कथा : ब्राह्मी

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

ब्राह्मीको हीराको औँठी चोरी भयो ।

शिव ब्राह्मण र गोमा ब्राह्मणीको एक मात्र सन्तान ब्राह्मी, बिछट्टै सुन्दरी थिइन् ।

उनको सुन्दरतासँग जून, तारा, सूर्यले हार मान्थे, लजाउँथे । एकपटक शिव ब्राह्मणले उदाउँदो सूर्यलाई अघ्र्य दिँदै थिए । पहाडको खोँचबाट आधा मात्र उदाएको सूर्य धेरैबेरसम्म आधाको आधा रहिरह्यो ।
सूर्यदेवको गति किन रोकियो ? अब कस्तो अशुभ हुने हो † ठूलो सन्तापले शिव ब्राह्मण छट्पटाउन थाले । यसो पछाडि हेर्छन् त ब्राह्मीले सूर्यलाई नमस्कार गरिरहेकी थिइन् । ब्राह्मीको मुहारमा सूर्यको किरण टक्क अडिएको थियो । ब्राह्मीको चम्किलो मुहारसँग लजाएर सूर्य उदाउनै मानेका थिएनन् । शिव ब्राह्मण मुसुक्क हाँसेर पुत्रीलाई स्नेहसाथ घरभित्र लगे । अनि, सूर्य उदाए । यस्तो धेरैपटक दोहोरिएको थियो ।
शिव ब्राह्मण एक प्रसिद्ध वैद्य थिए । काली नदीतटको कालीनगरमा उनको बासस्थान थियो । उनले जडीबुटी खुवाएरै भिरिंगीदेखि अर्बुद, कुष्ठरोग सजिलै निको पार्थे । उपचारपछि कसैले आफ्नो इच्छाले दिएको मात्र लिन्थे । नत्र पुण्य सम्झेर निःशुल्क उपचार गरिदिन्थे । यद्यपि उनलाई दिनेहरूको कमी थिएन । यसरी नै उनीसँग धन–दौलत प्रशस्त थियो । उनको प्रसिद्धि कालीको मुहानदेखि पुछारसम्म फैलिएको थियो । तर, शिव ब्राह्मणलाई एउटै चिन्ता— कुन असल वरसँग पुत्रीको बिहे गरिदिने र उनीहरूलाई आफ्नो सारा सम्पत्ति सुम्पने ?

कालीनदीमा एकजना माझी थिए । माझीले धनुष नाम गरेको युवकलाई धर्मपुत्र पालेका थिए । धनुष निकै सुगठित शरीरको थियो । र, असाध्यै एकोहोरो । कतै हेरेर हिँड्यो भने रूख, ढुंगा, भित्तो यस्तै कहीँ न कहीँ ठोकिन्थ्यो । खै कुन सत्ले हो, ऊ भीरबाट खसेको थिएन, अक्करमा परेको थिएन । ऊ धनुर्विद्यामा निपुण थियो । रौंलाई पनि छिद्र पार्ने गरी तारो हान्न सक्थ्यो । अनि, पानीमा माछाजस्तै पौडिन सक्थ्यो ।

ब्राह्मीलाई धनुषको एकोहोरोपना रमाइलो लाग्थ्यो । कहिलेकाहीँ उनले धनुषलाई पछ्याउँथिन् । धनुर्धारी धनुष कि कतै ठोकिन्थ्यो, कि मृग माथ्र्यो । कि एकैवेगले पौडेर काली तथ्र्याे । धनुषले जे गरे पनि ब्राह्मी रोमाञ्चित हुन्थिन् । धनुष कतै ठोकियो, काली त¥यो या मृग मा¥यो— ब्राह्मी खित्का छाडेर हाँस्थिन्, नाँच्थिन्, उफ्रिन्थिन् ।

एकपटक ६–७ वटा पोथी मृगको बीचमा एउटा भाले मृग थियो । ब्राह्मी धनुषको पछाडि खुसी मनाउन प्रतीक्षारत थिइन् । तर, धनुषले धेरै बेरसम्म तारो हान्न सकेन, निसाना साधिरह्यो । ब्राह्मीले धैर्यता गुमाइन् । र, धनुषको वाण खोसेर कुद्न थालिन् । धनुषले ब्राह्मीलाई पछ्याओ । बाण खोसाखोस गर्दा दुवै सँगै भुइँमा लडे । ब्राह्मीका लागि यही नै पुरुषको पहिलो स्पर्श थियो । त्यही दिन उनको हीराको औँठी चोरी भयो ।

मुखियाकहाँ पञ्चभेला बोलाइयो ।

‘ब्राह्मी, भन, तिमीलाई कोप्रति शंका छ ?’ मुखियाले सोधे ।

ब्राह्मीले धेरै सोच्दैनसोची नाम लिइन्, धनुष ।

धनुषले पनि आफूले औँठी फेला पारेको स्वीकार ग¥यो ।

‘कहाँ फेला पारेर कता राखेँ भन्ने मैले बिर्सें । ब्राह्मीले भनेपछि मैले औँठी फेला पारेर कहीँ राखेको जस्तो लाग्छ,’ धनुषले भन्यो, ‘फेरि सम्झेँ भने फिर्ता दिउँला ।’

एकसुरे धनुषको कुरालाई पञ्चले विश्वास ग¥यो ।

‘कसैले पनि अर्काको वस्तुलाई आफूखुसी छुन÷चलाउन पाउँदैन । यसो गर्नु चोरी गर्नु नै हो । चोरी गर्नु पाप हो । चोरले दण्ड पाउनैपर्छ । चोरलाई छुट दिँदै जाने हो भने एकदिन कालीनगरमा चोरकै राज हुनेछ ।’
मुखियाको रायलाई पञ्चभेलाले सम्मान ग¥यो ।

धनुषलाई दण्ड के दिने ?

मुखियाले जुक्ति निकाले—
केही व्यक्ति धनुषसँग पारि वनको तलाउमा जानू । त्यहाँ सबैभन्दा पहिले आउने मृगलाई धनुषले तारो हान्नुपर्नेछ । यदि भाले मृग म¥यो भने १२ वर्षसम्म धनुष कालीनगरवासीको दास भएर बस्नुपर्नेछ । एक–एक दिन सबैको घरमा पालैपालो काम गर्नुपर्नेछ । यदि पोथी मृग मरिन् वा कुनै पनि मरेन भने धनुषले कालीनगरमा फेरि पाइला राख्न पाउनेछैन । धनुषको भाग्यको फैसला यही भयो । यसो गर्दा उसको धनुर्विद्याको पनि कदर हुनेछ । मानिसको सीप र कर्मले नै उसको भाग्य निर्धारण गर्छ ।

मुखियाको निर्णय पञ्चभेलामा मान्य भयो ।

शिव ब्राह्मणको प्रभाव र प्रतापका सामु नगरका मुखिया ओझेल पर्दै गइरहेका थिए । मुखिया शिव ब्राह्मणकी पुत्रीसँग आफ्नो पुत्र दुर्मिलको बिहे गरिदिन चाहन्थे । यसले मुखियाको गुम्दै गएको छविमा केही राहत मिल्थ्यो नै । कुरा पनि चलाए । तर, ब्राह्मीले सीधै अस्वीकार गरिन् । दुर्मिल भने ब्राह्मीको पछि लाग्न छाडेको थिएन ।

ब्राह्मीले आफ्नो पुत्र दुर्मिललाई भन्दा धनुषलाई मन पराएको मुखियालाई थाहा थियो । त्यसैले पनि मुखिया धनुषलाई कमजोर बनाउन वा पन्छाउन चाहन्थे ।

‘मैले जानीबुझी कुनै पनि पोथी जन्तुको सिकार गर्दिनँ । त्यहाँ मृगिनी आइन् भने मैले तारो हान्नेछैन । यसबाहेकको जस्तोसुकै सजाय मञ्जुर छ,’ धनुषले निर्णय सुनायो । पञ्चभेला अक्क न बक्क भयो ।
त्यही वेला दुर्मिलकी सानी भाञ्जी हीराको आंैठी खेलाउँदै आइन् । ब्राह्मीले आफ्नो औँठी चिनिहालिन् ।

‘औँठी कहाँ पायौ ?’

‘दुर्मिल मामाको शयन कक्षमा ।’

दुर्मिलले पनि पञ्चमाझ आफू चोर भएको स्वीकार ग¥यो । उसले ब्राह्मीले झरनामा नुहाउँदै गर्दा खसेको औँठी लुकाएको थियो । ब्राह्मीले औँठी फिर्ता पाइन् । तर, दुर्मिललाई कुनै दण्ड दिइएन ।

०००

कालीनगरमा हल्ला आयो–
पश्चिम देशका राजाले दीनदुःखी प्रजालाई देश निकाला गरेछन्, आफ्नो देशलाई समृद्ध बनाउन भनेर । ती दीनदुःखीहरू डाँका बनेर विभिन्न राज्यमा आतंक फैलाउँदै घुमेका छन् । तिनीहरू भोलि काली तरेर यस नगरमा आउँदै छन् ।

मुखियाले आपत्कालीन पञ्चभेला डाके । भने, ‘डाँकाहरूलाई काली तर्नै नदिई हामीले भगाउनुपर्छ । धनुष, तिमी धनुबाणमा निपुण छौ । भोलि तिमीले आफ्नो कला र बहादुरी देखाउनुपर्नेछ ।’

‘अवश्य नै म कालीनगरको रक्षाका लागि लड्नेछु । परन्तु, मैले ती डाँका समूहमा रहेका बालबालिका, वृद्धवृद्धा र स्त्रीको पनि रक्षा गर्नेछु । यस कार्यमा मलाई कालीनगरवासीको सहयोग चाहिन्छ,’ धनुषको सर्त पञ्चभेलामा मान्य भयो ।

भोलिपल्ट–
धनुषले मृगको सिकार ग¥यो । र, कालीतटमा ठूलो आगो बालेर मृग पोल्न थाल्यो । पोलेको मासुको गन्धले डाँका आए, धनुषलाई आक्रमण गरे । धनुष एकैवेगले पौडेर काली त¥यो । र, पारिबाट डाँकाको नाइकेलाई लक्ष्य गरी बाण हान्यो । धनुषको निसाना अचुक हुन्थ्यो । नाइकेको प्राण गयो । नाइके नै ढलेपछि डाँकाहरू धनुषको शरण परे । नाइकेका तीनवटी श्रीमती विलाप गर्न थाले ।

धनुषले सबैलाई सम्झाउँदै भन्यो, ‘नकारात्मक नेतृत्व गर्नेको नियति पनि नकारात्मक नै हुन्छ । मैले तिमीहरूको मर्का बुझेको छु । राजाले तिमीहरूलाई आफ्नो देशमा बस्न दिएनन् । तिमीहरू ती दुष्ट राजा र शासकविरुद्ध लड्नुपथ्र्यो । तर, तिमीहरू आफ्नो जीवनशक्तिलाई कुकार्यमा प्रयोग गर्दै छौ । राज्यमा प्रत्येक प्रजालाई समान हक हुनैपर्छ । जुनसुकै राज्यमा जस्तोसुकै परिस्थितिमा पनि बालबालिका, वृद्धवृद्धा र स्त्रीलाई शान्तिले बाँच्न दिइनुपर्छ । तिमीहरूका बालबालिका, वृद्धवृद्धा र स्त्रीलाई मैले कालीनगरमा शरणको व्यवस्था मिलाएको छु । यसको चिन्ता गर्नुपर्दैन । जाऊ, पुरुषजति राजाविरुद्ध लड । मरे पनि जन्मभूमिमै मर । जित्यौ भने तिमीहरूका परिवार र आउने सन्ततिले शान्ति पाउनेछन्, गर्व गर्नेछन् । संसार उज्यालो र अँध्यारोबीच युद्ध भइरहने रणभूमि हो । यहाँ उज्यालो हुन अँध्यारोको हत्या हुनैपर्छ ।’

आफूहरूको आँखा खोलिदिएकामा डाँकाहरू धनुषसँग धन्य भए । र, धनुषले भनेअनुसारको कार्यमा लागे ।

०००

कालीनगरमा वरको रूख ढल्यो ।

कालीनगरवासीले यसलाई ठूलो अपशकुनको रूपमा लिएका थिए । त्यही वेला नगरमा एउटा नयाँ ज्योतिषी आए । भने, ‘कुनै पनि पतिव्रता स्त्रीले छुन्छिन् भने मात्र यो ढलेको वर सीधा हुनेछ । यदि यो वर अबको सात दिनभित्र सीधा भयो भने सब ठीक हुनेछ । अन्यथा, कालीनगरवासीले ठूलो संकट भोग्नुपर्नेछ ।’
ज्योतिषीको कुरालाई कालीनगरवासीले हावामा उडाए । ज्योतिषीले फेरि एउटा भविष्यवाणी गरे, ‘आज मध्याह्नमा भूकम्प आउनेछ । र, मुखियाको घर भत्किनेछ ।’

नभन्दै भूकम्प आयो र मुखियाको घर भत्कियो । त्यसपछि भने कालीनगरवासी ज्योतिषीको प्रत्येक वाक्यमाथि विश्वास गर्ने भए । अन्ततः वर छुने शुभमुहूर्त निकालियो । गोमा ब्राह्मणीमाथि कालीनगरवासीलाई पूर्ण विश्वास थियो । कालीनगरका सम्पूर्ण विवाहित स्त्रीले सल्लाह गरे, वर गोमा ब्राह्मणीले छुनुपर्छ । यदि गोमाले छुँदा पनि वर सीधा भएन भने ज्योतिषीलाई कडा दण्ड दिनेमा सबै एकमत भए ।

यता, गोमा ब्राह्मणीले छुनुभन्दा अघि नै चञ्चले ब्राह्मीले वर छुन पुगिन् । अचम्म त, ब्राह्मीले छोएपछि वर सीधा भएर पनि थोरै ढल्किएर अडियो ।

एउटी अविवाहित स्त्री कसरी पतिव्रता भइन् ? पञ्चका माझ ब्राह्मीले सत्य बताउनैपर्ने भयो ।

‘मैले हृदयदेखि नै धनुषलाई आफ्नो पतिको रूपमा स्वीकार गरिसकेकी छु । र, आफ्नो अस्मिता पनि उसलाई सुम्पिसकेकी छु,’ ब्राह्मीले भनिन् ।

‘ठीक छ, तिम्रो अघोषित पति धनुष नै भयो । परन्तु, तिम्रो पतिव्रता धर्ममा कतै खोट छ । नत्र तिमीले छोएपछि वर पूरै सीधा हुनुपथ्र्यो,’ ज्योतिषीले भने, ‘भन, कतै कुनै मर्दलाई जानी–नजानी अपनाउन पुग्यौ कि ?’

यहीबीचमा मुखियापुत्र दुर्मिल बोल्यो, ‘मसिवाय अरू कुनै मर्दले ब्राह्मीलाई छोएको छैन । म नै ब्राह्मीको प्रेमी हुँ । मैले नै उनको स्त्रीत्व डगमगाएको हुँ । तर, उनी किन झुट बोलिरहेकी छन् भन्ने मैले बुझ्न सकिरहेको छैन ।’ दुर्मिल जसरी हुन्छ, ब्राह्मीलाई आफ्नो बनाउन चाहन्थ्यो ।

दुर्मिलको झुटो दाबीलाई वास्तै नगरी ब्राह्मी बोलिन्, ‘म सानी छँदा गाई चराउन गएकी थिएँ । वनमा गाई ब्याइन् । घर फर्कंदा मैले भर्खरै जन्मिएको बाच्छोलाई काखमा बोकेकी थिएँ । बाच्छोले मेरो काखमा मूत्रत्याग ग¥यो । धनुषबाहेक मलाई अरू कुनै मर्दले बिटुल्याएको छ भने यही हुन सक्छ ।’

वरको रूख छेवैमा पञ्च बसेको थियो । ब्राह्मीले आफ्नो सत्य भन्दानभन्दै यता वर सीधा भयो ।

धनुषको कुनै जात र मातापिताको टुंगो थिएन । कालीले बगाएर ल्याएको ८–१० वर्षको बालकलाई माझीले धर्मपुत्र पालेका थिए । एउटा जात न गोत्रको युवकलाई पुत्री सुम्पनैपर्ने भयो, ब्राह्मण दम्पती चिन्तामा परे ।

ज्योतिषीले जुक्ति लगाए—
धनुष हिँड्ने दोबाटोमा पुस्तक, धनु, सुन र जुत्ता राखिनेछ । यी चार चिजमध्ये धनुषले सबैभन्दा पहिले जे छुन्छ, त्यसैबाट उसको जात खुट्याइनेछ । पुस्तक छोए ब्राह्मण । धनु छोए क्षेत्री । सुन छोए वैश्य । र, जुत्ता छोए शूद्र । उसले के छुनेछ भनी जान्न लुकेर नियाल्नुपर्नेछ ।

योजनाअनुरूप काम भयो । तर, धनुषले कुनै पनि वस्तु नछोई तर्केर हिँड्यो । उसले अर्काको सामान जानीजानी कहिल्यै छुँदैनथ्यो । त्यसपछि ती चारै चिजलाई साँगुरो बाटोमा राखियो । एकसुरे धनुषले नजिकै आएर मात्र ती चिजलाई देख्यो । झस्केर उसले लगभग एकैपटक दुवै हात र घुँडाले जमिन टेक्यो । यसो गर्दा उसले एउटा हातले पुस्तक, अर्कोले धनु, एउटा घुँडाले सुन, अर्कोले जुत्ता छुन पुग्यो ।

ज्योतिषीले निष्कर्ष निकाले—
धनुषका माताका मातापिता र पिताका मातापिता यी चारैजना फरक–फरक जातका हुन सक्छन् । त्यसैले धनुष चारै जातको सन्तान हुन सक्छ ।

जात, गोत्र र मातापिताको कुनै टुंगो नभएको वर्णसङ्करसँग आफ्नी पुत्री बिटुलिएको ब्राह्मणदम्पतीलाई मान्य हुँदैन ।

उनीहरूले निर्णय गरे—
ब्राह्मी धनुषसँगै विवाह गरेर सुख–सयलमा बाँचून् । सन्तानको मनमा सन्ताप पार्नु कदापि मातापिताको धर्म हुन सक्दैन । जो भयो, सो प्रँरब्ध हुन सक्छ । धर्तीमा मानिसले कर्मको फल भोग्नैपर्छ । मानिसको जात र धर्म, कुल र कर्म हुनैपर्छ । जातै नभएको मानिस सीधै पापकर्मको फल हो । उसले कुनै धर्मकर्म गर्न सक्दैन । यस जन्ममा हाम्रो रगत बिटुलियो । यस धर्तीमा आफ्नो रगत अपवित्र बन्नुजस्तो अधर्म अर्को के हुन सक्छ ? मानिसको पहिलो धर्म पवित्र सन्तान जन्माउनु हो । तर, हामीले सकेनौँ । अर्को पवित्र सन्तान जन्माउने हाम्रो उमेर पनि छैन । कुलकै नाश भएपछि धर्तीमा बाँच्नुको अर्थ हुँदैन । त्यसैले प्रँणत्याग गर्नु नै उचित हुन्छ ।

ब्राह्मण दम्पती कालीमा फाल हाले । धनुषले दुवैलाई उद्धार गरेर ल्यायो ।
त्यही रात कसैलाई केही नभनी धनुषले कालीनगर छोड्यो ।

ज्योतिषीले ब्राह्मण दम्पतीलाई भने—
हजुरहरूकी सुपुत्री ब्राह्मीको कोखबाट तेजस्विनी सुपुत्री धनाश्रीको जन्म हुँदै छ । धनाश्री पनि पिताकै गुण लिएर जन्मनेछिन् । धनुषले सम्झनास्वरूप आफ्नो धनु ब्राह्मीलाई छाडेर गएका छन् । धनुषसँगै एउटा बाण पनि छ । जुन पञ्च धातुले बनेको छ । धनाश्रीले सात वर्षको उमेरमा त्यस धनुबाण चलाउनेछिन् । कालीको तीरमा उभिएर पारि केहीलाई लक्ष्य गरेर धनाश्रीले बाण प्रहार गर्नेछिन् । उनले प्रहार गरेकोे बाण त्यत्तिकै पानी वा जमिनमा खस्नेछैन । केही न केहीलाई छेद पार्नेछ । त्यस छेदलाई देखेपछि धनाश्रीले महाज्ञान प्रँप्त गर्नेछिन् । अनि, धनाश्रीले संसारलाई सत्य र न्याय सिकाउनेछिन् । उनको प्रसिद्धि कालीको सेरोफेरोदेखि समुद्रवारिसम्म फैलिनेछ । उनी अति नै ठूलो सम्मान र वैभवले बाँच्नेछिन् ।

धनाश्रीले महाज्ञान प्रँप्त गरेपछि मात्र हजुरहरूले मोक्ष पाउनुहुनेछ । किन्तु धनाश्री सात वर्षकी नहुँदासम्म हजुरहरूले उनलाई छाडेर हिँड्नुहुँदैन । अन्यथा, कुनै पापकर्मको भागी हुनुपर्नेछ ।

म अर्को पनि रहस्य बताउँछु । म यही कालीनगरको ब्राह्मण हुँ । मैले शूद्र जातिकी मानिने एक स्त्रीलाई प्रेम गरेँ । त्यही प्रेम नै मेरा लागि अभिशाप बन्यो । मेरो जात गयो । आजभन्दा २५ वर्षअगाडि चारपाटा मोडेर, सुँगुरको पाठो भिराएर मलाई काली कटाइयो । मैले आफ्नी पे्रमिकालाई लिएर पश्चिमतिर लागेँ । एउटा नदीमा माझी भएर जीविका गरेँ । हाम्रो एउटा पुत्र जन्मियो । तर, सात वर्षको भएपछि पुत्रले हामीलाई छाडेर हिँड्यो । पुत्र वियोगले हामी निकै दुःखी भयौँ । एकदिन डुंगा चलाउँदा–चलाउँदै मलाई ज्योतिषज्ञान प्राप्त भयो । मैले अन्तज्र्ञानले भूत, भविष्य र वर्तमानलाई देख्न सक्ने भएँ । मेरो अन्तर्दृष्टिले देख्यो— मेरो पुत्र धनुष कालीनगरमा छ । ऊ अति नै वीर र धर्मात्मा छ । उसले आफ्नो पिताको गुमेको पहिचान फिर्ता गर्ने भाग्य लिएर जन्मेको छ । यस्तै बोध भयो र म आफ्नो पुत्र खोज्दै यहाँ आएँ । तर, आज मैले आफ्नो पुत्रलाई बुझ्न सकिरहेको छैन । उसले हठात् किन कालीनगर छाड्यो ? मेरो ज्योतिष विद्याले कुनै संकेत दिन सकिरहेको छैन । अब म यहाँ बस्नुको अर्थ छैन । पत्नीलाई एक्लै छाडेर आएको पनि धेरै दिन भयो । म जान्छु । मेरो कुरालाई गम्भीरतापूर्वक लिनू, हजुरहरूको भलाइ हुनेछ ।

०००

सात वर्षपछि—
हरेक बिहान ब्राह्मी पुत्री धनाश्रीलाई लिएर कालीमा स्नान गर्न जान्थिन् । सानैदेखि धनाश्री कालीतटमा तारो हान्ने खेल खेल्थिन् । उनी सात वर्षको उमेरमै पिताजस्तै धनुर्विद्यामा निपुण भइन् । एकरात शिव ब्राह्मणको घरमा चोर पस्यो । धनाश्रीले चोरलाई लक्ष्य गरेर बाण हानिन् । बाण मुखियापुत्र दुर्मिलको छातीमा रोपियो ।

एकबिहान धनाश्री कालीतटमा एक्लै खेल्दै थिइन् । पारिबाट बारम्बार घोडा हिनहिनाएको आवाज आयो । तर, कुनै दृश्य देखिएको थिएन । धनाश्रीले आँखा बन्द गरेर आवाजलाई लक्ष्य गरी बाण प्रहार गरिन् ।

केहीबेरमै घोडा काली तरेर उनको सामु आयो । घोडामा धनुष थिए । भने, ‘म तिम्रो पिता हुँ । यो धनुबाण मेरो हो । मेरो सन्तानसिवाय कसैले पनि यसलाई चलाउन सक्दैन । तिमीले यसलाई निकै कुशलतापूर्वक चलायौ । त्यसैले तिमी मेरी पुत्री हौ ।’

धनुषले पुत्रीले प्रहार गरेको बाण हातले पक्रेका थिए । बाणले कुनै छेद पार्न पाएन ।

‘ठीक छ । हजुर मेरो पिता नै हुनुहोला । तर, यो कुरा मलाई मेरो माताको पनि मातापिताले भन्नुपर्छ । मैले उहाँहरूलाई नै विश्वास गर्छु । मसँग हिँड्नुस्, मेरो मातामहलाई भेटौँ ।’

पुत्रीको कुराले धनुष निराश भए ।

‘दुर्भाग्य, मलाई तिम्रो मातामहमाथि विश्वास छैन,’ पुत्रीले प्रहार गरेको बाण फिर्ता दिँदै धनुषले भने, ‘यो बाणले अति नै पापी वा अति नै धर्मात्मा मानिसको मात्र ज्यान लिन्छ । आइन्दा यसलाई निकै बुद्धिमतापूर्वक चलाउनू ।’

धनुष आफ्नो बाटो लागे ।

धनाश्री घरमा आएर सबै वृत्तान्त बताइन् । शिव ब्राह्मणले भने, ‘तिम्रा पिता धनुष नै हुन् । यदि ती व्यक्ति धनुष नै हुन् भने तिनै तिम्रा पिता हुन् । जाऊ, उनलाई यहाँ लिएर आऊ ।’

धनाश्री घोडा चढेर गइन् । धनुष काली तरिसकेका थिए । धनाश्रीले धनुषलाई लक्ष्य गरेर बाण प्रहार गरिन् । धनाश्रीलाई विश्वास थियो, उनले फेरि पनि बाणलाई हातले पक्रनेछन् । तर, यसपालि धनुषले हाँसी–हाँसी पुत्रीको प्रहार स्वीकार गरे । उनले आफ्नी पुत्रीको निसाना चुकाउन चाहेनन् । पारि धनुषको छातीमा बाण रोपियो, वारि ब्राह्मी डाँको छाडेर रोइन् । ब्राह्मी पनि पुत्रीको पछिपछि अर्को घोडामा थिइन् । दुवै घोडा चढेरै काली तरे ।

‘मेरो प्राण,’ ब्राह्मीले भुइँमा ढलेका धनुषलाई अँगाल्न पुगिन् । रगताम्मे पितालाई माताले अँगालेर रोएको देखेपछि धनाश्री बेसरी चिच्याइन्— पिताहजुर ।

‘ब्राह्मी, मैले तारो हान्दा तिमी खित्का छाडेर हाँस्थ्यौ । आज छोरीले तारो हान्दा तिमी डाँको छोडेर रोयौ । यसलाई शौभाग्य नै सम्झ, अब तिमी कहिल्यै न खित्का छाडेर हाँस्नेछ्यौ, न त डाँको छाडेर नै रुनेछ्यौ । तिम्रो मुहारमा सधैँ मृदु मुस्कान ल्याउने कार्य पुत्री धनाश्रीले गर्नेछिन् ।’

यति भनेर धनुषले एउटा उन्मुक्त मुस्कान छाडे । अनि, पत्नी र पुत्रीको काखमा ढले । र, सूर्यलाई एकोहोरो हेरिरहे ।

०००

(श्रोत :- नयाँ पत्रिका – २९ असार २०७० )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.