~ध्रुवसत्य परियार~
तीन कक्षामा पढ्दा साथीले घरमा लग्यो, बास बस्ने गरी । म निदाएको थिइनँ । साथीकी आमा छिमेकीसँग कुरा गर्दै हुनुहुन्थ्यो- यो छोराले पनि पढेर ठूलो मान्छे बन्ने छाँट देखाएको छैन । अहिलेदेखि नै डुल्दै हिँड्छ, घरमा कामी-दमैलाई ल्याउँछ ।
प्रायः मैले यो समाज र सभ्यताले दिएको आफ्नो जातलाई बिर्सन्छु । जुन मेरा लागि एउटा रोग बनेको छ । रोगले कुनै न कुनै पीडा दिन्छन् नै । मलाई यो जात बिर्सने रोगले पनि पीडा दिँदै आएको छ ।
जब यो रोग लाग्छ, तब आफूलाई केवल मान्छे पाउँछु- कुनै जात, धर्म, वर्ग, क्षेत्रको नभएर । र, अरूलाई पनि आफूजस्तै मान्छे देख्छु । चाहन्छु, यही रोगमै बाँचू, यही रोगले मरूँ । तर, यसो नहुने भएर नै यो मेरा लागि रोग बनेको छ ।
सानैदेखि देख्थेँ, हाम्रो घरमा आउनेलाई पिँढी/आँगनमा पिर्का/गुन्द्रीमा बसाइन्थ्यो । म हजुरबासँग अरूको घरमा जाँदा पनि त्यसै गरिन्थ्यो । लाग्थ्यो, सबैले यसै गर्छन्, यसै गर्ने हो ।
तीन कक्षामा पढ्दा साथीले घरमा लग्यो, बास बस्ने गरी । जीवनमा साथीको घरमा बास बसेको त्यो पहिलो रात थियो । हिउँदको समय, गाउँका बारी खाली हुन्थे । स्कुल छुट्टी भएपछि बाटो छाडेर बारीतिर लाग्यौँ । बारी, बाटोमा हामी केवल बालक थियौँ । निष्छल थियौँ, निर्दोष थियौँ । हाम्रो कुनै जात, धर्म, क्षेत्र थिएन । विचार, भावनाले हामी एक थियौँ । सँगसँगै हाँस्दै-खेल्दै भरे अवेला जब साथीको घरमा पुग्यौँ, हामी छुट्टयिौँ । साथी घरभित्र, म बाहिर भएँ । स्कुल छुट्टी भएपछि घर नगएर खेल्दै हिँडेको खबर आ-आफ्नो घरमा पुगिसकेको थियो । साथीको आमाले दुवैलाई गाली गर्नुभयो । त्यो थोरै गालीमा धेरै माया थियो । मायाले नै मलाई बाहिर पिँढीमा खुवाइयो र बाहिरै सुताइयो । म निदाएको थिइनँ । साथीकी आमा छिमेकीसँग कुरा गर्दै हुनुहुन्थ्यो- यो छोराले पनि पढेर ठूलो मान्छे बन्ने छाँट देखाएको छैन । अहिलेदेखि नै डुल्दै हिँड्छ, घरमा कामी-दमैलाई ल्याउँछ ।
स्याङ्जा चापाकोट-८ मा सात-आठ घरको दमै गाउँ । सबैभन्दा पुछारमा हाम्रो घर । हामीभन्दा माथि पनि दलित बस्ती नै थियो । सबैभन्दा माथि ठकुरी गाउँ । पुछारमा घर भएकाले पनि अन्य जातिका मानिससँग हाम्राे त्यति घुलमिल हुँदैनथ्यो । हाम्राे पानी पँधेरो पनि छुट्टै छ ।
स्कुलले नै मलाई सबैभन्दा पहिले मान्छेको जात पढायो । माथिल्ला जातिले कक्षा-कोठाको बेन्चमा झोला राखेर भन्थे, ‘झोलामा छोइने कुरा छ, तल्लो जातले छुनु हुँदैन ।’
तल्लो जात भनिएका हामी बाध्य भएर पछाडि बेन्चमा बस्थ्यौँ, बेन्च नपुगे भुइँमा । स्कुलमा र स्कुल जाँदा-आउँदा बाटोमा मलाई अरू केटाकेटीले ‘दमै केटा, दमै केटा’ भन्थे ।
तीन कक्षा पढ्दा ठकुरी साथीको घरमा बास बसेको सम्झना किन-किन सधैँ ताजा भइदिन्छ । यसकारण पनि होला, तीन कक्षामा म प्रथम भएँ । रातै अबिरसँग घरमा जाँदा हजुरबा मदेखि असाध्यै खुसी हुनुभएको थियो । जीवनमा मैले हजुरबालाई त्यति खुसी बनाएको त्यो नै पहिलो र अन्तिमजस्तो लाग्छ ।
पाँचसम्म गाउँकै जनजागृति प्राविमा पढेँ । ६ देखि एसएलसीसम्म गंगालाल माविमा । माविमा पढ्न जानु पनि ठूलै कुरा थियो । प्रायः दलितहरू चार/पाँच कक्षादेखि नै पढ्न छाड्छन् ।
माविमा धेरै विद्यार्थी थिए । विद्यार्थी धेरै भएर होला कक्षाकोठामा भने जातीय भेदभाव त्यसै हराएको पाएँ । गाउँ-बेंसीको पायक । स्कुलबाट र्फकंदा उकालो मात्रै हिँड्नुपथ्र्यो । बीचमा वन थियो । वनको मुखैमा दामगाडे भन्ने चौतारी । त्यहाँ, तीन घर मगर थिए । स्कुलबाट थाकेर आएका धेरै विद्यार्थी त्यहाँ पानी पिउँथे । दलितले पानीको भाँडा छुनु हुँदैनथ्यो । साथीहरूले भाँडाबाट पानी खन्याइदिन्थे, मैले मुख बाएर वा अञ्जुलीले पानी खान्थेँ । सबै थाकेर आउने भएकाले पनि कहिलेकाहीँ साथीहरू मलाई पानी खन्याइदिन झिजो मान्थे । एउटाले अर्कोलाई देखाएर पन्छन्थे ।
स्कुलबाट र्फकंदा प्रायः रमाइलो हुन्थ्यो । हाँसखेल गर्दै उकालो हिँड्थ्यौँ । प्रायः साथीहरूसँग रमाउँदा रमाउँदै मैले आफ्नो जातै बिर्सन्थे । हामी सबैको एउटै जात ‘विद्यार्थी’ हुन्थ्यो । उकालो बाटो तिर्खाएर जब हामी दामगाडे आइपुग्थ्यौँ, तब जात बिर्सने रोगले मलाई पीडा दिन्थ्यो । मैले त्यहाँ कैयौँपटक असाध्यै तिर्खाउँदा पनि पानी पिइनँ ।
नौ कक्षामा पुगेपछि साथीहरूको एउटा समूह बन्यो । १०-११ जनाको समूहमा म मात्र दलित थिएँ । हामीसँगै ट्युसन पढ्थ्यौँ । प्रायः सबै सँगै हिँड्थ्यौँ । रमाइलै हुन्थ्यो । जब कुनै साथीको घरमा जान्थ्यौँ, सबै घरभित्र हुन्थे, म बाहिर । अनि, मलाई नरमाइलो लाग्थ्यो ।
पाँच कक्षासम्म प्रथम/दोश्रो भइरहन्थेँ । तर ६ देखि जेनतेन पास हुन थालेँ । त्यहाँ चार-पाँचवटा प्राविबाट आएका सिपालु विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपथ्र्यो । धेरै विद्यार्थी, पढ्नेले पढ्थ्यो, नपढ्ने भाग्थ्यो, कुनै बन्देज थिएन । योबीचमा खैनी-चुरोट खाने कोसिस पनि गरेँ । खै कुन सौभाग्यले हो, खैनी-चुरोटलाई मेरो शरीरले सहेन । यसमा लत लागेन । खैनी मुखमा राखेपछि भनभनी घुमाउँथ्यो । एकसर्को चुरोटले दिनभरि खोकी लाग्थ्यो ।
स्कुल छाडेर खासै भाग्दिनथेँ । पढ्नुपर्छ भन्ने सानैदेखि लाग्थ्यो । पहिलोपटक ठकुरी साथीको घरमा बास बसेपछि मेरो मनमा धेरै विचार आए । हजुरबासँग सोधेँ, ‘जात के हो ? मान्छे कसरी ठूलो मान्छे हुन्छ ? हामीलाई किन सबैले हेप्छन् ?’
हजुरबा भन्नुहुन्थ्यो- कहीँ गए पनि आफ्नो जात नलुकाऊनू, पढ्नू, सीप सिक्नू र इमानमा बस्नू ।’
बाले भारतमा नोकरी गर्ने भएकाले पनि म हजुरबाको काखमा हुर्कें । सानैदेखि हजुरबालाई रामायण पढेर सुनाउँथे । हजुरबालाई रामायण पढेर सुनाएपछि मैले अन्य घरको काम गर्नुपर्दर्ैनथ्यो । घाँस काट्ने, पानी ल्याउने, आदि घरको काम गर्ने अल्छीले पनि सानैमा धेरैपटक रामायण पढेँ ।
बर्खाको वेला दिदीसँग गाईवस्तु चराउन गएको थिएँ । मेरै कारणले गाई हरायो । आफूलाई रामायणको राम-लक्ष्मण, लव-कुश र हनुमान सम्झन्थेँ । गाईवस्तु पर पुगेपछि बेसरी दौडेर फर्काउन जान्थेँ । गाईले नेटो काटेछ । भरे हजुरबाले गाली गर्नुभयो । सधैँ माया गर्ने हजुरबाले गाली गरेपछि म घर छाडेर हिँडेँ । खोलो कहाँ पुग्छ, गण्डकी कहाँ पुग्छ भन्दै एउटा भव्य घरमा पुगेँ । त्यो घर चापाकोट सेरोफेरोकै नामुद साहु भुवानेश्वर आचार्यको रहेछ, पछि थाहा पाएँ । हाम्रो घरमा मट्टीतेल हुँदा टुकी बाल्थ्यौँ । नहुँदा, आगो-अगुल्टोले नै निर्वाह गथ्र्यौं । अहिलेजस्तो बिजुली थिएन । भरे अवेला त्यो घरमा पुग्दा झिलीमिली थियो । वरपर फूलैफूल, ठूलो गोठ, चारैतिर गोबर ग्यासको बत्ती, रमाइलो मानीमानी त्यो सब हेर्दै थिएँ ।
सानो केटो, साँझपख, आफ्नो घरवरपर रमाइरहेको देखेर होला, त्यो घरकी आमाले मलाई बोलाइन् ।
‘माथि डाँडामा घर, दमै थर,’ मैले यस्तै भनेँ ।
‘मगर गुरुङ भएको भए पानी चल्थ्यो । दमै परिस् । सोझो रैछस् । घर-परिवार पनि रैछ । अब हाम्रैमा गोठालो बस् । बा-आमाले खोजेछन् भने जालास्,’ ती आमाले बास दिइन् ।
त्यो रात त्यहीँ बसेँ । भोलिपल्ट कालीको तिरैतिरै कतै पर जाने सोचेको थिएँ । सम्झँदा अचम्म लाग्छ, कहाँ जान हिँडेको होला ? रामायणको प्रभाव, कतै पर सानी सीता र सुनको मृग भेट्छुजस्तो लाग्थ्यो ।
त्यो घरमा पनि बाहिरै खाएँ, बाहिरै सुतेँ । जहाँ गए पनि जातसँगै जाने भएपछि मलाई नरमाइलो लाग्न थाल्यो । सोचेको थिएँ- कतै पर पुगेर जात ढाँट्छु । मलाई आफ्नो जातप्रति सम्पूर्ण रूपमा घृणा लागिसकेको थियो । त्यो घरमा दुई रात बिताएँ । कालीको किनारमा गोठालो जाँदा त्यसै रमाइलो लाग्यो । तेस्रो दिन मलाई खोज्दै हजुरबा पुग्नुभयो र घर फर्कें ।
हाम्रो गाउँमा दलितले ठकुरीहरूलाई ‘बाबुसाहेब’, ‘मैयाँसाहेब’ भन्थे, यो चलन अझै छ । ठकुरी जातको सानो बच्चाले पनि वृद्धवृद्धा दलितलाई ‘तिमी’ भनेर सम्बोधन गर्छन् । तर, वृद्धवृद्धा दलितले जुनसुकै उमेरको ठकुरीलाई ‘हजुर’ भनी सम्बोधन गर्छन् । यसरी सम्बोधन नगरे ठूलो बन्न खोज्यो भनिन्छ ।
११/१२ वर्षको हुँदा एउटा ठकुरीको घरमा पूजाको निम्तो मान्न गएको थिएँ । दुना-टपरीमा प्रसाद बाँडिदै थियो । माथिल्ला जातिले हातैबाट प्रसाद लिने र तल्ला जातले भुइँमा राखेको टपरी टिप्नुपर्ने रहेछ । मलाई ख्यालै भएन । मैले हातैबाट प्रसाद झिकेँ । प्रसाद बाँड्ने दिदीले गाली गरिन्, ‘तल्लो जात भएर तलै बस्न जान्नुपर्छ ।’
गाउँमा हरेक वर्ष दशैँमा कालिका देवीको पूजा हुन्छ । ठकुरी गाउँको बीचमा कोतघर छ । नवमीको दिन रातभरि कोतमा दमैहरूले बाजा बजाउँछन् । गाउँका दमैले आफ्नो घरमा भएको बाजा लिएर जानुपर्ने चलन छ । म पनि जान्थेँ । नाचगान हुन्थ्यो । रमाइलो गर्न गाउँले जम्मा हुन्थे । नाच्न आउने केटाहरूले बजाउने दमैलाई हप्काउँथे- छिटो बजा, ढिलो बजा, राम्रो बजा भन्दै । कतिले नाच्दानाच्दै बजाउने दमैलाई लात्तीले हान्थे । यस्तो वेला सम्हाल्ने राम्रा मान्छे पनि हुन्थे । तर, नराम्रोले नराम्रो गरिसकेपछि नै राम्रोको अर्थ र उपस्थिति हुने हो । दमैले बाजा नबजाएसम्म रमाइलो हुँदैनथ्यो, तर पनि दमैलाई राम्रो व्यवहार गरिँदैनथ्यो । जहाँ पनि बाजा बजाउने दमै हेपिएकै देख्थेँ । यसैले होला बाजा बजाउनमा मेरो मन गएन ।
सानैमा एकपटक म भैँसीको मासु लिन गएको थिएँ । अहिलेजस्तो नजिकै बजारमा मासु पाइँदैनथ्यो । धेरै दलित जम्मा भएर भैँसी काट्थे । सस्तो पनि पथ्र्यो । काटेको ठाउँमा केही मासु पकाइन्छ, परेको मोलभन्दा थोरै नाफा झिकेर जाँड-रक्सी किनिन्छ र सबैले बाँडेर खाने चलन छ । मासु खानेमा सबै दमै, कामी, सार्की जाति हुन्थ्यौँ । एउटा सार्की बाले दमैले छोएको भनेर पकाएको मासु खाएनन् । पकाएको मासु छोइने रे । त्यतिवेलै मैले दलितभित्र पनि सानो-ठूलो जात हुने थाहा पाएँ ।
वरपरका माथिल्ला जाति प्रायः लाहुरे हुन्थे । गाउँछिमेकमा लाहुरेकै सान थियो । मलाई पनि लाहुरे हुने भुतले छोयो । आठ पास गरेपछि नागरिकता निकालेँ, दुई वर्ष उमेर बढाएर । लाहुरे हुने मेरो न उमेर थियो, न त शरीर नै । म लाहुरे हुन सकिनँ । एसएलसीको मार्कसिट र नागरिकतामा उमेर फरक पर्यो । उमेर सच्याउन सदरमुकाम गएँ । एउटा मान्छेले भन्दै थियो, ‘पाँच हजार लाग्छ, देऊ, अर्को नागरिकता निस्कन्छ ।’ मसँग पाँच हजार रुपैयाँ थिएन । सोचे, घुस दिएर बन्ने काम नदिँदा किन बन्दैन ? सीधै सिडिओलाई भेटेँ । मेरो समस्या सुनेपछि उनले भने, ‘तँलाई उमेर घटाउनु र बढाउनुपर्ने ? तेरो काम बन्दैन जा ।’ मेरो मानसिकता— म दलित भएकाले यसरी ‘तँ’ भनेर दासलाई जसरी हप्काइँदै छ ।
सरकारी कार्यालयमा हप्काइएको त्यो पहिलोपटक थियो । मलाई थाहा थिएन, जिल्लामा सिडिओ राजाजस्तो हुन्छ, उसको हुकुम चल्छ भनेर ।
‘किन बन्दैन ? जनताको काम गर्न होइन तपाईं यो कुर्सीमा बसेको ? उमेर फरक पर्यो, सच्याउन आएँ, मैले के बिराएँ ?’
सिडिओले प्रहरीलाई आदेश दिए- यसलाई लगेर थुन्दे ।
एउटा प्रहरीले केहीबेर सम्झाएपछि छाडिदियो । उसले यही सम्झायो- सिडिओ जिल्लाको राजा हो ।
सिडिओको व्यवहारले म निकै रुष्ट भएर माओवादी जनयुद्धमा जाने सोचेको थिएँ । पूरै व्यवस्था परिवर्तन गर्छु भनेर होइन, निकै साँगुरो सोचले । जस्तो व्यवहार भोग्यो, उस्तै विचार आउने रहेछ । भोलिपल्ट अर्कै कामु सिडिओले क्षेत्रीय शिक्षा निर्देशनालय पोखरालाई पत्र लेखिदिए । मेरो एसएलसीको मार्कसिटमा केरेर जन्ममिति सच्याइयो एसएलसीपछि बाले मलाई खाडी मुलुकमा पठाउन चाहनुहुन्थ्यो । नत्र गाउँमै पसल खोल्न, गाउँकै क्याम्पसमा पढ्न भन्नुहुन्थ्यो । जिद्दी गरेर काठमाडौं आएँ ।
काठमाडौंमा बसेर पढ्न सक्ने घरको आर्थिक हैसियत थिएन । कुनै काम खोज्नैपथ्र्यो । हाम्रै क्षेत्रका सांसद् शंकर पाण्डेलाई भेट्न गएँ, जागिरका लागि । उनी मध्यबानेश्वरतिर बस्थे । उनी पूजाकोठामा थिए । म एकैचोटि पूजाकोठामा छिरेँ । मेरो उही जात बिर्सने बानी । उनले हप्काए, ‘बाहिर जा ।’
सोचे, ठीकै हो । पूजाकोठामा अनुमतिविना ह्वात्तै छिर्न हुँदैनथ्यो । बाहिर आएर पाण्डेले मलाई मुसार्दै भने, ‘हामीले यहाँ त्यस्तो जातीय भेदभाव गर्दैनौँ ।’ उनले त्यसो नभनेको भए ठीकै थियो । भनेपछि मैले कुरो बुझेँ । त्यसपछि म पाण्डेलाई भेट्न कहिल्यै गइनँ ।
जागिरका लागि दलित संघ-संस्थामा धाएँ । सबैभन्दा जातीय भेदभाव त मैले दलित संघ-संस्थामा पाएँ । दमाई, कामी, सार्कीमा एकले अर्को जातलाई सहयोग नगर्ने । त्यसमाथि नातावाद । आफ्नो न नाता, न त नेता । झोलामा सामान बेच्नेदेखि लिएर सुरक्षा-गार्डको काम गरेँ ।
काठमाडौँ आएर पनि मसँग बस्ने साथी गैरदलित नै थिए । बबरमहलमा घरबेटीले जात सोधे । साथी दुर्गा थापाले हतारिँदै भन्यो- थापा । त्यो घरमा त्यस्तै दुई वर्ष बसेँ । त्यतिन्जेल जात लुकाउन मलाई निकै पीडा भयो । अचेल कसैले जात सोधिहाले मलाई चिच्याएर भन्न मन लाग्छ- दमै ।
जातीय भेदभावले दिने पीडाको ओखती अस्पतालमा होइन, अदालतमा पाइन्छ भन्छन् । मलाई लाग्छ, यसको ओखती अदालतमा होइन, मानिसको विचार, भावना, अन्तर्मन र संवेदना छ । थाहा छैन, त्यसलाई जगाउने कसरी ?
(श्रोत :- Nayapatrika )