिकारीलाई पनि यो ठाउँ राम्रो या अनुशासित बनाइरहनुपरेन । ‘यो देश भर्सेलै परे पनि मलाई के हुन्छ र, टाउको लुकाउने ठाउँ विदेशमा छँदै छ’ भन्ने नेता र उच्च सरकारी अधिकारीको सोचाइ नै अविकासको एउटा कारण त होइन ? तिनीहरूका छोराछोरी यही ठाउँमा हुने हो भने नेताहरूलाई पनि आफ्नै सन्तानको भविष्यले कुनै न कुनै बेला पिरोल्ने थियो र सायद केही असल काम गर्न प्रेरित हुने थिए ।
यथार्थ भन्नुपर्दा मीनबहादुर विष्टको कविताजस्तै हो । पहाडमा उराठलाग्दो सालको ठुटोबाहेक अरू चिज कमै छ । सहर बेथिति र भ्रष्टाचारको आहालमा डुबेको छ । अनि सोच्छु, नेपालमै सन्तान जन्माउने निर्णय गरेर हामीले गल्ती त गरेनौँ ?
तत्कालका लागि मसँग जवाफ छैन । मेरो छोरीलाई दिने जवाफ भविष्यमा पनि मसँग नहुन सक्छ । विदेशका अवसरहरूलाई छाडेर नेपालै बस्ने निर्णय गर्दा साह्रै ठूलो देशभक्ति देखाएको छु– मैले त्यो भन्ने खोजेको होइन । मलाई नेपाली भाषा बोल्ने माटोमा काम गर्न सजिलो भयो, यहीँको कुरा गर्नुपर्यो । लाग्यो, केही गर्ने हो भने यहीँ नै गर्न सक्छु, अन्त होइन । त्यसैले म यहाँ बसेँ । तर, अरूलाई यहाँभन्दा अरू ठाउँमा कमाउन सकिने, केही गर्न सकिने आस होला । त्यस्ता युवा ताक परे कुनै दिन उतै जानेछन् । देशमा थिति बस्न सके, आर्थिक उन्नतिको बाटो हिँड्न सकेस् मेरो र भावी पुस्ता यहीँ रहला । प्रगतिको बाटो हिँड्दै जाँदा यो माटोप्रति गर्व गर्ने दिन पनि आउला । नत्र राष्ट्रवादको भावनामा ‘देशको माया गर्नुपर्छ’ भन्ने खोक्रो नारामा रमाएर तन्नेरीहरू यो ठाउँमा रहलान्जस्तो म ठान्दिनँ ।
‘अपार सुन्दरता र सम्भावनाले भरिएको’ भन्ने नेताहरूका बोलीमा मलाई शंका छ । केही छ यो देशमा भने जलस्रोत, युवाशक्ति र पर्यटन, बस त्यति छन् ।
व्यक्ति आफँै केही हुन सकेन भने देशको माया मानेर मात्र केही हुन्न । जबसम्म देश आर्थिक सम्पन्नताको बाटोमा हुन्न, सुन्दरता र सम्भाव्यता भन्ने चिज ढोंगसिवाय केही हुन्न । व्यक्तिले प्रगति गर्न सके देशको उन्नति हुने हो । तब न पहाड, खोला, वन सुन्दर हुने हुन् नत्र ती चिजहरूको केही अर्थ छैन । यो भूगोल र सुन्दरताको पनि कुनै अर्थ हुन्न । देशले आर्थिक प्रगति नगरुन्जेल ‘देशको माया’ देखाउनका लागि गरिने ढोंग मात्र हुनेछ ।
(श्रोत:- Sourya Dainik )