~नगेन्द्र इङगनम ‘आठराइली’~
एउटा सुखी परिवारको शान्त वातावरणमा पढाइ । हर सफलताका खुड्किलाहरु चढ्दै पवन दशौं कक्षामा पुगेको थियो । दैवको रचना या भाग्यको भनौं– पोखराबाट दार्जिलिङसम्मको यात्रामा रहेका उसका बुबाआमा अचानक दुर्घटनामा परेर बुबाको देहावसान भयो भने आमा सख्त घाइते भएर अस्पतालमा पु¥याएको थियो । समयले यसरी धोका दिएकोले पवनलाई उसको शिरमाथि कर्तव्यको एउटा गह्रौं भारले थिचो दियो । परिस्थितिबस उसले भाइबहिनीको रेखदेख गर्ने र घरव्यवहार सञ्चालन गर्नुपर्ने बाध्यतामा बाँधिनु पर्ने भयो ।
यिनै घरायसी कारणहरुले गर्दा पढाइमा पछि पर्नु त स्वाभाविक नै थियो । एवं रीतले विद्यालयको अतिरिक्त क्रियाकलापमा समेत उचित समय दिन नसकेको कारण उसका साथीहरु पनि ऊबाट बिस्तारै बिस्तारै टाढिन थाले । लामो समयको उपचारपछि आमालाई आराम त भयो । तर उसको मानसिक सन्तुलनमा गडबडी देखियो । पवनलाई डाक्टरहरुले कुनै पनि हालतमा अनि कहिल्यै पनि उसको आमाको मानसिकतामा असर पर्ने कामहरु गर्नै नहुने सल्लाह दिए ।
पवनले बडो मुस्किलका साथ एसएलसी पास ग¥यो । बाध्यताले उसलाई नोकरी गर्न करै लाग्यो । तसर्थ, बिहान कलेजमा क्लास लिएर दिनमा काम गर्न थाल्यो । हरेक व्यक्तिका एउटा–एउटा असल साथीहरु मिल्दै आएका हुन्छन् । त्यस्तै प्रतिमा पनि पवनको बाल्यकालदेखिकै असल साथी थिइन् । उनीहरु दुवैको ऐच्छिक विषय एउटै भएकोले सँगै कलेज पढ्ने मौका पाए । पवनको व्यस्तताको कारण प्रायः धेरै साथीहरु अलगअलग भैसकेका थिए । अब उसको सहनुभूति दिने साथीको रुपमा प्रतिमा मात्र रहिन् । प्रतिमा पनि पवनको हर कदममा साथ दिन थालिन् र लगातार नोटहरू बनाउँथिन् र पवनलाई पढ्ने सुविधा उपलब्ध गराउन थालिन् । यसरी प्रतिमाको साथ र सहयोग पाएकोले कुनै पनि समस्या नपरी नै पवनले कलेज पास गर्न सफल भयो ।
फागु पूर्णिमाको दिन थियो । सबैजना साथीहरु हाँसीखुसीसाथ होली खेल्नमा व्यस्त थिए । तर आफ्नो आमाको ज्यादै गम्भीर मुद्रा देखेर उनको नजिकै बसेर पवनले प्यारले अंगाल्दै सोध्न थाल्यो– ‘आमा, हजुरलाई किन यस्तो नरमाइलो लाग्यो ? भन्नुस् न म सहयोग गर्न सक्थें कि ?’ लामो सुस्केरा फेर्दै आमाले पवनलाई एउटा कुरा सोध्ने प्रस्ताव राखिन् । पवनले आफ्नी आमाको सबै चाहनाहरु पूरा गर्दै आएको थियो । त्यो उसको कर्तव्य मात्र नभएर बाध्यता थियो किनकि आमाको मानसिकतामा दखल पर्नसाथ एउटी ममताकी खानी उसको आमाको जीवनमा नराम्रो असर पर्न सक्थ्यो ।
आमा बोल्दै गइन्, पवनले सबै स्वीकार्दै गयो । आमाको सल्लाहअनुसार उसले केही आर्थिक उपार्जनका लागि विदेसिनुपर्ने भयो । आमाले पवनलाई दैनिक पत्रिकामा विज्ञापन दिइरहेको वैदेशिक रोजगारको अवसर दिलाउने कार्यालयमा सम्पर्क गर्न लगाइन् । पवनले त्यस कार्यालयमा गएर सम्पर्क गरी आवश्यक कागजातहरु जम्मा ग¥यो । कार्यालयको निर्देशनअनुसार पवनले ३५ दिनभित्र काम दिने मुलुकतिर लाग्नका लागि तयारी गर्नुपर्ने भयो ।
कर्तव्य र बाध्यताको बन्धन कति बलियो हुन्छ, त्यो त बन्धनभरि जकडिएपछि मात्रै थाहा हुन्छ । पवन पनि त्यस्तै बाध्यताको जालमा फस्दै गयो, उसको धेरै पढ्ने धोको बीचमै टुंगिने गयो । उसले सम्पूर्ण इच्छाहरुलाई दिलको पिँजडामा कैद गर्दै परिवार र एकात्मीय प्रतिमासँग बिछोडिएर टाढा रहनु परेको छ । उसको मनमा ठूलो भय छ । यदि पैसा कमाउन नसके आमाको सपना पूरा हुन सक्दैन । चाँडै घर फर्किन नसके प्रतिमा र उसको मायाको सागरमा खडेरी लागेर बगर मात्र रहन सक्छ । पवन विशाल दुविधामा परेको छ, आमालाई दिएको बचन पनि पूरा गर्नु छ । अर्कोतिर आफैले स्याहार्दै ल्याएको फूलको बिरुवामा पनि प्रीतिको फूल फुलाउनु छ भने उसले जुनसुकै मार्ग अपनाएर पनि धनी बन्नुपर्छ ।
परदेशको मामलामा धेरै गाह्रो पर्छ । एकातिर परिवार र अर्कोतिर परिवार र साथीहरुको विछोडले मान्छेलाई वियोगमा पारी राखेको हुन्छ भने अर्कोतर्फ पराईको खटनमा रहेर कामको तालमेल मिलाउनुपर्ने हुन्छ । त्यसमा पनि हाम्रो देशको पढाइको स्तर कमसल छ, व्यावसायिक शिक्षाको अभाव छ । त्यसैले शुरुशुरुमा भाषाको कठिनाइ र कामको अनुभवको कमीका कारण स्वभावैले पुराना र अनुभवीहरुको तुलनामा कम ज्यालामा काम गर्नुपर्ने हुन्छ । समय बित्दै गयो । जसोतसो पवनको कमाइले घर सञ्चालन भाइबहिनीहरुको पढाइखर्चसम्म चल्दै थियो । तर पवनको तुलनामा छिमेकीका छोराहरुले धेरै पैसा पठाउन थालेको कारण सबैले बस्नलाई घर र घुमफिरका लागि गाडीको व्यवस्था गरिसकेका थिए ।
एकदिन आमासँगको फोनवार्तामा पवनले यो विषयमा निकै नै चर्चा सुन्नुप¥यो । आमाले पवनलाई छिमेकीहरुको जीवनस्तरमा पुग्न सक्नुपर्ने उनको इच्छा रहेको बताइन् । नत्र ऊनी रिसाउने भइन्, त्यसैले पवनले घर बनाउनलाई चाहिने जति रकम आमालाई छिट्टै पठाइदिने आश्वासन दियो । पवनको बचनले आमा त खुशी थिइन् तर पवन ठूलो संकटमा प¥र्यो । किनकि अरुको तुलनामा उसको कमाइ एक तिहाई मात्रै थियो । पवनलाई नपिएर नै मातिएको प्रतीत हुन थाल्यो, रिंगटा लागेर आँखाहरु धुम्मधुम्म हुन थाले । अब पवनको तनमन हरबखत पैसामा होमिन थाल्यो ।
(श्रोत :- Vishwanews)