कथा : पराजित

~दिनमान गुर्मछान~Din man Gumachan

ऊ आफ्नै ओछ्यानमा छटपटिरहेको छ। छटपटिनु उसको पीडा हो। उसले बुझेको छ। यो छटपटाहट उसको अनुभवमा धेरै दिनदेखिको हो।

ओछ्यानमा ऊ सुतिरहेको त थियो तर उसका आँखा आधा खुलेकै थिए। ऊ सिलिङ्मा झुन्डिरहेको पंखालाई ताकिरहेको थियो। पंखा स्थिर थियो, कारण बिजुली माइत गएको थियो। ऊ किन हो, एकनासले हेररिहेको थियो।

“लोडसेडिङ् पनि कति भएको, जलस्रोतको धनी राष्ट्रको हालत यस्तो छ।” उसले पंखाबाट नजर हटाउँदै पर भित्तामा रहेको बुकर्‍याकमा दृष्टि पुर्‍यायो। यतिबेला उसको हात चिउँडोमा थियो। त्यहाँ भित्तामा बलेको मैनबत्ती जुन र्‍याकमाथि थियो, त्यसको प्रकाश कोठाभर िमधुरो फैलिएको उसले देख्यो। फेरि उसलाई छटपटी बढेर आयो। उससँग ओछ्यानमा एउटी महिला पनि मस्त निदाएकी थिई। हेर्दा उसैकी श्रीमती हो जस्ती लाग्थी। एउटै ओछ्यानमा सुतिरहेका छन्, यो प्रस्टै छ। तर, उसले श्रीमतीतिर ध्यान दिएको छैन भन्ने बुझिन्थ्यो। “बाँच्नु छैन मलाई, बाँचेर के सार भयो र !” एक्कासि सोच्यो उसले। वास्तवमा ऊ धेरै दिनदेखि यही सोचाइमा रुमलिइरहेको थियो।

आत्महत्याको योजना उसको मनभरि खेलिरहेको हुन्थ्यो। तर, ऊ यति डरपोक थियो कि आफूलाई टोकिरहेको लामखुट्टे पनि मार्न सक्दैनथ्यो। जिन्दगीमा कुनै पशु त के कीटसमेत वध नगरेका उसका हात हत्या र हिंसा भनेपछि काँप्ने गर्थे। दसवर्षे ‘जनयुद्ध’ताका उसले न कुनै  खबरपत्रिका पढ्यो, न त टेलिभिजन नै हेर्‍यो। छिमेकी वा साथीभाइले युद्धका खबर र घटनाबारे कुरा निकाल्दा ऊ पन्छिएर हिँड्थ्यो। ऊ हिंसाको कुरा सुन्नसमेत नचाहने व्यक्ति थियो। तर, धेरै दिनदेखि उसको मनमा आत्महत्याको योजनाको खाका नै बनिरहेको थियो।

“अब संसार नीरस लागिरहेको छ। जिन्दगी व्यर्थ हुँदै छ। बाँचेर नै के गर्नु छ र? यहाँ कसैको अस्तित्वको भविष्य छैन भने हुनु र नहुनुमा के फरक छ र ! हो, त्यसैले अन्धकार जिन्दगी जिउनुभन्दा मेरा लागि मर्नु नै ठीक हो।” उसले बलिरहेको मैनभन्दा तल अँध्यारो भने अवश्य देख्यो।

हिजो मात्रै उसले खबर पत्रिकामा आत्महत्याको समाचार पढेको थियो। हम्मेसी यस्ता खबर नपढ्ने उसले त्योचाहिँ पढ्यो। उसलाई लागेको थियो, बाँचुन्जेल उसलाई कसले चिन्यो र? तर, मरेपछि भने धेरैले चिने। राष्ट्रिय पत्रिकामा छापिएर यसको परचिय आम नेपालीले पाएका छन्। त्यो प्रेमिकाको धोका सहन नसकी मरेको थियो। यसबेला उसलाई पनि पत्रिकाको खबर बन्न मन लागेर आयो। पत्रिकाको त्यो खबर धेरैपल्ट पल्टाएर पढ्न भ्यायो र जतिपटक पढे पनि खबर नयाँझैँ लाग्यो। त्योे पंखामा झुन्डिएर मरेको थियो। ऊ आफूमाथि छानामा झुन्डिएको पंखालाई एकोहोरो हेररिहेको थियो। उसलाई लाग्यो यही नै उत्तम उपाय हो। समय खेर फाल्न उसलाई उचित लागेन।

घरको छानो धेरै अग्लो थियो, त्यहाँसम्म हात पुग्न ऊजस्तो होचो कदको मान्छेलाई मुस्किल त थियो नै, त्यसमाथि स्वास्नीले पासो लगाउँदा लगाउँदै देखी भने के गर्ने? उसलाई यो विचार उचित लागेन। तर, विचारको भुमरीमा पनि अल्भिmरहेको थियो।

छेउमै सुतिरहेकी श्रीमतीको कुनै वास्तै थिएन। श्रीमती मस्त निदाइरहेकी थिई। यसै बेला उसले एउटा मित्रलाई सम्भिmयो, जो केही दिनअघि मात्र मुसाको विष खाएर मरेको थियो। मित्र साह्रै दुब्लो, ख्याउटे थियो। जो आफ्नै श्रीमतीबाट प्रताडित थियो। श्रीमतीमाथि उसको कुनै वर्चस्व थिएन। सायद त्यसैले मित्रले मुसाको विष खाएको हुनुपर्छ।

ऊ मनमनै फतफताउन थाल्यो, “हैन ! मैले जसरी भए पनि यो देहत्याग गर्नुपर्छ। मुसाको विष खाएरै मर्छु। म बाँचेर के नै हुन्छ?”

उसको आँखामा यति खेर आक्रोशको ज्वाला दन्किरहेको थियो। लाग्थ्यो, ऊ जिन्दगीदेखि निराश र दुःखी छ। जीवन आफ्ना लागि फलदायक छ जस्तो उसले ठानेको छैन। त्यसैले उसभित्र आत्महत्याको कल्पनाले जरो गाडेको थियो। कुन्नि के भयो, एक्कासि सोच परविर्तित भइदियो। उसले तत्काल सोच्यो ओछ्यानमै, “जाबो मुसा मार्ने विष खाएर त मर्नुहुन्न! म त मान्छे पो हुँ। जात फाल्नु गुन्द्रुकको झोलमा। होइन यसो गर्दिनँ। मरे अनौठो तरिकाले मर्छु। अनि त पत्रपत्रिकामा छ्यापछ्याप्ती छापिन्छ। चर्चा-परचिर्चा चल्नेछ।” ऊ त आफ्नो नाम पत्रिकामा छापिएको सम्झन थाल्यो। कल्पनामा आफैँले आफ्नो मृत्युको समाचार पढ्यो। धत्, कल्पनाको सागरमा पनि उसले आफूलाई मार्‍यो।

भित्तामा झुन्ड्याइएको तस्बिर उसको नै थियो। तस्बिर उसैलाई एकोहोरो हेरेर मुस्कुराइरहेको थियो। उसका आँखा त्यसमा परे। हुनुसम्मको रसि उठ्यो। ऊ आत्मग्लानिले पिल्सियो। कारण, त्यो विवाह गरेको वर्ष खिचाइएको तस्बिर थियो। तस्बिरमा देखिएको उसको मुखाकृतिले भन्थ्यो, वास्तवमा ऊ सपना देख्न जान्थ्यो।

आज ऊ विपनाको यथार्थमा छटपटिरहेको थियो। भित्रैदेखि औडाहा भइरहेथ्यो। यतिसम्म त उसको बढुवा रोकिएको अवस्थामा पनि भएको थिएन। तर, आज उसको मन तुइनमा झुन्डिएको थियो। घनघोर वर्षा हुनुपूर्व लागेको कालो बादलसरी उसको अनुहारमा नैराश्य छाएको देखिन्थ्यो।

ऊ आफैँलाई धिक्कार्न थाल्यो।

“जिन्दगी कति नीरस छ। उमंग नभएको बेमौसमी अवस्थामा ओइलाएको पातसरि दिक्क लाग्दो।” उसभित्र बाढी भएर उर्लिएका प्रश्नका खाकाको उत्तर आत्महत्यामै गएर टुंगिन्छ। आखिरमा ऊ आफ्नो शरीरको अन्त्य नै चाहन्छ तर अन्त्यको योजनामा ऊ द्विविधा भेट्टाउँछ।

तर, आत्महत्या त्यति सजिलो छैन। उसले यो कुरा बुझेको पनि छ। उसले एक जना पत्रकारलाई एक्कासि सम्भिmयो। एउटा राम्रो लेखकले जीवनी लेख्ने योजना बनाई घरको कोलाहलमय वातावरणबाट टाढिएर एकान्तताको खोजीमा होटलको कोठामा देहत्याग गर्नु अनौठो थियो। यसरी मर्नेहरूको लिस्ट एकपछि अर्को गरी उसको मनमा आउँदै जाँदै गररिहे। “बाध्यता त सबैमा हुँदो रहेछ नि !” उसले विचार गर्‍यो, “मेरो बाध्यताको कुनै सीमा छैन।”

“पूजनाले आत्महत्या गर्ने असफल प्रयास गरेकी थिई।” एउटा मित्रले केही समयपहिले जानकारी दिएको थियो। “तिमीलाई कसरी थाहा भो?” उसले मित्रलाई प्रश्न तेस्र्याएको थियो। मित्रले प्रश्न खस्न नपाउँदै भनेको थियो, “पत्रपत्रिकामा छ्यापछ्याप्ती छापिएको थियो।” “तिमी यस्ता कुरा किन पढ्छौ, हँ?”

“रोमाञ्च अनि कौतूहल मेटाउन मित्र, तिमीलाई के थाहा यस्तो कुराको चुरो के हो भनेर? पूजनाले असफल प्रेमका कारण आत्महत्या गर्न चाहेकी थिई। एउटा कलाकारसँगको प्रेम र शारीरकि सम्बन्धको असफल परिणामपछि उसले यस्तो गरेकी रहिछ।” मित्र व्यंग्यविनोदपूर्ण तरकिाले मुस्कुराएको थियो। उसले सुनिरह्यो मात्र, कुनै प्रतिक्रिया जनाएन। ऊ ओछ्यानमा त्यसैगरी सोचिरहेको देखियो।

“प्रयास मात्र भए पनि एउटी महिलाले पनि आत्महत्या गर्ने आँट गरी, म भने योजनाका खाका बनाएर अलमलिएको छु।” उसले मनमनै विचार खेलायो।

मध्यरातको निष्पट्ट अँध्यारोले कोठालाई घेरेको थियो। गर्मी शरीरमा ताप बनेर अतिक्रमण गररिहेको थियो। हावामा ताप मिसिएर उडिरहेको जस्तो लाग्थ्यो।

ऊ ओछ्यानबाट उठेर हेर्छ। झ्यालबाहिर अन्धकार व्याप्त थियो। अन्धकारभित्र अनेक रहस्य लुकेका हुन्छन्, उसभित्र नयाँ विचार जागृत भयो। त्यसैले उसले नजर ग्यास चुलोमा टिकायो र त्यसलाई राम्रैसँग नियाल्यो। छोयो पनि। “आत्था !” ऊ झस्कियो। ऊ आगोदेखि धेरै नै डराउँदो रहेछ भन्ने लाग्यो। ऊ चुलोबाट धेरै पर भागिसकेको थियो। यो उपाय पनि उचित ठानेन।

ऊ गलिसकेको थियो। आत्महत्या उसको वशमा थिएन। त्यसैले थकित शरीर लिएर फेर िऊ ओछ्यानमा लमतन्न पसारियो। बाहिर अन्धकारलाई चिर्दै बिजुली चम्किएको उसले थाहा पायो। पानी पर्ने छाँटकाँट देखियो। झ्यालबाट भित्रिएको चिसो उससम्म पुग्यो। शरीर शीतल भएको अनुमानमा ऊ रमायो। रमाउनु कति उचित थियो, उसले अनुमान लगाएन। बरू ऊ चिसो बढ्दै गएको आभासमा कान ठाडो पार्दै बाहिर पानी दर्किएको सुन्न थाल्यो। बाहिर साँच्चिकै पानी पर्न थाल्यो। पररिह्यो। घरीघरी बिजुली चम्किँदा देखिन्थ्यो, ऊ श्रीमतीसित टाँसिएर सुत्न पुगेको थियो।

सायद यो गर्मीको पहिलो वर्षा थियो। धेरै दिनदेखिको गर्मी सहन यो सहरमा मुस्किलै भएको थियो। दिनभरिको चर्को घाम र साँझको उकुसमुकुस वातावरणले सबैलाई पोल्थ्यो। लाग्थ्यो, सबै यही सहरमा गर्मीको मारमा पग्लिनेछन्। मैन पग्लिएझैँ पग्लिन के बेर! शरीर हाडछाला हुन लागेको थियो। सबैले धैर्य गुमाइसकेका थिए।

बाहिर वर्षा के प्रारम्भ भएको थियो, भित्र ऊ त्यसैमा विलीन देखियो। आफ्नै श्रीमतीदेखि अनभिज्ञझँै अघिदेखि छटपटाएको व्यक्ति अहिले अँगालोमा थियो। त्यो अँगालो कति कसिलो थियो, त्यो ती दुईलाई नै थाहा होला। ऊ आफैँ अघि सरेको थियो यस मामिलामा।

यति बेला उसका हात जताततै सलबलाउने उपक्रममा छातीसम्म पुगे। उसले आनन्दको अनुभव गर्‍यो। उसलाई लाग्यो हात भित्रैबाट छिराएर स्पर्शको अनुभव मीठो हुनेछ, त्यसैले त्यो पनि गर्‍यो। करेन्ट लागेझैँ भयो। उसभित्र विद्युतीय फूर्तिको सञ्चार भएको आभासले ऊ रोमाञ्चित थियो। दबाब कसिलो थियो। बाहिर वर्षा अविरल हुने क्रममा थियो भने भित्र शीतलता ताप्ने क्रममा आगो दन्किरहेको थियो। आगो दुवैतर्फ सल्किसकेको रहेछ, त्यसैले त श्रीमती पनि साथ दिइरहेकी थिई।

त्यसपछि त्यहाँ के भयो थाहा भएन, बाहिर बिजुली आँखै तिरमिराउने गरी चम्किन छाडेको थियो।

ललल

मिर्मिरे बिहान भएर उज्यालो झ्याल हुँदै कोठामा छ्यापछ्याप्ती छरनिे कोसिसमा थियो। ओछ्यानमा एउटा ठूलै शरीर लमतन्न भएर थकित निदाइरहेको पाइयो। एउटा संघर्ष भएको त्यहाँ अनुमान लगाउन सकिन्थ्यो। किनभने, तन्ना अस्तव्यस्त जो थियो। त्यहीँ ऊ निदाइरहेको थियो। एउटा थकित सिपाहीझैँ सुतेको देखिन्थ्यो। बाहिर घाम लाग्ने तरखरमा थियो। भान्छा कोठाबाट चुराको छनछनी आवाज निस्किन्थ्यो तर त्यो उसको कानले सुनेको थिएन। र त ऊ मस्त निदाइरहेको थियो।

गर्मी फेरि बढिरहेको थियो। घाम पनि चर्किने क्रममा देखियो। भान्छाकोठाबाट निस्किएको छनछनी चुराको आवाज र पाक्दै गरेको मासुको गन्ध उसको कान र नाकमा एकैचोटि पस्यो। उसका आँखा खुले। यस बेलासम्म ओछ्यानमा पल्टिएको थाहा पाएर अलिकति लज्जित भयो। बिहान बित्ने बेला भएको थियो। उसलाई ओछ्यान छोड्न मन लागेन। शनिबार हो आज, उसले थाहा पाइसकेको थियो। उसले आफ्नो शरीरबाट मीठो गन्ध आएको चाल पायो। त्यो गन्ध उसकै श्रीमतीको शरीरबाट निस्कने गथ्र्यो। उसभित्र अदृश्य खुसीको सञ्चार हुँदै थियो। वास्तवमा ऊ प्रसन्न देखिन्थ्यो। उसको मन हलुका थियो, चंगाजस्तै उडूँलाझैँ गर्‍यो।

उसले अघिल्लो रातको अनुभवलाई आत्मसात् गर्‍यो। जिन्दगीको रमाइलो क्षण त्यहीँ भएजस्तो लाग्यो। मन चंगासरि हलुङ्गिएर उडिरहेको थियो। उसले ओछ्यानबाटै भान्छातिर नजर दौडायो, जहाँ उसकी श्रीमती काम गर्दै थिई।

उसलाई लाग्यो जिन्दगी अझ जिउन बाँकी नै रहेछ। अनायासै त्यति बेला उसका आँखा भित्ताको तस्बिरमा परे। त्यो विवाह गरेको वर्ष खिचाइएको तस्बिर थियो। तस्बिरमा देखिएको मुखाकृतिले त्यस बेला ऊभित्र धेरै नै सपना भएको थाहा हुन्थ्यो। वास्तवमा ऊ सपना देख्न जान्दथ्यो।

यतिबेला ऊ सपनालाई जिन्दगीसँग दाँजिरहेको थियो ।

(श्रोत:- Nepal)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.