कथा : एक्लो यात्री

~सिता बराल~

आजकल यहा के भएको होला । विदेशी कामदारहरुलाई रेसिडेन्सी दिने काममा कमी आएको छ । फिंगर भइसकेका साथीहरुको हातमा कार्ड आईसकेको छैन । काममा बढी चेकीङ्ग भएको छ । आफ्नो रेगुलर काम बाहेक कन्ट्याक मिलाएकाहरु पनि पूर्ण रुपमा काममा भएको हुनु पर्ने…..। नियम अनुसार कामदारलाई लागेको कर तिरेकाहरु र उनीहरुको नियमको परिधि भित्र परिसकेकाहरुलाई त खुरुखुरु फिंगर लिनु नि….। दिनै पर्ने भएपछि किन हामीलाई तडपाउँछन सेफका मानिसहरुले । बाटोमा भेट भएका साथीहरु, पार्कमा जम्मा भएका साथीहरु हुन वा फोनमा भएका गफ सबै यिनै खाले कुराहरु मात्र हुन्छन् । युरोप भनेर फाल हालियो कस्तो ठाँउमा फसियो । न फर्केर जान सकिन्छ, न यहा नै बस्न सक्ने केही उपाय छ । बाटोमा भेटभएका साथीहरु संगको छोटो भेटमा पनि मिठो र खुशीको खबर पटक्कै छैन । नयाँबर्षले दिनहरुमाथि टेकेर पाईला चाल्न सुरु गरिसकेको छ । युगौ देखि पृथ्वी अनवरत घुमिरहेथ्यो जुन आज पनि त्यही अवस्थामा घुमिरहेको छ । सुर्य परिक्रमाको एउटा अर्को अध्याय उसले पल्टाईसकेको छ । जुन पोखिएको रातमा सडकभरि मानिसको हुलमा यिनै दृश्यहरुको बाक्लो स्मृति मनभरि फैलिई रहन्थे । हो त्यो म थिए । यस ठाँउमा अस्तब्यस्त आफनो गन्तब्यमा पुग्न खोजीरहेको कठोर यात्रामा सहभागी एउटा यात्री……।

लाग्छ म दौडीरहेको छु मरुभूमिको दौड…. निष्ठुरी समयको हावाले मेरो दौडको तिब्रतालाई रोक्न खोज्छ । खुशीका उज्याला रंगहरु आउने धुनमा भोग्नुपरेका दुःख र पिडालाई चटक्क विर्सेर यात्रा सफल पार्ने दौडमा भागलिएको कुनै खेलाडी जस्तै म अनवरत रुपमा दौडीरहेछु । यही दौडको क्रममा यदि म हारे वा मरुभूमिमा नै विलय भए भने मेरा प्यारा परिवार र मित्रहरु…. अहँ यो त म कल्पना सम्म पनि गर्न सक्तिन । मैले यो दौड जित्नै पर्छ । म हार्नु हुदैन । मैले थुप्रै यात्राहरु पार गर्नु छ ।

समयको बहावसंगै म आफू बसेको ठाँउ लिसवन भन्दा केही पर आउनु पर्यो । साथीहरु संग भेटघाट र कुराकानी गर्ने समय सबै कटौति भएका छन् । यसले मलाई मैले गर्नु पर्ने काममा समय प्रशस्त हुनु पर्नेमा मलाई झन बेचैन बनाउदै लगेको छ । आफ्नै कार्यव्यस्तताको कारणले हरेक दिनहरु र साँझहरु अनियमित हुदै गइरहेका छन् । मनभरि अनेक कुराहरुले बेचैनी बढाउन सुरुगरेपछि खाटमा पल्टेर सिरकले मुख छोपेर बस्ने बाहेक अरु केही गर्ने जाँगर आउन छाडीसकेको छ । सोफामा बसेर टेबलमा भएको ल्यापटप खोलेर समाचार वा केही नयाँ खबरको जानकारी लिने चासो पनि हराउदै गयो । यि कुराहरुले मेरो दैनिकीलाई अझ विथोलेको अनुभव भईरहेछ ।

एकदिनभरि जस्तो म बगरतिर बरालिइ रहे । कहिले काही यसरी बरालिदा सम्पूर्ण थकाई मेटीए जस्तै हुन्छ, आँखाबाट आँसु झरिरहदा मनमा भएका पिडाहरु अलि हल्का भएको महशुस हुन्छ । एक्लै नदिको किनारै किनार हिडीरहदा कहा हिडेको भन्ने र पिडा कोरिएका अनुहार देखेर आज तलाई के भयो भनेर सोध्ने र मलाई हृदयदेखि नै सहयोग गर्ने मेरा सहृदय साथीहरुबाट टाढा बनाउन बाध्य पार्ने यो समय देखि मलाई साह्रै रिस उठिरहेको छ । एउटा न एउटा बाहानामा दिनदिनै जस्तै भेट हुने साथीहरुबाट मुस्कीलले फोनमा कुरा हुन्छ । कहिले काही त लाग्छ यो समयले साथ नदिनाले नै मेरो दिनचर्यामा यति धेरै फरक आउन थालेको हो । आफैले आफूलाई सम्झाउछु र सोच्छु वर्तमान र भविष्यका सम्पूर्ण घटनालाई दरिलो आत्मविश्वाशले आफैले सम्हाल्न सक्नुपर्छ ।

बेचैन मनलाई अलिकति भएपनि सान्त्वना दिन ल्यापटप खोलेर युटुवमा लोकदोहोरी गित संग गुनगुनाउछु । मलाई लोकदोहोरी गित मनपर्न थालेको पनि धेरै भएको छैन । नेपाल बाट आउने दोहोरी कलाकारहरुको कार्यक्रम हेरे बाट नै मनपर्न सुरुभएको हो । वास्तवमा हामी परदेशीहरुलाई यि गितहरुले धेरै मन छुने रहेछन् । कतै घुम्न जानु, कतै केही लेख्नु वा कोर्नु पटक्कै मन छैन । फोसबुकमा स्टाटस जस्ताको तस्तै भएको पनि धेरै भईसक्यो । साथीहरुका, कता हराएको ? हाल खबर के छ र पेपरको प्रोसेस कहा सम्म पुग्या ? अब पेपर कहिले बन्छ ?घरतिर आउने कहिले हो… आदि इत्यादी म्यासेजले म्यासेन्जर, बक्स नै भरिइसकेको छ । म आफैले आफैलाई प्रश्न गर्छु । म किन आजकल यसरी अस्वभाविक बन्दै गईरहेकी छु । त्यसै पनि दिनहरु कुनै नियमवद्ध तरिकाले अगाडी बढेका हुदैनन । समयले साथ दिएन भन्दैमा यसरी आफुले आफैलाई यस्तो निस्कृय गराउदै लैजानु ठीक हो र…आखिर परिस्थिती संग सामना गर्नु नै पर्ने रहेछ ।

भोलीको रंगीन सपना पुरा गर्ने उद्धेश्यमा मरुभूमीमा दौडीएको मेरो दौड कहा सम्म पुग्ला ? बिचमा नै रोकीन्छ वा यसले विजय प्राप्त गर्छ त्यो त समयले नै देखाउला । मेरो यो समयको बाध्यतालाई नबुझी कोही अबुझ मानवियता शुन्य मानिसहरुले म प्रति फैलाएका गलत कुराहरु साबित गर्न मेरो मन तडपिइरहेको छ । जो मलाई भनिरहेछ……… अब फेरि केही लेख्नुपर्छ ……… अबला सम्झेर अपहेलना गर्नेहरु संग निर्धक्क संग बोल्नु पर्छ । सत्य कहिल्यै डग्दैन, झुट कहिल्यै टिक्दैन …….. परिस्थिती संग जुधेर सहि मार्गमा गन्तब्यमा पुग्नु नै मेरो जिवनको मरुभूमिको दौड बिजय भएको मानिन्छ । जुन दौड मैले नै जित्नु पर्छ……..

समाप्त

(श्रोत:- NepalPortugal)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.