~तेजप्रकाश श्रेष्ठ~
एउटा गाउँमा एक जना जिम्दारको घर थियो । त्यहाँ एक विधवा गरिब आइमाई काम गर्न बसेकी थिई । उसको एउटा सानो छोरा पनि त्यहीँ बस्थ्यो । आमा चाहिँ मालिकको घरमा गाईगोरूको मल सोर्ने, भाँडाकुँडा मोल्ने काम गर्थी । टुहुरो छोरो चाहिँ चौरमा गाई र गोरुहरू लगेर चराउँथ्यो ।
”मलाई मुरली फुक्नु मन लाग्यो आमा मुरली बनाउन बाँस मागिदिनोस् न” टुहुरो छोरोले आमालाई भन्यो । अनि आमा चाहीँले भनी- ”हेर तँलाई मुरली बनाउन आउँदैन, फेरि त्यस्तो ठूूलो मालिकसँग म कसरी गएर मागूँ ।’
”तैपनि भनी हेर्नाेस् न आमा” छोरोले ढिपी नै गर्यो ।
”कारोवारी साहेब, देवानसाव मेरो छोराले मुरली फुक्छु भन्दैछ गोठालोमा । एउटा बाँस मागिदिएर मुरली बनाइदिनोस् न । मेरो छोराको लागि ।” आमाचाहिँले मालिकको कारोवारीलाई भनी ।
”हुन्छ त म मालिकसँग कुरा गरेर मुरली बनाइदिन्छु ।” कारोवारीले भन्यो । अनि उसले बाँस्ा काटेर मुरली बनाइदियो ।
टुहुरो दङ्गदास पर्यो र ठूलो चउरमा गाई चराउन गयो । मध्य बाह्र बजे मज्जाले वरको हाँगामा चढेर मुरली फुक्नथाल्यो । त्यसो गर्दागर्दा केही दिन बित्यो । ऊ जवान पनि हुन थाल्यो ।
एकदिन त्यसरी नै मुरली फुकिरहँदा त्यही बाटो गरी निद्राल्नी भन्ने निद लाग्ने देवी आए । निद्राली, धर्म, कर्म, लखी, सरस्वती, विग्नी र सनी ग्रह गरी सात जनाको भयङ्कर झगडा चलेको रहेछ ।
”ए तिमीहरु के ठूलो म ठूलो । मैले चाहेँ भने हाँसेको हाँस्यै मान्छेलाई सलक्क खान सक्छु ।” एउटाले भन्दोरहेछ । ”मैले धर्म गर्दै लगेँ भने तिमीहरु एकछेउ पनि जान सक्दैनौ ।” धर्मले भन्दोरहेछ । लक्ष्मी पनि के कम ”मविना त दुनियाँ बाँच्नै सक्दैन ।” भन्दिरहिछे । सरस्वती भन्छे रे ”मैले गर्दा कति कति मान्छे विद्वान् बनेका छन् । आकाशमा उड्न सकेका
छन् । कस्तो कस्तो बनेको छ ।” अनि निद्रालीले भन्छे रे ”छोडछोड तिमीहरू केही पार लाउनेवाला छैनौ । मैले चिताए भने मानिसलाई बेलुकादेखि बिहानसम्म सुतेको सुत्यै पारेर त्यत्तिकै लान सक्छु । उसलाई भात पनि चाहिँदैन पानी पनि चाँहिँदैन ।” त्यसो भन्दै ठेलमठेल गर्दै आउँदै रहेछन् ।
त्यस्तो देखेर त्यो केटो ‘लौ अवश्य मलाई मार्छ तिनीहरुले अब मेरो अरू उपाय छैन’ भनेर वरको रूखबाट ओर्लिएर कुद्न थाल्यो । कुदेको देखेर उनीहरुले भनेछन् “ए केटा नकुद् नकुद् । तँलाई केही पनि गर्दैनौ । हामीहरू एउटा कुरा मात्रै सोध्छौँ । तैले साँचो बोलेमा तैले जे माग्छस् त्यही दिन्छौँ” भनेछन् ।
‘हेर हामी निद्राली, धर्म, कर्म, लखी, सरस्वती, विग्नी र सनी ग्रह गरी सात जना छौँ । हामीमध्येमा को चाँहि ठूलो ? त्यो मात्रै भन ‘ तिनीहरूले अह्राए । उसलाई के गरुँ कसो गरुँ भएर यताउति हेर्न थाल्यो । त्यत्तिकैमा बाछीबाछी बारीतिर कुदिरहेछ देख्यो ।
उसलाई जोगाउनलाई गाई भन्छ रे ‘अब बिगार्छ यसले, अब बिगार्छ, बिगार्छ होला । जान जा धानमा पसिदे, धानमा पसिदे ।’ बाच्छाबाच्छीहरू धानको खेतमा पस्छन् । ‘पख्नोस् है’ भन्दै ऊ बाच्छाबाच्छी धपाउन जान्छ । फर्काउँदा फर्काउँदै बेला बितिहाल्छ ।
”हेर्नाेस् तपाईंहरुलाई को ठूलो र सानो हो म भोलि मात्र भन्छु । आज म भन्न सक्तिन । म घरमा गएर यसो विचार गर्छु । विचार गरेर म हजुरहरूलाई भोलि भनिहाल्छु । भोलि तपाईंहरू यहीँ फेरि आउनोस् । म यतिखेरै यहाँ हुनेछु” त्यो टुहुरोले भन्यो ।
”पक्का भन्छस् ?” सोधे देवदेवीहरुले । ‘भन्छु ।’ उसले कबुल गर्यो । ‘लौ जाऔँ त अब । हाम्रो फैसला भोलि मात्र हुने भयो रे’ भनेर उनीहरु र्फके । र्फकेपछि बेलुका भयो । बेलुका ऊ गाईगोरू लिएर घर फर्कियो । घरको छेउमा आइपुग्दा खेरी उसलाई त्यत्तिकै निद्राले झ्याप्प झ्याप्प हुनथालेछ । आएर त गाईगोरु एउटै नबाँधिकन न खुट्टा धुनु न हिलो पखाल्नु त्यत्तिकै ग्वालीकै छेउमा आँगनमा एउटा थोत्रो बोरा ओछ्याएर सुत्यो । मरे बराबर, कताको खानु कताको पिउनु । जीउनै ठेल्दा पनि जीउ मात्रै हल्लिने, मरिगए उठ्दै नउठ्ने, त्यस्तो भएछ । रातभरि निद्राले चूर भएर निदाएछ । अनि बिहान बिउँझदा उज्यालोमा हेर्छ त ‘हिलै हिलो ।’
”छोरा तँलाई के भयो हिजो । त्यत्रो उठाएँ उठिनस् । भात पनि खाइनस् ।” आमाले पनि भनी । ‘खै आमा थाहा छैन । अहिले भोक लागिरहेछ भात देऊ । बासी भात भए पनि देऊ ।’ उसले बासी भात खाइवरी गाईगोरु फुकाएर लग्यो । अनि मध्य बाह्र बजे वर रूखको हाँगामा चढेर मुरली फुकेर बस्यो ।
‘तँ ठूलो कि म ठूला’े भन्दै उनीहरू फेरि आए । ‘ए ! बालक उत्री रूखबाट, अब भन्छस् नि, आज त भन्लास् नि ?’ उनीहरूले सोधे । ‘भन्छु प्रभु तर म त भन्छु तपाईंहरू पहिले कसम खानुहोस् मलाई मार्दिन भनेर । जसलाई मैले ठूलो बनाए पनि मलाई म्ाार्दैनौ भनेर कसम खानुहोस्’ भनेर सबैलाई कसम खान लगायो ।
‘लौ तँलाई केही पनि गदर्ैैनौँ ।’ उनीहरुले कसम खाए । अनि उसले भन्यो ‘सुनीविनी, धर्मकर्म, लखी, सरस्वती कुनै पनि म त ठूलो देख्दिन । तपाईंहरू ठूलो थियौ भने मलाई हिजो यत्रो दुःख गरेको मान्छे,, गाई चराएर गा’को, मलाई भोक लाग्नुपर्ने, भात खान पाउनु पर्ने, हात खुटा पनि धुन पाइन म यत्तिकै सलक्क सुतेको सुत्यै, त्यत्तिकै भयो । त्यसकारण भन्छु म, निद्राली नै ठूलो हो ।’
अनि अरू चाहिँ ‘धत् तँ अभागी बजिया मलाई ठूलो भनेको भए म यस्तो दिन्थेँ, उस्तो दिन्थेँ भन्दै सबै त्यहाँबाट गए । ‘बालक अब तँ के माग्छस् माग ।’ निद्रालीले सोध्यो ।
‘प्रभु म त दुखिया हुँ गरिब छुँ । हामी आमाछोरा दुई जना मात्रै छौँ । मलाई यो गाईगोरुले बोलेको वाक्य मात्र बुझ्ने बनाइदिनुहोस्’ भन्यो । ‘ल त आजदेखि तँलाई यो पशु वाक्य दिएँ । म गएँ है अब’ भनेर निद्राली र्फकेर गयो । अनि त्यसको एकछिनपछिदेखि उसले गाईले बोलेको पनि बुझ्न थाल्यो ।
अनि त्यो वरको फेदमा जराको हाँगा निक्लेको कुनामा नुनको बोरा अलिकति मुख निस्केको रहेछ । बाच्छीले त्यहाँ गएर चाट्दो रहेछ । बाछीले चाट्दाखेरी गाईले भन्दोरहेछ ‘हेर है तेरो खुट्टा भाँचिन्छ
आज कसैले देखेको छैन र पो । देख्यो भने तेरो के गति हुुन्छ, आइज नचाट् ।’
‘अँ यो खाँदा के हुन्छ ।
आमा ?’ बाछी भन्दोरहेछ । ‘त्यो खान हुँदैन, खानुहुँदैन । यो एक बोरा नुनमुनि एक बोरा चामल पनि छ । त्यो दुइटा बोरा निकालेपछि भित्र सम्पत्तिको ढुकुटी पो छ त छोरी । कसैले थाहा पाएमा चोरी हुनसक्छ ।’ गाईले भन्यो ।
‘ए त्यसो पो रहेछ’ भनेर त्यो टुहुरो हत्त न पत्त रूखबाट ओर्लेर हेर्न थाल्यो । नुनको बोरा देख्यो । पक्कै हो त भनेर त्यहाँ खन्न थाल्यो । खन्दाखन्दा अलिकति दूलो बनाएर चेपबाट
हेर्यो । भित्र त झललल टल्केको देखियो । ‘वाफरे वाफ’ भनेर फेरि पुरपार गर्यो । अनि भोलिपल्ट पनि त्यसै गरी गाईगोरु चराउन लगेपछि त्यो चउरमा ठीक बाह्र बजे आमाले सधैँझै खाजा पुर्याउन ल्याई ।
त्यसैबेला त्यहाँ सिकारीहरू बन्दुक हान्दै थिए । अनि आमाले सोधी ‘छोरा यो बन्दुक पड्केको सुन्छु म, के भा’को ?’ अनि छोराले एउटा कुरा विचार गर्योे ‘आमाले यो कुरो मनैमा राखी भने यो सम्पत्ति हाम्रो घरमा लगेर राख्न सकिन्छ । आमाले यो कुरा मनमा राखेन भने मेरो जिन्दगी जान्छ । आमालाई जाँच्छु पहिले ।’ अनि उसले भन्यो ‘रानीको खुट्टामा त कागले ठँुगेछ नि आमा । कीरा लागेछ रे घाउमा । त्यसैले राजाले सबै काग मार्नु भनेर मान्छे पठाएका छन् । आमा यो कुरा कसैलाई पनि नभन्नु नि फेरि मलाई मार्छ नि ।’ ‘हो र छोरा ?’ ‘हो आमा, यस्तो कुरा भन्नु हुँदैन नि अन्त, भन्नु हुँदैन आमा � नत्र मलाई मार्छन् ।’
आमाको पालो छोरालाई भात खाइवरी गएर गाउँमा बैठक बस्न थालिहालिछे । ‘ए फल्नु आज म त छिटै आएँ, त्यहाँ त काग जति मारेको मारै छ । नभन्नु है कसैलाई पनि मेरो छोराले नभन्नु भनेको छ । रानीलाई कागले ठुँगेर खुट्टामा कीरा परेको छ रे । त्यही काग मार्न राजाले सिकारीलाई पठाएको रे ।’ भनेर त हल्ला फिजाई हालिछे । हल्ला फिँजाएपछि एक कान दुई कान राजाकहाँ पुगिहाल्यो । ‘ए त्यस्तो कुरा गर्दैछ त्यो टुहुरो त्यसलाई पाता फर्काएर ले’ भनेर प्रहरी र सेनाहरू प्ाठाइहाल्यो । अनि उसलाई बाँधेर लग्यो ।
‘अब तँ बाँच्दैनस् तँलाई मार्छु । नचाँहिदो कुरा किन गरेको ?’ राजाले भन्यो । ”म मर्नुभन्दा पहिले दुई चार कुरा भन्न पाउँछु ?” उसले नडराई भन्यो ।
‘ल भन तँ के भन्छस् ।’
‘तपाईंको रैतीहरूको जति छ गाडा, गोरुगाडा लिएर मसँग हिँड्नोस् कति चाहिन्छ, धनसम्पत्ति म दिनेवाला छु । हो, त्यसैको लागि मैले आमालाई मन जाँच गरेको थिएँ । आमाले यो कुरा लुकाई भने सम्पत्ति लुकाउन सकिन्छ, आमाले यो कुरा यताउति भनी भने यो सम्पत्तिले मेरो ज्यान जानसक्छ भनेर मैले आमालाई जाँच गर्न त्यस्तो भनेको थिएँ । नभन्नु भनेको थिएँ तर आमाले भनिहाली । अब मलाई त्यस्तो सम्पत्ति पनि चाहिन्न’ उसले भन्यो ।
अनि राजाले एकदम गाडा नारेर पठायो । ‘लौ यो उठाउनोस् ।’ नुनको बोरा उठायो, अर्काे चामलको बोरा छ त्यो पनि उठायो ।
‘भित्र हेर्नाेस् आमामामा देख्नुभो वाफरे वाफ ।’ मान्छे भित्र पसेर निकाल्दै सुन चाँदीहरू सप्पै गाडामा लादियो । त्यो थुप्रो सम्पत्ति पाएर राजा खुसी भएर भन्यो ‘हेर केटा तँलाई सुनैसुनको घर बनाइदिन्छु आमाछोरा मजाले बसेर खानु ।’
‘त्यसै त म दुःखी, मेरा न दाजु न भाइ न दिदी बैनी । न कोही सन्तान छन् । एउटी आमाले पनि यस्तो गरिदिइहाली । यो चामलको बोराको बीचमा दुइटा औठी छन् मलाई त्यही मात्र दिनुहोस् ।’ उसले त्यही दुइटा औँठी मात्र माग्यो ।
‘ल हजुर म यतैबाट बिदावारी भएर परदेश लाग्छु’ त्यै औँठी लिएर ऊ आमालाई पनि छोडेर परदेश हिँड्यो ।
-स्रोतः विशुलाल मेचे, आयावारी झापा
(श्रोत:- मधुपर्क फागुन, २०६५)