कथा : उसको मन परिवर्तन नहोस्

~इल्या भट्टराई~Illya Bhattarai_1

गर्मीको मध्यदिनको त्यो घाममा, रत्नपार्कमा रोकेको त्यो सानो माइक्रो बसमा, यात्रुहरू बोलाउनका लागि एउटा सानो खलासी मुटु फुटुन्जेल कराउँदै थियो ।

“नारनथान, नारनथान, यता हजुर यता, ऊ याँ सिट छ ।” त्यो बच्चो खलासी सकेसम्म त यात्रुहरूलाई फकाउँदै थियो । तरअगाडिका सजिला सिटहरूमा सबै यात्रुहरू बसिसकेका थिए । अनि गर्मी महिनाको त्यो चर्को मध्यान्हमा अरू खाली सवारी साधन हुँदा हुँदै त्यो सानो माइक्रो बसको भित्री सिटमा कोचिएर जान कोही पनि तयार भएन ।

आएका २, ४ जना यात्रुहरू अर्कै माइक्रोबसतिर लागेको देखेपछि ड्राइभर एक्कासि रिसायो “आइसकेका मान्छेहरूलाई पनि भित्र हुल्न सक्दैनस्, भाते मोरा ! कसरी नोक्सानी गराउन सकेको होला हँ ? भित्र बसेकाहरूलाई भित्र–भित्र पठाउनुपर्दैन ? त्यत्ति पनि गर्न सक्ने हुती नभएकोलाई के को खलासी राख्नु ? यस्तै चाल हो भने त २, ४ सिट खाली नराखी त बस हिँड्नै नपाउने भै हाल्छ नि ।”

“पख न ! अहिले सिट खाली राखेर कुदाउनु प-यो भने तँलाई नारनथान पुगेर नगोदी काँ छाड्छु र । मान्छे बोलाउन नसक्ने हुतिहारा !”

“अनि तपाईंहरू यसो पर–पर सरी दिनुस् न ! अगिल्तिर सिट देखे पो मान्छेहरू बस्न आउँछन् , अनि बस चाडै लैजान पाइन्छ । फाइदा त तपाईंहरूलाई नै हो । सिट नभरेसम्म बस जाँदैन त !”

उसको हकारले यात्रुहरू पर–पर सरिदिन्छन । त्यो अगिको खाली ठाउँमा यात्रुहरू पनि भरिन्छन् । बस गुड्छ । अनि गुडिरहेको बसको ढोकामा खतरनाक पारामा टुक्रुक्क बसेर त्यो बच्चो भाडा उठाउन लाग्छ ।

“भाडा दिनुस न भाडा” प्रतिक्रियामा दुईचार जनाले भाडा दिन्छन् । कसैले दिएको पैसा पुग्दैन । कसैसँग खुद्रा पैसा हुँदैन ।

“ला ! पाँच रुपियाँ”
“दाइ पैसा पुगेन नि त ?”
“मसँग कार्ड छ ।”
“उसो भए देखाउनुस न ।”
“ऐले देखाउँला पख”
“हैन, दाइ अहिले देखाउनुस न ।”
“ए ! तँ खाते मोरा, ममाथि विश्वास नगर्ने, ऐले एक झापु दिएर दाँत–साँत झारीदिन्छु अनि था’ पाउलास् ।

केटो एक्कासि सन्केपछि त्यो फुच्चे डरायो । अस्ति भर्खर कार्ड माग्यो भनेर एउटा केटाले बसबाट ओरालेर उसलाई कस्तरी कुटेको थियो । अहिलेसम्म जीउ दुख्दैछ । त्यो कुटाइ सम्झेर उसको मुटु थरर् भयो । पिडौला लगलग काम्यो । तर के गर्नु मागेन भने यिनीहरू थोरै पैसा दिएर पछि कार्डै नदेखाई खुरु–खुरु हिन्दिन्छन् अनि फेरि ड्राइभरको कुटाइ खानु आफैले हो ।

“दाइ हजुरको भाडा ?”

“हैन तँलाई कति हतार लागेको ? पख न दिइहाल्छु नि ऐले ।”

“हैन दाइ अहिले दिइहाल्नोस न, फेरि पछि काँबाट चढ्या भन्ने बिर्सिइन्छ ।”

“ए ! उसो भए तैंले मलाई पूरा भाडा नदिने चोर ठानिस ?”

“त्यसो त मैले काँ भने र ! खालि ऐले भाडा दिनुस पो’ भन्या त ।”

त्यसले बेसरी आँखा त-यो । बिचरो त्यो बच्चो खलासी डरले फेरि लगलग काम्यो । “यिनीहरू यस्तै हुन । काँ परबाट चढछन्, अनि भाडा दिने बेलामा नजिकै, चढेको भनी थोरै भाडा दिन्छन । भन्यो भने गाली गर्छन् । “उता ड्राइभरले याद गरिराखेको हुन्छ अनि टाढाबाट चढेकोसँग पनि थोरै भाडा लिने भनेर रिसाउँछ । अल्छी मोरा !

राम्ररी काम गर्न सक्दैनस भनेर गाली गर्छ । के गर्नु आफूले अल्छी ग-या त हैन नि । तर, यी सहरका मान्छेहरू कस्ता ढाँट हुँदा रै’ छन् । अनि हेपाहा नि !” मनमा यिनै तर्कना खेलाउँदा खेलाउँदै यन्त्र चालित झैं भएर बस रोकेर एउटी महिलालाई उतारेर उनीसँग पैसा लिएको उसले पत्तै पाउँदैन । ऊ टोलाएकै हुन्छ । ऊ खोई के कल्पनामा डुबेको थियो कुन्नि उसले रोकिएको ठाउँमा चिच्याएर ग्राहक बोलाउन बिर्सेछ । बस गुड्नै लागेको बेलामा एउटा यात्रु आउन लागेको चाल पाएर ड्राइभरले बस रोक्छ । त्यहीँ यात्रु हुँदा पनि त्यो बच्चोले चिच्याएर नबोलाएको देखेर ड्राइभर च्याठिन्छ ।

“हैन ए भाते ! तँलाई भातको उँघ लाग्यो कि क्या हो ? यस्तो दिउँसै सुत्नु पर्ने मान्छे याँ किन काम गर्न आ’को ? राजकुमार भएर जन्मेको मान्छे, दरबारमा बस्नु पर्ने बरा ! याँ खलासी बन्न पो आइपुगेछ ।” ड्राइभरको पेचिलो बोली सुनेर, बसका सबै गलल्ल हाँस्छन । तर त्यो बोलीको पेचले केटोको मुटुमा गहिरो प्वाल पार्छ । ऊ पीडाले रन्थनिन्छ । झन् अरू मान्छेहरूको हाँसो त उसको सर्वाङ्गमा अङ्गार खन्याएसरी हुन्छ । आँखा रसाएर आउँछ ।

“बिहान सात बजे नुन पानीमा मुछेको भात खाएर हिँडेपछि उसले एक कप चिया पनि खान पा’ थिएन । अगि नारनथानमा चिया र पाउरोटी खान पैसा माग्दा ड्राइभरले अर्को टिपमा खालास् भनेको थियो । अहिले तीन बजिसक्यो भोकले आन्द्रै बटारिइसके, रिङाएको जस्तो भै’ राख्या छ । उहाँ भने यो ड्राइभरचाहिँ मलाई टन्न भात खाएर उँघ्या पो भन्छ त ।”

“मलाई भोक लाग्या छ भन्ने तँलाइ था’ छैन र ?” “पख ! मलाई ड्राइभर त हुन दे त्यतिन्जेलसम्म तँ बूढो भै सक्छस्, अनि तँलाई म यसै गरी गाली गर्छु । अनि हेरुला नि, तँ के गर्न सक्दो रै’छस् ।”

यसरी ड्राइभरको कुरोले आफ्नो चित्त दुखेपछि उसले कल्पनामै ड्राइभरलाई हेप्छ । आफू ड्राइभर भएर, ड्राइभरलाई खलासी बनाएर, त्यसलाई सकेसम्म हेपेर अहिलेको बदला लिने कल्पनाले बच्चोलाई एकै छिन रोमाञ्चित बनाउँछ । तर तुरुन्तै आफू ड्राइभर बन्न पाउने हो कि नपाउने भन्ने चिन्ताले उसको सोचाइलाई अन्तै मोड्छ ।

भाक्कल–भुक्कल परेको त्यो बच्चो नौ वर्ष भन्दा बढीको थिएन होला । उसका ती दूधे गाला अझै भुक्क परेका थिए । नारी, पाखुरा तथा औँलाहरूमा सम्पन्नताको पाक्कल–पुक्कल अझै पनि बाँकी नै थिए । निष्ठुर समयको चेपमा परेको त्यो बालकमा, बितेका सुखद समयका केही अवशेष बाँकी नै थिए ।

समयको मारमा ऊ नराम्ररी प-यो । त्यसैले फलस्वरूप एउटा सामान्य बालकको भन्दा उसको बालापन नराम्ररी प्रभावित भयो । ऊ टुहुरो भयो । त्यसैले आफू बाँ च्नको लागि त्यो कलिलो उमेरमै उसले आफै सङ्घर्ष गर्नुप-यो ।

“किन मारे होलान् माउवादीले हाम्रा बा–आमालाई ? ती माउवादीहरू को हुन कुन्नि ! तिनरूको हाम्रा बा–आमासित के को रिस, इबि थियो होला ।” आफ्नो सुखद अतीतमा डुबेको उसले, आफू टुहुरो हुन पुगेको कारण अझै पनि बुझेको थिएन ।

“हाम्रा बा सुराकी रे ! त्यै सुराक गरेको भनेर माउबादीले हाम्रा बा–आमालाई मारेका रे । हैन सुराकी भन्या के होला ? हाम्रा बा त डाँडाचौरको स्कुलाँ मास्टर थिए । गाउँका सबैले उनलाई “गुडमर्लिङ्ग” भनेर नमस्ते गर्थे । मास्टरका छोराछोरी भनेर सबैले हाम्री दिदी र मलाई कति माया गर्थे, बोक्थे । घरबाट कुराउनी, मह, सिरौँला ल्याएर खान दिन्थे । त्यै सुराकी भा’ कोले सबैले बालाई “गुडमार्लिङ” गरेका हुन त ? अनि हामीलाई माया गरेका हुन त ? सबैले माया गरेका मान्छेलाई ती माउवादीले किन मारेका होलान् ?”

“आमा त घरैमा बस्थिन् । घाँस जान्थिन् । बस्तुभाउ हेर्थिन् । हामीलाई पकाएर ख्वाउँथिन् । कति माया गर्थिन् । किन मारे होलान् तिनलाई ? आमालाई मार्न तिनरूलाई माया लागेन होला ? तिनी त स्कुलाँ पनि जान्नथिन् । अनि त स्कुलै नजाने मान्छे कसरी सुराकी भइन् ?”

“कति माया गर्थिन् उनी हामीलाई । अहिले आमा नमरेकी भए हामीले यस्तो दुःख गर्नु पथ्र्यो र ? ड्राइभरले मलाई यसरी हकार्न सक्थ्यो त । आमा भा’ भए मैले भोकै बस्नै पर्दैनथ्यो । उनी हामीलाई कति माया गर्थिन् ।

“हाम्री दिदी पनि काँ पुगिन् कुन्नि ? काकाले त ईंटा भट्टामा ईंटा बोक्ने जागिर लाइद्या छु, त्याँ तेरी दिदीले परसस्त कमाउँछिन् भन्थे । घराँ सानो घल्चामा पँधेराबाट पानी ल्याउन त गारो मान्ने मान्छे, ईंटा कसरी बोक्दी हुन् ?”

“पैसा परसस्त कमाउँछिन् भन्थे काकाले । तिनी ट्याम–ट्याममा पेटभरि भात खान त पाउँदि हुन् नि । खै ! कहिले भेट्ने होला तिनीलाई ? तिनी भेटिइन् भने त, तिनीसँग पैसा मागेर दुनट र च्या पेटभरी खान्थे ।” चौबाटोको गोलोमा ट्राफिक पुलिस उभिएको हुन्छ भनेर बच्चोले स्वचालित रूपमा बसको ढोका लाउँछ ।

“ए मोरा, ढोका लाएर यो जेठ मैनाको गर्मीमा यै माइक्रो बसभित्र उसिनेर हामीलाई मार्न लागिस् कि क्या हो । ओ हो ! कस्तो गुम्सियो, उकुस–मुकुस भयो । एईई त्यो ढोका खोल हावा आउँछ ।”

“ढोका खोले त ट्राफिकले मारिहाल्छ नि । अस्तिन, एक दिन बिर्सिएछ वाँ दाइको झन्डै लाइसेनै खोस्द्याथ्यो, हगि दाइ ?” ऊ ड्राइभरको मन आफ्नो नजिक तान्न खोज्छ ।

ड्राइभरले बच्चोप्रतिको अगिको झिझ्याट बिर्सिसकेको हुन्छ । बसबाट यात्रुहरू झार्ने र खाली सिटमा फेरि यात्रुभरिने भै रहँदा त्यो टनाटन भरिका सिटहरूले उसको मनमा आनन्दको लहर सुस्तरी सल्बलाई रहेको हुन्छ ।

“भाते, झन्डै बिताइद्याथिस् नि त्यो दिन तैले !” आनन्दले निस्फिक्रीसँग हाँस्दै ड्राइभरले भन्यो ।

“तपाईंहरूलाई गर्मी भो’ भनेर ट्राफिक भा’ ठाउँमा ढोका नलगाउन मिल्दैन । त्यस्तो गर्मी लाग्नेले त ट्याक्सी चढ्नु नि, अनि दुवै झ्याल खोलेर हावाको आनन्द लिनु । यो माइक्रोबसमा त यस्तै हो ।”

ड्राइभरको बोलीको धारले त्यहाँ भित्रका सबै यात्रुहरूको मनलाई स्यारर्र चिरा लाउँछ । उसको एकै वचनले यात्रुहरूको मुखमा बुजो लाग्छ । बाटो जाम रहेछ । अनि उकालो परेको बाटोको परसम्म गाडीहरूको दोहोरो लस्कर देखिन्थ्यो । बसको ढोका खुल्ला भएकोले अगिजस्तो गर्मी त थिएन । तैपनि गर्मीको महिनामा त्यो सानो सवारी साधन भित्र कोचिएर बस्न यात्रीहरूलाई गाह्रै लागेको थियो । तर उपाय केही थिएन । उता बच्चोलाई त्यहाँ बस्ने ठाउँ पनि थिएन ।

बसको खुडकिलोमा टुक्रुक्क बस्दाबस्दै उसलाई झ्याउ लागेर आउँछ । त्यसैले ऊ बसबाट उत्रिन्छ । बस रोकिएपछि गर्ने कुरो केही नभएको शून्य समयमा बच्चोको कतातिर थिचिएर रहेको बालापन प्रकट हुन पुग्छ । ऊ गएर अगाडिको ट्याम्पुको पाउदानमा चढ्छ । एउटा हातले ह्याण्डिल समातेर अर्को हात तन्काउँदै ऊ हावामा झुल्न थाल्छ ।

टन्टलापुर घाम लागे तापनि सिर–सिर चलेको बतासले उसको शरीरले मात्र होइन, उसको मनले पनि आनन्द मान्छ । हात गलेपछि ऊ पाउदान र भुईंमा उफ्रिने अर्को खेल खेल्न थाल्छ । त्यसपछि ऊ फेरि बसको छेउको पेटीमा उफ्रदै खल्र्याङखुट्टे खेल्न थाल्छ । खेलिरहँदा ऊ आफूभित्रै हराउँछ । अनि एउटा गीत गाउन थाल्छ । यतिखेर ऊ आफैमा मग्न छ । अगि भर्खर उसले यात्रुहरूबाट पाएको हेपाहा व्यवहारको तुस र ड्राइभरबाट पाएको गालीको पीडालाई बिर्सिसकेको हुन्छ । त्यतिखेर ऊ माइक्रोबसको निरीह खलासीबाट, गाउँको एउटा मस्त र निश्चिन्त बालकमा परिवर्तित भएको हुन्छ ।

“ए मोरा कति खेल्छस् तँ ? जा त्यो पसलबाट पानी मागेर ले ।” सडकमा अनाहक कुर्नु परेको झ्याउले ड्राइभरलाई बच्चोको त्यो खेलप्रति झ्याउलो बनाइदिन्छ । बच्चो दगुरेर गई पसल्नीसँग कोकको पुरानो बोतलमा भरेको पानी मागेर ल्याउँछ । ड्राइभरले अघाउन्जेल पानी खान्छ । त्यत्तिकैमा जाम खुलेको सङ्केत आउँछ । गाडीहरू चल्मलाउन थाल्छन् ।

“ए छिटो गर ।”

बच्चो बोतल लिएर दगुर्छ । पछि फेरि के सम्झेर हो कुन्नि टक्क उभिएर त्यो पानी घटघटी पिउँछ । पानी खाउन्जेल उसको अनुहारमा चरम सन्तुष्टि भरिन्छ । मानौँ ऊ अगि भर्खर त्यही पसल्नी कहाँ देखेको दुनट र चिया खाँदै छ । उसले बोतल पु-याउन्जेल बस गुडेर परसम्म पुगिसकेको हुन्छ, तर दौडदै आई अभ्यस्त पाराले बसको ह्यान्डिल समात्दै उ उफ्रिएर बस चढ्न आइपुग्छ । उसको अभ्यस्तता तथा सतर्कताले ऊ सकुशल बस चढ्न सक्छ । नभए त एक सेकेन्डको फरकले पनि ऊ ठूलो दुर्घटनामा पर्न सक्ने निश्चित थियो ।

बिचरो बच्चो बाँच्नका लागि उसले कति जोखिम मोल्नु परेको छ ।

सुदर्शन नभए पनि, अनुहारमा खासै हिस्सी नभए पनि त्यसको कालो–कालो निर्दोष अनुहारमा र विशेषतः त्यसका आँखामा विचित्रको आकर्षण र सम्मोहन भएको त्यस अबोध बच्चो, भोकले अरूको बोलीले रत्नपार्कदेखि नारायणथान, नारायणथानदेखि रत्नपार्कसम्मको निरस, गुडाइले, यात्रुको पर्खाइले, यात्रु आह्वानको निरन्तर चिच्याइले, यात्रु तथा ड्राइभरको पिटाइले कतिन्जेलसम्म त्यस्तै निःश्छल र अबोध बनिरहन सक्ला र ?

भित्री मायाको अभावमा र बाहिरी परिस्थितिको प्रतिकूलताबाट बिस्तारै उसको कोमल व्यक्तित्वको क्षयीकरण हुँदै जाला । उसका संवेदनाहरू मर्दै जालान् । बोली तथा स्वभावमा उग्रता र रिस थपिदै जाला । उसको उमेर बढ्दै जाला । अनि एउटा कोमल बच्चो परिस्थिति कै कारणले एउटा रुखो, अभद्र तथा असामाजिक व्यक्ति कसो नबन्ला । ऊ आतङ्ककारी किन नबन्ला !

मलाई त्यो बच्चो खलासीप्रति साह्रै टिठ लागेर आयो । उसको साह्रै माया लाग्यो । तर जति नै माया लागेपनि म केही पनि गर्न सक्दिन । अनाहक मै टुहुरा भएका ती हजारौ निर्दोष र टुहुरा बच्चाहरूप्रति संवेदना मात्र प्रकट गर्न सक्छु । अनि तिनीहरूकोलागि प्रार्थना मात्र गर्न सक्छु ।

त्यसैले उसप्रति संवेदनशील भएर मेरो मन त्यसको लागि भगवान्सँग पुकारा गर्न थाल्छ । “हे भगवान् त्यो बच्चोको तिमी रक्षा गर । त्यसलाई असमाजिक हुनबाट बचाऊ । त्यसका संवेदनाहरू मर्दै गएर त्यो आतङ्ककारीमा परिणत हुनबाट त्यसलाई जोगाऊ । बस चढ्ने सबै यात्रुहरूमा त्यस्ता कलिला, निरीह, निःश्छल खलासीहरूप्रति सहृदयी बनिदिने बुद्धि जगाऊ ।भगवान् त्यो बच्चोको मन सधैँभरि यस्तै निश्छल र कोमल रहिरहोस्, उसको मन परिवर्तन नहोस् ।” बसबाट नउत्रिउञ्जेल मेरो मनमा यिनै कुराहरू खेलिरहन्छ–खेलिरहन्छ ।

(श्रोत:- अन्तर्जाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.