~माया ठकुरी~
प्रायः आधी रात बितिसकेको थियो । एक्कासी ढोकामा जोडसँग लात्ती बजार्दै हरिहरले ठूलो स्वरमा भने “ए राँड ! ढोका खोल्छेस् कि भत्काइदिऊँ यो ढोकासोका । हेर, कस्ती अलच्छिनी आइमाई रहिछे जहिले पनि सम्साँझै ढोका बन्द गरेर सुत्छे । लाज नभएकी नकचरी !”
केही बेरअघि मात्र बिरामी छोरोलाई औषधी खुवाइओरि थम्थुम्याई–थुम्थुम्याई सुताएपछि थकित भएकी अम्बिका भर्खर–भर्खर निदाउन लागेकी मात्र के थिइन् लोग्नेको कर्कशपूर्ण डाँकोले ब्युँझिइन् । उनी हत्तपत्त ओच्छ्यानबाट उठिन् र दैलो खोलिदिइन् ।
“लोग्ने थाकेर आउला, उसलाई खान दिनु पर्ला भनेर सोच्नु पर्दैन ? डंकिनी ! आफ्नो भुँडी भरेर सुत्न पाए भैगो । यस्तै चाला देखाइरहिस् भने ठीक हुने छैन, भनिदिएकोछु । म त मर्दको जात हुँ, दशओटी ल्याउन सक्छु । तँ भनेको आइमाई होस्, एकचोटि बिटुलिएपछि भिजेको कागज झैँ कामै नलाग्ने,” रक्सीले मातेर धङ्धङिएको शरीर अघिपछि हल्लाउँदै भने हरिहरले ।
“भात पस्किदिऊँ…..?” दिनदिनै लोग्नेको कचकच सुन्ने बानी परिसकेकी अम्बिकाले लोग्नेले आफूलाई अकारणमा हप्काएको कुरोलाई वास्ता नगरेर सोधिन् ।
“किन…? भोक तँलाई मात्र लाग्छ ? हामीलाई लाग्दैन ? दिनदिनै सोध्छेस् भात पस्किऊँ कि नपस्किऊँ भनेर । बढ्ता नबोल, भनिदियाछु । बढ्ता बोलिस् भने लात्ताले हानेर तेरो बङ्गारासमेत झारिदिउँला । गोडामा लाउने जुत्ता गोडामै सुहाउँछ, टाउकामा होइन बुझिस् !” कोठाभित्र पसेपछि मुढामा बसेर जुत्ता खोलेर एकातिर हु-र्याउँदै भने हरिहरले ।
“होइन, आज पनि उतै खाएर आएको हो कि भनेर सोधेकी …,” मधुरो स्वरमा भनिन् अम्बिकाले ।
“ए… तँलाई सपनासँग आरिस लागेर मलाई कुरा सुनाएकी होइन ? सपनासँग तैंले आफूलाई दाँज्नै पर्दैन । ऊ भनेको अहिलेकी फेसनदार युवती हो । उसको लवाइखुवाई, उसको बोलीचाली र उसले मानिसलाई रिझाउने तरिका सबै उम्दा छन् उम्दा । ऊ तँजस्ती सधैंभरि तेल–बेसार गन्हाउने मेक्सी लाएर बस्दिन । तेरो अनुहार हे-यो भने सधैंभरि झरीबादल लाग्या जस्तो देखिन्छ । अनुहार नपरेकी डंकिनी !” लाइराखेको कोट फुकालेर ओच्छ्यानतिर हुत्याउँदै भने हरिहरले ।
हरिहरले बाटामा हात धुँदासम्म अम्बिकाले उनको छेउमा उभिएर पानी खन्याइदिइन् । त्यसपछि खाना तताइओरी पतिको अघि सानो टेबुलमा राखिदिइन् ।
“ए…आज पनि मासु पकाइनस् ! तँलाई थाहा छैन, मासु नभए तेरो पोइको घाँटीबाट भात छिर्दैन भनेर ? कति सम्झाउनु हो तँलाई ? पाँच वर्ष भइसक्यो बिहे भएको तर तेरो मगजमा बुद्धि पलाएन,” भातमा भएभरिको दाल तरकारी खन्याएर गजगज मुछेर खाँदै भने हरिहरले ।
“बाबु बिरामी भएको थियो त्यही भएर बिहानै डाक्टरकहाँ पु-याएर आउँदाआउँदै ढिलो भयो । घर आएपछि पनि बाबुले एकछिन छोडेको होइन । हप्ता दिन भइसक्यो,ग्राहकले भनेको बेलामा कपडा सिएर दिन नपाएको । घरमा पैसा पनि थिएन अनि मासु कहाँबाट ल्याउने ?” सहज स्वरमा बोलिन् अम्बिका ।
“ए… अबचाहिँ तैंले मलाई आफ्नो कमाइले घर चलाएकी छु भनेर मलाई ताना मार्न थालिस् होइन ! खान्न जा तेरो भात ! तैं खा ….!” अम्बिकाको कुरो सहन नसकेर एकाएक उत्तेजित हुँदै भातको थाल हुत्याइदिए हरिहरले र त्यसपछि जेनतेन हात पखालेर झुल्दै लघुशंकाको निम्ति ढोका खोलेर बाहिर गए ।
अम्बिका सदाको झैँ केही नबोलेर हृदयको वेग सम्हाल्दै भूँइभरि छिरलिएको खाना सोहर्न लागिन् ।
“ल, अब त्यो गन्हाउने मेक्सी फेरेर आइज ओच्छ्यानमा !” केही बेरपछि कोठामा पसेका हरिहरले आदेश दिएका थिए पत्नीलाई ।
यस्तै थियो अम्बिकाको जीवन । सत्र वर्षको उमेरमा हरिहरसँग बिहे गरेर आएपछि खप्नुसम्म पीडा खपेकी थिइन् उनले । बिहे हुनभन्दा अघि बिहेको बारेमा जुन प्रकारको सुन्दर सपना उनले देखेकी थिइन् त्यो सब उल्टो भएको थियो । हरिहरको निम्ति नारी देह भनेको पुरुषको निम्ति एउटा मनोरञ्जनको साधनमात्र थियो । उ त्यो खेलौनालाई आफ्नो इच्छाबमोजिम संचालन गरेर मात्र तृप्ति अनुभव गर्दथ्यो ।
साँच्चै भन्ने हो भने हरिहरसँगको अम्बिकाको वैवाहिक जीवन नारकीय बनेको थियो । पत्नीलाई जीवनसंगिनीको दर्जा दिन नचाहने हरिहरले कुरैपछि “रात भनेको मेरो हो । मैले जसो गर्न भन्छु, तैंले मान्नु पर्छ” भनेर धम्क्याउँदै अम्बिकाको देहलाई पशुतुल्य प्रयोग गरेर आफू पुरुष हुनुको अहम् तुष्टि प्राप्त गर्दथे ।
एक रातको कुरो हो । त्यो रात पनि आधी रातमा ढुनमुनाउँदो शरीर लिएर घर आएका थिए हरिहर । त्यो रात पनि उनले दैलोमा लात बजारेर कोठाभित्र पसेपछि बिनासित्तिमा अम्बिकासँग निहुँ खोज्दै उनलाई भए नभएको आरोप लगाए । आफूमाथि लगाएको आरोपको प्रतिवाद गरेकी अम्बिकाको कोमल शरीरमा लात्ती र मुड्की बजार्न पनि पछि परेनन् हरिहर ।
“पख्, आज म तँलाई कसरी ठीक पार्दो रहेछु हेर्लिस्…,” पत्नीलाई निर्घातरुपमा कुटेपछि केही बेरको निम्ति बाहिरिएका थिए हरिहर ।
अब पतिले आफूमाथि कुन प्रकारले उत्पीडन गर्ने हुन् भन्ने भयले भित्रभित्रै त्रसित भएकी अम्बिका आँखाबाट अविरल आँशुका धारा बगाउँदै भित्र सानो कोठामा गएर छोरोको आडैमा पल्टेकी थिइन् ।
“ए, तँ यहाँ आएर आराम गरिरहेकी छस् ! उठ्, खुरुक्क हिड् ओच्छ्यानमा । चुप लागेर हिड्छेस् कि दिऊँ फेरि लात….!” केही बेरपछि कोठाभित्र पसेका हरिहरले पत्नीको नगिचमा गएर कर्कश स्वरमा भने ।
“म आज यहीं सुत्छु,” करुण स्वरमा भनिन् अम्बिकाले ।
“के अरे ? के भनिस् ? लोग्नेले भनेको कुरो नमान्ने तेरो कत्रो हिम्मत ? तँलाई त कुटाइ पुगेको छैन जस्तो छ,” हरिहरले एकाएक अम्बिकाको चुल्ठोमा समातेर उनलाई घिसार्ने जमर्को गर्दै भने ।
कोठामा भएको हल्लाले बालक ब्यूँझियो र चिच्याएर रुन थाल्यो । अम्बिकाले पतिको हातबाट आफ्नो केश छुटाउने प्रयत्न गनै लागिन् । हरिहरले अझ जोडसँग निर्दयतापूर्वक अम्बिकालाई घिसार्न थाले । अचानक अम्बिकाले पतिको तिघ्रामा जोडसँग टोकिदिइन् ।
“ऐ…या…!” भन्दै हरिहरले अम्बिकाको चुल्ठो छोडिदिए । अम्बिकाले हत्तपत्त रुँदारुँदै निस्सासिएको छोरोलाई उठाएर काखमा राखिन् र फुल्याउनको निम्ति उसको पिठ्यूँ थप्थपाउन थालिन् ।
स्वास्नीको अघि आफू पराजित भएको जस्तो ठानेर होला हरिहरले दाहिने हातको मुड्की उजाउँदै पत्नीलाई आक्रमण गर्न तत्पर भए, तर त्यति नै खेर हरिहरलाई के भयो कुन्नि उनी धर्मराउदै भूँइमा ढले । हरिहर भुइँमा ढलेपछि अम्बिकाले उनलाई उठाउनको निम्ति निकै प्रयत्न गरिन् तर सकिनन् । त्यसपछि छिमेकीसँग हारगुहार गरेर उनले हरिहरलाई अस्पताल पु-याइन् । अस्पतालमा डाक्टरहरूले जाँचेपछि थाहा भयो हरिहरलाई पक्षाघात भएको रहेछ । उनी देख्न सक्थे, सुन्न सक्थे तर शरीर चलाउन सक्दैनथे ।
प्रायः दुई पहिनासम्म हरिहरलाई अस्पतालमै राखियो र उपचार गरियो । तर उनमा कुनै प्रकारको सुधार आएन । हरिहर अस्पतालमा रहँदासम्म अम्बिकाले पतिको सेवामा कुनै प्रकारको कमी हुन दिइनन् । उनी त्यसरी दिनरात खटेर पतिको सेवामा लागेको देखेर उनमा आफन्तहरूले उनलाई पतिको प्राण फर्काउनको निम्ति यमराजसँग पनि जुध्न सक्ने सावित्रीको संज्ञा दिंदै उनको प्रशंशा गर्दथे ।
पुरापुर दुई महिना अस्पतालमा राखेपछि हरिहरलाई जुन दिन घरमा ल्याइयो, त्यो रातको घटना हो । त्यो रात अम्बिकाले चामल, दाल, तरकारी सबै एकै ठाउँमा मिसाएर जाउलो पकाइन् र आफूले खाइन् र छोरो र हरिहरलाई पनि दुवाइन् । त्यसपछि तोरीको तेलमा मेथी र लसुन फुराएर त्यो तेल आफ्नो हातगोडामा घसिन्, अनि तेल राखेको दिउरी लिएर पतिको ओच्छ्याननिर गइन् । उनले दिउरीबाट आफ्नो हत्केलामा तेल खन्याइन् र हरिहरको अनुहारभरि घसिदिइन् । अनि दिउरीमा रहेको बाँकी तेल उनको कपालमा खन्याएर कपाल चिपचिप पारिदिइन् ।
“तपाईंलाई मेथी र लसुनको गन्ध मन पर्दैन होइन ?” विस्फारित दृष्टिले आफूलाई हेरिरहेका पतिको अनुहारमा हेरेर व्यंग्यपूर्वक मुस्कुराउँदै भनिन् अम्बिकाले । “ए साँच्चै, मैले त मेक्सी फेर्नै बिर्सिएछु…. खोइ यो मेक्सीमा त बेसारको दाग पनि छैन, तेलको टाटो पनि छैन… अलिकति बेसार र तेलको दाग राखेर आउँछु है…!”
अम्बिका तत्कालै त्यहाँबाट उठिन् र आफूले लगाएको मेक्सीमा जताततै तेल र बेसारको दाग लगाएर आइन् ।
“तपाईंलाई मेरो मुखबाट आउने लसुनको गन्ध एकदमै मन पर्दैन भनेको होइन ? तर के गर्नु मलाई भने लसुन असाध्यै मन पर्छ । खाउँ है ?” भन्दै अम्बिकाले एउटा पोटी लसुन मुखमा राखिन् ।
लसुन करमकरम चपाएपछि हरिहको नाकैनेर आफ्नो मुख लगी “हा…. !” गर्दै सास छाडेर उनले भनिन्, “सुँघ्नुहोस् त कस्तो राम्रो वासना आएको छ….!”
अम्बिकाले गरिरहेको असामान्य कृयाकलापले गर्दा हरिहरको दृष्टिमा बिस्तारै विष्मयको भाव प्रकट हुन थाल्यो ।
“बिहेपछि आज पहिलो पटक म आफ्नै स्वेच्छाले तपाईंसँग गाला जोडेर सुत्न चाहन्छु । सुतूँ है…!” पतिको अश्रुपूर्ण आँखातिर दृष्टि पु-याउँदै अम्बिकाले तटस्थ स्वरमा भनिन् । र नभन्दै साँच्चै नै हरिहरको अनुहारमा सुस्तसुस्त आफ्नो अनुहारले स्पर्श गर्दै उनले दृढ स्वरमा भनिन्, “रात त मेरो पनि हो ।”
(श्रोत:- Freesansar)