~दुर्गालाल श्रेष्ठ~
आज सखारै रित्तो गाग्रो
देख्छु रुँदै भौँतारिरहेको !
हुन्छु म जति पर उति नै त्यो स्वर
हेर न वरवर आइरहेको !
रुक्खो स्वर हो तर त्यसले पनि
यति गहिरीकन भित्र छुँदैछ,
पत्थर मन पनि पग्ली पग्ली
जलमय मेरो नेत्र हुँदैछ !
पस्दै छ अहो ! अझ पस्दैछ
त्यो स्वर यति पस्दैछ मभित्र,
लाग्छ मलाई हृदयविदारक
करुण कथा पढ्दैछु सचित्र !
झनिो स्वरको रूपै बदल्यो
कड्कन थाल्यो अहह ! अचम्म !
सागर भैकन उर्लन थाल्यो
खहरे नै थ्यो जुन अघिसम्म !
देखेँ देखेँ अब त्यो स्वरमा
मकै फुरेको घैलो देखेँ !
उघ्रिन उघ्रिन लागेको त्यो
इन्कलाबको दैलो देखेँ !
(श्रोत: हिमालखबर)