~योगेश ढकाल~
‘तपाई सोच्नेमात्रै हो, केही गर्नुहुन्न’ ठ्याक्कै ६ महिना बितेछ । उनले यसो भन्दै आ’को । ‘अंग्रेजी पढ ।’ ‘फ्रेञ्च भाषा सिक ।’ ‘पीएचडी इन्रोलको तयारी गर । ‘भावना, कल्पना, आशा, क्षणिक आनन्द र उत्तेजनाका पांग्राले थोरै माइलेज दिन्छ । मिटरमा गन्ती गरेर माइलको जीन्दगी चल्दैन ।’
न्यानो आंलिगनमै कहिलेकाँही भन्थिन् । ‘समयको चिप्ल्याइले यहाँसम्म आइपुगेको जीन्दगी माइलमा नापेर पनि त पुग्दैन ।’ म सोच्थें । ‘भाव उत्तेजनाको गन्थन होइन यो, कुनै हालतमा मिडियामा बस्दिँन तिम्रो कसम ।’ यस्तै भनेर सम्झाइरहेँ ।
पत्रकारिताको छालमा हेलिएँ, अहिलेसम्म छाडेको छैन । किनारा लाग्न खोजेको हो । छालले किनाराभन्दा मझधारमै हुत्याउँछ । न छोड्न सकेको । न गर्न सकेको, घिस्रिएको मात्रै ।
‘ सायद तपाईलाई काँचको पर्दाबाट संसार नियाल्दा सिर्फ आर्दश, भावना र भावावेशमा यसो भन्दैछे भन्ने लाग्ला । रंगहीन जीवन रसविनाको कागतीको खोस्टाजस्तै त हो नि । चिम्म गर्दा मष्तिस्कमा आउने रंगीन चित्रको आकार प्रकार र सपनाबारे कल्पिनोस् एकैछिन ।’ हिजो उनले फेसबुकको इनबक्समा लामो म्यासेज लेखेकी रहिछन् । ‘जीवनका रंगीन सपना, कल्पनासंगै मन फुकाएर रुन चाहन्छु । धित पुर्याएर आँसु बगाउन चाहन्छु । पेटभरिको पीडा ओकल्न चाहन्छु । तर, पाउँदिन । किनभने निरर्थकको म्याराथुन यात्रामा तपाई निस्किनु भएको छ । क्षितिज छुने सपनामा । तर,तपाईलाई थाहा छैन, म्याराथुनको लँस्ट प्वाइन्ट र क्षितिज । फगत दौडाई मात्र छ ।’
उनको चाहना र अपेक्षाले निथु्रकै भिजेको छु, साउने झरीले झै । निरन्तर चुटिएको छु,असिनाले झै । सपना पनि सिऊसिऊ गर्दैछन् पुषको ठण्डीमा ओंतविनाको गोठका वस्तुजस्तै । थाहा छ, चोटैचोट, अभावैअभाव र पीडैपिडामा जीवन सप्तरंगी बन्दैन । म कसलाई सुनाऊ जीन्दगीका रामकहानी ? उनलाई ? बाआमालाई ? दाजुदिदीलाई ? अहँ सक्दिँन, कसैलाई सुनाउन ।
०००००
शुक्रबार, रातको ११:३० बजे ।
मोबाइल बज्यो । ‘सायद बैठकबाट कसैले समाचार दिन लाग्यो कि ?’ सोंचे । होइनरहेछ । उनैले फोन गरेकी रहिछन् । फेसबुकमा म्यासेज गरेपछि दुई दिनसम्म पुरै सम्र्पकविच्छेद थियो । उपदेश भनौं या वास्तविक कथन । जे भने पनि उनलाई दिने जवाफ थिएन मसँग । हिम्मत पनि भएन । र, रिप्लाई गरेको थिइँन । त्यसैले पनि उनी साँच्चै केही भन्ने मूडमा थिइन सायद । मोबाइल बिजी राख्न मिल्थेन, भित्रबाट सूचना आउथे बेलाबेला । अर्कातिर उनको मूड अफमा रिसिभ गर्न ठीक ठानिँन । काटेँ ।
फेरि मोबाइलमा म्यासेज टोन बज्यो । उच्चस्तरीय राजनीतिक समिति र असन्तुष्ट दलहरुको बैठकमा सहभागी नेताको म्यासेज रै’छ । पढेँ । बैठकको केही सूचना थियो । ‘सहमतिमा आजै हस्ताक्षर हुने । सहमतिको बुदाँ ड्राफ्ट हुँदै ।’ न्यूज ब्रेक गरियो । टिभीमा लाइभ दिएँ । लाइभमा भन्दिँए ‘ ढीला गरी आज नै सहमतिमा हस्ताक्षर हुदैँछ । हस्ताक्षरले राजनीतिक स्थिरताको संकेत गर्छ । र, दलहरु जिम्मेवार बन्न थालेको पुष्टि पनि गर्छ ।’ अरु च्यानलका साथीहरुले न्यूज पठाएकै रै’नछन् । उनीहरुलाई न्यूज रुमबाट दबाब आएछ । मलाई पो सोध्न थाले । सूचना भन्दिँए । बैठक टुंगेको थे’न ।
०००००
हामी रिपोर्टर आईसिसी भवनको राष्ट्रिय बाणिज्य बैंक छेऊको गेटमै जोडिएको चिया पसलमा थियौं । चिया पसल भन्नुमात्रैको । दिउरेमा उम्लिन्थ्यो चिया । कहिलेकाँही लोग्नेप्रतिको आक्रोश पनि चियाझै उम्लिन्थ्यो ती सेती दिदीको । ‘हात्तीभन्दा हल्ला ठूलो’ राजनीति व्यंग्य गर्दा दिल खोलेर हाँस्थिन् दिदी । दिनभरि दारु धोक्ने श्रीमान् पालेकै थिइन् । सरकारी स्कूलमै सही, दुई छोरा पढाएकै थिइन् ।
आइसिसीमा बैठक हुदाँ राति १२ बजेसम्मै बस्छिन् हाम्रै लागि । सेती दिदीको चिया पसल बिहान चाँही बेस्सरी चल्छ । ५ बज्न नपाउंदै आउँछिन् । र, बस्छिन् साँझसम्मै । कस्तरी खटिएर काम गरेकी होलिन् । सोच्छु कहिलेकाँही । मेरो पनि खटाइ कम हो र ? बिहान ११ बजेतिर अफिस पुगेको मान्छे राति १/२ त त्यसै पनि बज्छ । कहिले त झिसमिसमै कुद्नुपर्छ । फरक यति हो, सेती दिदीले जिन्दगी नगदमा चलाएकी छन् । मैले उधारोमा ।
शुक्रबार पनि चियाको कपसँगै घण्टाहरु कट्दै थियो हाम्रो । चुरोटको धुवाँसँगै रातका प्रहरहरु उड्दै थिए । मेरो पेटमा चारो नपरेको बिहानको खानासँगै हो । टाढा जाने अवस्था थिएन । नेता निस्केलान् । बाइट छुट्ला । चिन्ता थियो । नढाँटी भनुँ ? ‘नेता छुट्ने भन्दा रित्तो खल्ती बानेश्वर चोकसम्म डोर्याउन सक्थेन । त्यही दुई कप कालो चिया र एक खिली चुरोट धानिन्थ्यो होला खल्ती टकटक्याउँदा ।’
०००००
रातको ११: ४५ भइसकेको थियो ।
टिभीमा लाइभ रिपोर्ट सकियो । अनि उनलाई फोन गरेँ । फोन काटिन् । ‘आई एम एट मिटिड, आई कल यु लेटर ।’ म्यासेज सीधासिधी व्यंग्य थियो । असन्तुष्ट दलसँग संयन्त्रका दलका नेताहरुको वार्ता भै’राथ्यो । आज ठोस निष्र्कष आउँछ भन्दै थिए नेताहरु । हट न्यूज बन्नेवाला थियो । म्यासेज आयो । मोबाइलमा हेँरे । ‘सहमति गर्ने सहमति भयो । भोलि ५ बजे बैठक बस्ने ।’ खङग्रङ भएँ । १५ मिनेट अघि सहमति हुने ब्रेकिङ न्यूज । अहिले सहमति भाँडिएको ब्रेकिङ न्यूज । ‘दर्शकले के भन्ने होलान् ?’ लाइभ दिन मन लागेन । अफिसले माने पो । दिनभरिको भोक । चुरोटको धुवाँ र चियाको बाफसँगै फुंग उडेको अनुहार । ब्रेकिङ न्यूज नै खत्तम भएपछि उठेको रिस । दलीय प्रवृत्ति भन्दै लाइभमा खुब पोखियो ।
०००
‘न्यास्रो लागिरा’छ, शनिबार ठमेलको हिमालयन जाभामा भेटौं न ।’ हिजो भनेकी थिइन् । दलीय वार्ताको रिर्पोटिडमा व्यस्त । खल्तीमा सुको नभा’को अवस्था । त्यसैले फिक्स गरेको थिइँन । अत्यास त मलाई पनि लागेको हो । ठ्याक्कै तीन महिना भा’ थियो न्यानो आलिंगनमा नबाँधिएको । इच्छा र रहरहरु, चाहना र उद्देश्यहरुसँगै चुम्बन नगरेको । म पनि भेटेर मनको कुनामा छचल्किरहेका छालहरु, असीम तरंगहरु पोख्न चाहन्थे उनको न्यानो काखमा ।
अघिल्लो महिना चुनावी रन्कोबारे रिपोर्टिङमा इलाम जानुपरेकाले भेट्न साइत परेन । इलामबाट फर्केकै दिन फोन गरिन् । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा बोला’की थिइन् । लखतरान थिएँ । कोठामा पुर्लुक पल्टिएँ । ‘तपाई मैले बोलाउँदा कहिले पो आउनुभा’छ र ?’ आक्रोश र प्रेम एकसाथ पोखियो ।
भेट पातलिनुमा रिपोर्टिङको चटारो भन्दा अर्कै कारण थियो वास्तवमा । जो भन्न सक्दिनथें । चाउचाउजस्तो मन बनाएर पनि धेरै कुरा लुकाउनुपर्ने रै’छ । इलामबाट हरियो चियाको पत्ता ल्याइदिन भनेकी थिइन् । दिनै नपाई काभ्रे जानुपर्ने भो, एकहप्ताका लागि । पछि रामेछाप र दोलखा पनि पुग्ने कुरा भो । दुई हप्ता त्यतै बित्यो ।
००००
अफिस जाँदा बाटोमा पर्छ भृकुटीमण्डप । त्यही बोलाएँ । समाचार प्रशारणको समय हुन लागेको थियो टिभीमा । हरियो चियापत्ता दिएँ, पानको पत्ता सम्झेर । एक महिनासम्म हरियो के बाँकी रहन्थ्यो । नाममात्रैको हरियो । चियापत्ता पो हरियो रहेन, प्रेमले मन हरियाली नै छ नि । ठट्टा गरेँ । मन्द मुस्कान छोडिन् । उनी मुस्कुराउँदा गालामा पर्ने खोपिल्टो मलाई औधी आर्कषक लाग्छ । आज खटाएरै हाँसिन् । छोटो भेट, सायद छोटै हाँसो । लामो भेट त्यही चित्लाङको हो हाम्रो, एक रातको । रंगीन जीवनका सप्तरंगी सपनासँगैको रात । स्मृतिहरु अहिले पनि ताजा भएर आउँछ । एउटा आनन्ददायी कथाको सुरुवात । सुरुसुरुमा म पनि मनको थैली ह्वाङ्गै पारेर पोखिएको हो । न्यानो अँगालोमा बाँधेकै हो ।
००००
दुई बर्षपहिला मेरो फेसबुक पेजमा उनले लाइक गरेपछि चिनापर्ची भा’ हो । ‘हाई, आराम हुनुहुन्छ ? अप्ठ्यारो नमान्नुहोला है, तपाईलाई टिभीमा साँच्चै राम्रो देखिन्छ । तपाईको न्यूज पढ्ने शैली युनिक लाग्छ मलाई । खुब मन पर्छ ।’ फेसबुकको त्यही म्यासेज हो, हाम्रो सम्बन्ध बढाउने तत्व ।
बत्तीसपुतलीमा पुख्र्यार्ली घर । त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर । नाम चलेको बैंकमा जागिर । ५ फिट २ इञ्च अग्ली । न मोटी न पातली । छिनेको बारुली कम्मर । गोलो अनुहार । गहुँगोरी । राता पीरा गाला । द्रेबे गालामा कालो कोंठी । आँखामा गाजल । मीठो मुस्कान । मुस्कानसँगै गालामा पर्ने खोपिल्टो । मसिनो स्वर ।
कम्मरसम्म झर्ने सिलिक्क परेको निख्खर कालो केश । कालोे जिन्स पाइन्ट । र कालै कोट । गालामा रातो सल । पुठ्ठ उठेको छाती । साँच्चै लोभलाग्दो । बैंकको ड्रेसमा झन् कम्ता खुलेकी हुन्थिनन् ।
००००
बजार पिटेकै ब्रोडसिट दैनिकबाट हाम्फालेको हुँ मैले काँचको पर्दातिर । दुई बर्ष भा’थियो । समाचार किल गर्ने सम्पादक र प्रकाशकसँग कुरा मिल्थेन पत्रिकामा । पेड न्यूजको विवाद । तलबको लफडा । व्यावसायिक र स्वतन्त्रता त नाम मात्रै । बाइलाइन न्यूजले पेट नभरिने । खोजपूर्ण रिपोर्टले सनसनी मच्चाउँदा कोठाभाडा भाग लाग्दो रैन’छ । किराना पसले दाइको उधारो ग्राफ एक्स अक्ष्ँतिर झर्दोरहेन छ । छोडिदिएँ पत्रिका ।
दुई वर्ष पहिला पनि नाम चलेकै एफएमबाट सपना र आशालाई साथ लिएर पत्रिकातिर लागेको हो । ओहो भो, एफएमको रामकहानी सम्झिनै मन छैन । तलब त एकादेशको कथा थियो । व्यवहारमै व्यहोर्न नपरेकाहरुलाई व्यहोर्नुको असाध्यै चहर्याउने पीडा के थाहा ? व्यहोर्नुमै दुनियाँको रंगीन पर्दा खुल्दोरहेछ । र, सम्बन्धहरु कसरी काँचझै झर्याझुरुम हुदाँरैछन् भन्ने चेत पनि खुल्दो रै’छ । पत्रिका छोड्दा गहिरो गरी मिडिया मोह छेऊ लाग्दै थियो । लेऊ लागेर बस्नुभन्दा छेऊ लाग्नुमा मज्जा देख्दै थिएँ । काँचको पर्दाबाट बोलाए । केही महिनादेखि बेरोजगार थिएँ । दुई/चार ठाँउ धाएको पनि थिएँ जागिरका लागि । कतै मेरो नाम सुनेरै तर्सिन्थे । कतै पत्रकारलाई जागिर दिए संस्थाको गोप्यता रहँदैन भन्थे । बाहाना र आक्रोश थुप्रै थिए । दिनदिनै फोन गर्ने साथी, समाचार स्रोत,व्यापारी,नेता,कर्मचारी सबैसबै पत्रिका छांडेपछि पातलो सम्बन्धमा थिए । हिजो पो पावर र पहुँचमा थिएँ । आखिर पत्रकार खोलाको फड्के न हो, बाढी आउँदा तर्यो सकियो । ‘महिना दिनमै सम्बन्धहरु पातलिएका मात्रै थिएनन, गौंडा ढुक्नेहरु पनि निस्कन थालेका थिए । सोंचे । ‘जे भए नि काँचको पर्दाको अनुभव पनि हुने, जागिर पनि पाइने । पुरानो सम्बन्ध पनि जोडिने ।’ टिभीलाई कन्र्फम गर्दिएँ । एकवर्ष त जागिरको पांग्राले जेनतेन तानेकै हो । यता,चाँहि साँच्चै माइलेज घट्दै गा’को छ ।
०००००
अफिसको गाडी छाड्न आउँछ बेलुका, पुरै काठमाडौ घुमेर । १२ बजे हिँडेको गाडी मेरा कोठामा आउँदा ठ्याक्कै बिहानको दुई बज्छ । ढोका खोल्नेवित्तिकै ह्वास्सै गन्ध आयो । गन्धले नै ढलिएला जस्तो । रातदिन झ्याल बन्द । कहाँबाट हावा छिरोस् गन्ध नहुनलाई । लखतरान ज्यान । दिनभरिको तनाव । किचनमा छिर्नै मन थिएन । साहुको जिक्री दोस्त हो श्यामनारायण । कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको व्यापारी हो ऊ । कहिलेकांही रक्तचन्दन तस्करीमा नाम आउँछ । उसले टिभीका स्टाफलाई सोल्टी होटलमा पार्टी दिएको थियो हिजो । बान्डेड दारु चाख्दाचाख्दै धेरै भएछ । मासुमा चिल्लो पनि बढी भएछ सायद । आज निकै दुःख दिइरा’छ ग्यास्टीकले । फेरी दिनभरि चियामात्रै ।
कुकरमा बिहानकै भात थियो, कक्रक्क परेको । किचन र्याक हेरेको, तरकारी केही रहेनछ । चामलचाँहि कसोकसो हिजोमात्रै एक किलो ल्याएको थिएँ । आलु उसिन्ने कि भन्ने लाग्यो । हेरेँ । छैन । एउटा चाउचाउ रै’छ । त्यही पकाउन लागें । झ्याप्पै ग्याँस निभ्यो । ‘के भएछ ?’ यसो हेरेको ग्याँस नै सकिएको रैछ । ‘आऽऽ यही खा’र सुत्नुपर्यो । पल्टिएँ पलङमा ।
औंला भाँचे । दिनगिन्ती गर्न मन मानेन । घण्टा । दिन । हप्ता । महिना । बर्ष । अहँ केही जोडिँन । हिसाब मिल्ने भए पो औंला भाँच्नु । व्ययको ग्राफ एक्सअक्षतिर उकालो चढेकै छ । आयको ग्राफ वाई अक्ष्ँतिर झर्दोछ । ९ महिना भो अफिसबाट सुको नपा’को । तरकारी पसलेको उधारो नतिरेको ६ महिना भएछ । किराना पसले दाईको घरको छेऊ लागेर हिँडेको कथा झन् कतिकति । अस्तिमात्रै पुतलीसडकमा भेटिए । ‘उधारो खाएपछि तिर्नुपर्छ भन्ने था’छैन ?’ सडकमै सात्तो खाइदिए । घरबेटीलाई मुख नदेखाएको गन्ती नै छैन । कोठामा भेट्ला भनेर बिहानै निस्कन्छु । बेलुका त्यसै पनि राति १/२ बजिहाल्छ । धन्न, बेलुका मुलगेटमै भोटेताल्चा मारेका छैनन् अहिलेसम्म ।
०००००
अस्तिमात्रै हो ‘तलब पाइन्छ कि भनेँ’ अफिसमा । रन्की हाले चेयरमेन बुढा । ‘जागिर पनि तलब पनि पाइन्छ ?’ ‘जागिर र तलबको फरक नबुझ्नेले काँचको पर्दाबाट के सिकाको होला है ?’ यस्तै भन्दा हुन् सायद सडकमा । तलब र जागिरको फरक नबुझ्ने कस्तो मूर्ख म । गाममा बाले सहर पसे’सि राम्रो जागिर खाएस् । तलब पनि राम्रै हुन्छ भन्थे । ‘शहर पसेको छोरो काँचको पर्दामा देखिन्छ । टाईसुटमा हुन्छ । देश विदेशको कथा भन्छ । नेतादेखि अभिनेतासँग गफ गरेको छ । शानले अन्तर्वार्ता गर्छ । दर्शनका कुरा । अध्यात्मका कुरा । राजनीति । साहित्य । सबैसबै बारे बोल्छ । छोरो साँच्चै विद्धान भएछ ।’ बाले ठानेका छन् । पत्रिकामा हुञ्जेल बाले केही गन्थेनन् मलाई । गन्नलाई अक्षर पढ्न जानेका भए पो । फेरि गाममा पत्रिकै पुग्थेन । टिभीमा छोरो देखिन थालेपछि चांहि बाले भैंसी बचेर ६ महिनाअघि डिस होम जोडेका छन् । गामका सबै टिभी हेर्न झुम्मिन्छन् रे । ‘छोरो हुनु भनेको काकाको जस्तो पो त । हाम्रा चाँहि डोरीलाहुरे बन्न हाम्फाले खाडीतिर भन्छन रे ।’ फोनमा बाले अस्ति भनेका ।
००००
‘अब चाँहि तपाईलाई भनेर केही लाग्ला जस्तो लागेन । यतिका दिनसम्म त सुधि्रनुहोला भन्ने थियो । अब चाँहि पत्याइँन ।’ राति अबेर म्यासेज आयो । अस्तिमात्रै तीतोसत्य भन्दै टिभीका पत्रकारले तलव नपाएको कथा प्रशारण गर्दिएछ । त्योबेला सोंधेकी थिइन् मलाई । व्यंग्य गरेको नि, भनेर जवाफ दिएँ । पर्दाको अनुहारको भ्रममा रहेकी उनलाई अर्को भ्रम र झुठ थपिदिएँ । तलब पनि सोधेकी थिइन् । केटाको तलब र केटीको उमेर नसोध्नु भन्छन् भनेर टार्न खोजेको हो, सकिँन । भनंे, ‘३० हजार हो ।’ पत्याइन् । उनले पनि भनिन्.’मेरो भन्दा ७ हजार बढी रै’छ है ।’ हो भनें । विचरीलाई के थाहा, महिनामा ७ हजार रुपैयाँ तलब छ भन्ने । त्यो पनि ९ महिनादेखि पा’को होइन । फेरि त्यही च्यानलले जिरेखोर्सानी भन्दै अर्को भाग प्रशारण गरेछ, टीभी पत्रकारको रामकहानी । त्यस्तै व्यंग्यवाण हानेछ । एउटा साप्ताहिक पत्रिकाले पनि बेलाबेला त्यस्तै समाचार लेख्छ । त्यो पनि पढेकी रहिछन् । धन्न, घरमा डिसहोमको रिचार्ज सकिएको रैछ । बाले हेर्न भ्याएनछन् ।
००००
‘आनन्दको गुलाफमा तेजाब खन्याइदाको पीडा र विवशतता बुझ्छौ नि । गहिरो घाउ कोट्याउन खोज्दा बिछट्टै दुख्छ र घाउ आलो भएर उधुम चहर्याउनेरहेछ ।’ निकै भावुक बनेर दुई दिनपछि म्यासेज रिप्लाई गरें । उनका असीम पीडा ह्वालह्वाल पोखिने म्यासेजले तनाव त थपिरहेकै थियो । बाले अस्ति फोनमा दुई/तीन महिनाको तनखा पठाइदे न खर्चबर्च छैन भन्दै थिए । तीखो काँडा बनेर धड्कन रोक्ने गरी निकै निकै घोच्ने वास्ताविकता र वाध्यता ओकल्न पनि मिलेन । तौलिएरै बोलिरा’थे ।
‘यु आर अ रियल जर्नालिष्ट । हजारौं सपना,अपेक्षा,चाहना र इच्छाभन्दा एउटा भ्रमबाट छुटकारा पाउनु कयौं गुण फलदायी हुन्छ । मनमा अनगिन्ती छाल,सन्दर्भ र अनुभूतिहरु मडारिन्छ तर लेख्न सकिँन । धन्यवाद ।’ उनको जवाफी म्यासेज आयो मध्यरातमा । अर्थ बुझेको भा’ मार्दिनु ।
प्रेम झांगिनु पर्ने हो,अचेल किन हो खै जीवनका रंगहीन रातको कथा सुनाउँछिन् । सपना, आकांक्षा र भावनाहरु गिजोलिएको पीडा भन्छिन् । मेरा आश्वासनले उनको मन पग्लिन छाडेको छ । अनुभूतिका असंख्य तरेलीहरुसँग उसैगरी अनुभूत भइरहेको छैन । पीडा र व्यथाको सामीप्यले कहिल्यै नमिलेको सम्बन्धझै पारेको छ अचेल । तलब र जागिरको पर्दा उघि्रएपछि सम्बन्ध धमिलो बनाउँदैछ सायद । पातलो र निरस ।
भोलि बा’ले फोन गर्दैछन्, तनखा माग्न । आयस्ता भए पो दिनु । वास्तविकता र विवशताको अर्को पर्दा खुल्ने दिन आयो । अनि, कुन दिन घुर्यानतिर हुर्याउने हुन् बाले त्यो डिसहोम ।
(श्रोत:- Onlinekhabar )