कथा : शताब्दी

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

‘अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बै“स  हेर्नुपथ्र्यो । मेरो बै“स ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा खुबै आनन्द आउँछ । बिहेअघि मेरा उनीले मलाई देउरालीबाटै सुसेलेर डाक्थे । म एकैसासमा उनलाई भेट्न पुग्थेँ । जसरी रूखको टुप्पोमा भाले जुरेली कराँउछ, अनि तल कतैबाट खुसुक्क पोथी जुरेली त्यहाँ पुग्छे ।
देउरालीमा पुग्दा आफूलाई अझै उस्तै तरुनी ठान्छु । सेतो कपालमा रातै गुराँस फुलेको पाउँछु । मेरा उनीले छपक्कै लाली–गुराँस लगाइदिन्थे । भन्थे, तिम्रो गाला गुराँसभन्दा रातो छ । देउरालीलाई साक्षी राखेर कसम खान्थ्यौँ, ‘यो लेकमा गुरा“स फुल्दासम्म हामीले एक–अर्कालाई भुल्नेछैनौँ ।’

कति मानिसले धर्म छाडे होलान् ।  यो लेकमा गुराँस फुल्न छाडेको छैन, मैले पनि उनलाई भुल्न सकेकी छैन ।’

बूढीआमैले मलाई आफ्ना अनेक अनुभव र गहिरा कुरा सुनाएकी छन् । झन्डै एक शताब्दी लामो जीवन कहानी नै सुनाएकी छन् ।

उनको प्रेम–कहानीको काखमा भने म हारेको थिएँ । भावनाको नाता नै सही, म उनको छोरा÷नातिजस्तै बन्न पुगेको थिएँ । एक किसिमले म उनको काखमा हुर्किएँ । आज १६ वर्षको भएँ ।

हालसालै बूढीआमै खसिन् । ९६ वटा हिउँद खाइन् उनले । जीवनको नियति भनौँ, ९७औँ हिउँदले भने उनैलाई खायो ।

सबैले बत्तीबज्यै भनेर चिन्थे उनलाई । उनले कपासको बत्ती कात्थिन् । मुठा–मुठा पारेर माना–पाथी अन्नसँग साट्थिन् । सेतो कपाल । सेतै विधवा पहिरन । मध्यम कद । उत्साही आवाज । गोरो उज्यालो अनुहार । भन्डैझन्डै बत्तीबज्यै बलिरहेको बत्तीजस्तै थिइन् ।

मान्छेको अनुहारमा हेरेकै भरमा उसले गल्ती गरेनगरेको, अन्यायमा परेनपरेको, अनि उसको नियत र संस्कार सजिलै खुट्ट्याउन सक्थिन् उनले । बत्तीबज्यैलाई गाउँका बूढापाका, केटाकेटी सबैले सम्मानपूर्वक हेर्थे । उनको उमेर–अनुभव, बोली–व्यवहारले निर्माण गरेको जुन छवि थियो, त्यस छवि–छायामा गाउँ–छिमेकका  ठूलाबडा सबै ओइलाउँथे ।

‘बाँच्दासम्म यही माटो भोग–चलन गर्ने हो । मरेपछि यही माटोमा मिल्ने हो । यो पृथ्वी ठूलो जनावरजस्तै हो । हामी उपियाँउडुसजस्तै हौँ । व्यर्थै  किन मान्छे उफ्रेर अरूभन्दा माथि जान खोज्छ ? अरूलाई चुसेर धेरै मोटाउन खोज्छ ? सबै मिलेर धर्तीलाई भोग–चलन गरे हुने ।’

मान्छेभित्र सत् हुन्छ । त्यो सत्ले पहिले त सबै मानिसलाई समान देख्छ । त्यो सत्ले न्यायअन्याय खुट्ट्याउन सक्छ । मान्छेले आफ्नो सत्लाई बेच्यो भने उसले धर्म छाड्यो भनेर जान्नु ।

अर्को कुरा, मान्छेभित्र सबैभन्दा उपद्रो कुरा त माया–पिरती हुन्छ ।

माया जालमा फस्दै नफस्नु फसिहाले नभाग्नू ।
जोगी भएर हिँड्नु बरु मायाको भिख नमाग्नू ।।

यो संसारै माया–मोह त हो नि । यसबाट भागेर कहाँ जानु । माया भिख लिनेदिने वस्तु पनि होइन, किन भिख माग्नु । माया–पिरतीमा  मान्छेको जात र धन–सम्पत्ति बाधा हुनुहुँदैन ।’

केही समयअघि गाउँका जग्गा विवाद, करणी, नाजायज सम्बन्ध, प्रेम–प्रसंगजस्ता मुद्दा मिलाउने  विषयमा पञ्चका माझ बत्तीबज्यै बोलेकी थिइन् । उनी बोल्दा पञ्च मौन थियो, कुनै धर्मगुरुको प्रवचन सुनेजस्तै ।  जहाँसुकै उनी बोल्दा कसैले खोकिहाले पनि उसले गल्ती गरेको महसुस गथ्र्यो । यही नै उनीप्रतिको सम्मान थियो । पञ्च बस्दा बत्तीबज्यैले विवादका विषयमा आफ्ना केही कुरा राख्थिन् । अनि एउटा निर्णय दिन्थिन् र तत्कालै हिँडिहाल्थिन् ।

पञ्चले आफ्नो कुरा मानोस्नमानोस्, ध्यान दिन्नथिइन् । अन्ततः पञ्चमा उनकै निर्णय मान्य हुन्थ्यो ।

०००

उनकै अनुसार उनी यस गाउँमा तीस वर्षअघि आएकी हुन्, आफ्ना पतिसँग ।  आउँदा केही तोला सुन र पेन्सन–पट्टा लिएर आएका थिए । उनका पति बेलायत सरकारको भूतपूर्व सैनिक थिए । आएकै साल उनका पति खसे, त्यस्तै ६५ वर्षको उमेरमा । उनका पति उनीभन्दा झन्डै चार वर्ष जेठा थिए ।

यहाँ आएर यो दम्पतीले यति मात्रै बताएको थियो, ‘हाम्रँे घर पूर्वमा पर्छ । हाम्रँ छोरानाति सहर–बजारतिर लागे, गाउँ–ठाउँमा रहर गरेनन् । हाम्रँे घरबारी पनि पहिरोले लग्यो । खै कुन भाग्यले हो, हामी बूढाबूढी भने बाँच्यौँ । त्यसपछि विरक्तिएर हिँडेका हामी यहाँ आइपुग्यौँ । किन–किन यस गाउँसँग हाम्रो कुनै पुरानो नाता भएझैँ लाग्यो । हामी यहाँ घरजम गरी बस्न चाहन्छौँ ।’

यहाँको समाजले यी वृद्धावृद्धलाई आश्रय दियो । राम्रै घरजम गरी बस्न थाले ।

मेरा बाले बत्तीबज्यैको गारो–सारो काम गरिदिन्थे— जोत्ने–खन्ने, घर–गोठ मर्मत गर्ने, कपडा सिलाउने यस्तै–यस्तै । मेरी आमाले मेलापातको काममा सघाउँथिन् । गाउँ–घरमा तल्लो जात र निम्न वर्गले ठूला–बडालाई सघाएरै जीविका चलाउने त हुन् । जेहोस्, हाम्रो परिवारलाई बत्तीबज्यैले विशेष माया गर्थिन् । यसै सिलसिलामा म पनि बत्तीबज्यैको प्रिय–पात्र बन्न पुगेँ । उनले मलाई कान्छा भनेर बोलाउँथिन् ।

बत्तीबज्यै र हाम्रो घर वारिपारि थियो, बीचमा एउटा खोल्सो । उनले आफ्नो घरबाट कान्छा भनेर बोलाएको मैले मेरो घरमा लगभग सुन्थेँ । उनले बोलाइन् र मैले सुनेँ, उनको आवाज खोल्सातिरै प्रतिध्वनित भइरहेकै बेला म उनको घरमा पुग्थेँ सायद ।

उनी मलाई मीठो–मीठो खान दिन्थिन् । कहिलेकाहीँ खुद्रा काम अह्राउ“थिन् । कति धारिलो माया गर्थिन् उनले मलाई । मैले कतै सानो बिराम गरेको कसैले सुनायो भने पनि उनले मलाई डाक्थिन् । सबै जानीजानी पनि म उनको घरमा जान्थेँ । पहिले पेटभरि खान दिन्थिन् । अनि, बिरामको कुरा उठाएर सानो लौरीले मेरो पिँडौलामा माया र रिस खन्याउँथिन् । उनले नबोलाईकन म उनको घरमा जान्नँथेँ । दुईचार दिनसम्म पनि बोलाइनन् भने मैले जानीजानी बिराम गर्थें । कतिको खुर्सानी बारीको बार, जिम्मावालहरूको कुलो भत्काइदिन्थेँ । ताकि उनले मलाई बोलाऊन् ।

उनले मलाई त्यति धेरै माया गरेको रहस्य जब थाहा पाएँ, नबोलाईकनै म उनको घरमा जाने भएँ ।
उनले एकदिन रहस्य खोलिन्—
म यही गाउँकी जिम्मावाल खान्दानकी छोरी हुँ । नौ वर्षकी हुँदा मुखिया खान्दानमा मेरो बिहे भएको थियो । बिहेपछि पनि म माइतीमै बस्थेँ । मेरा पति संस्कृत पढ्न नेपाल (अहिलेको काठमाडांै) वा बनारस यस्तै कता गएका थिए । मैले मेरा पतिलाई राम्रोसँग चिनेकी पनि थिइनँ । उनीप्रति मेरो माया पलाउन पाएकै थिएन । म तरुनी हुँदै गएँ । बरु मेरो मनमा अरू कसैको माया पलायो, उनी तल्लो जातका थिए । म सत्रअठार पुगेपछि हामी भाग्यौँ, कलिलो माया हुर्काउन लाग्यौँ ।

तल्लो जातको भएर मुखिया–जिम्मावाल खान्दानमा हात हाल्नु, वा मेरा उनीले मलाई भगाउनु, बघिनीको मुखबाट डमरु छटाउनुजस्तै थियो । त्यसका लागि बाघै हुनुपथ्र्यो, उनी भए । बाघले सिकार लिएर जसरी आफ्नो गन्तव्यतिर भाग्छ, उसरी नै हामी भाग्दै–भाग्दै नेपाल खाल्डोदेखि धेरै पूर्व पुग्यौँ । एक रात एउटा ठाँटीमा बास बसेका थियौँ । राति हामीलाई बाघले आक्रमण ग¥यो । मेरा उनीले खुकुरीको भरमा बाघ मारे । त्यो घाइते बाघ नरभक्षी रहेछ । त्यसले त्यहाँका मुखियाको सन्तानलाई पनि खाएको रहेछ । मुखियाले त्यो बाघ मार्नेलाई केही जमिन दिने घोषणा गरेका रहेछन् । हल्ला–खल्लापछि हामीलाई राति नै मुखियाकहाँ पु¥याइयो । हामीले साँचो–साँचो बतायौँ । मुखिया ठूलो दिलका रहेछन् । हामीलाई पानी चल्ने जात बनाए । सत्य र माया–पिरती ईश्वरकै शक्ति भएर हो कि, हामी जीवनभरको दुःखबाट मुक्त भयौँ । सोच्थेँ,  राजाले नै ‘सबैलाई पानी चल्ने जात’ घोषणा किन नगरेका होलान् ? यसो गर्दा कति धेरै मान्छे ठूलो दुःखबाट सजिलै मुक्त हुन्थे । हुनत, राजालाई यी मान्छेको दुःख थाहै छैन होला, कसले भनेर थाहा होवोस् । कहिलेकाहीँ त मलाई यस्तै आवाज लिएर राजाकहाँ जाने मन हुन्थ्यो ।

पछि, मेरा उनी लाहुरे भए । पेन्सन आए । हाम्रा छोरानाति सहर–बजार बस्ने, विदेश पढ्ने भए ।
एकदिन आफ्ना सन्तानलाई हाम्रो कथा सुनायौँ, तर आफूहरू तल्लो जातको शाखा–सन्तान भएको उनीहरूले मन पराएनन् । बिस्तारै हाम्रा सन्तानले हामीलाई नै मन पराउन छाडे । त्यसपछि हामी विरक्तिएर हिँड्यौँ । आफ्नै गाउँ फर्कियौँ । यहाँ हामीलाई कसैले चिनेनन् । आफू जन्मेको, हुर्केको, खेलेको, माया–पिरती भएको ठाउँमै आज यो बुढेसकाल बाँच्न पाउँदा आफूलाई सौभाग्यवती ठानेकी छु ।
कान्छा ! तैँले मेरा उनीलाई त देखिनस् । उनी बितेको पनि आज त्यस्तै तीस वर्ष भयो । नाताले मेरा उनी तेरा हजुरबा पर्छन् ।

कहिलेकाहीँ आफ्ना पतिको कुरा गर्दागर्दै बत्तीबज्यैले रहस्यमयी आँसु झार्थिन्, म त्यो आँसुसँगै गल्थेँ । कहिलेकाहीँ खै कुन सुख सम्झेर हो, उस्तै रहस्यमयी हाँसो हाँस्थिन्, म त्यो हाँसोसँगै बल्थेँ ।

बत्तीबज्यैले आफ्नो कथा सारा गाउँलेलाई सुनाएर मात्र मर्छु भनेकी थिइन् । तर, हिउँदको झरीले हठात् उनी खसिन् । अब उनको कथा म दुनियाँलाई सुनाउँदै हिँड्नेछु ।

०००

म चौध वर्षकी हुँदा यो कथा मलाई कान्छाले नै सुनाएको थियो । कथा सुनाएकै रात कान्छा गाउँ छाडेर गयो । अझै फर्केको छैन ।

सानोमा मलाई सबैले कान्छीमैयाँ भन्थे, कान्छाले पनि यही भन्थ्यो । एउटै स्कुलमा पढ्ने, एउटै गाउँले थियौँ हामी । बत्तीबज्यैको घरमा पनि हाम्रो भेट भइरहन्थ्यो ।

एकदिन गुराँस टिप्न जाँदा कान्छा रूखबाट लड्यो । भुइँमा लडेपछि उठ्नै सकेन । म डाँको छोडेर रोएँ । गाउँले आएर खै के–के गरे । दुईचार दिनमै कान्छालाई सञ्चो भयो । कान्छा लड्दा म रोएको कुरा बत्तीबज्यैले थाहा पाइछन् । उनले हामी दुवैलाई बोलाएर जिस्काउन थालिन् । मैले लजाउँदै कान्छालाई नियालेँ । बत्तीबज्यैको सामु आफू कम लजाएकामा बल्ल लाज लाग्यो, कान्छा त भुतुक्कै भएको थियो ।
एक दिन मैले कान्छालाई सोधेकी थिएँ, ‘तिमीले किन जिम्मावालहरूको कुलो भत्कायौ ?’

‘यो भत्काएपछि घरमा बोलाएर मलाई बत्तीबज्यैले गाली गर्नुहुन्छ, उहाँले नबोलाएको धेरै दिन भयो ।’
कान्छाको कुरा मैले बत्तीबज्यैलाई सुनाएँ । उनले यति मात्र भनिन्, ‘म मरेपछि त्यसलाई कसले बोलाउँछ ।’

आज दस वर्ष बित्यो । म चौबीस वर्षकी भएँ । सहरबाट ग्राजुएसन सकेपछि गाउँकै विद्यालयमा पढाउन थालेकी छु । घरमा मेरो बिहेको कुरा चलेको छ ।

बत्तीबज्यैको प्रेम र वैवाहिक जीवन सम्झन्छु । उनले बाँचेको झन्डै एक शताब्दीको अवधिमा संसारभरि नै रंगभेद, जातीय विभेद-छुवाछुत उन्मूलनका लागि धेरै प्रयास भए, अझै जारी छ ।

आज कान्छा कहाँ होला ? यो दश वर्षमा देशमा ठूलो राजनीतिक परिवर्तन भयो । कैयौँ सहिद भए । डर लाग्छ, कतै कान्छा पनि… । हिजो खुर्सानीको बार र जिम्मावालहरूको कुलो भत्काउँदै हिँड्ने कान्छा, आज समाजका कुरीति, विकृति, विसंगतिलाई भत्काउँदै हिँडेको होला कि ! मानवीय प्रेम बाँड्दै हिँडेको होला वा मानव धर्म छाडेको होला !

जेहोस्, अझै यो लेकमा गुराँस फुल्न छाडेको छैन, मैले पनि कान्छालाई भुल्न सकेकी छैन ।

०००

(श्रोत :- Dhrubasatya’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.