~नयनराज पाण्डे~
हाम्रो घर ठूलो थियो । एकदमै ठूलो । दरबार जत्रो । दरबारजस्तो । सेतो । निख्खर सेतो । बलियाबलिया खम्बाहरू । बलियो छत । ठूल्ठूला पर्खालहरू । कसैले बाहिरबाट चियाउने कुनै सम्भावना नै नभएको । त्यति ठूलो । त्यति विशाल । त्यति गोप्य । पूरा भूकम्प प्रतिरोधक । घरअनुसार नोकरचाकर पनि थिए । सुसारे, धाइआमा र धाइबा पनि थिए । थुप्रै थिए ।
कोठा पनि थुप्रै थिए । सयौं । कुन कोठामा को बस्छ भनेर लगत नै राख्नुपथ्र्यो । भान्सेहरू दर्जनौं थिए । उनीहरू दिनभरि विभिन्न थरीका पकवान र मिष्ठान्न पकाउन व्यस्त हुन्थे । उनीहरू विशेष गरेर मासु र रगत अर्थात् रक्तिका परिकार बनाउन माहिर थिए । तिनीहरूलाई खानसामा भनिन्थ्यो । उनीहरू निकै स्वादिष्ट परिकार पकाउँथे । हामीकहाँ दिनहुँजस्तो भोज चलिरहन्थ्यो । दिनै जसो स्वदेशी विदेशी पाहुनाहरूको घुईंचो नै लाग्थ्यो । चाकडीमा आउने, उपहार नजराना चढाउन ल्याउने र भजनमण्डलीलाई पनि भोजन ख्वाएरै पठाउनुपथ्र्यो । त्यसैले भान्सा, बैठक र भोजन कक्ष सधैं भरिभराउ रहन्थ्यो ।
परिवार ठूलो थियो । सयौं सदस्य । त्यसैले आवश्यकता ठूलो थियो । चाहना पनि ठूलो थियो । आकाङ्क्षा पनि ठूलो थियो । सबैका आआफ्नै खालका महत्त्वाकाङ्क्षा ।
बगैंचा पनि ठूलो थियो । भव्य पनि थियो । मालीहरू दर्जनौं थिए । उनीहरू हरेक समय थरीथरीका फलफूलहरू रोप्न, गोडमेल गर्न, मलजल गर्न मै व्यस्त हुन्थे । बगैंचामा सयौंथरीका फूलहरू थिए, सयौंथरीका फलहरू थिए । गुलाफमात्र दर्जनौं जातका थिए । सेता, राता, काला, नीला, पहेंला गुलाफहरू । बाह्रैमास ढकमक्क फुल्थे । कतिपय बेमौसमी पनि थिए । मालीहरूले निकै मिहेनत गरेर ती बेमौसमी फूलहरूलाई फुल्न बाध्य पार्थे ।
……
सयौंथरीका पक्षीहरू पनि थिए हामीकहाँ । हाम्रो घरको डाँफे विशेष चर्चित थियो । त्यो हाम्रो घर छाडेर कतै पनि जाँदैन थियो । मुजुर पनि प्रशस्तै । मान्छेजस्तै बोल्ने तोतामैना पनि थिए । राजहाँस, सारस, लभ बर्डहरू पनि थुप्रै थिए । रातिराति कता कताबाट लाटोकोसेरो पनि आइपुग्थ्यो । सिजनमा साइबेरियातिरका पक्षी पनि आइपुग्थे । हरिण, कृष्णसार पनि थिए । चित्तल र बँदेल पनि थिए । हामीलाई तिनको मासु अत्यन्त मीठो लाग्थ्यो । हामी त्यसैले सिकार पनि गथ्र्यौं । बोराका बोरा सुकुटी हुन्थ्यो हामीकहाँ ।
हाम्रो घरमा स्विमिङ पुल पनि थियो । विशाल स्विमिङ पुल । मैले स्विमिङ सिकेकै त्यहीँ । हामी स्विमिङ गरिरहँदा हाम्रा सुसारेहरू हाम्रो जीउ पुस्न रुमाल लिएर घन्टौं उभिइरहन्थे । हामी भने दिनभरि स्विमिङ खेलेर उनीहरूलाई दिनभरि उभिइरहन बाध्य पाथ्र्यौं । बडा मजा आउँथ्यो । त्यति गर्दा पनि उनीहरू बुबाहजुरसित हाम्रो सिकायत गर्दैनथे । बडा आज्ञाकारी र अनुशासित हुन्थे हाम्रा सुसारेहरू ।
हाम्रा घरमा कुकुर पनि थुप्रै थिए । विभिन्न नश्लका कुकुरहरू । डोबरम्यान मलाई अति नै मनपर्ने । मलाई मनपर्छ भनेर बुबाहजुरले बेलायतबाट दुईवटा डोबरम्यान मगाइदिस्याथियो । पछि ती खै कुन्नि के रोग लागेर मरे । हुन त हामी हाम्रा कारिन्दाहरूलाई पनि कुकुरै भन्थ्यौं ।
……
हाम्रो घरमा तबेला पनि थियो । तबेलामा थुप्रै अरबी घोडाहरू थिए । हामी घोडामा चढेर खूब सयर गथ्र्यौं । घर वरिपरि ठूलाठूला मैदान भएकाले हामी परिवारका सदस्यहरूबीच त्यहीँ घोडादौड प्रतियोगिता पनि हुन्थ्यो । त्यस्तो प्रतियोगितामा म धेरैपटक प्रथम भएको छु । केही घोडाहरू उत्ताउला हुन्थे । दिज्यूहरूले गएर सुम्सुम्याउनु पथ्र्यो । दिज्यूहरूले नै तिनीहरूको बानी बिगारिदिएको । हामीद्वारा कैलेकाहीं बग्गी पनि चढिन्थ्यो । हात्ती पनि पालिएको थियो । हामीद्वारा हात्ती पनि चढिन्थ्यो ।
हामी विलियर्ड पनि निकै खेल्थ्यौं । हाम्रो घरमा दुई तीनवटा विलियर्ड रुमहरू थिए । विलियर्ड रुमसँगै बार रुम पनि थियो । बारमा हजारौंथरीका विदेशी रक्सीहरू थिए । स्कच । हि्वस्की । रम । वाइन । ब्राण्डीहरू । सबैका आ-आफ्नै पि्रय ब्राण्डहरू थिए । त्यसैले धेरैथरीका रक्सीहरू राख्नु जरुरी थियो ।
रक्सी खाएर हामी निकै मात्थ्यौं । त्यसपछि हतियार कक्षमा गएर बन्दुक चलाउन सिक्थ्यौं । मातेकै बेलामा मैले एकपटक गलत निशाना लगाएँछु । जगते भन्ने ढोके पुर्लुक्क ढलेछ । उसलाई घर पछाडिकै बगैंचामा खाल्टो खनेर गाडियो । कुरो सामसुम भयो । कसैलाई पत्तै भएन । तर केही सुसारे र पालेहरू बगैंचामा रातिराति जगतेको भूत देखिन्छ भनेर आपसमा कुरा गर्थे । हामी त्यस्ता कुरा सुनेर हास्थ्यौं ।
……
घरमा पुस्तकालय पनि थियो । किताबहरू प्रायः अंग्रेजीकै थिए । म अंग्रेजी साहित्य निकै रुचि साथ पढ्थें । शेक्सपियर, शेली, किट्स मेरा प्रिय लेखक हुन् । नेपालीमा सम, डायमनशमशेर पढ्या छु । माधव घिमिरे र लेखनाथ बाजेको पनि केही रचना पढ्या छु ।
हाम्रो घरको एउटा कक्ष आखेटहरूले भरिपूर्ण थियो । थरीथरीका जनावरहरूका सिङ, हाड र छालाहरू सजाएर राखिएका थिए । त्यो कक्षमा म निकै रमाउँथें । तर मेरो पि्रय कक्ष त हतियार कक्ष नै थियो । त्यहाँ गएर हामी सुटुक्क कालोपदार्थको सेवन पनि गर्दथ्यौं ।
अत्तर पनि हामीकहाँ थुप्रै थिए । हामी सबै अत्तरका सौखिन थियौं । बागबजारको जाकिर मियाँले हाम्रा लागि अत्तर सप्लाइ गथ्र्यो । कुनैकुनै अत्तर त एक सिसीको पाँच लाखसम्म पनि पथ्र्यो । उहिले बादशाह अकबरले पनि त्यस्तै अत्तर लगाउँथे रे ।
थिएटर र नाचघर पनि थियो हाम्रो घरमा । उस्तादहरू आएर विभिन्नथरीका कौव्वाली र रागहरू पनि गाउँथे । नाटक र नाच पनि हुन्थ्यो । नाचपछि नर्तकीहरू राति हामै्र घरमा बस्थे । रातभरि हाम्रै खिद््मत सेवा गर्थे । नर्तकीलाई लिएर हामीबीच कैलेकाहीँ हानथाप हुन्थ्यो ।
बिहान उठ्दा बुबाहजुरको आँखामा पनि अनिद्रा देखिन्थ्यो । एकदुई नर्तकीहरू एकाबिहानै बुबाहजुरको खोपीबाट सुटुक्क निस्कन्थे । अलैंची, सुकुमेल र दालचिनी हाम्रा प्रिय नर्तकी थिए ।
……
हाम्रो घरमा हीरा जवाहरातको त थुप्रो नै थियो । हामी सबै हीरा जवाहरातका सौखिन थियौं । थरीथरीका मोती, माणिक, पन्ना, पुष्पराजहरू पनि थिए । एकमुखे रुद्राक्ष, दाहिने शंख, श्यालसिङ, नागमणि पनि छन् भन्ने सुनेका थियौं । ती सबै मुमाहजुरले सम्हालेर राखिबक्स्या थियो रे । तर मुमाहजुर स्वर्गे भएपछि ती रत्नहरू फेला परेनन् । कसले उडायो पत्तै भएन । मलाई त मुमाहजुरको त्यो विश्वासिलो जर्नेल भीमेले उडाएको शंका लाग्छ । बुबाहजुर नभएको बेलामा मुमाहजुरको खोपीमा उही घन्टौं बस्थ्यो । साले भीमे ।
गाडी पनि कतिकति । विभिन्न थरीका । विभिन्न मोडेलका । केही त बुलेटपु्रफ पनि थिए । हामी कहाँ विश्वका महँगामहँगा कारहरूको दुर्लभ सङ्ग्रह थियो । कुनै कम्पनीले नयाँ मोडलको कार बजारमा ल्याउनासाथ हामी मगाइहाल्थ्यौं ।
महँगा पेन्टिङ पनि थिए । भनिन्थ्यो, ती पेन्टिङको मूल्य करोडौं पर्छ । पछि केही हराए पनि । हामीकहाँ वर्षमा एक दुई पटक विश्वका चर्चित चित्रकारहरू आउँथे । उनीहरू हाम्रो सुन्दर मुहार चित्र बनाउँथे । हामी तिनलाई बक्सिस पनि दिन्थ्यौं । हामी चित्रकलाका सौखिन र पारखी थियौं । कैले काहीँ हामी चित्र पनि बनाउँथ्यौं । गीत कविता पनि लेख्थ्यौं । रिजालबाजेले हाम्रा गीतहरू संशोधन गरेर मिलाएर छापिदिन्थे ।
हाम्रो घर बाहिर पनि संसार थियो रे । त्यहाँबाट लगातार रोइकराई गरेको आवाज आउँथ्यो । मैले एकपटक बुबाहजुरसित सोधें- “ती रोईकराइ गर्ने को हुन् ?” बुबाहजुरले भनिस्यो- “तिनीहरू रैती हुन् । भोका छन् ।” अनि मैले भनें- “के तिनले दूधभात पनि खान पाउँदैनन् ?”….बुबाहजुर त्यसपछि मुसुमुसु हाँस्न थालिस्यो र आफ्नो खोपीतिर प्रस्थान गरिस्यो । सुकला हुन ।
……
हाम्रो घरमा के थिएन ? सुख थियो । आराम थियो । ऐय्यासी थियो । साहित्य थियो । कला थियो । हतियार थियो । जनावरहरू थिए । कुकुरहरू थिए । तबेला थियो । भजनमण्डली थियो । दासहरू थिए । सुसारेहरू थिए ।
उफ्, त्यो महाभूकम्पमा नपुरिएको भए आज पनि हामी त्यहीँ घरमा हुने थियौं । भूकम्पमा बुबाहजुरको स्वर्गे होइबक्स्यो । हामी जसोतसो बाँच्यौं । बुबाहजुर जुत्ता नभई बाहिरै ननिस्कने । जुत्ता लगाइदिने सुसारेलाई खोज्दाखोज्दै हाम्रो घर गल्र्यामगुर्लुम ढल्यो । बुबाहजुर त्यसैमा ….
सब त्यहीं पुरिए । हाम्रो शानरवाफ । मान प्रतिष्ठा । मौसमअनुसारका पोशाकहरू । मानपदवी, अलंकार पदकहरू । सबै त्यहीं पुरिए । तबेला पनि पुरियो । नाचघर र थिएटर पनि पुरियो । भजन गर्दागर्दै भजनमण्डली पनि पुरियो । सब पुरियो । …र बाँकी रहेँ म । आफ्नो वंशको अन्तिम वारिस । अन्तिम साक्ष्य ।
……
“भाइ, एउटा चुरोट छ ? खै पाउँ न । साहै तल्तले लाग्यो । ….के गर्ने, उतिबेला हाम्रो घरमा विदेशबाट चुरोट आउँथ्यो । अहिले यो ताल छ । बाँकी कथा भोलि सुनाउँला । भोलि पनि यतिबेलै आऊ है ? जेलरले अरू बेला भेट्न दिन्न । थाछ, यो जेलर को हो ? त्यै क्या, मेरो गोली लागेर मरेको जगते भन्ने ढोके थियो नि ? हो, उसैको छोरो ।
……
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्….।”
(श्रोत :- कथासंग्रह ‘निदाएँ जगदम्बा’ बाट । )