~लक्ष्मी गाइजू~
मोहनको आफ्नो लाठे बैँस आफ्नै अगाडि लम्पसार थियो । १६ वर्षे अल्लारे बैँसले छुँदै थियो उसलाई । तर, उसको बाबु मनोहरलाई भने ऊ कामै नआएको एउटा चिसो मुढाजस्तो थियो । न कुनै आकारमा ढाल्न मिल्छ, न त बालेर आगो ताप्न नै ।
मनोहरलाई भ्याइनभ्याई थियो व्यापार गर्दैमा । पिठो बिकाउने बोलीले व्यापार पनि खूब चलेकै थियो र फाइदा पनि दिन दुई गुणा रात चौगुणा हुँदै थियो । ऊ मोहनलाई पनि आफ्नै व्यापार व्यवसायमा लगाउन चाहन्थ्यो । त्यसैले, ऊ जहिले पनि छोरालाई किचकिच गरिरहन्थ्यो ।
एक दिन मोहनलाई आफ्नो बाबुलाई कति सताइरहने, अब त अलि सहयोग गर्नुप¥यो भन्ने दिमागमा आएछ । त्यसैले, ऊ सहयोगको निम्ति पसलतिर लाग्यो । पसलमा व्यापारको निम्ति बोराका बोरा सामान ल्याइएको रहेछ । मनोहरलाई त्यत्तिको सामान कसरी गोदाममा हाल्ने जस्तो भइरहेको थियो । तर, छोरोलाई देख्नासाथ उसको मन चौतारीमा भारी बिसाएझैँ हलुका भयो । उसको हर्षको सीमा रहेन । डाँडामाथि टहलिरहेको सूर्यलाई पनि डाँडाले निल्न थालेकाले दुई बाबुछोरा छिटोछिटो सामान ओसार्न थाले ।
लगभग सबै सामान गोदाममा थन्क्याई सकिएको थियो । अघिदेखि मनोहरले छुट्टै राखेको एउटा बोरामात्र बाँकी भयो । बाबुको आदेश शिरोपर गर्दै उक्त बोरा पनि उठाएर लान खोज्यो । तर, हठात् उसको मनमा त्यो बोराभित्र के रै’छ जान्न मन लाग्यो । त्यसैले, अँध्यारोमा छामछुम गर्दै पसल बन्द गर्न लागेको मनोहरतिर प्रश्न तेस्र्यायो–
‘यो बोराभित्र के छ बुबा ?’
‘चामलमा हाल्ने मसला’– मनोहरको छोटो जवाफ थियो ।
मोहनलाई अचम्म लाग्यो । चामलमा हाल्ने मसला ? भनेर सोच्दै बोरा उठाएर गोदामतिर लग्यो । लोडसेडिङले गर्दा चारैतिर कालिमा व्याप्त थियो ।
‘आज बुबालाई त खुशी पारियो, अब चामलमा हाल्ने मसला लगिदिएर आमालाई पनि खुशी पार्नुप¥यो क्यारे !’ यति सोच्दै बोराबाट एक मुठी मसला बोकेर ऊ फटाफट घरको भान्सातिर लाग्यो । हीरामाया खाना पकाउँदै थिई ।
‘आमा, एकछिन ढक्कन खोल्नुस् त’– मोहनले अनुरोध ग¥यो ।
हीरामायाले अचम्म मान्दै कुकरको ढक्कन खोलिदिई । केही नहेरी आफूले ल्याएको एक मुठी मसला चामल हालिएको भाँडामा हालिदियो ।
‘होइन के हालेको भातमा ?’– हीरामायको सोझो प्रश्न थियो ।
‘चामलमा हाल्ने मसला हो, आमा । यसले भात स्वादिष्ट बनाउँछ’– मोहनले जवाफ दियो ।
मख्ख पर्दै हीरामाया भने भान्साको कामधन्दामा व्यस्त भइन् ।
मनोहर थकित अनुहार लिएर भान्सातिर झुल्क्यो । दिउँसोदेखि सामानहरु व्यवस्थित गर्दागर्दै दिउँसोको खाजा खाने फुर्सद पनि मिलाएको थिएन, उसले । त्यसैले, उसको पेटभित्र मुसाको आन्दोलन चल्न थालेको थियो । श्रीमान्को यस्तो हरिबिजोगको कारण श्रीमतीले बुझिन् । त्यसैले, छिटै भात पस्किदिइन् ।
मैनको मधुरो बत्तीमा उसले भोक मेटाउने चेष्टा ग¥यो । भोकको सुरमा दाल, भात र तरकारी मुछेर गाँस टिप्यो र मुखमा हाल्यो ।
‘ऐया बाबा, के हो यो ? मेरो दाँत नै भाँचियो’– मनोहरको आवाजले हीरामाया थर्कमान भइन् ।
‘के भयो, किन कराउनुभएको ?’– हीरामायाले सोधिन् ।
‘तैँले कुन चामल पकाइस्, ढुङ्गैढुङ्गा छ भातमा ?’ मनोहरले कड्केर बोल्यो ।
तीन छक्क पर्दै हीरामायाले भनिन्– ‘मैले त हजुरले ल्याउनुभएकै चामल पकाएको हो । अँ बरू, छोरोले चामलमा हाल्ने मसला भनेर एक मुठी के हो हालेको थियो’– उनले सम्झिँदै भनिन् ।
‘ए गधा, के हालिस् मसला–ससला भनेर ?’– पसलको वार्तालाप सम्झेर मनोहर करायो ।
कानमा एयरफोन हालेर मस्त धुनमा बसेको मोहनको कानसम्मै उसको आवाज ठोक्कियो । बाबुको कड्किलो आवाज सुनेर मोहन छिटोछिटो भान्सा कोठामा प्रवेश ग¥यो र वातावरणलाई बुझ्ने चेष्टा ग¥यो ।
‘ओई भाते, तैँले भातमा के मसला हालिस् ?’– रातोपिरो हुँदै मनोहर बोल्यो ।
‘अघि तपाईंले भनेकै मसला हालेको नि बोराबाट झिकेर’– मोहनले सामान्य उत्तर दियो ।
‘ए गधा, तँ व्यापारीको छोरो भएर त्यति पनि बुझिनस् ? त्यो मसला त दाल, चामल, गेडागुडीमा तौल बढाउन ल्याइराखेको ढुंगाका टुक्रा हुन् । तैँले एकचोटि सोध्नुपर्दैन ल्याउनलाई ?’
‘मलाई के थाहा त नि, आफैँले मसला भनेको होइन ?’– यति भन्दै मोहन ओझेल भयो ।
मनोहर पनि के भनौँ र के नभनौँ अनि के गरौँ र के नगरौँ भएर चुपचाप बस्यो । ढुकुरलाई हालेको चारा कुकुरलाई प¥यो । सबै जना चुपचाप भोकै बसिरहे ।
(श्रोत :- Chitwanpost )