गजेको बाँसुरी

~बुद्धमणि ढकाल~

 गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर   फर्कन्थ्यो । तल राते र सेती खोलाको दोभानमा गजेको बाँसुरी सुनेपछि डाँडामा गाई रुङ्ग्न बसेका गोठालाहरु कान र आँखा उतैतिर लान्थे । गजेको बाँसुरीमा जादू थियो रे । “ल गजेले त सबै वस्तु फर्कायो, हाम्राचाहिं कहिले आउने हुन् साँढे”, अनिश्चित व्यक्त गर्थे गोठालाहरु । बाँसुरी बनाउन र बजाउन खप्पिस थियो गजे । काँधमा छड्के भिरेको मैलो झोलामा उसले गुलेली मटयांग्रा पनि बोकेको हुन्थ्यो र कोहीबेला त फेला परेको लुइँचेको शिकार पनि । गाई-वस्तु नछोडी सबै फर्काएर ल्याउनेमा पनि एक नम्बरकै गोठालो मानिन्थ्यो गजे ।

हिजो स्कूल आएन गजे । आज पनि बाटैदेखि फर्कियो ।  क्लासमा सरले रोल नम्बर बोलाउँदा लालबहादुरले भनिदियो, “सर गजे बाटैदेखि फर्कियो । मलाई पनि सुन्तालाबारी घुम्न जाउँ  भन्थ्यो ।” स्कूल लगाइदिएका थिए गजेका आपाले । तर गजेलाई फूलमा झुम्मिएका चरा हिर्काउन, खोलामा दुवाली थुनेर माछा टिप्न, बारी फाँडेर थुपारेको झिक्रामा आगो लगाउन र खेतमा पानी फर्काउन जति चाख स्कूल गएर पाठ घोक्नमा लागेन ।  भाइ तिखेलाई भन्थ्यो, ‘स्कूलबाट भागेर लुइँचेलाई पासो थाप्न गा’को आपालाई नभन है । तँ र म खेतमा आगो बालेर लुइँचे पोली खानुपर्छ ।’

तिखे दिनभर स्कूल पढेर फर्कंदा गजे दिनभर शिकार खेलेर घर पुग्ने गर्थ्यो । बल्लतल्ल दुई कक्षा पढेर स्कूलबाट निस्क्यो गजे ।  माथिल्लो ओठ फाटेको थियो – यो चिन्ह गजेको परिचयको द्योतक बनेको थियो । जन्मजात शारीरिक खोट लिएर आएका गजेजस्तै गाउँ घरका केटाकेटीलाई उसबेला स्वास्थ्य लाभ लिने ठाउँ नै कहाँ थियो र ? गजेको फाटेको ओठलाई सामान्य चिकित्साले राम्रो पार्न सकिन्छ भन्ने कसलाई हेक्का थियो र ? गजेले बाँसुरी आफैं बनाउन जानेको हो । बाँसुरीका लागि चाहिने ठीक जातको बाँस छान्नु उसले गोठालो जीवनमा सिकेको बौद्धिक सीप ।  बेलुका अँगेनाको छेउमा बसेर फलामे सुइरो तताउँदै बाँस छेड्न सिकेको थियो गजेले, उसको कोपाबाट । कोपा बाँस र बेतका  घरेलु सामान बनाउन पोख्त थिए त्यस गाउँमा ।

“आम्मै! यो गजेले त बाँसुरी बजाएरै गाई फर्काउँछ कि क्या हो ? हाम्रो एउटा पनि आएको छैन, उसको त सबै थलामा पुगीसकेछ”, भक्तिमाया गजेसँगको आहारिस यसरी पोख्थी । तल खोला दोभानबाट माथि डाँडाको टुंगसी घरसम्म आउँदा गजे वनपाखा छिचोल्दै बाँसुरी फुकिरहेको छ । ”ओइ गजे ! तेरो बाँसुरीमा के जादू छ हँ ?” पर्बलनी आमैले गजेलाई व्यंग्य गरिन् । भक्तिमायाले थपी, ” गाई वस्तु फर्काउने के को जादू र ? मान्छेको मन फर्काउने पो जादू    त ।” वैंशालु उमेरकी भक्तिमायाले हानेको व्यंग्यले गजे त्यतैतिर तानियो । चौतारो छेउमा उभिएकी भक्तिमायालाई अलि पर घंचेट्तै गजे पर्बलनी आमैका छेउमा बस्यो ।  ”तँ मात्रै हो र ! अरु दशजनाको मन फर्काइदिने जादू छ मसँग ।” गजे जिस्किन खोज्यो भक्तिसँग । फेरि छेउमा गएर छड्के भिरेको झोला देखायो, ” आज दुईवटा हुक्कुस चरा हानेको छु । खाने भए भरे मेरो घरमा आइज ।”

जादू त के थियो ऊसँग तर गजेले बजाउने गरेको बाँसुरीका धूनमा गाउँका अरु केटीहरु पनि मन्त्र-मुग्ध हुन्छन् भेनेको सुनिन्थ्यो । भक्तिमायाजस्तै लालमाया, खीना, टुक्सी, चम्पा पनि गजेलाई बेलाबखत जिस्क्याईटोपल्थे । मेलापातमा, खेताला-गोठालामा भेट  भयो कि  उनीहरुको मनमा गढेको गीतको धून बाँसुरीमा भर्न गजेलाई  कर गरिहाल्थे । भक्तिमायाचाहिं गजेसँग अधिक मिल्ने साथी । त्यसैले आज भक्तिमायासँग अलि धेरै समय बिताउन मन गरेको छ गजेले । गाईवस्तु कटेरामा बाँधेर ऊ फेरि डाँडाको टुंगसी घरमा पुग्यो, भक्तिमायासँग गफ चुट्न ।

उता गजेका कोपा खरो सुर्तीको धुवाँ छोड्दै फोक्सो नै बाहिर फ्याँक्ने गरी खोक्तै कराउँदै थिए , “हैन यो गजे त कता पो गाको होला । तरुनी देखेर पो घरै बिर्सेछ कि क्या हो ?”  घाम पश्चिमको सिरुबन्दि डाँडामा छ । गजे चौतारोमा भक्तिमायासँग टाँसिएर बसेको छ । बाँसुरीमा चोटिला गीतका धून बजाउँदै, बेलाबखत भक्तिलाई जिस्क्याउँछ -”आज नआए नि भोलि आइज न त मेरो घरमा ।” भक्ति च्यांठीएर बोल्छे , ” तेरो घरमा के खान    आउनु !”

“हुक्कुसको मासु, कस्तो मीठो पकाउँछु म, आइज न ।” फेरि बाँसुरी बजाउँछ – हाम्रो त घर हो गहिरी गाउँ …। “भोलि आइनस भने तँलाई म तानेर लगेको लग्यै पार्छु । भगाएर अर्कै गाउँमा लान्छु”, गजे अलि मात्तियो ।

“लान्छस् तँ डर छेरुवाले”, भक्तिले पत्याउन मानिन, “तैले अर्को ठाउँ देखेकै छैनस् ।” भन्न त गजेलाई भनी तर भक्तिमाया आफैंले पनि त्यो ठाउँ छोडेर अर्को ठाउँ जानेकी छैन । भारततिरका ठूला डिमाकुची र टांगला बजार हेर्न उसलाई मन लागे पनि जाने मौका कहिले पाएकी छैन । एक दुईचोटि पाखाको लालेले टांगला बजारमा रेल गाडी हेर्न जाउँ भनेको थियो तर, उसले आपा-आमालाई भन्न सकिन ।

के गजेले उसलाई अर्को ठाउँ घुमाउन लान सक्ला ? अथवा उसलाई हेर्न मनलागेको मेलाबज़ार देखाइदिन सक्छ त ? भक्तिलाई थोरै आशा पनि पलायो । बेलुका गाई-वस्तुको धन्धा सकेर आमाले पस्किदिएको भात खान बसेकी भक्तिमायाले भोक अनुसारको भोजन गर्न सकिन । शायद गजेले अघि डाँडामा भनेका कुराले उसको मनलाई काउकुति लायो क्यार !  ओछ्यानमा पल्टेर मट्टीतेलको टुकी निभाई, पातलो ओढ्ने तानेर मुखसम्म ढाकेर सुती तर निद्रा परेन । सम्झी,”गजेले कति मीठो बाँसुरी बजाउँछ, मनै हर्ने गरी ।”

आइतबार बिहान आफ्ना सबै फेर्ने लुगा एउटा झोलामा हालेर ठीक पारी । गाईवस्तु जङ्गलतिर खेदेर राते र सेतीको दोभानमा लुगा धुने निहूँ गर्दै गरेकी भक्ति गजेसँगै बाटो लागी । बेलुका चौतारामा गोठालाहरुबीच शंका- उपशंकाको कुरा भयो – भक्तिमाया र गजे पक्कै भोलाटारतिर भागेका हुनुपर्छ !

(श्रोत:- Bhutanese Lit )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.