~भवानी क्षेत्री~
“उजेलीले बच्चा जन्माई ?”
“कसको रहेछ?”
“छि ! छी ! छी”
“त्यस पातरलाई गाउँबाट निकाल्नुपर्छ !”
“त्यसका जगल्टा नलुछेर हुन्छ ?”
“त्यही मास्टरको होला !”
“होला ! होला ! आँखा देखाइदिनुपर्छ, आफ्ना खुट्टामा उभिन सक्ने बनाइदिनुपर्छ, यो हाम्रो कर्तब्य हो’भन्दै हामीलाई उपदेश दिन्थ्यो । देखाइदिएछ नि बाटो !”
“के भन्न सकिन्छ र पल्लागाउँको कैलाशे पनी खुव धाउँथ्यो है त्यसकोमा । उसले पनि किताबहरु बोकेर अएको देखेकी छु मैले !”
नेपालका अधिकांश गाउँ जस्तै एउटा गाउँ हो त्यो । गाउँ नै पनी नभनौ गाउँबाट शहरतर्फ दौडदै गरेको यो मानव बस्तीलाई कान्तिपुर,शान्तिपुर,रामपुरमध्ये कुनै एउटा नामले चिनिदिए हुन्छ।अन्य गाउँ जस्तै यो गाउँमा पनि अन्धविश्वास र थोत्रो संस्कारले राज्य चलाएको छ।हो यही गाउँकी बालटुहुरी उजेलीले दश बर्ष पुग्दा नपुग्दै बा आमालाई बिदा गरिसकेकी थिई।अहिले गाउँको मध्यभागमा रहेको एउटा स्यानो पराले छाप्रो र त्यही छाप्रो रहेको पाँच धुर जग्गा उसको सम्पति।
आमा बा मरेपछि गाउँको सबैभन्दा ठुलो र टिनको छानो भएको इन्द्रबहादुरको घरमा भाँडा माझेर उसैको गाई बस्तु चराएर,गोवर सोहोरेर,घाँस काटेर हुर्केकी हो उजेली।उसलाई माया गर्नेहरु भन्छन् “उ स्वाभिमानी छे, मेहनती छे।”
इर्ष्या गर्नेहरु भन्छन् “उ घमण्डी छे,खुव पढन्ता भएकी।खान पुग्दैन तर कुपी बालेर रातभरि पढ्छे।स्कुल जानु छैन पढेर के नाप्छे?”
गाउँका आइमाईहरु भन्छन् “लोग्नेमान्छे जस्तो स्वभाव भएकी आइमाई हो त्यो।मुटु पनि ढाडमा छ की?डर भनेको त फिटिक्कै लाग्दैन त्यसलाई।”केही बर्षअगाडिसम्म उसलाई दुर्मुखा,दुर्छे,मुखाल्नी पनि भन्थे गाउँकाहरु।केही बर्षयता भने उ गम्भीर भएकी छ तर पनि आफूमाथिको थिचोमिचो भने पटक्कै सहन्न उ।जवाफ यसरी दिन्छे मानौ जवाफलाई काटेर,छाटेर,तह मिलाएर मनमा राखेकी होस्।यस्तो लागछ जवाफको भण्डै हो उजेली।जति ओकले पनि कहिले नसिद्धिने।केही बर्षअगाडिकोपन अब हराएको छ र हरेक प्रश्नको जवाफ शान्त भएर दिन्छे अचेल।
हो यही उजेली आज सिङ्गो गाउँमा छाएकी छ।मानौ उ हावा हो जसलाई देख्न किदैन,तरजहाँ पनि पुगेकै हुन्छ।यस बेला गाउँको पँधेरो,मेला,बाटो र घर घरमा उजेली पुगेकी छे।प्रत्येकका मुख मुखमा उ र उसको बच्चाको चर्चा छ।विशेष गरेर उजेली चर्चाको मूल पात्र बनेकी छ।उसको समुन्नु पर्ने आँट कसैले नगरे पनि”छि!छि!र दूर!दूर! गर्दै पातर र बेश्या”जस्ता उपनामले सरापिँदै छे उ।बाघ जस्तै आँखा जुधाएर अकाट्य जवाफ दिने उजेलीलाई चलाउन डराउछन् मान्छेहरु।”रछ्यन चलाए गन्ध चल्छ” भन्ने ठान्दछन् त्यसैले उसको सामु जान चाहँदैनन् भलाद्मीहरु।तर यीमध्य धेरै लोग्नेमान्छेको डरको कारण अर्कै छ।गोरी,कसिलो जिउडाल भएकी उजेली गाउँमा एक्लै बस्थी।उसको वरिपरि घुम्ने र दाउ पर्दा जे पनि गर्न पछि नपर्ने,दाउ नपरे चिमोट्ने,जिस्काउने,छात्ती र कम्मरसम्म हात पुर्याउने वा उसलाई छोएरै भए पनि सन्तुष्टि लिन खोज्ने धेरै थिए गाउँमा।त्यो जमात कुनै एउटै वर्ग र उमेरको मात्र नभएर जवानदेखि बूढा र धनीदेखि गरीवसम्मका थिए।ती सबै”माछा देख्दा दुला हात र सर्प देख्दा पाखाँ हात”भनेजस्तै ब्यवहार गर्थे उसँग।एकान्तमा एक्लै भेट्दा माया गरेर आकाशका तारा खसालि दिन्छौं भन्नेहरु नै मान्छेले देख्ने ठाउँमा भने तर्किन्थे।सुरु सुरुमा त ती मान्छेहरुको यस्तो व्यवहार देख्दा अचम्म मान्थी,तर बिस्तारै लोग्नेमान्छेको यो दोहोरो रुपबाट परिचित भइ उ।यस्ता लोग्नेमान्छे यो दोहोरो रुपसंग आत्मादेखि घृणा थियो उसलाई।धनी गरीव जो भए पनि यस्ता लोग्नेमान्छेलाई गन्दिनथी र ठाडो जवाफ दिन्थी त्यो पनि सार्वजनिक ठाउँमा,त्यसैले पनि यस्ता मान्छे डराउथे उजेलीसंग।यस बेला त कतै त्यो बच्चाको बाउको ठाउँमा आफ्नै नाम लिइदिने हो कि?भन्ने डर पनि थियो धेरैलाई।गाउँका केही बुढापाका मान्छेहरु गएर”को हो बच्चाको बाउ?”भनेर प्रश्न गर्थे,तर उजेली बोल्दिनथी।धेरै सम्झाउँदा नियम र कानून सिकाउँदा,त्रास र धम्की दिंदा पनि उजेलीको वाक्य फुट्दैन।
उनीहरु गएपछि आफैंसँग उजेली सोद्धछे “कसको बच्चा?कसको बच्चा?”
“नौ नौ महिना मैले मेरो कोखमा पले।रगतपच्छे भएर मैले जन्माएँ,के था’उनीहरुलाई बच्चा पाउँदाको सास्ती?
मैले पेटमा बोकेर दुःख सहेर जन्माएँ।अब मैले छाती चुसाउँछु,खोलेफाँडो जे खान्छु,जे सक्छु, म नै खुवाउँछु।बच्चाको बाउ हुँदा पो के खालो सार्छ र?कानून र समाजले पनि के नै पो लछारपाटो लाउने हुन् र?””अँ पाली पनि देलान् आफ्ना खुटटामा मिचिदिने सक्ने कि त भाडा माझिदिने,गाई बस्तु चराइदिने भएपछि।समाज बटुल्छन् रे!बटुलुन् न समाज!म चिन्दिन र यो समाजलाई?यही समाजको एउटा पीण्ड न हो यो बच्चा पनि।बिषको जरा उनीहरु नै हुन्,सबै व्यभिचार,अत्याचार उनीहरु नै गर्दछन्।चोर,डाँका,लुच्चा सबै उनीहरुफेरि सजाएकोभागी चाहीं म र म जस्ताले हुनुपर्ने?”सोच्दा सोच्दै बिस्तारै भुतभुतभ्उँछे उजेली।
उजेली जति नै अजिर भए पनि,उसले जसरी सोचे पनि,उसले सोचेका कुरा सही भए पनि,समाज त बस्ने नै भयो।गाउँको बिच भागमा बनेको पीपल बोटमुन्तिरको चौतारीमा गाउँका मान्छेहरु जम्मा भए र उजेलीलाई डाकियो।
निश्चिन्त भएर समाजमा पुगी सुत्केरी बघिनी।कसले के भन्ला?के भन्छ?भन्ने चिन्ताका एउटै रेखा थिएनन् उसको अनुहारमा।उसको हिँडाइ र हेराइबाट यस्तो लाग्थो उ अपराधी नभएर न्यायधीस हो र कुनै निरपराधीको विपक्षमा सिङ्गो गाउँ भए पनि उसले न्याय दिलाएरै छाडने छ अथवा”मैले गल्ती गरें”जस्तो भाव उसको अनुहारको कुनै कुनामा देख्न सकिंदैनथ्यो
जव उजेली सभामा पुगी एक झमट खाउँलाझै गरेर सबैको आँखा उठे,तर बाघका जस्ता निडर उजेलीका आँखाका सामु टिक्न सकेनन् र बिजुलीको बल्व फ्यूज गए जसरी नै सबैका आँखा झुके।ती आँखाहरु कती त डरले र धेरै घृणा र तिरस्कारले झुकेका थिए । मान्छेहरुका यस्ता क्रियाले उजेलीलाई केही असर गरेन।उसले सबैभन्दा पहिला पीपलको फेदैमा बसेको इन्दबहादुरलाई हेरी,जो गाउँका न्यायधीस थिए।त्यसपछि बिस्तारै टाउको घुमाएर आइमाईहरुको त्यो झुण्डलाई हेरी, जो सभाको उत्तरपट्टि पुरुषहरुभन्दा अलि पर बसेका थिए।
जसले उजेलीलाई हेरयो,उसले देख्यो उसको अनुहारमा,हेराइमा रचालढालमा न लाज थियो न सरम,न त त्यहाँ बसेकाहरु प्रति घृणा नै थियो।उ आवेसमा पनि थिइन,उसको अनुहारको भाव निर्विकार थियो।मानौ उसले “मेरो बच्चा हो”भने पछि सभा सकिने छ।
सभा एकदमै शान्त थियो।कोही कसैसंग बोलिरहेको थिएन।यो शान्ति भङ्ग गरयो प्रमुखको” बस् उजेली !”भन्ने शब्दले।
गाउँले र प्रमुखको विचोविच भागमा केही ठाउँ खालि थियो। त्यही खाली ठाउँमा गएर बसी उजेली। सभा फेरि पनि सभा शान्त नैं रह्यी।यस्तो लाग्थ्यो सबै सोचिरहेछन् कसले पहिलो मुख फोर्ने र कसरी उजेलीको मुख खोल्ने ?भनेर।
अचानक उजेलीको उज्यालो अनुहारले आकार लियो।एक प्रकारको कौतुहल जन्मियो उसको मनमा।त्यही मनको कौतुहल उसको अनुहारसम्म चढ्यो।एउटा बालखको अनुहारमा देखिने उत्साहभन्दा फरक भने थिएन उसको अनुहारमा देखिने त्यो उत्साह।
उजेली यहाँ यत्तिका मान्छेहरु किन जम्मा भएका तँलाइ थाहा छ?झण्डै आठ बर्षको उमेरदेखि चौबीस बर्षको उमेरसम्म उजेलीको श्रम चुसेर उसको अन्नदाताको रुपमा चिनिएको इन्द्रबहादुरले प्रश्न गरयो।
“थाहा छ मेरो बच्चाको बाउ खोज्न!”
उजेलीको जवाफले सिङ्गो भेला तिलमिलायो।जम्मा भएका मान्छेहरुले यसरी सोचेकै थिएनन्।आफ्नो यो ठुलो अपराधको सामु उ पक्कै झुक्छे, नतमस्तक हुन्छे,नजर झुकाएर गल्ती स्वीकार्छे भन्ने ठानेका मान्छेहरु अन्योलमा परे।उनीहरुले उजेलीको अबोधपन हो या दुस्साहस?छुट्याउन सकनन् । इन्द्रबहादुरको कन्सिरी तातेर आयो।उसले झन्केरै भन्यो “थाहा छ भने भन त खुरुक्क कसको बच्चा हो यो?”
अघि बिहान पनि बाजेले यही कुरा सोधेका थिए र उसले”मेरै बच्चा हो नि बाजे!” भनेकी थिई,त्यसैले अहिले बाजेलाई जवाफ दिन जरुरी ठनिन उजेलीले।एकपल्ट पिलिक्क बाजेलाई हेरी र चुपचाप बसी उ।
यसै बेला आइमाईको झुण्डबाट रातो चोलो लगाएकी,निधारमा सिन्दूरको ठुलो टीका,रातै पोतेको झुत्तो घाँटीमा र अनावस्यक रुपमा सिउदो भरि सिन्दूर हालेकी एउटी आइमाई उठी र चिच्यई “कसको हो यो बच्चा ए फुँड,लबस्तरी,गाउँभाँडा कसको भुँडी बोकेर पाइस् त्यो बच्चा?”
“खुरुक्क विहा गर्न पर्दैन पहिला नैं!”त्यही झुण्डबाट त्यस्तै हुलिया भएकी तर दुब्ली अर्की आइमाई उठेर कराई।अनि फेरी अर्की ,अर्की गर्दागर्दै सिङ्गो भीडको एक स्वर भयो “त्यो बच्चा कसको हो? बच्चाको बाउ कोहो? कसको भूँडी बोकिस्?”
एक्कासि उजेली उठेर चिच्याई “मैले मेरै भुँडी बोकेर यो बच्चा पाएकी हुँ । के भुँडी पनि कसैले कसैलाई दिन सक्छर?”
“नचाहिँदा कुरा गर्छेस् ए चम्कौली,तँलाई लाज लाग्दैन?”
एउटा अधबैंसेले चिथरौंला झैं गरेर चिच्यायो “तेरो भुँडीले मात्र जन्मन्छ बच्चा?लाज पचेकी नकच्चरी!खुबै ठूलो काम गरें भनेझैं पो गर्छे है यो त!”
ब्यङ्ग्य भरिएको हाँसो ओठमा ल्याउँदै शान्त स्वरमा उजेलीले भनी “ए काइँला बा, ठुलो भए पनि स्यनो भए पनि मैले गरेको काम तपाईले गर्न सक्नु हुन्नक्यरे!यदि तपाईहरुले यो काम पनि गर्न सक्ने भए,यो गाउँभरि आमा पत्तो नलागेका मान्छेका छाउरा छाउरी ग्यालग्याल्ती हुने थिए! अनि तपाईहरु सबै मिलेर आमा चिनिन जरुरी छैन भन्ने नियम बनाउनुहुने थियो।बुझ्नुभयो ?सबै नियम र कानून तपाईहरुकै सुबिधाअनुसारब बनाउनुभएको छैन र?”स्वरलाई ब्यङ्ग्य मुक्त गरेर गम्भीर हुदै उसले पुनःभनी ” किन चाहियो तपाईहरुलाई बच्चाको बाउ ? जब उ आफै चिनिन चाहँदैन भने,तपाईहरुले जबरजस्ती जोडी बाँधिदिएर मेरो जीवन खुशी हुन्छ र?मेरो लोग्ने त त्यस्तो मर्द हुनेछ, जो आफूले गरेको गल्ती वा अपराध छाती तानेर स्वीकार्न सक्दछ।जो लुक्छ,त्यो काँतर हो र त्यस्तो काँतर मेरो लोग्ने कसरी हुन्छ?त्यसैले यो बच्चा मेरो हो, यसको सारा जिम्मेवारी म नै लिन्छु।“
आफ्नो स्वरलाई मायालु बनाएर इन्द्रबहादुरले भन्यो “हेर उजेली,भोलि बच्चा पढाउनपर्छ ,स्कूलमा दाखिला गर्नुपर्छ,नागरिकता बनाउनुपर्छ,यी सबै कार्य बाउबिना हुँदैन नी!”
“हेर्नुस प्रमुख बा,झुठो बोल्ने हो भने यहाँ बसेकामध्ये कसैलाई पनि बच्चाको बाउ हो भनिदिन सकिन्छ,तर म झुठो बोल्दिन,तर मेरो बच्चाले यो गाउँको स्कूल पढ्न पाएन र बाउ नभएकै कारणले उसको जीवनमा अवरोध आउने स्थिति भयो भने?“बोल्दा बोल्दै रोकिएर एक पल्ट फेरि सभाका सबै मानिसको अनुहारमा हेरी उसले । फेरि प्रमुखतर्फ फर्केर भनीओ “यदि यस्तो भयो भने म त्यो बच्चाको बाउको ठँउमा तपाईकै नाम लिनेछु।म भनिदिने छु मेरो बच्चाको बाउ यो गाउँको प्रमुख हो भनेर।किनकी˲˲˲˲ ।“उजेलीले कुरा थप्न लागेकै बेला अचानक दुइटी आइमाईहरु उफ्रेर आए र उजेलीको कपाल समाएर पछार्न खोज्दै भने ”के भनिस् रे अलच्छिना वेश्या!तेरो गाला च्यतेर जिब्रो थुतेर नफ्याँके त˲˲˲˲।“
तर एक्कासि दुबैको मुखबाट”एया˲˲˲˲˲।“को आवाज आयो।
सबैले देखे उजेलीले एक एक हातले दुबै आइमाईको कपाल समाएर टाउको पछाडि तानेकी थिई।त्यसपछि दुबै आइमाईहरु शिथिल भए रहुलतिर पलायन भए।केही समयपछि यसै अवस्थामा उभिएरै उसले भनी “किनकि नियम बनाउने तपाईहरु,कानून बनाउने बनाउने तपाईहरु त्यसैले बुझ्नुभो!या त बनाउनुहोस् नयाँ नियम,नयाँ कानून समान रुपमा।होइन भने˲˲˲˲।”अनुहारभरि आश्चर्य पोतेर आश्चर्य भरिएको स्वरमा उसले भनी “तपाईको नियम कानून पनि कस्तो?म आमा भएर छर्लङ्ग चिनिएकी छु मेरो नामको आवश्यकता कतै नपर्ने !अनि त्यो नामर्द,जसलाई मैले चिनाए मात्र तपाईहरुले चिन्न सक्नुहुन्छ,उसको नामबिना चैं काम रोकिने?फेरि उ आफूले अघि घोक्राएका दुई आइमाईतर्फ फर्केर भन्न थाली “काकी,दिदी,तपाईहरु जसको अधिनमा हुनुहुन्छ र तपाईहरुको पालन पोषण जसले गर्दछ उसको सुरक्षा गर्न नै सिकाइएको छ तपाईहरुलाई।तपाईहरुको आफ्नो जीवन कहाँ तपाईहरुको हो र?त्यो त बन्धक पो हो।लोग्नेको कमाइ खाएर एउटँ दुलोजत्रो कोठामा मूसाझै बसेर मान्छेको जीवन बाँचिन्छ र?”
उसलाई भुत्ल्याउन आउने त किनारा लागिसकेका थिए,तर पनि उजेलीले उनीहरुलाई प्रश्न गरी “तपाईहरु लोग्नेले पोख्दै हिंडेको इज्जत कति बटुलेर सक्नुहुन्छ?के इज्जत जोगाउने ठेक्का आइमाईहरुको मात्र हो?यदि होइन भने आज यहाँ यसरी मैले उभिन पर्ने थियो र?”
“उजेली!”एक जना बृद्धले सम्बोधन गरे।
ती बृद्ध जसलाई उजेलीले बडा भन्थी, उनलाई माया गर्थि र भनेकी पनि धेरै मान्थी ।
“छोरी उजेली,कति दिन लुकाउछेस् यो कुरा?एक न एक दिन खुल्ने कुरा हो।न्वारानको दिन पुरेतलाई भन्नै पर्छ।“
“न्वरान नगर्दा के हुन्छ बडा?पुरेत नबोलाउदा के हुन्छ बडा?”
उजेली अघिभन्दा गम्भीर भई।उजेली मात्र होइन,उसको स्वर पनि गम्भिर,बोझिलो र प्रभावकारी बन्दै गयो।
“यो बच्चाको बाबु मैले चिनाउने हैन बडा!यदि उ आमाको दूध पिएको छोरो हो भने,यदि उ आफूलाई साँच्चै मर्द हुँ भन्छ भने आफैं निस्कियोस् र भनोस् यो मेरो बच्चा हो भनेर।यदि होइन,उएउटा काँतर, नामर्द,स्वार्थी हो र लुकेर बस्छ भने त्यस्ता लाछी मान्छेको नाम नाम लिएर म मेरो बच्चाको नामसंग जोडदिनँ।“
यति भनिसकेर उजेली फटाफट सभाबाट निस्केर हिँडी।एउटा रहस्य आफूभित्रै गुम्स्यएर उ त हिँडी ।
बुझ्ने मान्छेहरुसँग पनि उजेलीका तर्कसंगत प्रश्नका उत्तर थिएन।नबुझ्नेहरुले चाहिं बुझ्नेहरुको अनुहारमा हेरिरहे।केही बोलेनन्।साँच्चै केही बोलेनन्।सबै मौन रहे।
(स्रोत : कथा संग्रह उजेलीहरुबाट)