कथा : अधुरो पदक

~मिलन संग्रौला “अकृत”~
Milan Sangraula Akrit

रङ खुइलिइसकेको लामो सोफामाथि जीऊ ढल्काएर सुतेको छ ऊ । दाहिने खुट्टो खुम्चिएको छ । सोचाइका तरङ्गसँगै खुट्टो हल्लाइरहेको छ । तर देब्रे खुट्टो भने पुरै लम्पसार पारेको छ उसले । कुनै तरङ्ग छैन त्यो खुट्टामा । पुरै निर्जीव बनेर पल्टिरहेको छ । उसका आँखा एकटकसँग भित्तामा गढिएका छन् । ऊ हेर्छ, भित्तामा लहरै मिलाएर राखिएका मेडल, पदक र प्रमाणपत्रहरू । यी दृश्य नियाल्दै ऊ आफ्नो विगतलाई सधैँ सम्झना गरिरहन्छ । सधैँ नियाल्दानियाल्दै उसलाई यो दृश्य पनि अब फोस्रो लाग्न थालिसकेको छ । पदकहरूको लाइनमा उसले अन्तिममा अलिकति खाली ठाऊँ राखेको छ र त्यसको मुनि उसले लेखेको छ : “अधुरो पदक ।” आगन्तुकहरूमा सहजै उत्सुकता पैदा गरिदिन्छ यो वाक्यले । सोध्नेलाई ऊ त्यही वाक्य दोहोर्‍याइदिन्छ, अधुरो पदक । अलिक बुझ्झकीले उसलाई त्यो पनि सोध्दैनन् । उसको खुट्टाको स्थितिले नै सबै कौतुहलताको जवाफ दिइरहेको हुन्छ । सोफामा सुतेर टिभीमा स्पोर्टस च्यानल हेर्नु उसको दिनचर्याको प्रमुख अंश हो ।

दाहिने खुट्टामाथि हात अड्याएर रिमोट उसले टिभीतिर तेस्र्याएको छ । सोचमा रहँदा कहिलेकाहीँ ऊ छिटोछिटो बेसुरमा च्यानलहरू परिर्वतन गरिरहन्छ ।आज पनि ऊ छिनछिनमा च्यानल फेरिरहेको छ । ओलम्पिकको रन्कोले हरेक च्यानल तातिएका थिए । खेलाडीहरू विभिन्न स्पर्धामा आफूहरूलाई बेजोड साबित गर्न प्रतिस्पर्धा गरिरहेका थिए ।खेलाडीहरू रेसिङ ट्रयाकमा बेजोडका साथ दौडिरहेको दृश्य देखेर उसको दाइने खुट्टो जुर्मुरायो । देब्रे खुट्टो पनि जुमुर्राउनको लागि दिमागले खबर नपठाएको होइन तर त्यो खबर बीच बाटैमा कता बिलायो कता । अचानक कम्मरभन्दा माथि चस्किएजस्तो भयो । कहिलकाहीँ उसले पहिलेका कुरा सम्झँदा उसका दुवै खुट्टा जुमुर्राउन खोज्थे, तब उसलाई यस्तै पीडा हुन्थ्यो ।उसको सारा शरीर जुर्मुराए पनि ऊ तुरुन्त यथार्थको धरातलमा आयो । अनि खप्नै गाह्रोपर्ने खिन्नता र शुन्यताको महसुस गर्‍यो ।एकछिनमा फेरि माथि भित्तातिर पुगे उसका आँखा । उसले सबैभन्दा पहिला पाएको पदक हेर्‍यो । खिइने क्रममा थियो त्यो पनि ।र बतासेडाँडामा बेतोडले दौडिएको देख्दा मान्छेहरू डराउँथे र उसलाई कराउँदै भन्थे, “ऐइ प्रदीपे….! लडेर तेरो डढेल्नो खुस्केला है ।”

दौडिने शक्ति उसमा ईश्वरीय वरदानसरह नै थियो । ऊसँग कसैले पनि नचिताउँदा हुन्थ्यो । दौडहरू त गाऊँमा त्यति हुँदैनथेँ तर भइरहने फुटबल प्रतियोगितामा कुद्ने शक्तिका कारण नै ऊ अब्बल खेलाडीमा दरिएको थियो । अन्य खेल कौशलमा त्यति उत्कृष्ट नभए पनि जब उसको खुट्टामा बल पथ्र्यो तब ऊ विजुलीझैँ तेज दौडिएर विपक्षीका पोलनजिक पुर्‍याइहाल्थ्यो । त्यसैले गाऊँ सहभागी हुने हरेक खेलमा ऊ अनिवार्य खेलाडी भइसकेको थियो चौध बर्षदेखि नै । खेल्नकै लागि टाढा जाने कुरामा बाबुले उसलाई अलिक बन्देज लगाउन खोज्थे । तर ऊ जसरी पनि उम्किइहाल्थ्यो । एकपल्ट उसलाई रोक्न बाबुले घरभित्र थुनेका थिए । तर ऊ त खरको छानो च्यातेर भागेछ र खेलमा सहभागी जनाएरै आएछ ।

यसरी उसको चर्चा टाढा टाढा फैलिइसकेको थियो । त्यस्तैमा खबर आयो : राष्ट्रिय खेलकुद महोत्सवका लागि क्षेत्रीयस्तरमा छनोट प्रतियोगिताहरू सञ्चालन हुँदैछन् । गाउँको क्लबमार्फत् उसलाई पनि दौडमा भाग लिन अग्रसर गराइयो । बेजोड टाइमिङका साथ उसले सबैलाई उछिन्यो । छनौटकर्ताहरू पनि ऊ एउटा आशलाग्दो खेलाडी हुने लक्षण उसमा देखिरहेका थिए । उसले काठमाडौँ जाने मौका पायो या भनौँ उसको जीवनले नयाँ मोड लियो । बतासिएर जोडका साथ कुद्ने उसले अब दौडमा नयाँ कला, कौशल र ध्यान दिनुपर्ने कुरा धेरै जान्ने मौका पायो जसले गर्दा उसको क्षमतामा झनै वृद्धि भयो । राष्ट्रिय खेलकुद महोत्सवको समापनसँगै देशमा नयाँ खेलाडीको उदय भइसकेको थियो । उसको खेलकौशलबाट नै उसलाई आर्मीको क्लबले लियो । ऊ जागिरे पनि भइसकेको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देशको प्रतिनिधित्व गर्ने अभिभारा अब उसको काँधमा आइसकेका थियो । आर्मीको जागिरे, त्यहीमाथि नाम चलेको खेलाडी – बिहेका प्रस्ताव थुपै्र आइरहेका थिए । रोजेर बिहे गर्‍यो उसले र गाउँको दुःखबाट पार लाउन बाबुआमालाई शहरमै झिकायो । सेनाकै जागिरे खोजेर बहिनीको पनि बिहे गरिदियो । अनि भने जीवन केही व्यवस्थित पारेको महसुस गरेको थियो उसले ।

अब उसको लक्ष्य अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा पदक जितेर देशको नाम चम्काउने नै थियो । यसको लागि ऊ दिनरात अभ्यास गरिरहन्थ्यो । राष्ट्रिय स्तरमा उसको जोडा कोही पनि थिएन ।ओलम्पिक, एसियाडजस्ता ठूला अन्तराष्ट्रियस्तरका प्रतियोगितामा सम्मानजनक पदक नपाउनु नेपालको बिडम्बना नै थियो । उसले यी प्रतियोगिताहरूमा स्वर्ण विजेताको टाइमिङलाई ध्यानमा राख्दै आएको थियो । निरन्तर प्रयास र लगनले ऊ ती टाइमिङ्को छेऊछाऊ पुग्न सक्छु भन्ने आत्मविश्वासका साथ डटिरहेको थियो । सार्कस्तरमा त उसलाई उछिन्ने अर्को खेलाडी नै देखिएन ।एसियाडको समय आयो । ऊ आफ्नै तबरले अभ्यास गर्दै थियो । तर नेपाली खेलकुदको किचलो देखेर ऊ चिन्तित बन्थ्यो । आफ्ना मान्छेलाई छनौट गराउन पदाधिकारीदेखि लिएर मन्त्रीसम्मको ठूलो हानाथाप । स्वस्थ प्रतिस्पर्धाभन्दा पनि आन्तरिक मिलोमतोका आधारमा खेलाडी छनौट गरिन्थ्यो । बेजोड भएर मात्र, नत्र ऊ पहिल्यै नै किनारा लगाइसकिएको हुन्थ्यो ।

उसले दुइवटा स्पर्धामा भाग लिइरहेको थियो, हजार र दशहजार मिटर दुरीको दौडमा । हजार मिटरमा उसले लय पाउन सकेन तर पहिलो ल्यापबाटै भने बाहिरिनु परेन । चौथो भएर झन्डै झन्डै पदक हत्यायो । पदक नल्याए पनि नयाँ राष्ट्रिय कीर्तिमान भने राख्न भ्यायो । अर्को स्पर्धामा आफ्नो लय पुरा समात्नेमा ऊ विश्वस्त थियो । दशहजार मिटरको तयारी जोडले गर्दै थियो ऊ । अचानक उसको देब्रे खुट्टाको मांसपेशी चस्कियो । तर वास्ता गरेन उसले । अभ्यासमा निरन्तर लागिरह्यो । तर चस्काइले भने बेला बेला झस्काइरहेको थियो । सामान्य समस्या ठानेर उसले यो कुरो प्रश्ािक्षकलाई भनेन । भनेको खण्डमा दौडमा भाग लिने अवसर गुम्न सक्थ्यो । आगामी दौडमा पदक पाउने कुरामा उसलाई रत्तीभर पनि शंका थिएन । दौड सुरु भयो । अत्याधुनिक प्रशिक्षण र अत्याधिक सुविधाले खारिएका खेलाडीहरूले सुरुमा उसलाई उछिन्न थाले । तर ऊ धैर्यका साथ कुदिरहयो । हजार मिटर कटेपछि उसले विस्तारै लय समायो । एकपछि अर्को खेलाडी ऊबाट उछिनिँदै गए ।

तीनहजार मिटर पार भइसकेको थियो । उसले समाइरहेको लयलाई हेर्दा उसले इतिहास रच्ने लगभग निश्चित थियो, त्यही बेला अस्ति चस्किएको देब्रे खुट्टाको मांसपेशीको समस्या फेरि बल्भिmयो । तर ऊ वास्ता नगरी आफ्नो लयमा दौडिरहेको थियो । दौडाइको क्रमसँगै चस्काइको क्रम पनि तिब्र थियो । अन्य केही देशका खेलाडीहरूले दौड बीचैमा परित्याग गरेको दृश्य पनि देख्यो । तर दौड परित्यागको कल्पना पनि उसले गरेन । देशको इज्जत र प्रतिष्ठाका खातिर उसले आफ्नो कष्टलाई दबाउने प्रयास गर्न थाल्यो ।ऊ झन् बेतोडले दौडिन थाल्यो । अन्तिम सास रहेसम्म पनि दौड पुरा गरेरै छोड्ने उसको दृढ अठोट थियो । तर जति ऊ दौडिन्थ्यो त्यति चस्काई झन् बढ्थ्यो । शिथिल मांसपेशीले कतिन्जेल थाम्थ्यो र ? दौडदादौडदै उसको खुट्टो फरक्कै फर्कियो । पीडा सहन सकेन उसले । एकदिनपछि उसको होस खुल्यो अस्पतालमा । उसले पायो आफ्ना सबै सपना चकनाचुर भएको । अतिश्रम भएर उसका मांसपेशीहरू पुरै दोबि्रएछन् । देबे्र खुट्टातिर जाने थुप्रै नसाहरू चुडिँएछन् । डाढसम्म असर गरेछ त्यसले ।

तीनदिनपछि थाहा पायो उसले अब उसको देब्रे खुट्टो निष्कृय हुनेछ जीवनभर । र यस्तै विगतका परिघटनाहरू उसको मँथिगलमा घुमिरहेका थिए । हातमा रिमोट दबिँदै थियो आफ्नै प्रकारमा । एउटा च्यानलको दृश्यमा ऊ अडियो । त्यहाँ ओलम्पिकलगत्तै हुने पारा ओलम्पिक -अपाङ्गहरूको ओलम्पिक) का दृश्य प्रसारित भइरहेका थिए ।हेर्दाहेर्दै उसको अनुहारमा केही आशातीत भावहरू सल्बलाएझैँ देखिए । फेरि स्वप्नदृश्यमा प्रवेश गर्‍यो ऊ । …….रेसिङ ट्रयाकमा ऊ दौडिन पुरा तयार थियो । अन्य ट्रयाकमा ऊजस्तै बैसाखी टेकेका प्रर्तिस्पर्धीहरू पुरा तयार थिए । उसको जोश, जाँगर र दबिएको इच्छा पुरा प्रस्फुटित हुन तम्तयार थियो । साँच्चै उसले सबै प्रतिद्वन्द्वीहरूलाई उछिन्यो र देशका लागि स्वर्ण पदक भित्र्यायो । त्यो पदक उसले कोठामा त्यही खाली ठाऊँमा सजायो र त्यो “अधुरो पदक” लेखेको वाक्यांश मेटायो ।”पापा ! बलको हावा गयो ।” पाँच वर्षे छोरोले झक्झकाउँदा पो ऊ सपनाबाट व्युँझियो । यद्यपि एकछिनअघि आफूले देखेको स्वप्नदृश्यलाई वास्तविकतामा बदल्ने आकांक्षा पलायो अचानक मनमा । छिनभरपनि ढीला नगरी मोबाइल उठायो ।

“सर नमस्कार । म प्रदीप ।”

“ए, चिने मैले । प्रदिपजी । तपाइर्ँलाई कस्तो छ अचेल ?”

“मलाई त ठिकै छ । एउटा अनुरोध गर्न फोन गरेको ।”

“भन्नुस् न । सकेको सहयोग त हामी गरिहाल्छौ नि ।”

“आगामी पाराओलम्पिकमा हाम्रो देशले पनि भाग लिन्छ नि हैन ?”

“लिनेवाला छ । किन र ?”

“त्यसमा म…।”

“हत्तेरी प्रदीपजी ! तपाइर्ँले अलिक ढिलो इच्छा व्यक्त गर्नुभयो नि । हामीले आन्तरिक छनोटको आधारमा अस्ति नै टिम फाइनल गरिसक्यौँ । अब त मिल्दैन । नत्र तपाईँजस्तो खेलाडीलाई खेलाउन पाउँदा त हामीलाई नै गर्व हुन्थ्यो । अब अर्को पटक…।”

उसको दिमाग रन्थनिएर आयो ।रन्थनिएकै अवस्थामा उसका आँखा भित्तामा पुगे । भित्तामा लेखिएका अक्षरहरू तिर्मिराएको देख्यो उसले, “अधुरो पदक …..।”

बिर्तामोड, झापा

(श्रोत:- Kaligandaki)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.