~साधना प्रतीक्षा~
पात्र-एक
गाडीभित्र एक हातले डण्डी समाउँदै अर्को हातले फाइल च्यापेर ऊ असिनापसिना भइरहेछ । पलपल आफ्नो नजर हातको घडीतर्फ फाल्दै हैरानीका साथ लामो सुस्केरा निकाल्छ ‘उफ् । यो गाडी कतिबेला गुड्ला ?’ उसको मनले प्रायः गर्ने मौन प्रश्न हो यो । गाडीलाई बस भन्न रुचाउँदैन ऊ । ऊ त त्यसलाई ‘उठ’ को संज्ञा दिन्छ । सधैँ उठेरै यात्रा गर्नुपर्ने, फेरि बस्नेहरूभन्दा उठ्नेहरूकै सङ्ख्या बढी यस्तै ‘उठ’ भित्र कोच्चिएर ऊ यात्रा गर्दै छ । ‘ट्राफिक जाम’ खुल्ला र समयमै अफिस पुगुँला भन्ने उसको आशा अब भने निराशा बनिसक्यो । दस बजेर पनि एक घण्टा बितिसक्यो । ‘अझै कतिबेर लाग्ने हो खै … ।’
अचानक उसको मुटु हल्लाइदिन्छ उसैको खल्तीभित्र बजेको मोबाइलको घण्टीले । ‘सर म आउँदैछु, ट्राफिक जाम, … गाडीमै छु… ।’ वाक्य पूरासम्म गर्न पाउँदैन हाकिमको चर्को स्वर सुनिन्छ- ”कति सजिलो भएको छ तपाईंहरूलाई बहाना बनाउन यो ट्राफिकजामले गर्दा । जहिले भयो अबेर गर्यो अनि स्पष्टीकरण उही ट्राफिक जाम … ।” लाइन काटिन्छ ।
पात्र-दुई
“सर म आउँदैछु, एक घण्टा लाग्ला … उही त हो नि ट्राफिक जाम । काठमाडौँमा ट्राफिक जाम हुनलाई के नै हुनुपर्छ र सर । … खुलाउँदैछ भन्छन्…. हुन्छ… हुन्छ ।” मोबाइलमा गफ गरेपछि खल्तीमा थन्क्याउँछ तर ऊ न गाडीमा छ न सडकमा नै । ऊ एक्लै पनि त छैन । ऊ त कुनै रेष्टुरेन्टमा छ आफ्नी प्रेमिकाका साथ रमाउँदै ।
“तिमीलाई अफिस जानु पर्दैन ? जागिर जाला नि ।”
“किन चिन्ता गरेकी । भनिसके नि ‘ट्राफिक जाम ।
यस्तैमा प्रेमिकाको पनि मोबाइल बज्छ “ममी ! हेर्नुस् न ट्राफिकजाम… बाटोमै छु… अँ ट्याक्सीमा … ल ल ।”
‘ओहो । यो ट्राफिक जाम नभइदिने भए… !’
(श्रोत:- मधुपर्क फागुन, २०६५)