तृष्णा

~गंगा सुवेदी~

‘दाइ, डी.भी. पर्‍यो रे ?’

‘हो ।’ अनन्तले सहजै जानकारी दिए ।

‘अब कहिले जानुहुन्छ ?’

‘सत्ताइस नोभेम्बको टिकट छ ।’

‘ए , साँच्चै पो जाने नै हुनुभएछ ।’

‘अनि तिमीले ख्यालख्यालमै भन्ने सोच्यौ त ?’ हाँसे अनन्त ।

‘अब उतै बस्ने ?’

‘त्यसै गर्नुपर्छ होला ।’ दिक्क मानेझैँ गरेर उनले पुनः भने,

‘यस देशमा अब बस्नुपर्ने के चैं पो बाँकी छ र ? नेता भनाउँदाहरूले ख्वार्लाप्प पारिसके देशलाई । जानेजत्तिलाई के आफ्नो देशको माया थिएन र ? तर बस्नै नसकिने भएपछि विकल्प नै खोज्नुपर्दो रहेछ ।’ उनले बडो दुःखी मनले भने तर निर्मलालाई जानुको कारणमा कुनै चासो छैन । तैपनि कुरामा कुरा चल्दा उनले पनि थपिन्,

‘त्यही मात्र कारण नहोला दाइ…..पश्चिमी चमकदमकले लोभ्याएर पनि हुनसक्छ । अरू नै कारण पनि हुनसक्छ ।’

‘हुन सक्छ……।’ अब भने यति मात्र बोले उनी । निर्मलाले निकै गहिरिएर अनन्तलाई हेरिन् । केही सोचिन् र भनिन्, ‘राष्ट्रको गतिले पनि दुःखेका हुन्….जुन जोगी आयो कानै चिरेको ……तहसनहस पार्ने भए……के गर्नु आफ्नो त जाने पनि अवस्था छैन ।’ मनमनै भने ‘कायर…….जब देशलाई उपर्युक्त साथ चाहिएको बेला आयो तब साथ छाडेर पलायन हुन खोज्छन्……अनि के देश उँभो लाग्नु…….कालैकालका जिम्मामा साँघुरिएपछि बाँदरको हातमा नरिवल नभई के हुनु त देशले पनि…….विवशता छ…….रोकेर पनि कसले रोक्नसक्छ र जानेलाई ।’ मनभरिको तिक्तता मनभित्रै पोखिन् उनले तर अनन्तलाई आभास हुन दिइनन् । उनको उद्देश्य यस सन्दर्भका लागि पनि थिएन । बडो जटिल छ उनको उद्देश्य । एक सभ्य सुशील नारीका लागि त झन् गाह्रो छ तर व्यक्त नगरी पनि भएको छैन । साहस त गर्नु नै परको छ । कतिञ्जेल जीउ र अलिअलि भएको सम्पत्ति यसरी नै लुटाएर सकिन्छ ? आफ्नो दोष नहुँदा पनि भोग्नुपरेको पीडा थामिराख्न असह्य परिसकेको छ । लोग्नेमान्छे त हाम्रोजस्तो संस्कारमा जसरी पनि जोगिने । भोग्ने जत्ति त स्व्ाास्नीमान्छेले नै । धरतीको संज्ञा त्यसै खेप्नुपरेको होइन रहेछ आइमाईले ।

मन तर्कनामा डुब्नुपर्दा बाटो नबिराई डुब्दै जान्छ । निस्किन हम्मेहम्मे पर्छ उनलाई । आफ्नै मन आफ्नै पीडा र पनि……। अनन्तले चुपचाप कोठाको एक कुनाको कुर्सीमा बसेर सोचमा डुबेकी निर्मलातिर हेर्दै भने, ‘के हो बैनी, के सोचमा मग्न हो ?’

झस्किइन् उनी । मुस्काइन्, तर फिका मुस्कान । मुस्कानभित्र पनि अन्योलको भाव देखियो ।

‘मलाई लाग्छ तिमी कुनै चिन्तामा छ्यौं ।’

अप्ठ्यारो पारामा ‘होइन’ भनिन् उनले । भन्नु त थियो तर कुनै समय पनि अनुकूल लागिराखेको छैन । यसै सुरमा कहीँ समय छुट्ने पो हो कि ! भन्ने पीरले पनि सताइराखेको छ ।

‘म जान्छु भनेर सुर्ता लिएकी त होइन नि !’ त्यत्तिकै इत्तरिए अनन्त । निर्मलालाई भने कता कता लाज लागेर आयो ।

‘ए ! होइन । नराम्रो त लागेको हो तर तपाईंले आफ्नो भविष्य देखेरै जान लाग्नु भएको हुनाले खुसी पनि छु ।’ उनले भनेपछि अनन्तले भने,’ होइन, मैले त जोक पो गरेको……अन्यथा नमान ।’ गम्भीर भए उनी । जे भन्नु थियो त्यो भन्न आँट पुगेन निर्मलाको ।

बिदा मागेर फर्किइन् निर्मला । रातभरि निद्रा लागेन । छट्पटाएको छट्पटाएकै देखेर श्रीमान् पुष्पराजले सोधे, ‘के कुराले सताइराखेको छ तिमीलाई ? कि सञ्चो भएन ?’

झस्किइन् निर्मला । हत्त न पत्त जवाफ दिइन्, ‘केही भएको छैन ।’

निर्मलालाई ध्यान दिएर हेरेपछि निद्राले लठ्ठिएका आँखाको आज्ञालाई शिरोधार्य नगरी सुखै पाएनन् उनले । निर्मलादेखि अझै पनि कोसौ टाढा छ निद्रा । साथ छ त केवल छट्पटाइ । ‘यही काठमाडौँ हो जहाँ कत्ति सहजै फेरिन्छन्…….कत्ति उमेर नभई बतासिएका छन् । सेक्स

त इन्ज्वाई गर्नुपर्ने कुरा हो । यसमा केको लाज ? केको अप्ठयारो ? सजिलै भनिदिन्छन् । यहाँको संस्कारमा त्यसलाई नहुँदो मान्दैनन् तर मजस्ता मर्माहत् भएकालाई भने किन यति साह्रो परेका हो ? दिक्क मान्छिन् उनी । हाम्रो पूर्वीय संस्कारले कत्तिबिघ्न जेल्न सकेको…..।’ खुइय्य गरेर लामो सास छोडिन् उनले । रात क्रमशः बिश्राम गर्ने तयारीमा छ ।

पुष्पराज अफिस गइसकेका छन् । फेरि उही एक्लोपन…….। उनले क्यालेन्डर हेरिन् ।’आज पुनः डा. सोनाली बर्माको क्लिनिकमा जानुपर्ने छ……ठूलो रकम बुझाएर दुख्दै फर्किनुपर्ने छ । छैंटौं पल्टको अनिश्चित प्रयासमा होमिनुपर्ने दिन हो आज फेरि । परिणाम पनि थाहा भए पनि आशाको डोरी नचुँडिउँञ्जेलको सास धान्न पनि धरती हुनु परेको छ । चुँइक्क बोल्नु भएको छैन । प्रतिकार पनि गर्नुभएको छैन । लोग्नेको लागि पनि । उसको अस्मेल मायाको लागि पनि सहनु कर्तव्य बनेको छ ।’ सम्झिन्छिन् उनी एकपल्ट पुष्पराजले निन्याउरो भाकामा भनेका थिए, ‘निरु, तिमीलाई साह्रै दुःख भयो । आऽ…..जे होला होला छाडिदिउँ ।’ उनको भनाइमा आफ्नो लागि परीक्षा देखेकी थिइन् उनले । त्यो माया त्यत्ति दह्रो सावित छ जस्तो लागेको थिएन निर्मलालाई । उनले ‘कसैसँग चाहना नजताइदिएको भए, आफ्नै दोष भए पनि मान्छेसँग कुराकानी हुँदा तीक्ष्ण हेराइले नबिझाइदिने भएको भए, त्यत्ति पनि नभए सगर जत्रो आँटको विश्वास दिनसकेको भए सायद भौँतारिने प्रयत्न पनि गर्दिनँ थिइनन् तर पुष्पले त्यो हिम्मत देखाउन सकेनन् । उनले कहिल्यै पनि भयो अब डाक्टरकहाँ नजाउ भनेका छैनन् । ठ्याक्क आज यति गते भनेर सम्झाउँछन् र निर्मलाले लोग्नेको यो ईशारा राम्रोसँग बुझेकी छिन् । त्यसैले उदास मुस्काउँछिन् मात्र ।

बेलुकाको चार बजिसकेको छ । उनले आफू बसेको डेराको छतबाट अनन्तको कोठामा चिहाइन् । झ्यालको पल्ला खुलिसकेको छ । यसको मतलव अनन्त दाइ आइपुगेको हुनुपर्छ । मनलाई आज पनि दरिलो बनाउँदै निर्मला अनन्तकोमा पुगिन् ।

‘अहो ! निर्मला, लु यहाँ बसुम्………के खाने ? कालो चिया बनाउँ ?’

अनन्तले मानवीयता प्रदर्शन गर्दै छेवैको कुर्सीतिर औँल्याएपछि उनी आज्ञाकारी बालकजस्तै भएर बसिन्. । अनन्तले भने, ‘म पनि भरखरै आइपुगेको……चिया बसालेँ है ?’ उनले स्वीकृति दिइन् ।

‘दाइ, विदेश जाने प्रोसेस के हुँदैछ ? कत्तिको अगाडि बढ्यो ?’

‘अब त्यही त काम छ नि बैनी । त्यसैमा लागिएको छ । हिजो साइबरमा भाइसँग भेट भएको थियो ……..कुनै चिन्ता लिनुपर्दैन दाइ……आइज भन्दैथियो ।’

‘आफ्नै ?’ उनले सोधिन् ।

‘मामाको छोरा……मेरो त अधिकांश आफ्ना मान्छेहरू उतै छन्……..कोही अस्ट्रेलिया छन् ।’

‘तपाईं मात्र कसरी अडिनुभयो त ?’ उनले वास्तवमा व्यङ्ग्य हानिन् । बुझेजस्तै गरेर अनन्तले भने, ‘त्यै त…..म यस देशको माया गर्ने भएर नगएको । युवा शक्ति विदेश पलायन हुनु हुँदैन भन्ने मेरो मान्यता……..तर नरपिशाचहरूले खत्तमै पारेर छाडे । बोलुँ भने सुन्ने को ? नबोल्ने हो भने कत्ति सहने ? कसरी सहने ? कतिञ्जेल सहने ? अब दुईसय वर्ष पछाडि धकेलिएको देशमा बसेर पनि के गर्नु ? मनै लागेन ।’

अनन्तले आत्मिक गहिराईबाट आफूभित्र गुम्सिएको पीडालाई केही हदसम्म पोखे ।

देशप्रति यति आस्थावान जनाउने व्यक्तिले अनि, ‘यस्तो नाजुक अवस्थामा चैं छाड्ने हो त ?’ निर्मला पनि चुप रहन सकिनन् । भनिदिइन् ।

‘उपाय नलाग्ने भएपछि आमाले त आफूले जन्माएको सन्तान छोडेर अन्त लाग्छ, लाग्नुपर्छ भने……यस्तै हो मनले नचाहे पनि तर लाग्नुपर्दो रहेछ’ उनले भने । अनन्तको भनाई आफ्नो ठाउँमा सही छ भन्ने पनि लाग्यो निर्मलालाई, तर आज पनि सन्दर्भ यसका निम्ति थिएन । जुटेको साहस परपर हुन खोजेको अनुभव हुँदैछ उनलाई । किलकिलेमा ठ्याप्प अड्किन खोजेको छ भन्न खोजेको वाक्य अथवा अनुरोध । भनिसकेपछिको परिणाम के हुने हो ? आफ्नै सामना पनि कसरी गर्न सकुली ? द्विविधाको स्थिति सम्पन्न हुने प्रवल सम्भावना छ । अनन्तले चिया दिदै भने, ‘लौ हेर, आज पनि मान्छे त बिल्कुलै बदलिएको छैन…..उस्तै चिन्ताग्रस्त…..होइन हौ, कि पुष्पराजजीसँग ठाकठुक पर्‍यो र मैले सल्टाउनु पर्ने हो ?’

‘होइन ।’ निर्मलाले भनिन् ।

‘त्यसोभए किन लत्रिएको अनुहार ?’ उनले जिज्ञाशा व्यक्त गर्दा गलालाई उछिनेर वाक्यका रूपमा आकार लिन खोज्यो मनमा उब्जिएको अनुरोधले । उनले पुलुक्क हेरिन् अनन्तलाई । बुझेछन् अनन्तले । त्यसैले भने, ‘अँ भनुँ भनुँ……म सुन्दैछु ।’ आजभने ढुक्क छन् उनी तर पनि निर्मलाले भन्न सकिनन् । खान्दानी परिवारकी चेली बुहारी भएकीले बारम्बार संस्काररूपी तगारोले छेक्छ उनलाई । उनले भित्तेघडीमा हेर्दा बजिसकेको पाँचले ‘उहाँ आइपुग्नुभयो होला …….गएँ’ भनेर करेन्ट लागे जत्तिकै जुरुक्क उठेर हिंडिन् । छक्क पर्दै उनले निर्मलालाई दिएको चियाको मग हेरे । चिया अलिकति बाँकी नै थियो ।

‘कहाँ गएकी थियौ ?’ पुष्पराजले सोधे । उनले नढाँटीकन भनिन्, ‘अनन्त दाइकोमा गएकी थिएँ ।’

‘किन….केही काम थियो र ?’ शङ्काहीन सोधे उनले । उनी निर्मला जहाँ गए पनि केही भन्दैनन् ।

‘नोभेम्बर सत्ताइस तारिख जाने भएछन्……त्यसैले यसो हिँड्ने बेलामा के हो कसो हो भनेर गएकी थिएँ ।’

‘यो ब्रिफकेश राख …..।’ अह्राए पुष्पराजले र दिनहुँको बानी……टेरिन् उनले ।

राति फेरिउस्तै तुलबुल …….उही छट्पटाईले निर्मलालाई छाड्न मानेको छैन । हुनतः आज पुष्पराजको पनि उही हालत रहेछ भन्ने उनले बुझिन् र उनीतर्फ फर्किंदै सोधिन्, ‘किन आज हजुरलाई निद्रा लागेको छैन…….निकै छट्पटाउँनुहुँदैछ ?’

पुष्पराजले एकैछिनको मौनतापछि भने, ‘तिमीले पनि पाउनु दुःख पाइसक्यौ…….हाम्रो समस्याको समाधान होलाजस्तो छैन । कहिलेकाहीँ यस कुराले धेरै पोल्छ । आज पनि निकै पोल्दैछ ।’

‘हिजोआज निष्फिक्रीजस्तो लागेको थियो……हालतसँग सम्झौता गरेजस्तो लागेको थियो …..होइन ? के म गलत छु ?’

‘सवाल यो होइन…….मेरो कमजोरीलाई तिमीले थेग्नुपरिरहेको छ ……….मेरा कारणले तिमीले दुःख पाउनु तिमीमाथि अन्याय हो भन्ने लाग्छ मलाई …….।’

‘हेर्नु, वास्तविकता जे भए पनि अरूले देख्दा मै दोषी हुँ …..जे परे पनि म सहुँला……..हजुर ढुक्क हुनुहोस् न…….यस स्थितिको फाइदा उठाउनुहोस् ……….म त भन्दिन नि ! छोडेर अन्त पनि जान्न………के को दुःख मनाउ छ र !’ दुवै एक अर्कामा ओतप्रोत भएको यो क्षण । मायैमायामा व्यक्त भावनाको उठान भएको यो बेला आफैँमा झम्झमाएको छ ।

भोलिपल्ट बिहान बरण्डामा बसेर चिया पिउँदै गरेको बेला गमलामा रोपेको गुलाफको बोटमा फक्रिन खोजेको कोपिला देखेर पुष्पराजको मन निकै रमाएको छ । भित्रबाट चिया लिएर आइपुगेकी निर्मलालाई त्यो कोपिला देखाउँदै उनले भने, ‘हेर त निर्मला ! कस्तो राम्रो गुलाफको कोपिला……..कुनै शिशु मुस्कुराए जस्तै लाग्छ, हैन ?’

उनी मुस्काइन्, ‘बूढा ! हिजो रातिदेखि भावुक हुनुभएको छ…….हिजोअस्ति पनि त कत्ति कोपिलाहरू ल्ाागेका थिए….कहिल्यै शिशुजस्तो भन्नुभएन……आज भने कोपिला पनि शिशु देख्नुहुन्छ ।’

‘नमस्ते पुष्पराजजी’ भन्दै अनन्त टुप्लुक्क आइपुगे ।

‘अहो, अनन्तजी लौ बस्नुस् ……चिया पिउँ ।’ उनले भने । आजभने पारिवारिक वातावरण भेटाएका छन् पुष्पराजबाट अनन्तले ।

‘नेपाल छोड्दै हुनुहुन्छ भन्ने सुन्छु……किन माया मार्न आँट्नु भएको हो…..?’

‘डी.भी.भरेको थिएँ परेछ ।’

‘ल त ! गएर पनि यहाँका हामी साथीभाइलाई नबिर्सिनु होला ।’

‘किन बिर्सनु र !’

निर्मलाले ल्याएको चिया पिइसकेपछि अनन्त फर्किए । बिहानको नौ बजिसकेको छ । पुष्पराजको अफिस जाने समय हो यो । खाना खाएर अफिस लागे उनी । निर्मला भने उस्तै एक्लै । अनेक तर्कनाको फन्दामा ।

‘अब पर्सि नै पो जाने रे ।’ भन्न खोजेको कुरा भन्न नसक्दा उनलाई क्षोभ आयो । आफँैसँग रिसाइन् । फेरिआँट गरेर अनन्तको डेरामा पुगिन् । अनन्त गिटारमा मस्त थिए । अनन्तले केही बोल्नु अगाडि नै भनिन् । उनलाई अनन्तले बोलेपछि आफैँलाई आफ्नो भरले पन्छाउन थाल्नेछ भन्ने आशङ्का पनि लागेको हुनाले आज पहिले आफैँ बोल्छु भन्ने निर्णयका साथ आएकी थिइन् उनी ।

‘दाइ, म केही माग्छु दिनुहुन्छ ?’

‘दिन्छु किन नदिनु । दिन हुने दिन्छु ।’ उनले छक्क पर्दै भने । थुकको घुड्को निलेर परिणामलाई स्वतन्त्र छाडेर उनले भनिन्, ‘मेरो जिन्दगीको खालीपनलाई पूर्णता दिनु……..।’ स्तब्ध भए अनन्त । नसोचेको, कल्पनै नगरेको कुरा थियो यो । त्यो पनि निर्मलाजस्ती संस्कारयुक्त नारीका मुखबाट । निर्मलाका आँखा भुईंमा गाढिएका छन् । अनन्तबाट कुनै शब्द नसुनिएपछि फेरि पनि हिम्मतका साथ उनले भनिन, बिन्ति छ ।

रापिएर जुरुक्क उठे अनन्त । एक झप्पु दिए निर्मलाका कोमल गालामा । आजसम्म स्पर्श नगरिएकी नारी जसलाई उनले पवित्र दृष्टिले हेरेका थिए……आज उसको निर्लज्जपना देखेर घिन लागेर आयो । हप्काए, ‘मैले आदर गरिएकी तिमी आज मेरो नजरबाट गिर्‍यौ …….पुष्पराजजीले थाहा पाउनुभयो भने के सोच्नुहुन्छ…….त्यसको अनुमान छ तिमीलाई ?’ रोइनन् उनी । अनुहार रात्तियो । आँखा रसाए मात्र । अनन्तलाई यस्तो लाग्यो कि निर्मला यस परिणामका लागि तयार भएरै आएकी हुन् । एक तमासकी लाग्यो अनन्तलाई निर्मला । अरू दिनभन्दा एकदमै पृथक ।

‘कमी ममा होइन ….उहाँमा छ तर दुनियाँभरिको लाञ्छना म भोगिरहेछु……मान्छेका आफन्तका तीक्ष्ण हेराइको शिकार म भएकी छु । वेदना म कति सहुँ । मेरो नहुने भएका भए पनि मैले नै भोग्नुपर्थ्यो, उसको नहुने हुँदा पनि मैले नै सहनु पर्ने…….यो कहाँको न्याय हुनसक्छ ? उसले विकल्पमा अरूसँग जान हुन्छ भने के म नारी भएकै कारणले प्रतिबन्धित ?’ सुन्दै गए अनन्तले । निर्मलाका एकएक शब्दले न्याय माँगिरहेका छन् र ती कुनै पनि हालतमा गलत छैनन् भन्ने लाग्दैछ उनलाई । आज गहिरिएर हेर्दैछन् निर्मलालाई उनी । कतै केही नबिगि्रएकी सौन्दर्य प्रतिमा रहिछन् निर्मला त जस्तो लाग्दैछ उनलाई र वास्तवमा उनको अड्कल गलत थिएन पनि । मनभित्र कतै चसक्क बिझ्यो ।’ किन हात तम्सेका होलान् झप्पुका लागि । सुन्दर गालामा शोभायमान पटक्कै थिएन । फेरि के अधिकार र ? क्रोधको सीमा टुङ्गिने ठाउँ त थिएन’ त्यो भन्ने पनि लाग्यो उनलाई । शान्त भएर निर्मलाको छेउ बस्तै उनले भने, ‘बच्चा एडप्ट गरेको भए पनि त भइहाल्थ्यो……कसैको उद्धार पनि हुन्थ्यो र आफ्नो पनि ।’

‘होइन रे, मेरै कोखबाट जन्मिनुपर्थ्यो रे । अर्काका सन्तान आफ्ना हुनै सक्दैनन र माया पनि लाग्दैन रे……मैले त भनेको ।’ उनले बाध्यता जनाएपछि व्यथित भए अनन्त । निरीह लाग्यो उनलाई आइमाईको जात नै ।

‘किन ? आफूले हुर्काएपछि आफ्नै त हो ।’

‘होइन रे…..।’ निरुत्तर भएका अनन्ततिर हेरेर विनयपूर्ण स्वरमा उनले भनिन्, ‘प्लिज, तपाईं जाँदै हुनुहुन्छ र म कसैलाई भनक पर्न दिन्न, जानेबेलामा यत्ति उपकार होस्……बडो हिम्मत जुटाएर आएकी हुँ म ।’ एक भन्नु न दुई भन्नु भयो अनन्तलाई । भाग्यले देखाएको यस मोडलाई बुझेर पनि गाह्रो थियो ।

भोलिपल्ट जाने दिन थियो । आज फेरि निकै असजिलो मान्दै निर्मलाले दैलोको सङ्घारलाई खुट्टाले स्पर्श गरिन् । अनन्तको समग्र ढक्क फुलेर आयो । के भन्ने भनेर सोच्न कर लाग्यो । रातभरि निर्मलाको सौन्दर्य र अनुरोधले नपछ्याएको होइन । बिहान चिया पिउँदा पनि नबिथोलिएका होइनन् । जेसुकै होस् आऽऽऽ भन्ने पनि लाग्यो र यो पाप हो भन्ने पनि लाग्यो । निर्मला अनन्तको छेवैमा पुगिन् । अनन्त लठ्ठिए ।

आज उनको काखमा छोरो छ । पुष्प र निर्मला रमाएका छन् । वास्तविकता निर्मलालाई थाहा छ अनि अमेरिकावासी अनन्तलाई । पुष्पराज डाक्टरहरूको आश्वासनले पाएको पूर्णता र विज्ञानको चमत्कार, औषधी उपचारको कमाल ठान्दछन् । कसैकसैले ठ्याक्कै पुष्पराजसँगै अनुहार मिलेको भनिदिने पनि गरेका छन् । ती परिवर्तित भएर मुस्कान छर्ने भएका छन् तर आज पनि आफूले गरेको तपस्या, अर्चना अथवा साहसको सम्झना आँउदा निर्मला कसैले थाहा नपाउने गरी घोइरिन्छिन्, गम्भीर हुन्छिन् र भरिएका आँखा पुछ्ने गर्छिन् किनभने त्यस रमाइलो र आनन्दभित्र अनन्तको छनक भएको छोरो छ । जसले बारम्बार त्यस क्षणको, त्यस दिनको सम्झना गराइरहन्छ । उनी यस अवस्थामा कुन्तीलाई सम्झिने गर्छिन् । महाभारतले नजनाए पनि कुन्तीको अवस्था र उनको अवस्थामा खासै फरक नहुनुपर्छ । महाभारतीय युद्ध पछि भएको होस् तर कुन्तिभित्र यो युद्ध प्रारम्भिक अवस्थामा नै अवश्य भएको हुनुपर्छ । लेखकले महत्त्व नदिएको हुनुपर्छ । अचम्मको हुँदोरहेछ सन्तानको तृसना पनि । कतै बाध्यताले, कतै चाहनाले र कतै समर्पणले जकडिएको ।

यस्तै यस्तै भावनाबाट ग्रस्त त भइन् नै उनी । लामो सास छोडेपछि उनको मुखबाट फुत्त निस्कियो, ‘तृष्णा हो यो……पुष्पको अनि मेरो ।’

(श्रोत:- मधुपर्क २०६८ मंसीर )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.