जीवन–गुरु जो गुलाब रोपिरहन्छ

~मिनु श्रेष्ठ~

‘जब यी फूलहरू फुल्लान् तब मलाई सम्झिनू र केटाकेटीहरूलाई सुनाइदिनू कि फूल जीवनको प्रतीक हो । भनिदिनू जीवन फूलजस्तै हुनुपर्छ । यसका लागि लागूपदार्थबाट टाढै बस ।’

नारायणम्ले लेखेका यी हरफ पढिरहँदा बाहिर सिमसिम पानी पर्दै थियो । आकासमा बादल थिएन । कञ्चनजंघाको काख अर्धगोलाकार सप्तरंगी ईन्द्रेणीले मोहक देखिन्थ्यो । लाग्छ, घाम र पानीको बिहे हुँदैछ । ईन्द्रेणीको रंगमा दुलही सिंगारिदै छ । मलाई लाग्यो, जीवन पनि ईन्दे्रणीजस्तै हुन्छ । सप्तरंगी । यसलाई निष्कलंक राख्नुपर्छ । यही नै नारायणम्को शिक्षा हो ।

मैले गत जुनमा पहिलोपटक नारायणम्लाई देखे । ऊ नाम्चीबजार छिर्ने सडकको दायाँबाँया फूलहरू रोप्न तल्लीन थियो । बिहानै उठ्थ्यो र अबेरसम्म फूलहरु स्याहाथ्र्यो । ऊ फकिरजस्तो थियो । जीवनमा बाँकी कुनै मोह नभएजस्तो तृप्त । तर आँखाका कुनामा पीडाका अनन्त पत्रहरू थिए । कुनै ग्रिक कविजस्तो उसको अनुहारलाई हेरेर मान्छेहरू विभिन्न अनुमान लगाउँथे ।

भन्थे, यो पागल हो ।

कोही उसलाई कवि ठान्थे । कोही विन्दास प्रेमी ।

खासमा ऊ के हो, कसैलाई थाहा थिएन ।

मान्छेहरू ऊसँग बोल्न पनि संकोच मान्थे ।

उसको बारेमा मेरो कुनै धारणा थिएन । थोरै जिज्ञासा थियो । तर ऊ काममा नै मग्न भेटिन्थ्यो कि बिथोल्न मनले मानेन । कलाकारले मूर्ति कुँदेझैं ऊ माटो मिलाउँथ्यो र कुनै नवजात शिशुलाई आमाले कोक्रामा  सुताएझैं सपक्क गुलाबको बिरुवा रोप्थ्यो ।

एकदिन म मर्निङवाकमा थिए । उ फूलका बिरुवाहरू समेल्दै रहेछ । हिजो रोपेका फूलहरू कसैले उखेलिदिएछ । त्यसैको पीडामा ऊ एक्लै बरबराउँदै थियो । त्यो दिन मैले फूलहरू समेल्न सघाए । यसरी उसको र मेरो बोलचाल सुरु भयो ।

उसले नाम नारायणम् भन्यो । उमेर सोधिन, सायद ५५ वर्षजति होला । घर उडिसा । उसले अरु धेरै परिचय दिएन । उ नाम्ची आउनेजाने सडकलाई फूलहरूले सिंगार्न चाहन्थ्यो । जीवनलाई फूलजस्तै बनाउन चाहन्थ्यो । ऊ फूलहरूको सपना देख्ने माली थियो ।

परिचय भएको तेस्रो दिन मैले उसलाई चियाको लागि निम्ता दिए ।

ऊ समयभन्दा ५ मिनेट अगाडि नै आयो । मेरो घरको बार्दलीमा फुलेका फूलहरू हेर्याे । फूलहरूलाई सुमसुम्यायो । नयाँ फुलहरू रोप्न सिफारिस गर्याे । म भने उसकै बारेमा जान्न चाहन्थे ।

के गर्नुहुन्छ मेरो बारेमा जानेर ?

मैले गर्ने केही पनि थिएन । भनिदिएँ, जान्न चाहन्छु बस् ।

उसले कुरा सुरु गर्यो । उसको ४ जनाको परिवार थियो । ऊ कलेजमा बोटानी पढाउँथ्यो । श्रीमती परम्परागत दक्षिण भारतीय कलाको अनुसन्धान गर्थिन् । परम्परागत पेन्टिङ किन्नेबेच्ने उनको अतिरिक्त पेशा थियो । छोरा र छोरी कलेज पढ्थे । अध्यायन, अनुसन्धान, व्यापार र देशीविदेशी मित्रहरूसँग सत्संग । जीवन सुखी थियो ।

एकजना अल्जेरियाली नागरिक उनीहरूको पारिवारिक मित्र थियो । ऊ पेन्टिङको नियमित ग्राहक । वर्षमा ३ महिना भारतका विभिन्न सहर घुम्थ्यो । पेन्टिङ किन्थ्यो । भन्थ्यो, भारतसँग प्रेम छ । उसले नारायणम्का छोराछोरीलाई पनि खुब माया गथ्र्यो ।

सन् २००८ को जाडो बिदामा ऊ कतै घुम्न जाने भयो । उसले नारायणम्का छोराछोरीलाई पनि सँगै लैजाने स्वीकृति माग्यो । तीनजना एकमहिने पर्यटनमा निस्किए । एक महिनापछि नानीहरू आए तर ऊ आएन । नानीहरू दुब्ला, पातला र रोगीजस्ता देखिन्थे । के भएको हो ?

नारायणम् दम्पतीले उनीहरूलाई अस्पताल लगे । थाहा लाग्यो, उनीहरू लागूपदार्थको दुव्र्यसयनमा फसेका रहेछन् ।

यो सब बताइरहँदा नारायणम्का आँखामा पीडा झल्कियो । भन्यो, ‘त्यो दिन हामीलाई आफ्नो आकास खसेझै भयो । रातभरि रोयांै । आफ्नै भाग्यलाई गाली गर्यांै ।’

गल्ती कहाँनेरि भयो, खोज्न थाल्यांै । खासमा हामीले त्यो खैरेलाई धेरै विश्वास गरेछौं । नानीहरूलाई असीमित स्वतन्त्रता दिएछौं । तर मायाले बाँध्न सकेनछांै । उनीहरूलाई आधुनिक सभ्यता त सिकायांै तर जीवनको महत्व सिकाएनांै ।

यसो भन्दा नारायणम्को आँखामा आँसु छचल्कियो ।

आफ्नो गल्तीको प्रायश्चितका लागी छोरीले अस्पतालको झ्यालबाट हाम फालेर आत्महत्या गरी । छोरामा एचआइभी एड्स देखियो । दुई वर्षपछि ऊ पनि मर्याे । यतिले मात्र हाम्रो दुर्भाग्य टरेन । पेन्टिङको फ्रेमभित्र लुकाएर अल्जेरियनले लागूपदार्थ ओसारपसार गर्दो रहेछ । मेरी श्रीमती अन्जानमै लागूऔषध कारोबारको अभियोगमा जेल गइन् । म एक्लो भएँ ।

यो सबै सुनाइरहँदा ऊ झण्डैझण्डै रोएको थियो । त्यो दिन उ विदावारी पनि नभई हिँड्यो ।

उसको कथाले मेरो परिवारलाई छोयो । बिस्तारै ऊ हाम्रो परिवारकै मित्र बन्यो । हामी उसलाई घरमै बोलाउथ्यांै । मेरो छोरासँग उसको दोस्ती जम्यो । उसले छोरालाई जीवनका अनुभवहरुरू सुनाउँथ्यो । लागूपदार्थको दुष्परिणाम बताउँथ्यो । बताउँथ्यो समाजका अनेकौं असंगति र जटिलताहरू ।
यिनै जटिलताबाट मुक्ति खोज्दै उ सिक्किम आइपुग्यो । बोटानिस्ट भएका कारण उसलाई फूलहरूमा चाख थियो । यसैले आफ्ना नानीहरूको सम्झनामा उसले हजारांै फूलहरू रोप्ने संकल्प गर्याे ।

जीवन जिउने यो उसको आफ्नै तरिका थियो । ऊ आफ्ना सन्तानलाई असाध्यै माया गथ्र्यो ।

ऊ भन्थ्यो, लागूपदार्थ सामाजिक रोग हो । अपराधीहरू आफन्त, साथीभाइ जो पनि हुन सक्छन् । लहैलहैमा यसको फन्दामा परिन्छ । सुरुमा रमाइलो होला तर बिस्तारै यसले जीवन नष्ट गर्दै लैजान्छ । लागूपदार्थले व्यक्तिमात्र नभई परिवार र समाजलाई नै बर्बाद बनाउँछ । त्यसो त दुव्र्यसनमा फसेकाहरूलाई मायाले समाल्न सकिन्छ । पुनस्र्थापना केन्द्रबाट पनि उपचार सम्भव छ । तर रोगीमा आत्ममल चाहिछ ।

ऊ लागूपदार्थमुक्त समाज बनाउन चाहन्थ्यो ।

ऊ जीवनको शिक्षा दिने गुरु थियो । केटाकेटीलाई जीवन अझ महत्वपूर्ण बनाउन प्रेरित गथ्र्यो । यही शिक्षा फैलाउन ऊ पुनस्र्थापना केन्द्र खोल्न चाहान्थ्यो । यस्तो केन्द्र जाँहा योग, साधना, जीवनको अनुपम सौन्दर्यबोध र प्रेमबाट दुव्र्यसनमा फसेकाहरूको उपचार होस् ।

हामीले पनि उसको मिसनमा सहयोग गर्ने वचन दियांै ।

नारायणम् भन्थ्यो, जब उसले रोपेका गुलाबहरू फुल्नेछन्, तब नानीहरूले जीवनको महत्व सम्झिनेछन् । हामीभन्दा हाम्रा केटाकेटीहरु असल हुनपर्छ । अनि मात्र संसार अझ राम्रो हुन्छ । नानीहरूलाई असल बनाउन उनीहरूलाई कुलतबाट बचाउनुपर्छ । यसका लागि व्यक्ति स्वयं, अभिभावक, विद्यालय, समाज र सरकारले धेरै काम गर्नुपर्छ ।

सेप्टेम्बर अन्तिम हप्तादेखि ऊ नाम्चीमा देखिएन । एक महिनापछि एक दिन उसको चिठी आयो । उसले लेखेछ, उसकी श्रीमती जेलमुक्त भई । उनीहरू दुवैजना अहिले सँगै छन् र आफ्नै गाउँमा फूलहरू रोप्दैछन् । अर्को वर्ष उनीहरू पुनस्र्थापना केन्द्रको जग हाल्नेछन् ।

पत्रमा उसले सपरिवार आउन निम्ता दिएको थियो ।

अर्को वर्ष हामी नारायणम् दम्पतीलाई भेट्न जाँदैछौ । हामीसँग छोराछोरीहरू पनि जाने भएका छन् । मेरो छोरा भन्छ, ऊ २ वर्ष उनीहरूसँगै दुव्र्यसनबिरुद्ध अभियानमा लाग्नेछ । छोराको यो संकल्पले मलाई धेरै खुसी दियो । मैले मनमनै नारायणम्लाई धन्यवाद दिए ।

सायद यतिबेला ऊ पनि हाँसिरहेको होला ।

(कथाकार श्रेष्ठ सिक्किममा बस्छिन् ।)

(श्रोत:- Setopati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.