कथा : लोग्नेमान्छे

गोपालचन्द्र भट्टराई~

“यसरी कोठामा बसिरहेको समयमा यसो कोठाको सरसफाइ गर्न सहयोग गरिदिए हुन्थ्यो, मैले मात्रै घरको सबै काम गर्न नभ्याउने भएँ ।”

“अँ, अब केही काम नपाएर म झाडा-कुच्चो हातमा लिएर बढार्न थालौँ ? यी तन्ना, सिरक, सोफाको खोलहरू पनि मैला भएछन्, धुन थालाँै कि ? भान्सामा जुठो भाडाहरू होलान्, कि ती पनि माझ्न थालौँ ?”

“हैन त्यो सबै त मँै गरौँला, यो सरसफाइ पो गर्न नभ्याएर भनेकी ।”

“लौ भो छोड्दे, छोरो मान्छे हुँ बुझिस्, छोरो मान्छे । झ्याउरे आइमाईर्को जस्तो जुम्से काम गर्ने देखिस् मलाई ? चुप लागेर खाना तयार गर्, भोक लाग्यो ।”

” ………………………………………….”

“………………………………………………………………….”

लोग्नेस्वास्नीको घमासान चर्काचर्की सुरु भो । लोग्नेस्वास्नीभन्दा पनि लोग्नेको चाहिँ चर्काइ सुरु भो । उनीहरूको सात वर्षको छोरो चाहिँ कारपेटमा किताब असरल्ल छरेर होमवर्क गर्ने तयारी गरिरहेको थियो तर अहिले अनुकूल वातावरण नबनेकोले किताब हेरेको जस्तो गरेर चुपचाप यही चर्का-चर्की सुन्नमा लाग्यो । उसले पहिलेपहिले पनि बाबुआमाको यस्तो वादविवाद सुन्दै आएको हो तर आजसम्म उसले वादविवादको क्रममा बोलिएका कुराहरूबारे उस्तो ध्यान दिएको रहेनछ सायद । आज भने शब्दशब्द सुनिरहेको छ ऊ । वास्तवमा बडो मज्जा आइरहेको छ । उसलाई यो सब सुन्न । त्यसमा पनि विशेष गरेर उसको बाबुका भनाइहरू उसलाई बडो घतलाग्दा, शानदार र वजनदार लागिरहेछन् । बाबुको बोलीमा दम छ, एक प्रकारको हुँकार, दबदबा र झम्टाइ छ । त्यसको तुलनामा उसकी आमाको बोली फितलो, दुर्वल, निरीह र काम न काजको छ । आवाज केही तीखो भए पनि कुरामा आक्रामकता वा कडापन छैन ।

“तपाईंले कहिले नै मसँग राम्रोसँग बोल्नु भा’छ र ? मेरो रातदिनको खटाइलाई कहिल्यै जस दिनुभा’छ ?”

“के हो ए, झ्याउँकिरी राम्रो बोल्नु भनेको ? कवितामै बोल्दिनुपर्‍यो कि के हो तेरो तारिफमा ? खाना तयार गर् भनेको एक घण्टा भो, यहाँ लोग्नेसँग किचकिच गरेर बसिरा’छे – उल्टै उसैको रातदिनको खटाइ रे- मसँग एक शब्द अरू बोलिस् भने खालिस् बाघेझाप्पु-मलाई रिस उठिसक्यो अब । बुद्धि पाँच पैसाको छैन, फूर्ति लाउँछे, झ्याउरी ……… ।”

बाबु रनक्क रन्कियो अचानक उसले पुलुक्क आमातिर हेर्‍यो-आमाका अनुहार र आँखामा डरका भावहरू तैरिएका स्पष्ट देखिए । ऊ अचानक कुचुक्क खुम्चिई । बाबुको चेतावनीका कारण उसको एक शब्द अगाडि बोल्ने साहास पनि हराएर गयो । बाबुको आँखाबाट प्रवाहित भइरहेको प्रचण्ड रिसको ज्वालामा परेर कतै भष्म नै भइहाल्ने हो कि भनेझैँ गरी उसकी आमा लुसुक्क भान्सातर्फ लागी । आमालाई ठाउँका ठाउँ ओइलाएको झारझैँ बनाउने बाबुको शक्ति र सामर्थ्य देखेर ऊ बडो प्रभावित भयो । उसले प्रशंसायुक्त आँखाले बाबुलाई हेरिरह्यो । बाबुका रिस सल्किएका आँखाहरूले आमा गएको ढोकालाई अझै पनि ढुकिरहेका थिए, मानौं कि तिनीहरू क्यै गरी आमा फर्की हाली भने कोठाभित्र छिर्नु अगावै ढोकैमा जलाएर खरानी पार्ने मनसायले पर्खिरहेका हुन् । बाबुको आकार, प्रकार, उसको दृढतापूर्वक उठेको छाती र सर्लक्क कपाल पछाडि फर्काएकाले ठूलो भएको निधार उसलाई औधी मनपर्‍यो । उसलाई आफू बाबुजस्तै छोरोमान्छे भएकोमा गौरव र खुसीको अनुभव भयो ।

बाबुले विस्तारै छोरोतर्फ हेर्‍यो, उसले आफ्नो मनोभाव बाबुले बुझ्ला भनेर आफ्नो क्रियाकलापलाई सामान्य बनायो । अर्थात् बाबुलाई लगातार प्रशंसायुक्त भावले हेर्न छोडेर कितावका पानाहरू पल्टाएजस्तो गर्‍यो । छड्के नजरले भए पनि उसले बाबुको हाउभाउ र क्रियाकलापको आकर्षणलाई नियाल्न भने छाडेन ।

“देखिस् त तेरीआमाको चाल, आइमाई भनेको यस्तै हुन् बुझिस् ? गन्गन् र किचकिच गर्नबाहेक केही नजान्ने, टाउकोमा गोबर भरिएको झत्ते जात ……….।”

उसले बाबुको कुरा बुझेको दर्शाउन टाउको हल्लायो र समग्र आइमाई जातको महत्त्वहीन, स्तरहीन र अयोग्यताका क्षेत्रमा सर्सर्ती आफ्नो दिमाग दौडायो । बाबु आफ्नै सुरमा कोठाबाट निस्केर खै कता लाग्यो, ऊ भने आमा र बाबुको व्यक्तित्वमा देखिएका स्पष्ट भिन्नताहरू केलाउँदै सोचाईका शृङ्खलाहरू उन्न थाल्यो ।

पछि खाने बेलामा पनि बाबु रिसाइरहेकै थियो । बाबु र छोरा टेबलमा पस्किएको खाना खाइरहेका थिए, आमा उभिएर उनीहरूलाई आवश्यकता परेको कुरा माग्नुभन्दा अगावै टर्क्याउन तैनाथ थिई । आमाले दोस्रो पटक बाबुलाई भात थप्न खोजी-बाबु गर्जियो- “भो भन्या, कति ओइर्‍याउँछेस्, गोरु नै ठान्या छेस् कि के हो ?” आमा चुपचाप पछि हटी, हल्का भाँडा र प्लेटहरू बजेबाहेक भान्सामा केहीको आवाज सुनिएन । कोही बोलिरहेको थिएन । खाना खाइसकेपछि जूठा प्लेट टेबलमै छोडेर उनीहरू दुवै जना उठे । भान्साकोठाबाट बाहिर निस्कने बेलामा उसले आमालाई हेर्‍यो, अँध्यारो अनुहार लाएर आमा जूठा प्लेटहरू उठाउँदै थिई । यी हरेक उपक्रमहरूमा ऊ लगातार एउटै कुरा महसुस गरिहरेको थियो कि ‘छोरो मान्छे’ भनेको उच्च स्तरको जात हो ।

दुई घण्टासम्म बाबुछोरा भएर टी.भी. हेरुञ्जेलसम्म पनि आमा भान्सामै व्यस्त थिई । पछि ऊ सुत्न गइहाल्यो आफ्नो कोठामा, आमा कतिखेर आई उसले थाहा पाएन ।

सधैँजस्तो सुत्नेबित्तिकै निद्रा लागेन आज उसलाई । निकैबेर विछ्यौनामा पल्टेर सोचिरह्यो उसले । एउटा महाविद्याले दीक्षित भएझैँ ऊ प्रफुल्ल थियो आज । ‘छोरो मान्छे हुँ बुझिस्, छोरो मान्छे’ बाबुको यो भनाइ उसको कानमा अझै गुञ्जिरहेको थियो । क्या दरो र गर्विलो भनाइ छ यो । छोरो मान्छे भनेको चानचुने होइन रहेछ वास्तवमा । आहा, ऊ पनि छोरो मान्छे – बाबुजस्तै ठोस र गर्विलो भएर आफूलाई प्रस्तुत गर्नसक्ने जातको मान्छे । उसलाई छोरो भएकोमा बडो मज्जा लाग्यो, एक किसिमले गौरवको अनुभव भयो तर अचम्म, कसरी आजसम्म उसले यो कुरा बुझेनछ, आखिर बाबुआमाको वादविवाद र झगडा त पहिलेपहिले पनि सुनेकै हो उसले । त्यस्तै हो, समय नआई सायद कुनै पनि कुरा बुझिँदोरहेनछ क्यार ।

भोलिपल्टदेखि उसले आफ्नो बानी व्यहोरामा केही परिवर्तनहरू ल्यायो । बिहान आमाले विछ्यौनामा नै ल्याइदिएको दूध पिएर बाहिर निस्कँदा उसलाई पल्लो घर काकाका दुईटी छोरीहरूले खेल्न नबोलाएका होइनन्, तर उपेक्षित नजरले उनीहरूलाई हेर्‍यो एक पटक र भन्यो – “भो तिमीहरू नै खेल, म आइमाईहरूसँग खेल्दिनँ ।”

तर छिमेकमा उसको उमेरका अरू केटाहरू कोही थिएनन् । केही काम नपाएर उसले तिनै बहिनीहरूले खेलेको हेरिरह्यो । उसलाई पनि उनीहरूसँग खेल्न जान कम रहर लागेको होइन तर उसको जातीय स्वाभिमानले आइमाईर्हरूसँग खेल्न जाने पटक्कै अनुमति दिएन । बरू उनीहरूको खेलको व्यर्थता र महत्त्वहीनता केलाउँदै उपहासपूर्ण हाँसो हासिरह्यो वार्दलीमा बसेर । ‘आइमाईहरूको बुद्धि भए पो, बेहुलो भन्दा बेहुली पुतली ठूलो बनाएका रहेछन्, ल हेर, बेहुला-बेहुलीलाई सँगै राखेर पनि हुन्छ, बेहुलालाई रीस उठेको बेला हानिहाल्छ नि झाप्पड त्यसरी त ………. ।’ मनमनै यस्ता कमेन्ट गर्दै बसिरह्यो ऊ बहिनीहरूको खेल हेरेर । बहिनीहरूले भाँडाकुटीमा माटो हालेर दालभात भन्दै खाएको अभिनय गरेको, बेहुला-बेहुलीको बिहे गरेको, बेहुला बेहुलीलाई घर बनाएर राखेको आदि कुनै पनि कामहरू उसलाई ढङ्गको लागेनन् । हिजोसम्म उसलाई केही ज्ञान थिएन, बहिनीहरूसँग मज्जाले खेलिरहेको थियो तर आज ऊ अर्कै बौद्धिक उचाइमा छ उसले मनमनै गुन्यो- ‘धत्तेरिका, खत्तमै हुँदारहेछन् नि यी आइमाईहरूले गरेको कामहरू त !’

उसले स्कुल बस चढ्दा एउटी साथीले हात दिएर आफूलाई चढ्न सहयोग गर्नलाई गरेको याचना अस्वीकार गर्‍यो । बसको एउटा सिट खाली नै भए पनि त्यसको अर्को छेउमा केटी बसेकोले ऊ उभिएरै स्कुलसम्म पुग्यो । आफ्नो कक्षा कोठामा पनि आफ्नो सधैँको सिट छोडेर केटाहरू मात्र भए ठाउँ बस्यो, मिसले लगाएको लुगा र उनले पढाउने शैलीका बारेमा एकदुई वटा खोट निकालेर मनमनै आलोचना र उपहास गर्‍यो र उसका अरू केटा साथीहरूले मज्जाले केटीहरूसँग हाँसखेल र रमाइलो गरेको देखेर ती केटाहरूको अबुझपन वा मूर्खताप्रति मनमनै खिल्ली उडायो । हिजो र आजको उसको बोली वा व्यवहारमा थुप्रै त्यस्ता परिवर्तनहरू देखिए । उसले मनमनै आफैँलाई मूल्याङ्कन गर्‍यो -ऊ आफ्ना सहपाठीहरूभन्दा धेरै बुद्धिमान, गम्भीर, परिपक्व र वास्तविक अर्थमा ‘छोरो मान्छे’जस्तो भएको छ ।

दिन बित्दै गए, दिन प्रतिदिन उसले आफूलाई आइमाईर्हरूको कट्टर आलोचक र पौरुष श्रेष्ठताको विशिष्ट प्रतीकको रूपमा विकसित गर्दै लग्यो । ऊ उमेरमा सानै भएकोले अधिकांश अवस्थामा उसलाई बोली वा व्यवहारद्वारा स्पष्ट र व्यक्तरूपमा पौरुष श्रेष्ठता प्रदर्शन गरिहाल्ने अवसर भने मिल्दैनथ्यो । किनकि उसले नचाहँदानचाहँदै पनि आफ्ना कतिपय गतिविधिहरूमा आइमाईहरूकै सहायता, समर्थन वा साथ नलिई हुँदैनथ्यो । घरमा उसका सम्पूर्ण आवश्यकताहरूको पूर्तिका लागि आमाप्रति आश्रति हँुनैपर्दथ्यो भने स्कुलमा पनि मिसको अवज्ञा गरेमा परिणाम अशुभ हुने निश्चितै थियो । त्यति मात्र होइन, बिदामा घरमै बस्दा पनि वरपर खेल्ने कोही साथी नभएकोले आइमाईर्हरू नै भए पनि पल्लाघर काकाका छोरीहरूसँगै खेल्न नजाने हो भने दिनभर घरमै थच्चिएर बस्नुपर्ने बाध्यता थियो उसको । यसर्थ पाकेको आँप जस्तो बाहिरबाहिर गिलो र नरम भएर आइमाईर्हरूका प्रति सामान्य बोली वा व्यवहार प्रदर्शन गरे पनि उसको भित्री मन भने त्यही आँपको कोयो जस्तै कडा र दृढ थियो, पूर्ण विश्वस्त र अविचलित थियो ।

एक दिन शनिबार अफिस नजानुपर्ने भए पनि बिहान १०ः०० बजेतिर राजुका बाबु कतै बाहिर निस्कन तम्सिरहेको देखेर राजुले पनि सँगै जाने जिद्धी गर्‍यो । बाबुले पहिले त ‘ठूलाबडा कहाँ अफिसको कामले भेट्न जान लागेको, जानु पर्दैन’ भनेर राजुलाई सँगै नलाने कुरा सुनाए तर राजुले जिद्धी नछाडेकोले र सायद बाबुलाई पनि आफ्नो छोरालाई दुनियाँदारी देखाउँदै र सिकाउँदै लैजानुपर्छ भन्ने लागेकोले हुनसक्छ, अन्त्यमा “ल हिँड् त” भने ।

बाटोमा मोटरसाइकलमा दौडिरहेको बेला बाबुले छोरालाई थुप्रै कुराहरू भने तर राजुले हावाको बेगको कारण उस्तो केही सुनेन । जति कुरा सुन्यो, त्यसको समष्टि सार यही थियो कि ‘ठूलाबडाका घरमा एकदम अनुशासित भएर बस्नुपर्छ, चकचक र छुनुमुनु गर्ने, जे पायो त्यो छुने, चलाउने गर्नु हुँदैन र उनीहरूले आफैँ केही कुरा प्रत्यक्षरूपमा सोधेको अवस्थामा बाहेक चुपचाप लागेर बस्नुपर्छ ।’ सारभूत बुझ्नुपर्ने कुरा यही हो भनेर ठम्याएपछि राजुले बाबुका बाँकी सुन्न नसकेका कुराहरूको जवाफमा ‘अँ’ ‘ल’ ‘हो’ आदि भनेर टारिदियो ।

एउटा अग्लो कम्पाउन्ड लगाएको भव्य घरको गेटको अगाडि राजुका बाले मोटरसाइकल रोके । आफ्नो पोसाकलगायतका कुराहरू ठीक भए नभएको आफैँ चेक गरे, सर्टको कलर ठीक गरे, जुत्ताको धूलो रुमालले पुछे र खुम्चेको प्यान्ट्स तानतुन पारेर ठीक गरे । उनले राजुलाई पनि हेरे, उसको कपाल मिलाइदिए, अनुहार पुछिदिए र लुगाको धुलो टक्टक्याइदिए । सब तरिकाले दुवैजना ठीकठाक लागेपछि ‘अहम्’ गरेर आफ्नो गला साफ गरे र राजुलाई लिएर गेट प्रवेश गरे । उनले साउतीको स्वरमा राजुलाई “मैले अघि भनेको सबै कुरा थाहा छ हैन, त्यसै गर्नु नि” भने । राजुले “हस्” भन्यो र उनीहरू अघि बढ्दै गए ।

राजुलाई भने मोटरसाइकलमा बाबुले सतर्क र सावधान रहनलाई कुराहरू बताउन थालेदेखि नै आफ्नो बाबुको व्यवहार अनौठो लागिरहेको थियो । उसले आफ्नो बाबुलाई यति बढी सतर्क र होसियार भएर कतै गएको वा जान लागेको कहिल्यै देखेको थिएन । अझ यो विशेष प्रकारको भवन प्रवेश गर्नुअघि बाबुले देखाएको गतिविधि, विशेष तयारी र उनको मुहारमा देखिने स्वभाविक आत्मविश्वासमा आएको कमी आदिले त झन् राजुमा कौतुहल बढाएर लगेको थियो । एक किसिमले ऊ पनि भित्रभित्रैबाट डराइरहेको थियो-ठूलाबडा मान्छे भनेका कस्ता हुन्छन्, ऊ आफूलाई के भन्ने हुन्, उनीहरूसँग प्रस्तुत हुँदा केही गल्ती पो हुने हो कि, उनीहरूले आफूलाई केही सोधीहाले भने कसरी जवाफ दिने होला -लगायतका चुनौतीहरू उसकासामु लाइन लागेर खडा थिए र यी चुनौतीहरूका कारण उसको मुटु पनि स्वभाविकभन्दा बढी गतिमा धड्किरहेको थियो ।

उनीहरू गेटबाट घरको मूलद्वारतर्फ यी ठूलाबडा मान्छेको घरभित्र प्रवेश गर्नर्े विशिष्ट उद्देश्य लिएर अघि बढिरहेका थिए । राजु भने आफ्नो दिमागमा यी ठूलाबडा मानिसको सम्भावित आकार, प्रकार र स्वरूपको चित्र बनाइरहेको थियो । उसलाई लाग्यो, यी मानिस ठूलो शरीर भएका, कपाल सर्लक्क कोरेर पछाडि फर्काएका, निधार ठूलो र चम्किलो भएका, चटक्क मिलेको जुँघा भएका, सेतो र सफा लुगा र आँखामा चस्मा लगाएका, अधबैँसे प्रकारका, ओज र तेजपूर्ण व्यक्तित्व भएका, शानसँग छडी घुमाउँदै अग्लो स्थानमा राखिएको कुर्सीमा विराजमान भएका हुनेछन् । उसलाई बडो रोमाञ्चको अनुभव भयो कताकता अन्तरमा यस्ता विशिष्ट प्रकारका ठूलाबडा मानिससँग भेट हुने भयो भनेर ।

घरको ढोकामा उभिएको एउटा मानिससँग राजुका बाबुले सोधे, “दिदी हुनुहुन्छ ?”

“हुुनुहुन्छ तर अहिले मिटिङमा । एकछिन यतै बस्नुहोस् । ” सो मान्छेले बतायो ।

ठूलाबडा मानिससँग भेट्ने अथाह कौतुहल लिएर अधीर भइरहेको राजु घरभित्र पनि पस्न नपाई बाहिरै बस्नुपर्ने कुरा सुनेर खिन्न भयो । बाबुले अघि नै सम्झाइ सकेका थिए ‘जथाभावी नबोल्नू, जे पायो त्यही नगर्नु’ भनेर । त्यसैले उसलाई बाबुलाई केही सोधिहाल्न पनि अप्ठ्यारो लाग्यो र त्यसै बाबुसँगै ढोकाको छेउमा चुपचाप यताउता टहलिँदै त्यस विशिष्ट घरभित्र प्रवेश गर्ने विशिष्ट अवसरको प्रतीक्षा गर्न थाल्यो तर उसको दिमागमा एउटा कुरा अलि नमिल्दो लाग्यो-उसका बाबुले ‘दिदी हुनुहुन्छ ?’ भनेर किन दुनियाँ आइमाईर्हरूका बारेमा सोधिराखेका होलान्, सीधै जो ठूलोबडो मान्छे हो उहाँ नै ‘हुनुहुन्छ ?’ भनेर सोधेको भए त भैहाल्थ्यो नि ! उसले मनमनै विचार गर्‍यो । ‘सायद त्यो आइमाईर्लाई भनेर बल्ल ठूलाबडा कहाँसम्म पुग्नु पर्ने होला ।’ निकैबेर उभिएर यताउता गरेपछि एक हूल मानिसहरू उक्त ढोकाबाट हाँस्दै बाहिर निस्के, केही पर राखेका आ-आफ्ना गाडीहरू चढे र गेट बाहिर निस्किए । राजुलाई हल्का राहतको महसुस भयो अब भने भित्र जान पाइएला भनेर । तर ढोकाको मानिसले राजुका बाबुलाई अझै केही बेर बाहिरै बस्न भन्यो ।

लगभग पाँच मिनेटपछि फेरि एउटी आइमाई र दुई जना मान्छेहरू ढोका बाहिर निस्के । राजुले देख्यो उसका बा एकदमसँग सतर्क भएका छन् अहिले । त्यसैले ऊ पनि केही सतर्क भयो । ‘कतै यिनै दुई जना मानिसहरू त होइनन् ठूलाबडा भनेका !’ राजुले सोच्यो । ‘तर होइन होला, यस्ता जिउडाल नै नपरेका पनि के ठूलाबडा हुँदा हुन् ।’ उसले मनमनै प्रतिवाद गर्‍यो । राजु र उसका बा ढोका नजिकै भए पनि ती तिनै जनाले उनीहरू त्यहाँ भए-नभएको वास्ता नै नगरी अगाडि बढे, केही पर पुगेपछि सँगै जाने आइमाई चाहिँ रोकिइन् र हात हल्लाइन्, ती दुई जना मानिसहरू भने हात हल्लाउँदै एउटा चिल्लो गाडीमा चढे र बाटो लागे ।

ती आइमाई फर्किइन् । हल्का कालो वर्णकी, त्यस्तै चालीस-पैँतालीस वर्षकी जस्ती देखिने, मोटो र भद्दा खालको लाग्ने शरीर भएकी ती आइमाईर्लाई अरू जे भने पनि राम्री चाहिँ कुनै पनि हालतमा भन्न नमिल्ने खालकी थिइन् । त्यसमाथि सायद उनको शारीरिक बनावटले हुन सक्छ, तिनले लगाएको सारी पनि पटक्कै नसुहाएको जस्तो देखिन्थ्यो । सबैभन्दा असहज र नमिल्दो चाहिँ ती आइमाईर्का भुक्क उठेका गाला, अलि चुच्चोचुच्चो परेका ओठहरू र हेर्दै छुच्चो लाग्ने मुखाकृति भएको राजुले ठम्यायो । जब ती आइमाई घरको ढोकातर्फ बढ्दै थिइन्, राजुका बा एकदमै सतर्क र तयार भएर नमस्कार गर्दै ती आइमाई छेउ गए तर तिनले उसका बातर्फ एकपटक पनि नहेरी ढोकाभित्र पसिन् । राजु छक्क पर्दैर् थियो, उसका बा भने हस्रक्क परेर त्यत्तिकै उभिई रहे । एक छिनपछि कसो-कसो ती आइमाई फेरि भित्रबाट ढोकासम्म आइन् र ढोकाको मानिसलाई भनिन्, “सुन्यौ, अब म आराम गर्छु, कसैलाई पनि भित्र नपठाउनु है……।” राजुका बाको अनुहार झनै निन्याउरो भयो तर त्यो ढोकेले तै तै भनिदियो, “हस हजुर तर उहाँहरू चाहिँ अघिदेखि कुरिराख्नु भा’को छ ।”

राजुका बाको अनुहार केही उज्यालो र हँसिलो भयो ।

“खै, को हो ” भनेर ती महिला ढोका बाहिरै आइन् ।

राजुका बाले एकदम झुकेर ती आइमाईर्सँग आँखासमेत नजुधाई नमस्कार गर्दै भने, “म हजुर, राजेश्वर क्षेत्री ।”

“को राजेश्वर क्षेत्री ? किन आएको ? ” अपराधीहरूलाई केरकार गरेजस्तो दवावपूर्ण आवाजमा ती महिलाले सोधिन् ।

“म हजूर, नगर विकास शाखाको अधिकृत …………..” राजुका बाले टाउको केही उठाएर आफ्नो परिचय प्रस्तुत गरे ।

राजु भने घोर आश्चर्यले चकित भएका नजरले यो दृश्यावलोकन गरिरहेको थियो । ‘उसका त्यस्ता वलिष्ठ, शक्तिशाली र कठोर प्रकृतिका बाबु, उसले ठानेको एउटा आदर्श लोग्नेमान्छेको प्रतीक उसका बाबु किन यसरी गिलो माटोजस्तो लत्याकलुतुक भएर एउटी झत्ते आइमाईर्का अघि झुकिरहेछन् ? आफ्नो घरमा आमाको अगाडि र वरपर छिमेकमा त्यस्तो जोस र शानका साथ, विशिष्ट प्रकारको शैली र हाँकका साथ प्रस्तुत हुने, उसले ठानेको संसारकै सर्वश्रेष्ठ पुरुष किन यति विघ्न कमजोर र आत्मसम्मानको थोरै अंश मात्र पनि नभए जस्तो रूपमा देखिँदैछन्, त्यै पनि एउटा आइमाईर्का अगाडि, एक घुस्सा हान्दा जहाँको त्यही ढल्लीजस्ती दुर्वल आइमाईर्का अगाडि ………….?’ राजु यसरी सोचिरहेको थियो तर ती आइमाईर्को कडा स्वर सुनेर उसको सोचाइको शृङ्खला त्यसै टुट्यो ।

“ए, तिमी नै हौ त्यो अधिकृत ? तिम्रोबारेमा हाम्रा कार्यकर्ताहरूले निकै चर्चा गर्दैथंे, तिम्रोबारेमा सोच्ने फुर्सद नपाएर मात्रै हो, नत्र मैले जान्याथें, बडो मापाका पो रहेछौं तिमी त ।” ती आइमाईले घृणा युक्त भावले राजुका बातर्फ हेर्दै बोलिन् ।

राजुका बा लगभग अत्तालिए । उनलाई थाहै भएन उनले के गल्ती गरेका थिए र यो घनघोर आरोप उनीमाथि लागिरहेछ । उनले अत्यन्त मलिन स्वरमा एकदम झुकेर बिन्ती बिसाए, “मैले के बिराँए र हजुर, अन्जानमा कुनै भूल भएको भए माफी पाऊँ ।”

“अझ अन्जानमा भूल भयो भनेर पन्छिन खोज्छौँ ? हाम्रो पार्टीको कार्यकर्ताहरूलाई त तिमी चिन्दा पनि चिन्दैनौँ रे, तिमीहरूको काम बिनासित्तिमा मैले किन गर्ने भन्छौ रे । हँुदा-हुँदा तिमी त हाम्रो आफन्तलाई पनि नचिन्ने ? मेरो लक्ष्मणप्रसाद भन्ने एकजना आफन्त जग्गा प्लानिङको काम लिएर तिम्रोमा जाँदा ”त्यो जग्गा खेतीयोग्य भएकाले त्यसमा बस्ती नबसाउने नगरको योजना छ, अर्कै जग्गाको योजना लिएर आनुहोला । भनेर तिमीले फर्काएको होइन ? कहाँसम्मको त तिमी, मेरो आफन्तलाई पनि दुनियाँ नियम देखाएर काम नगरी फर्काइदिने ?” ती महिला त अचम्मसँग जङ्गिइन् ।

राजु आश्चर्यचकित भयो, ‘गाँठे, एउटी झुत्रे आइमाईको यत्रो तुजुक !’ उसले अहिलेसम्म आइमाईर्को यस्तो शक्तिशाली र अजङ्गको रूप साक्षात्कार गरेको थिएन जुन रूपको अगाडि उसका बाबुजस्ता सर्वश्रेष्ठ पुरुष पनि झुम्राको पुतलीजस्तो बन्न सक्छन् । राजुले देख्यो उसका बाबुको ओठ मुख सुकेको छ र उनले अत्यन्त हतास र रुँलारुँलाजस्तो अनुहार बनाएका छन् । अब चाँडै हुन गइरहेको बढुवाको सूचीमा आफ्नो नाम पार्ने मनसायले भनसुन गर्न यहाँ आएका उनी, यो हप्कीदप्की र यो आरोपको एकोहोरो घोचाईबाट अत्यन्त मर्माहत भएका छन् । उनले जसैतसै आफ्नो प्रतिरक्षा गर्दै रुन्चे स्वरमा बोले- “पार्टीको मान्छे भन्ने जानीजानी मैले कहिल्यै कसैलाई पन्छाएजस्तो लाग्दैन, त्यसमाथि हजुरको आफन्तसँग मैले त्यस्तो व्यवहार गर्ने दुस्साहस त कल्पनै गर्न नसक्ने कुरा हो । जरूर हजुरलाई कसैले गलत कुरा सुनाइदिएको हुनुपर्छ । बुबा हजुरले पनि मलाई राम्ररी चिनी बक्सेको छ, मैले उहाँको थुप्रै सेवा गरेको छु । हजुरको निगाहमा बाँच्ने मजस्तो नाथेले कसरी त्यो हदको दुस्साहस गर्न सक्छु र ———-।”

आफ्नो बाबुको दयनीय हालत देखेर राजु पनि दुःखी भयो तर बाबुले कुरा सिध्याउँन नपाउँदै ती आइमाई फेरि च्याँठ्ठइिन्, “भो भो बढी कुरा नगर, मलाई एक एक रिपोर्ट थाहा हुन्छ । बुबाको सेवा गरेको के चर्चा गर्छौं ? देशको त्यत्रो उच्च पदमा बसेको मानिसको जसले पनि सेवा गर्छ, अझ सेवा गर्न तँछाड-मछाड हुन्छ तर तिमीले त बुबाको सेवा गरेका छौं भन्ने कुरामा पनि मलाई शङ्का छ । खै, तिमीले कहिल्यै मलाई भेट्न आएको त सम्झना छैन । सारा कर्मचारीहरू भेट्न आउँछन्, कति राम्रोसँग ‘दिदी पार्टी चलाउन, राजनीतिको काममा कति खर्च हुँदो हो, मेरो तर्फबाट यति भयो’ भनेर खर्चबर्च छोडेर जान्छन् । म पनि चिन्छु नि त्यस्ता मानिसहरूलाई त, सकेसम्म मैले उनीहरूको भलो पनि गर्दिरहेकै छु । तिम्रो त कुरै अर्को, आफ्नो काम नपरुन्जेल वास्ताब्यास्ता नगर्ने, काम परेपछि पुच्छर हल्लाउँदै आउने तिमीहरू जस्तालाई मैले चिन्या छैन र ? अहिले पनि कुनै काम नै लिएर त आएको होला नि ?” ती आइमाईर्ले आफ्नो सारा भँडास पोखिन् ।

राजुका बा अक्क न बक्क परे । हो त नि, उनले त कहिल्यै त्यस्तो नजराना लिएर दिदीलाई भेट्न आएका थिएनन्, अब के भन्ने र उनी अवाक भए ।

तर ती आइमाईले आफ्नो कुरा अझै सिध्याएकी रहिनछिन्, थपिन् “ठीक छ, अब तिमी कालिकोट जान तयार हुनू, त्यहाँका रामेश्वर शर्मा तिम्रो ठाउँमा आउँछन्, त्यति टाढा भएर पनि उनी हरेक पटक काठमाडौँ आउँदा मलाई नभेटी जाँदैनन्, त्यस्ता पो हुन्छन् कर्मचारी त । तिमीले पनि त्यहाँ बसेर हाम्रो पार्टीको हितमा काम गर्दै गयौँ र हामीलाई पनि रिझाउँदै गयौँ भने अर्कोपटक हेरौंला । ल, अरू केही छ ? अब गए हुन्छ ।” त्यति भनेर राजुको बुबाको जवाफ पनि नपर्खी ती आइमाई सरासर ढोकाभित्र पसिन् र अलप भइन् । राजुका बाबु जिल्ल परेर त्यतिकै उभिइरहे । आफ्नो बढुवाका लागि भनसुन गर्न आएका उनी दुर्गममा सरुवा भएर जानुपर्ने फैसला सुनेर अत्यन्तै व्यथित भए । राजुले भने यो सब कुरा बुझेन । ऊ त आफूले हालसम्म कहिल्यै नजानेको, नदेखेको आइमाई र लोग्नेमान्छेको रूप देखेर अत्यन्त ठूलो रहस्यका बीच रनभुल्ल परेर उभिएको महसुस गरिरहेको थियो आफैँलाई । ऊ मनमनै तुलना गरिरहेको थियो आफ्नी निरीह, कमजोर र दुर्बल आमा र यी शक्तिशाली, कठोर र आगोजस्ती पोल्ने आइमाई बीच । त्यसैगरी ऊ तुलना गरिरहेको थियो घर छिमेकमा गौरव, शान र शक्तिले युक्त भएर दृढतापूर्वक प्रस्तुत हुने आफ्ना बाबु र यी आइमाईर्का अगाडि गिलो गँड्यौलो वा छुँदैखेरी लत्याकलुतुक्क ओइलाउने झारपातजस्ता आफ्ना बाबुबीच ।

एक छिनपछि गह्रौं र निराश आवाजमा राजुका बाले भने, “हिँड् बाबु घर जाऊँ ।” तर राजु भने झन् आश्चर्यमा पर्‍यो । ठूलाबडा मान्छेलाई भेट्न आएको, किन उसका बाबु त्यसै र्फकने कुरा गर्दैछन्, उसले बुझ्न सकेन । त्यहाँ केही नचाहिँदो बोल्नु नहुने भएकाले गेट बाहिर आउनासाथ राजुले सोध्यो, “बुबा, खै त हामीले ठूलाबडा मान्छेलाई भेटेको ?”

राजुका बाले हैरान भएर छोरालाई हेर्दै भने ‘देखिनस् तेरी आमालाई, त्यही राक्षेस्नीजस्ती आइमाई त हो नि ठूलीबडी भइखाकी ।’ घनघोर आश्चर्यले राजुका आँखा विस्फारित भए -‘ए, के सुन्नु परेको यस्तो, ठूलाबडा मान्छे भनेको नै त्यही आइमाई ? अभूतपूर्व आश्चर्यको झट्काले लागेर एक छिनसम्म राजु शालिकजस्तै भयो तर उसका बाबुले राजुको सोचाइको बारेमा कुनै पत्तो पाएनन् । उनी त जुवामा आफ्नो सारा घरखेत हारेर चिन्ता र पीरले अध्मरो भएको मान्छेझैँ भएका थिए । उनले आफ्नै सुरमा वा अझ भनौँ बेसुरमै आफ्नो वाइक स्टार्ट गरे । राजु आफ्नै हालतमा थियो र त्यही हालतमा ऊ बाबुको पछि मोटरसाइकलमा बस्यो ।

मोटरसाइकलमा चुपचाप हुइँकिँदा बाहिर त राजुको कानमा बतासले हानिरहेकै थियो तर उसको भित्री मनमा पनि सँगसँगै ठूलो आँधीबेहरी चल्यो । उसले अहिलेसम्म दृढतापूर्वक उभ्याइरहेको आइमाई र लोग्नेमान्छेबारेको विचारको प्रतिष्ठान त्यही आँधिबेहरीले गर्लम्म ढाल्यो । उसको दिमागलाई सम्पूर्णरूपमा ढाकिराखेको एउटा कालो भ्रमको पर्दा जब स्वाट्ट हटेर गयो, चारैतर्फबाट आएको उज्यालो प्रकाशले ऊ तिर्मिरायो एकछिन र जब तिर्मिराउन छोड्यो, एउटा ज्ञान स-दृश्य र स्पष्टरूपमा उसको दिमागमा आयो, गाँठे, आइमाई पनि कहाँ चानचुने र दुर्बल मात्र हुँदारहेछन् र ! अनि लोग्नेमान्छे पनि त चानचुने र निरीह हुँदारहेछन् नि !

(श्रोत:- मधुपर्क २०६८ मंसीर )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.