~मदनमणि दीक्षित~
घटना हो संवत २०३३ को फागुन ।
पूणिर्माको दिन । काठमाडौँस्थित भारतीय राजदूतावासले त्यो दिन काठमाडौँका उच्च राजनीतिक नेतृत्वको ठूलो अंशलाई दूतावासमा रमाइलो भेटघाटका निम्ति बोलाएको थियो । मलाई पनि निम्ता थियो । त्यो अपराहृनकालमा मैले डा. केशरजंघ रायमाझीलाई “जनतासित पार्टीको सम्बन्ध विचलित हुँदै जान लागेको छ । नेपाल सरकारले गाउँदेखि नगर, जिल्ला, अञ्चलस्तरका निर्वाचनहरू गराउने घोषणा गरिसकेको छ । यो अवसरलाई आफ्नो पार्टीका कार्यकर्तालाई निर्वाचनमा उम्मेदवार बनाएर जनसम्पर्क शुरु गर्ने र आफू निर्वाचित भएको पञ्चायत एकाइका क्रियाकलापलाई जनहितको स्वार्थमा संलग्न गराउनेतर्फ क्रियाशील तुल्याउनु वेश होला” भनी सुझाउ दिएँ । उहाँले स्वीकार गर्नुभयो र साँझमा ७ बजे आफ्नो घरमा मलाई बोलाउनुभयो र शैयद कमर शाहलाई समेत भरे साँझ बोलाई पठाउनेछु भन्नुभयो ।
त्यो साँझ ७ बजे डा. रायमाझीको कोठामा मैले शैयद कमर शाहजीलाई समेत लिएर गएँ । हामी ३ जनाको भेटघाट ३ घण्टासम्म चल्यो मैले काठमाडौँ नगर पञ्चायतको उम्मेदवार हुन कमर शाहलाई राजी गराउन खोजेँ । र भनेँ- काठमाडौँको मुस्लिम जनसङ्ख्याको अधिकांशले उहाँलाई जिताउनेछ । तर ३ घण्टाको छलफलपछि कमर शाहजीले काठमाडौँको मुस्लिम समुदायबाट आफूले १०० ओटा भोट पनि नपाउने, मुसलमानहरू मुख्यतया राजावादी छन् । बरु तपाईं उम्मेदवार बन्नूस किनभने काठमाडौँमा आफ्नो नाउँको पछाडी मणि आचार्य दीक्षित भनी लेख्नेहरू साढे ४०० परिवार छन् भन्ने मैले सुनेको छु भनी उहाँले मलाई भन्नुभयो ।
परिणामअनुसार ५/७ मिनेटको छलफलपछि रायमाझी र कमर शाहले मलाई पञ्चायत निर्वाचनको उम्मेदवार हुन स्वीकार गराए । सो कुरा मैले स्वीकार गरेँ किनभने संवत २०१९ र २०२४ को स्नातक प्रतिनिधि निर्वाचनमा म एक मत र अढाई मतले पराजित भएको थिएँ । त्यो पनि पुन डा. तुलसी गिरीले भनेर मतगणनाका अधिकृत राष्ट्रिय निर्देशन परिषद्का उपसचिव रहेका कुलशेखर शर्माले सोझैँ झेल गरेर डा. नगेन्द्रप्रसाद श्रीवास्तवको पक्षमा जाली मत गन्ती गरेर संवत् २०२४ को स्नातक निर्वाचनमा समेत डा. प्रकाशचन्द्र लोहनीको पक्षमा त्यस्तै झेल गरेर निर्वाचनमा मलाई हराएका थिए ।
संवत २०३४ को काठमाडौँ नगर पञ्चायत निर्वाचनमा उम्मेदवार हुन मैले “गाउँ र्फक राष्ट्रिय अभियान समिति” बाट स्वीकृति पाइनँ । त्यसबेलाको कानुनअनुसार जुन तहको निर्वाचनमा उम्मेदवार हुने हो त्यो उम्मेदवारले त्यहीतहको गाउँ र्फक समितिसित अनुमोदन लिनुपर्दथ्यो । मैले गाउँ र्फकको अनुमोदन माग्न त्यो अभियान समितिका केन्द्रीय सदस्य श्री कमलराज रेग्मीसित भेटेर कुराकानी गर्नु उपयुक्त ठानेँ ।
श्री कमलराज रेग्मीसित अर्थात् पाल्पा जिल्लाको कम्युनिस्ट समूहको नेतासित मेरो पहिलो भेट संवत् २००८ को मङ्सिर अन्त्यतिर भएको थियो । त्यसबेला श्री टंकप्रसाद आचार्यको नेपाल प्रजा परिषद तथा त्यो सालको २२ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म कलकत्ताको भवानीपुरमा भएको नेपालका ४५ जना कम्युनिस्टहरूको भेलाले विधिवत गठन गरेको थियो । पार्टी सङ्गठनलाई वैधानिकता प्रदान गर्न त्यसले ३ सर्त पूरा गर्नुपर्दछ भन्ने अन्तर्राष्ट्रिय उदाहरणको आधारमा प्रस्तावित पार्टीका सदस्यहरूको भेला गर्नु :
१) दोस्रोमा त्यो भेलाले त्यो पार्टीको प्रस्तावित विधानलाई सर्वसम्मतिले अनुमोदन गर्नु ।
२) तेस्रो सर्त हो त्यो सभाले केन्दि्रय समितिको निर्वाचन गरेर पार्टीको कार्यनीति वा कार्यक्रमलाई स्वीकार गर्नु ।
३) त्यसरी पार्टीको विधिवत सङ्गठन भएपछि प्रजा परिषद र नेकपाले नेपालमा राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चा गठन गर्ने निर्णय गरेको थियो । त्यो मोर्चाको पहिलो बैठक मङ्सिरतिर काठमाडौँमा हुने भएकाले वीरगन्जमा नेपालभरिका कम्युनिस्टहरू पहिल्यै जम्मा भएर सँगै काठमाडौँतिर हिँड्ने प्रबन्ध गरिएको थियो । दक्षिण गण्डक प्रान्तीय कमिटी, त्यस्तै पूर्वाञ्चल र पश्चिमाञ्चल कमिटीहरूबाट वीरगन्जमा ३० जना जति कम्युनिस्टहरू जम्मा भयौँ र भिमफेदीतिर लाग्यौँ । भिमफेदीबाट चिसापानीगढीमा एक रात बास बसेर कुलेखानी, मार्खु, चित्लाङ् हुँदै थानकोटसम्म आइपुग्यौँ र मोटर लहरीमा टन्न कसिएर बस्यौँ । त्यो समूहमा पाल्पाबाट आएको समूह सबैभन्दा बढी समर्पित समूहजस्तो मैले देखेको थिएँ । त्यसको नेतृत्व श्री कमलराज रेग्मीले गर्नुभएको थियो । कलकत्ताको भवानीपुर सम्मेलनमा कमलराजजीको अनुपस्थितिका कारण पाल्पाको किसान आन्दोलनमा उहाँले ११ महिना थुनामा बस्नुपरेको रहेछ ।
वीरगन्जमा भेला भएर काठमाडौँतिर हिँडेको त्यो समूहमध्ये पाल्पा समूह थानकोटमा आइपुगेपछि र मोटर लहरीमा बसेर काठमाडौँतिर हिँडेपछि त्यो समूहले गीत गाउन थाल्यो- आयो कम्युनिस्ट नेपालमा रातो झन्डा फहराउँदै… । मोटर लहरीको बीचबाट उढेको त्यो पाल्पाली गीतमा कमलराज रेग्मी सम्मिलित भए नभएको मैले देख्न र बुझ्न सकिनँ तर राजविराजदेखि पर्सा जिल्लासम्मका हामी ८/९ जना व्यक्ति भने त्यो गीतमा निकै रमायौँ तर सम्मिलित हुन सकेनौँ । काठमाडौँ पुगेपछि भुरुङ्खेलको घरमा बसोबासका निम्ति प्रबन्ध गरिएको थियो ।
त्यो राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चाको विशाल बैठक ७ दिनसम्म चलेपछि खिचिएको “ग्रुप फोटोग्राफ” (८०/९० जनाको उपस्थिति) को अग्रपङ्क्तिमा कुर्सीमा बसेका श्री कमलराज रेग्मीको तस्बिर मसित अझै छ । त्यो मोर्चाको अधिवेशन कमलराज रेग्मीको कुनै वक्तव्य भने मैले सुनेको छैन । संयुक्त मोर्चा सम्मेलनको वर्ष दिनपछि संवत् २००९ सालमा म र श्री कमलराज रेग्मीसँगै काठमाडौँ आयौँ कुलेखानीमा एकरात बास बस्नुपरेको थियो । हामी बास बसेको होटेलको मालिकले आएर हामीसित सोध्यो- राती के खाने ? दाल, भात, तरकारी कि गाईको घिउ हालेर पकाएको भुजा र कुखुराको मासु ? मैले घिउ हालेको भात रोज्दा श्री कमलराज रेग्मीले ममा रहेको अभिजात्यताको लक्षणबारे मलाई राम्रैसित फट्कार्नुभयो र त्यस्तो मान्छे कम्युनिस्ट पार्टीको नेता कसरी हुन सक्छ ? त्यतिखेर मैले मौन बस्नुपरेको थियो । यसरी वर्षदिन २ वर्षमा कमलराज रेग्मी र मेरोबीच भेट हुने गर्दै रहृयो । पार्टीको पहिलो महाधिवेशन (संवत २०१०) बारे मेरा सम्झना अहिले क्षीण भएका छन् । संवत २०१४ असारको दोस्रो पार्टी महाधिवेशनले समेत रेग्मीज्यूलाई पार्टीको केन्द्रिय समितिको र आफूले रोजेका वरिष्ठ नेताहरूका व्यक्तिगत तस्बिरहरू खिचेका थिएँ । आफ्नो डेरामा बोलाएर । मैले खिचेको रेग्मीज्यूको तस्बिर अहिले पनि उहाँको कोठामा म देख्छु । २०१७ साल पुस १ गते पछि उहाँ पाल्पामा पक्राउमा पर्नुभयो र पाल्पा बुटवल तथा काठमाडौँका जेलहरूमा गरी ४ वर्षसम्म जेलमा रहनुभयो । म आफू वीरगन्जको र काठमाडौँको सेन्ट्रल जेल र नख्खू जेलमा गरी जम्मा ११ महिना जति जेलमा बसिसकेको हुँदा मलाई जेल परेका साथीहरूलाई भेट्न त्यहाँ जान मन लाग्दैनथ्यो । ती ४ वर्ष पनि मैले उहाँलाई भेटिनँ, नेकपाका कुनै ठूला नेताले पनि जेलमा उहाँको अवस्था कस्तो छ, पाल्पामा परिवारका सदस्यहरूको अवस्था के कस्तो छ आदि विषयबारे कहिल्यै एक दिन पनि चासोसम्म नराखी आफूहरू भएकोतिरको यात्रामा नै निरन्तर संलग्न रहने गरे । त्यस्तैमा एक दिन संवत २०२१ म श्री रेग्मीज्यू जेल मुक्त हुनुभएको बारे शैयद कमर शाहले मलाई बताउनुभयो र उहाँ छुटेको दिन नै टुँडिखेलमा रेग्मीज्यूसित हामी २ जनाको भेटघाट र कुराकानी भयो । त्यहाँ २ घण्टासम्म उभिएर भलाकुसारी गर्दा मसित डा. तुलसी गिरीको सिनेमा क्यामेरा थियो । त्यो क्यामेराले मैले रेग्मीज्यूको २० मिनेट जति तस्बिर खिचेँ । आज त्यो तस्बिर मसित छैन किनभने नेकपा काठमाडौँकै एक सुपरिचित र निकै क्रियाशील रहेका वटुकचन्द्र गौतम भन्ने युवकले यो तस्बिर म हेर्दछु भनी मागेर लगेको २ सातापछि मैले आफ्नो फिल्म माग्दा “हराएछ” भनी मलाई फिर्ता दिएनन् ।
श्री कलमराज रेग्मीसितको यो परिचयको पृष्ठभूमिमा उहाँ गाउँर्फक राष्ट्रिय अभियानमा सदस्य हुन पुग्नुभयो । उहाँको त्यो सदस्यतालाई मैले सामान्य रूपबाट लिएको थिएँ । त्यसबेला उहाँको कुनै सम्बन्ध नेकपासित रहेको थिएन । तापनि उहाँलाई नेपालको राजसंस्थाले पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरको मूल सडक छेउमै रहेको साढे दुई बिघा क्षेत्रफलको लामो घरवास जमिन लिन उहाँले अस्वीकार गर्नुभयो । त्यो अस्वीकृतिपछि राजसंस्थाले उहाँलाई फेरि बुटवलको तिनाउँ नदीको किनारा नजिकै ठूलै घर जग्गा जमिन दियो । तर उहाँले त्यो लिन पनि अस्वीकार गर्नुभयो ।
यस पृष्ठभूमिमा मैले कमलराज रेग्मीसित भेट गरेर म आफू काठमाडौँ नगर पञ्चायतको निर्वाचनमा सदस्य हुन चाहन्छु, मेरो यो उम्मेदवारीका निम्ति गाउँ र्फकबाट अनुमोदन गरिदिनुस् भन्न गएँ । उहाँले मेरा सबै कुरा सुन्नुभयो र मलाई भन्नुभयो- तपाईंजस्तो राष्ट्रिय परिचयको व्यक्तिलाई मैले केही जवाफ दिन गाह्रो छ । तसर्थ तपाईं यही कोठामा बसेर चुपचाप सुन्नुहोस्, म गाउँर्फकका केन्द्रीय सभापति खड्गबहादुर सिंहसित कुरा गर्छु । केन्द्रीय सभापति खड्ग ब. सिंहलाई उहाँले टेलिफोन गर्नुभयो- राष्ट्रिय पहिचानको एकजना व्यक्ति मसित उम्मेदवारीको अनुमोदन माग्दै हुनुहुन्छ उहाँलाई तपाईं छेउ भोलि कुन बेला पठाऊँ ?
स्वभावतः भोलिपल्ट निर्धारित समयमा म गाउँर्फकको केन्द्रीय कार्यालयमा पुगेँ । खड्गबहादुरसित मेरो परिचय धुरसिङ-हेटौँडामा नेपाल राष्ट्रिय काङ्ग्रेसको सदस्यका रूपमा उहाँ प्रचारमा लाग्नुहुँदा र त्यसपछि २०३२ सालसम्म हाम्रो निरन्तर भेटघाट हुँने गर्दथ्यो । यो पटक उहाँलाई भेट्दा मैले उभिएरै कुरा गर्न गरेँ र “हिजो कमलराज रेग्मीले मेरोबारे तपाईंलाई टेलिफोन गर्नुभएको व्यक्ति हुँ” भनी बताएपछि उहाँले आफ्नो सामुन्नेको कुर्सी देखाएर बस्न भन्नुभयो । उहाँले सोध्नुभयो- कुन तहसम्मको निर्वाचन लड्ने विचार गर्नुभएको छ ? उत्तरमा मैले भनेको थिएँ- धुरसिङ्गमा म नेकपाको नेता र तपाईं राष्ट्रिय काङ्ग्रेसको कार्यकर्ता भएको समयदेखि हाम्रो परिचय र घनिष्ठता बढेको हो । अहिले तपाईंको निधारमा श्री ५ को सिन्दुर तर मेरो निधार खाली छ । तथापि मैले काठमाडौँ नगर पञ्चायत सदस्यको ठाउँमा मात्र उम्मेदवार हुने विचार गरेको छु । ३ मिनेट जतिमा त्यति कुराकानी भएपछि हामी बिदा भयौँ । “म विचार गर्नेछु” भनी उहाँले भन्नुभयो । मलाई मैले मागेको गाउँर्फकको अनुमोदन दिइएन । मैले निर्वाचनमा भाग लिन पाइनँ । त्यस्तैमा मेरी छोरीको विवाह हुने भएकाले मैले वीरगन्ज र मजफरपुर जानुपर्ने भयो । संवत २०३३ को वैशाख ५ गते मेरो छोरा विनोद दीक्षितले वीरगन्जमा मलाई टेलिफोन गरेर “गा.फ.रा.अ. ले तपाईंलाई का.न.पा. को सदस्यमा हिजो मनोनित गर्यो ।” मैले वीरगन्जबाट वासुदेव ढुङ्गाना “का.न.पा. सभापति” खड्गबहादुर सिंह र श्री कमलराज रेग्मीलाई आकाशवाणी पठाएर आˆनो धन्यवाद अर्पित गरेँ । स्वभावतया म आफ्नो काम सिध्याएर १० वैशाख शुक्रबार काठमाडौँ फर्किएँ । १२ गते का.न.पा. गएर मैले आफ्नो जिम्मेवारी सम्हालेँ ।
दोस्रो दिन, म श्री कमलराज रेग्मी कहाँ पुगेँ र वार्ताको क्रममा मैले सोधेँ- म दलविहीनता विरोधी व्यक्ति हुँ । तथापि का.न.पा. मा सदस्य भएको छु । अब गाउँर्फकने मबाट के कामको आशा गरेको छ भन्नेबारे मलाई केही बताइदिनुहुन आग्रह गर्दछु ।
श्री कमलराज रेग्मीको उत्तरबाट उहाँबारे मैले २०१७ पुसदेखि अनुमान गरेको तर अरू कसैलाई केही नभनी आफैँभित्र गोप्य राखेको कुरा प्रमाणित भयो । नेपालमा कम्युनिस्ट पार्टी गठन हुनेभन्दा पहिलेदेखि उहाँले पाल्पाका किसानहरूलाई सङ्गठित गर्न थाल्नुभएको थियो । पाल्पा प्रशासन अर्थात् रूद्र शमशेर ज.ब.रा. र तिनका नातेदारहरू रेग्मीज्यूसित क्रुद्ध रहने गरेका थिए । उहाँले जेलमा पनि बस्नुपरेको थियो । कम्युनिस्ट नेताका रूपमा उहाँको छवि पाल्पा बुटवल र काठमाडौँमा साह्रै उज्यालो थियो । त्यसैकारण २०१७ मा उहाँ जेलमा दोस्रोपटक थुनिँदा उहाँले पाल्पा पश्चिम निर्वाचन क्षेत्रमा कम्युनिस्ट नेता केशरजङ्ग रायमाझीले हारे पनि आफू पूर्व क्षेत्रबाट प्रतिनिधि सभाको सदस्य बन्नुभएको थियो । ५ वर्ष जेलमा बसेर उहाँ कैदमुक्त भएपछि मैले र कमर शाहले टुँडिखेल मैदानमा उहाँलाई भेट्दा तिनै कुराहरूबारे मेरो मनमा पुष्टि पनि भएको थियो । २०३४ साल वैशाखमा का.न.पा. को सदस्यका रूपमा मैले के काम गर्नुपर्छ भन्ने मेरो प्रश्न थियो ।
उहाँले जवाफ दिँदै भन्नुभएको कुरा म अझै अक्षरसः सम्झिन्छु- दीक्षितजी तपाईंले संस्कृतको मध्यमा र एम.ए. सम्म पढेर विद्यावारिधिमा पनि लाग्नुभएको थियो । तपाईंको परिवारको प्रसिद्धि नेपालव्यापी छ र आफ्नो विचारमा अडिग रहने मानिस हुनुहुन्छ । तर गा.फ.रा.अ. ले तपाईंका यी सबै सकारात्मक छविलाई पञ्चायत व्यवस्थाको पक्षमा उपयोग गर्न होइन कि तपाईंले का.म.पा. मा काम गर्दा तपाईंको मुखमा कालो पोतियोस्, तपाईंको कुनै पनि उज्यालो छवि बाँकी नरहोस् भनेर तपाईंलाई सदस्यमा मनोनित गरिएको हो । कुरा यिनै हुन् अब तपाईंलाई जे मन लाग्छ त्यही गर्ने गर्नूस् मैले थप भन्नुपर्ने कुरा केही छैन ।
रेग्मीज्यूको त्यो विचित्रको जवाफबाट म झसङ्ग भएँ । फागुपूणिर्माको दिन डा. केशरजंग रायमाझीले शैयद कमर शाह, कृष्णराज वर्मा र आफ्नी पत्नी तरूलता रायामाझीलाई पनि पञ्चायतमा प्रवेश गर्न निर्वाचनमा उम्मेदवार बनाउनेबारे मलाई बताइएको थियो तर ती कुनै पनि कम्युनिस्ट नेता कोही पनि उम्मेदवार भएनन् तर श्रीमतीलाई काठमाडौँमा राष्ट्रिय पञ्चायतकै माननीय सदस्य मनोनीत गराउनुभयो । म एक्लो भएँ भन्ने सम्झिएर श्री कमलराज रेग्मीको उत्तरबाट म तर्सिएको थिएँ । तथापि आफूले स्वीकार गरेको कामबाट उस्तै नपरी आफू पछाडि नफर्किने मेरो बानीअनुसार का.न.पा. को सदस्यका रूपमा काम गर्दै गएँ । मेरो त्यो सफलता श्री कमलराज रेग्मीज्यूको त्यो दिनको अनुदान हो भन्नेलाई मैले कहिल्यै बिर्सिइनँ । कहाँसम्म भने हाल मेरो घरसँगै पूर्व र उत्तरतिर रहेको साढे ४ रोपनी जमिनलाई म समेत ३ जनाले, मलाई आधा जमीन दिएर बाँकी आधाबाट २ जना का.न.पा. सदस्यले आफूले १/१ रोपनी लिने भन्ने गोप्य प्रस्ताव मेरो सामु ती २ ले गरेका थिए । मैले केही जवाफ दिएको थिइनँ र का.न.पा. का निम्ति नयाँ प्रशासकीय भवन चाहिने हुँदा कुन ठाउँमा त्यसका निम्ति जमिन पाइने होला भन्ने विषयमा का.न.पा. मा छलफल हुँदा मैले आफ्नो घरको पूर्व र उत्तरतिर रहेको साढे ४ रोपनी जमिन देखाइदिएर त्यो जमिनलाई का.न.पा. सदस्यहरूले आपसमा भागबण्डा गर्ने विचारलाई अन्त्य गराइदिएको थिएँ । मेरो मुखमा कालो पोत्ने यस्ता केही अन्य प्रयास पनि भएका थिए तर मैले विफल तुल्याएको थिएँ । संवत २०३६ को १० जेठमा राजा वीरेन्द्रबाट राष्ट्रिय जनमत सङ्ग्रहको घोषणा गरिने प्रस्ताव सार्वजनिक भएपछि दोस्रो दिन नै मैले का.न.पा. बाट राजिनामा गर्ने निर्णयगरी चिठी लेखेर लगेको थिएँ । तर केही सदस्यहरूले २ दिन पर्खिन अनुरोध गरे- त्यो अनुरोध काम लागेन । ४ दिनपछि १४ जेठको दिन मैले का.न.पा. सदस्यबाट राजिनामा गरेँ ।
कमलराज रेग्मीसित मेरो भेटघाट अटुटजस्तै छ । यद्यपि बढ्दो उमेरले बसयात्रा गर्नु प्रायः असम्भव जस्तै भएर उमेरले गर्दा बाध्य भइयो र हाम्रो अटुट भेटघाटमा केही बाधा पर्न थालेको छ । त्यसो हुँदाहुँदै पनि रेग्मीज्यूले आफ्नो परिवारप्रतिको दायित्वलाई सफलताका साथ र पूर्णतामा पुर्याएको म देखिरहेको छु । जेलमा बस्नुपर्दा रेग्मीज्यूकी देवीजी- श्री विमला रेग्मीले परिवार पाल्न धौ-धौ भएर पाल्पाको मिसन अस्पतालमा परिचारिकाको काम गरेर परिवारको भारलाई आˆनो काँधमा बोक्नुभएको थियो । यस्तै पीडाका कारणले हुन सक्छ- रेग्मीज्यूका पिताको देहावसान भयो । रेग्मीज्यूको परिवारतिर हेर्दा उहाँका ४ छोरी १ छोरामध्ये अधिकांश युरोपमा अध्ययन गरेका, जेठा छोरा प्रकाशराज रेग्मीले सोभियत रूसको मेडिकल कलेजमा हृदयरोग सम्बन्धी विशिष्ठतता प्राप्त गर्नुभएको र काठमाडौँका हृदयरोग सम्बन्धी अस्पतालहरूमा गम्भीरतम अभ्यासरत रहनुभएका हामी देख्छौँ । रेग्मीज्यूकी कान्छी छोरी सन्ध्या रेग्मी जर्मनी र सिङगापुरमा अध्ययन पूरा गरेर अहिले भियतनामको हो चि मिन्ह शहरमा समाजसेवामा विशिष्टता प्राप्त गर्नुभएको छ । कमलराज रेग्मीज्यूका सन्तानहरूमा आˆनो स्नातकोत्तर अध्ययनको विषय मात्र नभई प्रायः सबैजसो सुपुत्रीहरू विख्यात लेखिकाका रूपमा आफ्नो पितासरह ख्याति प्राप्त गर्दै आउनुभएको छ । उहाँकी सुपुत्री श्री ज्योति रेग्मी काठमाडौँको प्रसिद्ध काठमाडौँ युनिर्भसिटीमा प्राध्यापिका हुनुहुन्छ । अरू छोरीहरू अरूणा कोइराला र किरण पाठकले पनि शिक्षा क्षेत्रमा नै योगदान गरिरहेका छन् ।
मैले बुझेसम्म नेपालको कम्युनिस्ट इतिहासमा केन्द्रीय स्तरमा प्रतिष्ठित र सम्मानित भएका, पञ्चायत व्यवस्थाअन्तर्गत राजा महेन्द्रद्वारा राजमार्गस्थित विकासोन्मुख नगर चन्द्रनिगाहापुर तथा बुटवलमा घरजग्गा (जुन जग्गा अहिले करोडौँ मूल्यको छ) प्रदान गरिँदा सो जग्गा लिन इन्कार गर्ने व्यक्ति, नेपालका इतिहासमा १० वर्षलामो जनसङ्घर्ष चलाउने माओवादी पार्टीले आफ्नो एउटा भूमिगत कार्यक्रममा विशेष सम्मान प्रदान गरेको र अन्य कम्युनिस्ट पार्टीहरूले उत्तिकै सम्मान गरेका नेताका रूपमा श्री कमलराज रेग्मी आजसम्म प्रतिष्ठित हुनुहुन्छ ।
(दीक्षितको कमलराज रेग्मी : विविध आयाम नामक पुस्तकबाट)