~बुद्धमणि ढकाल~
गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर फर्कन्थ्यो । तल राते र सेती खोलाको दोभानमा गजेको बाँसुरी सुनेपछि डाँडामा गाई रुङ्ग्न बसेका गोठालाहरु कान र आँखा उतैतिर लान्थे । गजेको बाँसुरीमा जादू थियो रे । “ल गजेले त सबै वस्तु फर्कायो, हाम्राचाहिं कहिले आउने हुन् साँढे”, अनिश्चित व्यक्त गर्थे गोठालाहरु । बाँसुरी बनाउन र बजाउन खप्पिस थियो गजे । काँधमा छड्के भिरेको मैलो झोलामा उसले गुलेली मटयांग्रा पनि बोकेको हुन्थ्यो र कोहीबेला त फेला परेको लुइँचेको शिकार पनि । गाई-वस्तु नछोडी सबै फर्काएर ल्याउनेमा पनि एक नम्बरकै गोठालो मानिन्थ्यो गजे ।
हिजो स्कूल आएन गजे । आज पनि बाटैदेखि फर्कियो । क्लासमा सरले रोल नम्बर बोलाउँदा लालबहादुरले भनिदियो, “सर गजे बाटैदेखि फर्कियो । मलाई पनि सुन्तालाबारी घुम्न जाउँ भन्थ्यो ।” स्कूल लगाइदिएका थिए गजेका आपाले । तर गजेलाई फूलमा झुम्मिएका चरा हिर्काउन, खोलामा दुवाली थुनेर माछा टिप्न, बारी फाँडेर थुपारेको झिक्रामा आगो लगाउन र खेतमा पानी फर्काउन जति चाख स्कूल गएर पाठ घोक्नमा लागेन । भाइ तिखेलाई भन्थ्यो, ‘स्कूलबाट भागेर लुइँचेलाई पासो थाप्न गा’को आपालाई नभन है । तँ र म खेतमा आगो बालेर लुइँचे पोली खानुपर्छ ।’
तिखे दिनभर स्कूल पढेर फर्कंदा गजे दिनभर शिकार खेलेर घर पुग्ने गर्थ्यो । बल्लतल्ल दुई कक्षा पढेर स्कूलबाट निस्क्यो गजे । माथिल्लो ओठ फाटेको थियो – यो चिन्ह गजेको परिचयको द्योतक बनेको थियो । जन्मजात शारीरिक खोट लिएर आएका गजेजस्तै गाउँ घरका केटाकेटीलाई उसबेला स्वास्थ्य लाभ लिने ठाउँ नै कहाँ थियो र ? गजेको फाटेको ओठलाई सामान्य चिकित्साले राम्रो पार्न सकिन्छ भन्ने कसलाई हेक्का थियो र ? गजेले बाँसुरी आफैं बनाउन जानेको हो । बाँसुरीका लागि चाहिने ठीक जातको बाँस छान्नु उसले गोठालो जीवनमा सिकेको बौद्धिक सीप । बेलुका अँगेनाको छेउमा बसेर फलामे सुइरो तताउँदै बाँस छेड्न सिकेको थियो गजेले, उसको कोपाबाट । कोपा बाँस र बेतका घरेलु सामान बनाउन पोख्त थिए त्यस गाउँमा ।
“आम्मै! यो गजेले त बाँसुरी बजाएरै गाई फर्काउँछ कि क्या हो ? हाम्रो एउटा पनि आएको छैन, उसको त सबै थलामा पुगीसकेछ”, भक्तिमाया गजेसँगको आहारिस यसरी पोख्थी । तल खोला दोभानबाट माथि डाँडाको टुंगसी घरसम्म आउँदा गजे वनपाखा छिचोल्दै बाँसुरी फुकिरहेको छ । ”ओइ गजे ! तेरो बाँसुरीमा के जादू छ हँ ?” पर्बलनी आमैले गजेलाई व्यंग्य गरिन् । भक्तिमायाले थपी, ” गाई वस्तु फर्काउने के को जादू र ? मान्छेको मन फर्काउने पो जादू त ।” वैंशालु उमेरकी भक्तिमायाले हानेको व्यंग्यले गजे त्यतैतिर तानियो । चौतारो छेउमा उभिएकी भक्तिमायालाई अलि पर घंचेट्तै गजे पर्बलनी आमैका छेउमा बस्यो । ”तँ मात्रै हो र ! अरु दशजनाको मन फर्काइदिने जादू छ मसँग ।” गजे जिस्किन खोज्यो भक्तिसँग । फेरि छेउमा गएर छड्के भिरेको झोला देखायो, ” आज दुईवटा हुक्कुस चरा हानेको छु । खाने भए भरे मेरो घरमा आइज ।”
जादू त के थियो ऊसँग तर गजेले बजाउने गरेको बाँसुरीका धूनमा गाउँका अरु केटीहरु पनि मन्त्र-मुग्ध हुन्छन् भेनेको सुनिन्थ्यो । भक्तिमायाजस्तै लालमाया, खीना, टुक्सी, चम्पा पनि गजेलाई बेलाबखत जिस्क्याईटोपल्थे । मेलापातमा, खेताला-गोठालामा भेट भयो कि उनीहरुको मनमा गढेको गीतको धून बाँसुरीमा भर्न गजेलाई कर गरिहाल्थे । भक्तिमायाचाहिं गजेसँग अधिक मिल्ने साथी । त्यसैले आज भक्तिमायासँग अलि धेरै समय बिताउन मन गरेको छ गजेले । गाईवस्तु कटेरामा बाँधेर ऊ फेरि डाँडाको टुंगसी घरमा पुग्यो, भक्तिमायासँग गफ चुट्न ।
उता गजेका कोपा खरो सुर्तीको धुवाँ छोड्दै फोक्सो नै बाहिर फ्याँक्ने गरी खोक्तै कराउँदै थिए , “हैन यो गजे त कता पो गाको होला । तरुनी देखेर पो घरै बिर्सेछ कि क्या हो ?” घाम पश्चिमको सिरुबन्दि डाँडामा छ । गजे चौतारोमा भक्तिमायासँग टाँसिएर बसेको छ । बाँसुरीमा चोटिला गीतका धून बजाउँदै, बेलाबखत भक्तिलाई जिस्क्याउँछ -”आज नआए नि भोलि आइज न त मेरो घरमा ।” भक्ति च्यांठीएर बोल्छे , ” तेरो घरमा के खान आउनु !”
“हुक्कुसको मासु, कस्तो मीठो पकाउँछु म, आइज न ।” फेरि बाँसुरी बजाउँछ – हाम्रो त घर हो गहिरी गाउँ …। “भोलि आइनस भने तँलाई म तानेर लगेको लग्यै पार्छु । भगाएर अर्कै गाउँमा लान्छु”, गजे अलि मात्तियो ।
“लान्छस् तँ डर छेरुवाले”, भक्तिले पत्याउन मानिन, “तैले अर्को ठाउँ देखेकै छैनस् ।” भन्न त गजेलाई भनी तर भक्तिमाया आफैंले पनि त्यो ठाउँ छोडेर अर्को ठाउँ जानेकी छैन । भारततिरका ठूला डिमाकुची र टांगला बजार हेर्न उसलाई मन लागे पनि जाने मौका कहिले पाएकी छैन । एक दुईचोटि पाखाको लालेले टांगला बजारमा रेल गाडी हेर्न जाउँ भनेको थियो तर, उसले आपा-आमालाई भन्न सकिन ।
के गजेले उसलाई अर्को ठाउँ घुमाउन लान सक्ला ? अथवा उसलाई हेर्न मनलागेको मेलाबज़ार देखाइदिन सक्छ त ? भक्तिलाई थोरै आशा पनि पलायो । बेलुका गाई-वस्तुको धन्धा सकेर आमाले पस्किदिएको भात खान बसेकी भक्तिमायाले भोक अनुसारको भोजन गर्न सकिन । शायद गजेले अघि डाँडामा भनेका कुराले उसको मनलाई काउकुति लायो क्यार ! ओछ्यानमा पल्टेर मट्टीतेलको टुकी निभाई, पातलो ओढ्ने तानेर मुखसम्म ढाकेर सुती तर निद्रा परेन । सम्झी,”गजेले कति मीठो बाँसुरी बजाउँछ, मनै हर्ने गरी ।”
आइतबार बिहान आफ्ना सबै फेर्ने लुगा एउटा झोलामा हालेर ठीक पारी । गाईवस्तु जङ्गलतिर खेदेर राते र सेतीको दोभानमा लुगा धुने निहूँ गर्दै गरेकी भक्ति गजेसँगै बाटो लागी । बेलुका चौतारामा गोठालाहरुबीच शंका- उपशंकाको कुरा भयो – भक्तिमाया र गजे पक्कै भोलाटारतिर भागेका हुनुपर्छ !
(श्रोत:- Bhutanese Lit )