~माया ठकुरी~
शालिग्रामले पचहत्तर वर्षको उमरमा सोह्र वर्षीया सुमित्रालाई आफ्नो दोस्रो पत्नीको रुपमा भित्र्याए । “घरभित्र यतिका मानिसहरु तपाईको सेवा गर्नको लागि हुँदा हुँदै पनि यस्तो बृद्ध अवस्थामा आफ्नी नातिनीकी उमेरकी केटिलाई पत्नी बनाएर भित्राउनु भनेको एकदमै लज्जाजनक कार्य हो । तपाईले गर्दा आज हामी सबैको शिर निहँुरिएको छ ।”
शालिग्रामको जेठो छोरो नारायणले पिताको कारणले गर्दा क्ष्रुब्ध भएर भने ।
“मैले तिमीहरुको सम्पति खोसेर उसलाई दिन खोज्या होइन । ऊ आफ्नै मानो खाएर बस्छे ।”
छोराको कुराबाट रुष्ट भएका शालिग्रामले गम्भीर भएर भने ।
“एउटा खुट्टो खाटमा र अर्को खुट्टो घाटमा भै सक्दा पनि आइमाई भनेपछि हुरुक्क हुने स्वभावमा कत्ति पनि फरक आएको छैन ।
बाको यस्तै बिलासी स्वभावले गर्दा आमाले बाचुन्जेल रोएर बिताउनु भयो । अव घर भित्रै डंकिनी हुलेपछि कस कसको कलेजो मुटु खाने हो ?”
नारायण भन्दा दुई वर्षले कान्छो अनन्तले आफ्नो जंगिने स्वभावलाई नियन्त्रणमा राख्नै नसकेपछि मनभित्रको आक्रोस पोखिहाले बाऊ र दाजुको अघि ।
“मलार्ई थाहा छ । तिमीहरुले मेरो सम्पतिमा आँखा गाडेका छौ तर हेर केटाहरु हो । आजसम्म मैले कतिपय काम आफ्नो मात्र खुशीको लागि गर्ने गरेको भएतापनि छोराछोरीको भाग मारेको छैन । भोली नै म दुर्ईचार जना मानिसहरु बोलाएर तिमीहरुकोे अंश छुट्याई दिइहाल्छु म माथि शंका गर्नै पर्दैन ।” (शालिग्रामले भने ।
त्यसको चौथो दिनमा शालिग्रामले गाउँका केही भलाद्मी र आफन्तहरु बोलाएर दुवै छोराहरुको अंश छुट्याइदिए ।
शालिग्राम जस्ता धनिमानी ब्यक्तिको पत्नी भएर आनन्दको जीवन बिताउन पाएकोमा सुमित्राको खुट्टा भुईमा थिएन । माइतमा छँदा घरमा एकमुठी चामल नभएर भोकभोकै बिताउनु परेको दिनहरु सम्झदा सुमित्राका आँखा त्यसै त्यसै रसाएर आउँथ्यो ।
“जे होस्, मैले ता सुख पाएँ नै मैले गर्दा मेरा बा आमाले पनि सुख पाउने भए । बुढो लोग्ने भो त के भो ”
दिनमा सयांै पटक आफूले आफूलाई सान्त्वना दिदै सोच्ने गर्थिन् सुमित्रा । शालिग्रामले सुमित्रालाई भएभरका गरगहना, महंगा कपडा र सिंगारका सरसामानहरुको जगेर्ना गरिदिएका छन् ।
“तँ सधैभरी यसरी नै पुतली जस्ती भएर बस् । मलार्ई अरु केही पनि चाहिन्न ।”
किशोरी पत्नीको सुकोमल देहमा आफ्ना बृद्ध जर्जर हातले जताततै स्पर्श गर्दै भन्ने गर्दछन् शालिग्राम ।
बैश छदाँ शालिग्रामले जस्तै मै हुँ भन्ने स्त्रीलाई पनि इच्छा गरेको खण्डमा निमिष भरमै आफ्नो वशमा पार्न पोख्त थिए । तर यहाँ उनको र सुमित्राको उमेरको माझमा एउटा भयाबह छ जसलाई शालिग्रामले चाहेर पनि पार गर्न असमर्थ छन् । त्यही उमेरको भयाबह कालखण्डलाई ढाकछोप गर्नको निम्ति शालिग्रामले सुमित्राको मन जित्नको निम्ति उनको अघि भए भरिको भौतिक सुबिधा प्रदान गर्न तम्सेका छन््।
कहिलेकांही त शालिग्रामलाई आफ्नो दुर्वलताप्रति साह्रै नै खिन्नता अनुभव हुन्छ । बेल पाक्दा कागलाई हर्ष न बिस्मात भए झैं सुमित्राको बैशको उकालिमा उक्लदा उक्लदै बीचैमा उनी ढलेको मुढो झै भएर आफ्नो विवशतामा भित्रभित्रै कल्पिन्छन् ।
पछि पछि त उनलाई के भएको हो कुन्नि सुमित्रालाई छुनासाथ उनी बुहारी झार झै लत्याक लुलुक हुन थालेका थिए । छ्या तपाई त कस्तो राल मात्र चुहाउनु हुन्छ । मलार्ई त घिन लाग्छ ।
हिजो आज प्रायजसो शालिग्रामको चाउरिएको अनुहारलाई आफ्नो अनुहारबाट पर धकेल्दै भन्न लागेकी छिन् सुमित्राले । “मलाई त तेरो शरीरको पसिना र गन्धले त्यसै त्यसै लठ्याउँछ । म तलाई कति माया गर्छु तर तँ भने मेरो मायालाई बुझ्दै बुझ्दिनस् । पत्नीले आफूप्रति अरुचि देखाएकोमा मनमनै दुःखी भएर भन्ने गर्दछन् शालिग्राम । सुमित्रासँग पति पत्नीको रुपमा दिन बिताउन लागेको केही दिनपछिको कुरो हो । एक रात अचानक शालिग्राम निद्राबाट बिउँझिएका थिए । बिउँभ्mदा उनलाई निकै तीर्खा लागेको जस्तो भयो त्यसैकारण उनले कोठाको बत्ती बाले ।
राति आफूसँगै पलङमा सुतेकी सुमित्रा ओच्छ्यानमा थिईनन् । कहाँ गई होली ………. शालिग्रामले मनमनैै सोचे । भान्साकोठामा गएर पानी पिएपछि शालिग्रामका पाइला स्वत आफ्नो गोठ भए ठाउँतिर बढ्दै गए ।
गोठसम्म पुग्नु अगावै शालिग्रामका पाइला अडिए । कारण त्यति नै बेला गोठसँगै जोडिएको पालीको ढोका उघ्रियो र त्यसबाट एउटा नारी आकृती बाहिरियो । शालिग्राम केही पनि नबोलेर चुपचाप आफ्नो कोठातिर लागे । त्यसपछि प्रायजसो मध्यरातमा सुमित्रा चुपचापै उठेर केहिबेरको निम्ति बाहिरिने क्रम चलिरह्यो । शालिग्राम आफू अशक्त तथा लाचार भएकोले पनि होला उनले सुमित्रालाई कहिल्यै केही भनेनन् । हुन त शालिग्रामले उनैको घरमा गोठालो राखेको लाठे ठिटो कृष्णे र सुमित्रालाई कहिल्यै पनि एक अर्कालाई हेरेर हाँसेको अथवा एक अर्को सँग कुराकानी गरेको देखेका थिएनन् । तर पनि केही दिन यतादेखि भने उनको मनमा कृष्णे र सुमित्रालाई लिएर धेरै किसिमका प्रश्नहरु उठ्न थालेका थिए ।
एक दिन बिहानदेखि नै शालिग्रामको आँगनमा गाउँका भलाद्मी र उनका छोराहरु सबै भेला भए । त्यो देखेर शालिग्रामको मनमा चीसो पस्यो । “ल शालिग्रामजी तपाईका छोराहरुले तपाईहरुका बिरुद्धमा उजुरी जाहेर गरेका छन् । हामीहरु आज त्यही कुराको छिनोफानो गर्न भेला भएका हौं । हुन त यसरी भेला हुने कुराको जानकारी तपाईलाई पहिले नै दिनुपर्ने हो तर तपाईका छोराहरुले मानेनन् ।” त्यहाँ भेला भएकाहरु मध्ये एकजना मानिसले शालिग्रामसँग भने ।
“कस्तो उजुरी परेको छ मेरो विरुद्धमा सुनांै न त म पनि ।” शालिग्रामले गम्भीर भएर भने । उनिहरुको भनाइ अनुसार तपाईकि पत्नीको गर्भमा हुर्किदै गरेको शिशुको पिता तपाई होइन भन्ने छ । यसमा तपाई के भन्नुहुन्छ ? त्यहाँ भेला भएका भलाद्मीहरु मध्ये सबैभन्दा बृद्ध देखिने ब्यक्तिले सालिनतापुर्वक भने ।
“यो कुरो झुटो हो । मेरी पत्नीको गर्भमा भएको शिशु मेरो आफ्नो विजबाट बनेको हो ।”
बडो तटस्थ भएर उत्तर दिए शालिग्रामले ।
“होइन होइन साहुजीले भन्नुभएको कुरो झुटो हो सुमित्राको गर्भमा भएको बच्चाको बाऊ म हुँ । त्यसमा मेरै बीज परेको छ ।” त्यतिनै बेला भीडको माझबाट अलि अघि आएर कृष्णेले भने ।
“ए कृष्णे तँ बौलाइस् कि क्याहो ! होस् छ तैले के बोल्दैछस् ।” कृष्णेको कुरा सुनेपछि आश्चर्य चकित भएर जिल्लाराम परेका भीडतिर हेरेपछि हडबडाउँदै भन्दछन् शालिग्रामले ।
कृष्णेले भनेको कुरो सही हो मेरो गर्भ उसैबाट रहेको हो ।
धेरै बेर देखि चुप लागेर कुरा सुनिरहेकी सुमित्राले पनि कुरा थपिन् ।
“नारायण र अनन्तले भनेको कुरा ठीकै त रहेछ नि शालिग्रामजीले किन बिनासित्तिमा अर्काको गर्भलाई सकार्न खोजेको हो बुझ्नै सकिएन ।” कसैले भने ।
“के गरुँ साहुजी ……भन्न त तपाईले मलार्ई तेरो र सुमित्राको सम्बन्धमा म कहिल्यै बाधा पु¥याउने छैन उसको गर्भको बालकलाई पनि मेरै नाम दिनेछु । तँलाई एक टुक्रा जग्गामा घर पनि बनाइदिउँला भन्नु भएको थियो तर साहुजी गरिव भएता पनि म पनि मर्द हुँ । धन सम्पतिको लोभमा म कसरी मेरो बच्चाकी आमा र बच्चालाई मेरो आफ्नै आँखाको अघि तपाइकी स्वास्नी र बच्चाको नाउँमा बस्नदिऊँ ।
भो पर्दैन, मलार्ई तपाईले दिएको धन सम्पति चाहिंदैन । मर्द हुँ दश नङ्ग्रा खियाएर भएतापनि स्वास्नी र छोराछोरीलाई पाल्ने हिम्मत छ म मा ।”
दृढ स्वरमा भने कृष्णले ।
“हो मलार्ई पनि चाहिदैन कसैको श्री सम्पति । सम्पति पाएपछि के के न सुख पाइएला भनेर आएकी थिएँ तर सम्पतिको लागि अर्काको मिचाइमा परेर दिनदिनै रगतको आँसु बगाएर बाँच्नु भन्दा बरु गिटी कुटेरै भए पनि मन मिल्ने मानिससँग जीवन बिताउनु बेस हुन्छ । अब म कृष्णेसँगै जान चाहन्छु ।” सुमित्राले पनि दृढ स्वरमा आफ्नो मनको कुरा सबैको सामु राखिन् ।
(श्रोत: अन्तर्जाल)