कथा : नान्दी

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

उसले भयानक सपना देखेछ।र, एक रातका लागि मलाई किन्यो, २५ हजार रुपैयाँतिरेर। हेर्दा सामान्य लाग्थ्यो। आधा तोला सुन बराबर रकम एक रातमा खर्च ! किन गरोस्। कसरी गरोस्। यस्तै सामान्य लाग्थ्यो।खाटमा बसिरहेकी मलाई यसरी उठायो। जस्तो, विवाह मण्डपमा बेहुलाले बेहुली उठाएको होस्।

‘तिमी को हौ? के गर्छ्यौ?’

उसको अनौठो व्यवहार देखेर सोध्छु। ऊ केही नबोली मलाई बोकिरहन्छ। मानौं, मलाई बोकेर थाक्दैन।

ऊ किन यस्तो नाटक गरिरहेछ? म सशंकित हुन्छु। कमजोर आत्मविश्वास भएकाहरू नै अनावश्यक शंका गर्छन्। मेरो सशंकित अनुहार उसले सजिलै पढ्छ। भन्छ, अज्ञानी।पुरुषहरू स्त्रीलाई साँचो माया गरेको नाममा पनि झुटो बोल्छन्, गोरीलाई पनि काली भनेर। अथवा, अबुझ अर्थ लाग्ने नाम दिन्छन्– लाटी, बेहोसी यस्तै।तर, ऊ भन्छ– अज्ञानी।

‘म कसरी अज्ञानी भएँ?’

‘तिमी यो ठानिरहेकी छौ– म कुनै त्यस्तो धनाढ्य व्यापारी होइन, जसले आफ्नै जीवन खरिद–बिक्रीको वस्तु सम्झेको होस्। म त्यो चारघन्टे ड्युटीमा बसेको पुलिस होइन, जसले माथिको आदेश वा सनकको भरमा तिमीहरू जस्तालाई दुई मिनेट दख्खल पुर्‍याओस्। म त्यस्तो डन होइन, जसले कर्मचारी थर्काएर टेन्डर पारोस्। म त्यस्तो अधिकृत होइन, जो इतिहासका मिति घोकेर वा भनसुनका भरमा सरकारी जागिर खाएको होस्। तलबबाहेक कमिसनजस्तै स्वास्नी खोज्दै यहाँआएको होस्। र, तिमीलाई शंका छ– म केही हुँ।

आकाश खस्छ कि भनेर चिन्ता गर्नु अज्ञान हो।
आफै खस्छु कि भनेर चिन्तन गर्नु ज्ञान हो।
हुँदै नभएको आकाश खस्दैन सानु, शंका नगर।’

‘भो, ठूला कुरा नगर।’

मलाई उसको कुराले रिस उठ्छ। लाछी। आफूले केही गर्न सक्ने होइन, अरूको रिस गर्छ। उसले आफूलाई जे होइन भनेको छ, मलाई ऊ त्यही हुनुपरेको छ। जसले मलाई पैसामाथि सुताउन सकोस्।

मेरो आवेशलाई उसले केटाकेटीको रिस जस्तै लिन्छ।
‘जाऊ, नुहाएर आऊ,’ अभिभावकले झैं आदेश दिन्छ।

‘कुनै पनि शृङ्गार नगर्नू। गरिबकी छोरी गाजल धेरै लाउँछे,’ म बाथरुम छिर्दै गर्दा उसले भन्यो।

पानीले नै नुहाइरहेकी थिएँ। तर, ममाथि यिनै शब्द बर्सिरहेझैं लागिरहेथ्यो– गरिबकी छोरी गाजल धेरै लाउँछे।

म गरिबकी छोरी– नान्दी नेपाली। स्कुलमा हुने गायन, नृत्य, कविता प्रतियोगितामा प्रायः प्रथम हुन्थें। गाउँमा धेरैले मेरो प्रतिभा र रूपको प्रशंसा गर्थे। भन्थे, नान्दी नामुद कलाकार बन्छे। धेरैले सहानुभूति राख्थे, सायद टुहुरी भनेर। सातौं सन्तान जन्माउन नसकेर आमा बितिन्। मैले पढेको सौतेनी आमा रिस गर्थिन्। अनेक दुःखसँगै एसएलसी कटाएँ। गायिका, नायिका, लेखिका बन्ने सपना बोकेर शहर आएँ। गाउँकै एउटी दिदीसँग बस्थें। उनी फुटपाथमा मकै पोलेर बेच्थिन्। बल्लतल्ल रेस्टुरेन्टमा गीत गाउने काम पाएँ। जस्तो सोच/लक्ष्य उस्तै काम। पहिले त के के न पाएजस्तो लागेको थियो।

रेस्टुरेन्ट मालिक तलब दिने बेला सधैं लामो हात गर्थ्यो। मेरो अस्मिता मुठीमा लिन खोज्थ्यो। कोही नभएकी, गरिबकी छोरी भनेपछि सबैले स्वास्नीकै रूपमै हेर्ने। अति भएपछि गाउन छाडें।

सँगै बस्ने दिदी पनि गाउँफर्किइन्। महँगीले बस्न नसकेर। एक्लै भएँ। आफैंले नकमाए भोकै पर्थें।

रेस्टुरेन्टमै चिनेको एउटा दाइ थियो– काजी। निकै चिप्लो पारेर बोल्थ्यो। मेरो अफिस आऊ, काम दिन्छु, यति राम्री तिमी सस्तो रेस्टुरेन्टमा देखिनु हुँदैन भन्थ्यो। कागजी बिहे गरी तीन जनालाई नक्कली बहिनी बनाएर उसले अफिस चलाएको रहेछ। ट्राभल एजेन्सी वा यस्तै अर्को अफिस छ भन्थ्यो। म काम खोज्दै उसकोमा पुगें। उसको अफिसमा काम पाउन अनिवार्य योग्यता– रूप र जवानी। म गएकै दिन तीन जनालाई त अयोग्य भनी पठायो। मैले काम पाएँ– एक रात बिताएको दस हजार।

मेरो पहिलो ग्राहक नै बुझिनसक्नु छ। मैले नुहाएर आउँदा उसले पूजाका सामग्री तयार पारेको थियो।
‘के गर्न लागेको?’

‘पूजा। तिमीलाई थाहा छैन? हाम्रो समाजमा कुनै पनि शुभकार्य थाल्नुअघि पूजा गरिन्छ।’

पहिले त ऊ पागलजस्तो लागेको थियो। तर, कुनै प्रसिद्ध देवीलाई जस्तै निकै श्रद्धापूर्वक, संयमित र स्वाभाविक भएर उसले मेरो पूजा गर्छ। म हेरेको हेर्‍यै हुन्छु। तीनपटक त मेरो खुट्टामा ढोग्यो। अनि, उसको मप्रतिको श्रद्धा र सम्मानदेखि भने स्वयं पागल हुन पुगें। स्त्रीहरू कति छिट्टै पग्लन्छन्।

त्यो रात उसले यति रोचक र रोमाञ्चित बनाइदियो। जस्तो, वर्षौंदेखि प्रतीक्षा गरेको सपनाको राजकुमारसँग सुहागरात मनाउँदैछु। स्त्रीसँग कसरी बोल्ने, चल्ने, जिस्कने ऊ माहिर लाग्थ्यो। हामीबीच धेरै कुरा भए।

मेरो धेरै अनुरोधपछि मात्र ऊ रहस्य खोल्छ–
मैले सपना देखें, राजा भएको। घोडा चढी आफ्नै राज्यमा घुम्दाघुम्दै एउटा गरिब बस्तीमा पुग्छु। त्यहाँका भोका–नांगाले मेरो श्रीपेचमा आगो लगाइदिन्छन्। हँसिया–हथौडा लिएर मलाई लखेट्छन्। मेरो घोडा बेस्सरी कुदेर सम्भ्रान्तहरूको बस्तीमा पुग्छ। त्यहाँका सुकिला–मुकिलाले मलाई बचाउन खोज्छन्। दुवै पक्षबीच घमासान युद्ध हुन्छ। के गरूँ, के नगरूँ, म असमञ्जसमा हुन्छु। अकस्मात मेरो चेत खुल्छ, यो सब सपना हो।

गरिबको छोरो गरिबकै पक्षमा लड्नुपर्छ। सपनामै होस्, न्याय गर्नैपर्छ। म गरिबको पक्षमा उभिन्छु। तर, कुनै षड्यन्त्र सम्झेर मलाई गरिबहरूले स्विकारेनन्। पछि, सम्भ्रान्तहरूले स्विकार्ने कुरै भएन। दुवै पक्ष मिलेर मलाई लखेट्न थाल्छन्। मेरो घोडा वेगले कुदिरहेको हुन्छ। एउटा नदी तरेर बगरमा पुगेपछि घोडा बस्छ। म ब्युँझन्छु।

यो भयानक सपनाले मलाई धेरै दिन बिथोलिरह्यो। तर, कसैलाई भनिनँ। केही दिनपछि फेरि सपना देखें। कुनै मन्दिर परिसरमा एउटी बूढीआमाले भनिन्, ‘छोरा, तैंले देखेको सपनाको अर्थ गहिरो छ। अरूले अर्थ लगाएर हुँदैन। आफैंले बु‰न सक्नुपर्छ। यसको फल अशुभ छ। तँलाई ठूलो अनिष्ट पर्न सक्छ।

तर, तँभाग्यमानी छस्। अनिष्ट हुनुपूर्व नै लक्षण पाएको छस्। यस्तो सपना जो–कोहीले देख्दैन।

संकटमोचनको विधि छ तर सहज छैन। जुन म बताउँछु। दियो बालेर सेता फूल, अक्षता र जलले आफ्नै आमाको योनीमा पूजा गर्नू, कुनै मन्त्रोच्चारण गर्नु पर्दैन। मन स्थिर भई सम्पूर्ण रूपमा श्रद्धाभाव नआउँदासम्म पूजा गरिरहनू। अवश्य तेरो संकटमोचन हुनेछ।’

सदियौंदेखि शिवलिंगको पूजा गरिँदै आएको यो समाज, जहाँबूढीआमाले बताएको संकटमोचन विधि सम्भवै छैन। अन्ततः चोरबाटो खोज्दै तिमीसँग आइपुगें।

‘तिम्रो श्रीमती?’

मेरो बिहे भएको छैन। सानैदेखि मैले समानतालाई मन पराउँथें। एकोहोरो प्रेम गरें, दस वर्षभन्दा बढी। २०६४, २८ चैतको दिन हातमा लालीगुराँस लिएर म उनको सामु उभिएँ, एउटा घुँडाले टेकेर। मलाई सहजै स्विकारिन्। छिट्टै बिहे गर्नेमा हामी वचनबद्ध थियौं। तर, जात, गोत्र, दाइजोमा कुरा नमिलेर बिहे भाँडियो।
‘तिमी सपनामाथि पनि विश्वास गर्छौ?’

तिमीले पनि सपना पालेकी थियौ– गायिका, नायिका, लेखिका बन्ने। तर, तिमीले आफ्नै सपनामा विश्वास गर्दिनौ। आफ्नै सपनामाथि विश्वास नगर्नेहरू नै अरूको सपनाका लागि बिक्न पुग्छन्।

०००

किन किन ऊसँग बिताएको रात मेरो जीवनको घोर घुम्ती बन्यो।

निर्णय गरें, अब मेहनत गरेर पढ्छु। लेखिका बनेरै छाड्छु। सडकमा मकै पोलेर बेच्छु। तर, आफ्ना सपना बेच्दिनँ।

केही दिनपछि काजी दाइले फोन गर्‍यो, ‘भरे आऊ। गाँठवाला इन्डियन छ। तिमीलाई टिप पनि दिन्छ।’
मैले नआउने बताएँ। ‘फोटो र भिडियो हेरेर उसले तिमीलाई नै रोजेको छ। तिमी आउनैपर्छ। आइनौ भने,’ उसले धम्की दियो।

भरे म गइनँ। राति १० बजेतिर मेरो डेरामा पुलिस आयो। देखें, इन्स्पेक्टर थापा। जसले रेस्टुरेन्टमा गाउँदा धेरैपटक मलाई जबर्जस्त गर्न खोजेको थियो। रेस्टुरेन्ट मालिकले पनि इन्स्पेक्टर सरको मन राखिदेऊ भन्थ्यो। सात जना पुलिसले मेरो कोठा छापा हान्छन्। इन्स्पेक्टर थापा रवाफिलो शैलीमा प्रस्तुत हुन्छ, ‘विशेष सुराकीका आधारमा हामी आएका हौं। तैंले वेश्यावृत्ति र गाँजा–चरेसको धन्दा गर्छेस्!’

केहीबेर कोठाका सामान यताउता छरेपछि उनीहरू गए। यता, घरबेटीको चेतावनी, ‘भोलि बिहान ६ बजे कोठामा साँचो लगाउँछु। त्यसअघि नै कोठा खाली गर्नू।’

भोलिपल्ट–
पहिलोपटक शहर आउँदा लगाएर आएको कुर्ता–सुरुवाल लगाएँ। आँखामा धेरै गाजल दलें। गाउँबाटै ल्याएको झोला भिरें, चप्पल लगाएँ। र, झिसमिसेमै कोठाबाट निस्कें।

रत्नपार्कतिर फुटपाथमा एउटी दिदीले पकाएको चिया पिउँदै थिएँ। उनी सोध्दै थिइन्, ‘भर्खरै गाउँबाट आएको हो बहिनी? कोही बिरामीलाई भेट्न आएको हौ कि?’

‘हो, दिदी। दाइलाई भेट्न आएको। इन्स्पेक्टर हुनुहुन्छ। आज उहाँको टाउकाको अप्रेसन छ।’

त्यहीबेला रेस्टुरेन्ट मालिकको फोन आयो। ‘कहाँछौ? सञ्चै छौ? चटक्कै माया मार्‍यौ त! ठूलै प्रगति गर्‍यौ कि? अचेल यता पनि आउँदिनौं। भरे आऊ न रेस्टुरेन्टतिर। भेटघाट गरौं,’ उसले यस्तै भाषा बोल्यो।

‘दाइ पनि। बैनीले माया मारेकी छैन। भरे होइन, अहिले नै आउँछे। बरु इन्स्पेक्टर सरको मन राख्न सकिनँ। उहाँरिसाउनु भएजस्तो छ। उहाँलाई पनि खबर गर्नू, म छिटै आउँछु,’ म उस्तै बनिदिएँ। जस्तो, उसको उद्देश्य थियो।

भर्खरै दसैं–तिहार सकिएको। काठमाडौं खाल्टोलाई बिस्तारै चिसोले छोप्न खोज्दै थियो। बिहानीपख। धमाधम सडक बढारिँदै थियो। कलेज–ट्युसन जाने, मर्निङ–वाक गर्ने फटाफट हिँड्दै थिए। चिया पिएपछि सुस्त–सुस्त सडकमा मैले उही अनौठो सपना देख्नेलाई फोन गरें। ऊ गाउँगएको रहेछ।

भन्दै थियो—
मैले फेरि सपनामा उनै बूढीआमा देखें। भनिन्, ‘मैले तँलाई आफ्नै आमाको योनीमा पूजा गर्नू भनेकी थिएँ। तैंले चलाखी गरिस्। चलाखीले ज्ञान र शान्ति प्राप्त हुँदैन। तेरो बुद्धिले भ्याएसम्म जे गरिस्, ठीकै गरिस्। मैले सम्पूर्ण श्रद्धाभावमा पूजा गर्नू भनेकी थिएँ। तर, पूजा गर्दागर्दै तँएकपटक उत्तेजित भएको थिइस्। उत्तेजित अवस्थामा श्रद्धाभाव आउँदैन। पूजाको विधि पुगेन छोरा। केही छैन, म अर्को सजिलो विधि बताउँछु। अबदेखि स्वतःस्फूर्त कुनै वृद्धाआमाको सेवा गरी बस्नू। सेवालाई कुनै बन्धन र सजायको रूपमा नलिनू। पुण्य सम्झेर सेवा गरिरहनू। अथाह सुख, शान्ति र समृद्धि अवश्य प्राप्त गर्नेछस्।’

यता, घरबाट आमाले पनि बारम्बार फोन गर्नुभयो। हरेक दिन सपनामा तँलाई नै देख्छु भनेर बोलाउनुभयो। त्यसैले म गाउँआएँ। अब केही गर्ने सोच्दैछु।

०००

ऊसँग फोनमा धेरै कुरा हुन सकेन। नेटवर्कले धोका दियो। मध्याह्नतिर म रेस्टुरेन्ट पुगें। इन्स्पेक्टर थापा विशेष कक्षमा बसेको रहेछ। उस्तै निर्दोष मुस्कान दिएँ। जस्तो, शहर आएको सुरु–सुरुमा मुस्काउँथें। ऊ मलाई लट्ठ परेर हेर्न थाल्छ।

शिरमा लगाउन वा देउरालीलाई चढाउन होस्, एउटा फूल चुडाउँदा दिल दुख्थ्यो। एउटा अन्डा फुटाउँदा हात काम्थ्यो, जिउँदो चल्ला छ कि भनेर। हो, साह्रै क्रूर बनेर मैले इन्स्पेक्टर थापाको हत्या गरें। मैले झोलामा खुकुरी लिएर गएकी थिएँ। उसको सामुन्ने उभिएर शिरमा प्रहार गरें।

त्यो रात कुमारित्व तोडिएपछि निकै रोएकी थिएँ। ऊ भन्दै थियो– ‘यो आँसु। शिरमा ताज पहिरिँदै गरेकी सुन्दरीको आँसु। अनि, भीरमा घाँस काट्दै गरेकी, स्कुल–कलेजको मुखै नदेखेकी, हृदयभरि माया सँगालेर कुनै परदेशीको प्रतीक्षामा बसेकी दिलमायाको आँसु। सबैका आँसु नै हुन्। तर, यिनीहरूले एक–अर्काको आँसुलाई जान्दैनन्।’

यो कठघरामा उभिएर म कुनै पश्चाताप र क्षमा–याचना गर्दिनँ। मलाई यो अदालतको जस्तोसुकै फैसला मञ्जुर छ। सजाय भोग्नुअघि एकपटक उनै आमालाई भेट्न चाहन्छु। जुन आमाको सन्तानको सपनाले मेरा सपनाको हत्या हुनबाट जोगाएको छ। एकपटक म उनै आमाको स्पर्श चाहन्छु।

(श्रोत :- Drubasatya’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.