~ध्रुवसत्य परियार~
सामान्य पुरुषलाई लोभ्याउन उसको व्यक्तित्व काफी थियो। पातलो शरीर। छिनेको कम्मर। बाटुलो अनुहार। ठूला आँखा। मीठो बोली। मादक मुस्कान। अहो!
सामान्य क्याफेभित्र हामी वारिपारि थियौँ। वेटरले मिल्क-कफी राखेर गएछ, थाहै पाइनँ। सायद म उसको सुन्दरतामै हराइरहेको थिएँ।
‘मैले कालो-चिया भनेको थिएँ,’ वेटरलाई सम्झाएँ।
‘एक्स क्युज मी, मैले पनि मिल्क-कफी भनेकी थिएँ, ब्ल्याक-टी आयो, मिस्टेक भएछ, साटौँ ल,’ मुस्कानसहित मधुर आवाज, दोहोर्याएर सुन्न चाहन्थेँ। तर, नसुनेको बहाना बनाउन जानिनँ।
‘हुन्छ,’ मैले अनुमति दिएँ।
ऊ कप साटेर गई।
नृत्य कक्षाको त्यो पहिलो बिहान थियो। चार जना केटा, चार जना केटी। एउटीचाहिँ उही केटी जसलाई भर्खरै क्याफेमा भेटेको थिएँ। मैले सबैसँग समान व्यवहार गरेँ। केटीहरूप्रति खासै रुचि नदेखाएजस्तो गरेँ। परिचय भयो। त्यस युवतीको नाम रहेछ- आरती आचार्य।
एक दिन आरती मेरो छेवैमा उभिई। गुरुले नृत्यका चाल सिकाउँदै थिए। उसले गुरुलाई उजुरी गरी, ‘सर, दर्शनले धेरैचोटि आफ्नो हात मेरो छातीसम्म ल्यायो। इट्स टु मच, आई क्यान्ट स्ट्यान्ड।’
‘हो, दर्शन?’ गुरुले मलाई सोधे।
‘होला सर, उसैले हो भनेपछि मैले कसरी होइन भनूँ !’
‘उसले हो भनेर हो कि तिमीले साँच्चिकै छोएको हो,’ गुरुले चर्को स्वर गरे।
‘सर, उसैलाई सोध्नुस्, नाच्दानाच्दै कसलाई कहाँ छुन पुगेँ, मलाई थाहा छैन।’
‘के हो आरती?’ गुरु आरतीतिर फर्किए।
‘मैले भनिसकेँ त,’ आरती उजुरीको अडानमै रही।
‘दर्शन, आरतीसँग माफ माग्छौ कि बाहिर जान्छौ ?’ गुरुले गुरुकै अधिकार प्रयोग गरे।
‘दुवै गर्छु सर, आरती मलाई माफ गर,’ यति भनेर म हिँडेँ।
000
लगत्तै म नजिकैको अर्को डान्स सेन्टरमा भर्ना भएँ। नृत्य कक्षापछि छेवैको क्याफेमा चिया पिउँथे, प्रायः एक्लै, जहाँ पहिलो दिन आरतीलाई भेटेको थिएँ। पछि पनि क्याफेमा प्रायः आरती र मेरो नजर जुध्थ्यो, कुनै नाता नभएझैँ। त्यसलाई हामी दुवै स्वाभाविक बनाउँथ्यौँ। आखिर नजर जुध्नुजस्तो दोहोरो गल्ती अरू के हुन सक्छ र!
आरती सधैँ नै केही साथीसँग हुन्थी। उसको आफ्नै संसार थियो।
एक दिन म क्याफेमा मःमः खाँदै थिए। भर्खरै सुरु गरेको मात्र के थिएँ। एउटा पागलजस्तो अद्बैँसे आयो। मसँगै बसेर उसले मैले खाँदै गरेको मःमः कपाकप खान थाल्यो। उसले मःमः खाएको मैले यसरी हेर्न पुगेँछु, मानौँ उसले खाइसक्दा म एक किसिमले अघाएँछु।
वेटरले झस्क्यायो, ‘दाइ तपाईँलाई अर्को केही ल्याइदिउँ ?’
‘पर्दैन,’ म त्यहाँबाट उठ्न खोज्दै थिएँ।
‘मन्त्रीकी छोरी छे नि, त्यो निष्ठुरी। त्यसको मन छैन। त्यसको मुटु छैन। त्यसको दिल छैन,’ त्यो पागलजस्तो मानिसले पागलै कुरा गर्यो।
जेहोस्, उसको कुराले मलाई कतै छोयो र यताउता हेर्न थालेँ। मेरा आँखा आरतीका आँखामाथि टक्क अडिए। आरतीले नजर झुकाई।
क्याफेको साहुको गालीले उसलाई छोएन। ऊ बर्बराउँदै थियो, ‘यो सहरमा मानिस मानिसको साथी हुनै सक्दैन। कतै फुटपाथमा मानिस भुस्याहा कुकुरको साथी बन्छ। कतै सोफामा मानिस महँगा कुकुरको साथी बन्छ। तर, मानिस मानिसको साथी बन्नै सक्दैन। जसरी म कम्युनिस्ट बन्न सकिनँ, उसको प्रेमी बन्न सकिनँ। (चर्को हाँसो हाँस्दै) म प्रेमी नै हुँ, तर पागलप्रेमी।’
सबैको ध्यान उही पागलप्रेमीकै कुरामा थियो। चिया-खाजाको पैसा तिरेर म हिँडँे। थोरै सडक हिँडेको थिएँ, मलाई कसैले हर्न दिँदै बाटो छेक्यो। देखेँ, स्कुटरमा आरती। उही आकर्षक शरीर।
‘तपाईँको बुक, क्याफेमा छुटेको थियो,’ ऊ मुस्कुराउँदै बोली।
‘थ्यांक यु,’ म पनि मुस्काएँ। सहयोगका लागि धन्यवाद र मुस्कानका लागि मुस्कान दिएपछि हामीबीच लेनदेन बाँकी रहेन, म हिँड्न लागेँ।
‘कहाँ पुग्ने हो? म पुर्याइदिन्छु’, उसले नयाँ सम्बन्धको हात बढाई।
‘भो पर्दैन, नजिकै छ, यति त हिँडिहाल्छु,’ भनेर म हिँडेँ।
भोलिपल्ट-
म क्याफे छिर्ने मनस्थितिमा थिइनँ। क्याफेको ढोकैमा आरती उभिएकी थिई। मुस्कानको लेनदेन भयो।
‘चिया नपिउने?’ मैले बाटो काट्न लागेको देखेर उसले सोधी।
‘आज नपिउने,’ मैले रोकिँदै भनँे।
‘हतार छ र ?’
‘फुर्सद नै छ तर मुड छैन।’
‘घमण्डी’ भन्दै ऊ मेरो छेउ आई र मेरो हात समाएर क्याफेभित्र लगी।
आफूले मन पराएको र माया गरेको मान्छेको माया र रिस। जीवनमा यस्तो सुखद क्षण कमै भाग्यमानीले मात्रै भोग्न पाउँछन्। भाग्य बनाउन पनि कला, नीति र बुद्धि चाहिने। यस्तै-यस्तै कल्पनामा म आरतीको छेउमा हराइरहेको थिएँ। हामी एउटै मेचमा थियौँ।
‘तिमीलाई याद छ ?’ आरती बोली।
‘के कुरा ?’
‘हाम्रो पहिलो भेट यही क्याफेमा भएको थियो, तिम्रो चिया र मेरो कफी साटिएको थियो।’
‘होइन, तिम्रो कफी र मेरा चियामात्र साटिएको थिएन ।’
‘अनि के त ?’
‘मेरो त माया पनि साटिएको थियो,’ मैले भनेँ।
आरती केही बोलिन। थोरै डराएकी, धेरै लजाएकी, रिसाएकी तर रिसमा माया मिसाएकी।
‘जेपीटी’ केही बेरपछि आरती ‘एसएमएस’को भाषा बोली, ‘जे पायो त्यही।’
कफी आयो, परिस्थिति बदलियो। उसले मेरो बारे सोध्न थाली।
‘एउटा निजी विद्यालयमा चित्रकला पढाउँछु, चित्रकला सिक्दै छु पनि। घर पश्चिम, नाम दर्शन दर्जी,’ मैले आफ्नो बारे स्पष्ट भनिदिएँ।
‘भर्खरै बीबीए सकेँ, फिटनेसका लागि डान्स सिक्दै छु,’ उसले पनि आफ्नो बारे बताई, जुन मलाई पहिले नै थाहा थियो।
‘हो, तिमी कवि-चित्रकारजस्तै देखिन्छौ। नरिसाऊ ल एउटा कुरा सोध्छु।’
‘सोध न।’
‘दर्जी भनेको तल्लो जात होइन र?’
‘हो, तिमी मान्छ्यौ भने।’
‘त्यस्तो होइन, तर तिमी तल्लो जातजस्तो देखिन्नौँ।’
‘तल्लो जात कस्तो देखिन्छ र ?’
‘त्यो त थाहा छैन। तर, तिम्रो बोली, विश्वास, पर्सनालिटी हेर्दा तिमी ‘हाइ-कास्ट’ नै लाग्छौ।’
म केही बोलिनँ। ऊसँग जातीयताबारे बहस गर्नु व्यर्थ छ। उसलाई हाम्रो कथित सभ्यताले तल्लो जात र निम्न वर्गलाई दया गर्न सिकाएको छ। माया र सम्मान गर्न होइन।
‘रिसायौ?’ म नबोलेको देखेर सोधी।
‘रिसाउँदा कस्तो देखिन्छु र?’ म नहाँसी बोलेँ।
ऊ हाँस्दै मःमः खान थाली।
केही दिन बिते। हामी काठमाडौँ खाल्डोदेखि पर जाने भयौँ, उसको स्कुटरमा।
बनेपातिर उसले स्कुटर हाँकिरहेकी थिई। हिउँदको समय, जाडो थियो। सडकछेवैको बारीमा आगो बलेको देखियो। मैले आगो ताप्न गरेको आग्रह उसले स्विकारी। दुवैले सुकेका बोटबिरुवा बटुलेर ठूलो आगो बाल्यौँ। एउटा आगोको झिल्को उडेर मेरो घाँटीमा आयो। आरतीले अत्तालिँदै झिल्को हातले टिपेर फाली, मैले पोलेको महसुस गर्नुभन्दा अगावै।
‘दर्शन, यसरी आगो बलेको देख्दा मलाई सानो छँदाको याद हुन्छ,’ यसो भनिरहँदा ऊ बच्चाजस्तै देखिएकी थिई। उसको कुरा सुन्न खोजेको मेरो आवाज र इसारासँगै ऊ अघि बढी।
‘पश्चिम पहाडी गाउँमा हाम्रो घर थियो। त्यस घरमा अहिले माइला बुबा बस्नुहुन्छ। हाम्रो बुबाले यतै काठमाडौँमा घर बनाउनुभयो। म सात वर्षदेखि सहर आएकी हुँ। गाउँमा छँदा हाम्रो घर-बारीमा काम गर्ने उमा दिदीको छोरा ठूले मेरो मिल्ने साथी थियो। हामी बारीमा आगो बालेर खेल्थ्यौँ। म ठूलो आगो बल्दा खुसी हुन्थेँ। ठूलेले जसरी हुन्छ, ठूलो आगो बाल्थ्यो। म सहर आउने साल नै होला, एक दिन हामी बारीभरि डुल्यौँ। ठूलो आगो बालेर हामी रमाउन सकेनौँ। हामी डुल्दाडुल्दै ठूलेको सानो घरमा पुग्यौँ। ठूलेले आफ्नो घर जलाएर ठूलो आगो बाल्ने भन्यो। ‘तिमी कहाँ बस्छौ यो घर जलाएपछि? तिम्रो घरको खानेकुरा, कपडा जल्दैन?’ मैले सोधेँ।
‘यो घर जलाएर तिम्रो जत्रै ढुंगाले छाएको घर बनाउँछौँ। हाम्रो घरमा केही छैन, भरे बा-आमाले काम गरेर जे ल्याउनुहुन्छ, त्यही खाने हो,’ उसले भन्यो।
केटाकेटी बुद्धि मैले पनि उसको कुरा मानेँ। उसले आगो झोस्यो। घर जल्न थाल्यो। जतिजति आगो बढ्दै गयो हामी उत्ति नै खुसीले रमायौँ। केही बेरमै मान्छे जम्मा भए। घर जलाएको भनेर ठूलेलाई पिट्न थाले। म डराएर रोइरहेकी थिएँ। हजुरबुबाले मलाई घरमा ल्याउनुभयो। सहरबाट कहिलेकाहीँ गाउँ जाँदा म हजुरबा-हजुरआमासँग ठूलेको हालखबर सोध्थेँ। तल्लो जात र गरिबहरूसँग साथी बन्नु हुँदैन भनेर हजुरआमाले मलाई गाली गर्नुहुन्थ्यो। पछि त ठूले माओवादीमा लागेर मर्यो भन्ने खबर सुनाउनुभयो। कहिलेकाहीँ सोच्छु, कस्तो हो त्यो ठूले जसले मलाई खुसी बनाउन आफ्नो घर जलाउँथ्यो ?’
‘दर्शन, मलाई किन हो, तिमी उही ठूलेजस्तै लाग्छौ ?’ आरती बोली।
म नाजवाफ भएँ। त्यो दिन हामी त्यहीँबाट काठमाडौँ फर्कियौँ।
मैले नृत्यको कक्षा लिन छाडेँ। एक दिन आरतीले फोन गरी, ‘दर्शन, मैले तिमीलाई सुनाएकी थिएँ नि † म सानो छँदाको कथा। ठ्याक्कै मेरो कथासँग मिल्ने एउटा पेन्टिङ भेटेँ।’
‘पेन्टिङमा के छ त्यस्तो?’ मैले सोधेँ।
‘त्यस्तो खास केही छैन। ‘गरिबी’ शीर्षक छ। हुन्छ नि, गरिबहरू बस्ने घर…।’
‘झुपडी’ मैले भनेँ।
‘हो हो, झुपडी जलाएर दुई बालबालिका रमाएका छन्। हुन्छ नि, सारा टेन्सन जलाएजस्तो गरी। हेर्दै आनन्द लाग्ने, मैले त किनेर ल्याएँ।’
‘तिम्रो साथी श्रेयाको ड्याडीको बोर्डिङ स्कुलबाट ल्याएको होला, होइन?’
‘हो हो, तिमीलाई कसरी थाहा भो?’
‘आरती म तिमीलाई यो सहरमा पाँच वर्षदेखि पछ्याइरहेको छु। तिमी कुनै दिन श्रेयासँग त्यो स्कुल जानेछौ, पेन्टिङ देख्नेछौ र आफ्नो बाल्यकालको साथी सम्झनेछौ×। यही उद्देश्यले मैले पाँच वर्षअघि उपहारस्वरूप त्यो पेन्टिङ दिएको थिएँ। पेन्टिङमा हेर त, कसको नाम-हस्ताक्षर र कुन मिति छ ?’
‘दर्शन, ठूले तिमी नै हौ ?’ गला अवरुद्ध पार्दै आरती बोली।
‘हो, आरती तिम्रो मनमा थोरै खुसी छर्न आफ्नो घर जलाउने ठूले मै हुँ। मेरो खुसी तिम्रो निर्णयमा छ। फेरि फोन गर्दा एउटा निर्णय गरेर मात्र फोन गर।’
यति भनेर मैले फोन राखेँ।
बीचमा एकपटक आरतीको मामाको फोन आयो। उनी इन्स्पेक्टर रहेछन्। धम्कीपूर्ण भाषा बोले, ‘तैँले आरतीको पिछा गरेको छस् भन्ने सुन्छु, के हो? त्यो मेरो भान्जी हो, होस गर!’
‘हो, म आरतीलाई प्रेम गर्छु,’ मैले भनेँ।
‘तेरो के हैसियत छ आरतीलाई प्रेम गर्ने? भलो चाहन्छस् भने आजैदेखि आरतीको पछि लाग्न छाडिहाल्!’
‘एकोहोरो प्रेम न हो, छाड्नु/नछाड्नुको के अर्थ? बरु आरतीलाई सोध्नुस्, उनले पनि मलाई प्रेम गर्छिन् भने हाम्रो प्रेममा बाधा बन्न तपाईँँलाई कुनै अधिकार हुने छैन,’ मैले भनेँ।
……
दुई वर्ष बित्यो, आरतीको फोन आएको छैन। कहिलेकाहीँ डायरीका यी हरफमा मेरा आँखा अडिन पुग्छन्-
प्रेममा विश्वास गर्छु जति प्रतीक्षामा गर्दिनँ म।
आउँछु भन्ने नआउन सक्छ कसैको भर पर्दिनँ म।।
(श्रोत :- Drubasatya’s Blog )