~पद्मावती सिंह~
चकमन्न छ रात
चकमन्नताले भयको ओढनी ओढोको छ
भय, संत्रास तथा दुश्चिन्तताले आक्रान्त निरमाया
सम्झिरहेकी छिन् आफ्नो पतिलाई राखी हृदयमा
जो लापता भएका छन् विद्रोहीहरूको भीडन्तमा
बगाउँद दुवै नयनबाट अजस्र अश्रुधारा
छटपटाइरहेकी छिन् खप्न नसकी भाग्यको मार
रातको मूर्दाशान्तिलाई चरक्क चिरी
ढोकालाई लात्तीले फोडी
प्रवेश गरे दुई आततायी
उनको मनलाई झसङ्ग पारी
एउटाको कोच्यो सप्को उनको मुखमा
अर्कोले गर्यो बलात्कार भुइँमा
जथाभावी उनको यौवनसित खेली
कुलेलम ठोक़े यौनपिपाशु आततायी !
सयौं टुक्रामा टुक्रिई उनी छरिई
प्रत्येक टुक्रामा उनले आफूलाइ नाङ्गै देखी
सगरमाथा पीडाको उकाली उनले सोची
कुन विनाशकारीको कुदृष्टि आज परी ।
तहसनहस भो आज यो सुन्दर, शान्त देश ?
हिंसाको आगोमा किन देश शल्कियो ?
कयौं आइमाईको सिन्दुर किन पुछियो ?
कयौं आमाहरूको काख किन रित्तियो ?
कहिले बन्द होला हिंसा र द्वन्दको यो खेल ?
बलात्कार तथा विध्वंशको यो सिलसिला ?
भय, सन्त्रास अनि यो असुरक्षा ?
बम, बारुद अनि यो बमगोला ?
कोसित छ हँ यसको सही जवाफ ?
(श्रोत:- Padmawati’s website )