~मोहन मैनाली~
साउन २२ गते बिहान सबेरै उठेर हामी स्यो गाउँको दाहिने किनारको बाटो लाग्यौँ। एउटा घरमा एकजना मानिस सल्लोको फलेक बसिलाले ताछ्दै थिए। त्यसरी काठ ताछ्दा त्यसको धेरै भाग चोइटा बनेर खेर गएको थियो। उनले आज दिउँसो यस गाउँबाट एक हुल चौंरी काठ बोकेर तिब्बत जान लागेका छन् भने। हामी चौंरी हिँड्ने बेलामा आउँला भनेर छेवाङको घर फर्क्यौँ।
छेवाङको घरमा हामी समेतका लागि खान पाक्दै थियो। छेवाङ र छिमी अगेनाको डिलमा बसेर सिमी केलाउँदै थिए। ढोइमा खुर्सानी पिँध्दै थिइन्। उनले पिँधेको खुर्सानी र उनका बाबु र काकाले केलाएको सिमी झण्डै झण्डै बराबरी थियो। यतातिर पिरो तरकारी खाने चलन छ। तरकारी कति पीरो हुन्छ भने भात खाने हात समेत पोल्छ। बिहान भात खाँदा पोलेको हात अलिअलि सञ्चो हुँदा बेलुका खाने बेला भइसक्छ।
पुङ्गेन गुम्बाको आँगनमा मितेरी साइनो गाँस्दै
भात खाइसकेर हामी फेरि गाउँको दाहिने कुनामा गयौँ। हामी त्यहाँ पुग्दा चौंरीको एक हुल उकालो जाँदै थियो। सबैका ढाडमा सल्लोका काठ बोकाइएका थिए। एक पछि अर्को गरी लाममा हिँडेका चौंरीहरूको लस्कर कुइनेटोमा नछेलिउञ्जेल हामीले तिनलाई भिडियो क्यामराले खिच्यौँ।
यी चौंरी र मानिस पाँच दिनसम्म हिँडेको हिँड्यै गर्छन्। पाँचौँ दिन बल्ल तिब्बतको पहिलो बजार रिऊ आइपुग्छ। त्यहाँ उनीहरू यताबाट लगेका काठ बेच्छन् र त्यसबाट आएको पैसाले चामल र पीठो किन्छन्। एउटा चौंरीले आफ्नो शरीरको दायाँपट्टि चारवटा र बायाँपट्टि चारवटा गरी आठवटा फलेक बोक्छ। एउटा फलेक बेच्दा चार किलो पीठो अथवा चामल किन्ने पैसा आउँछ। यस हिसाबले दुई भारी काठ बेच्दा आएको पैसाले एक भारी मात्र अन्न किन्न पुग्छ।
आज हामी पनि यी चौँरी हिँडेकै बाटो हिँड्नु छ। तर हामी हिँड्ने बेला भइसकेको थिएन। छेवाङले आफ्नो घर र छिमेकमा गर्नुपर्ने काम सिध्याउन बाँकी नै थियो। हामी चौंरीलाई विदा गरेर उनको घर पुग्दा उनी त्यहाँ भेला भएका केटाकेटीलाई चकलेट बाँड्दै थिए।
तिबब्त जाँदा काठ फर्कँदा खानेकुरा
चकलेट बाँडिसकेपछि छेवाङ रक्सीको बोतल र दुईवटा खादा बोकेर छिमेकीको घरतिर लागे। आँगनमा मुहार चाउरी परेकी एक वृद्धा बसिरहेकी थिइन्। उनका लोग्ने पनि छेवैमा बसेका थिए। ती लोग्ने मानिस तन्नेरीमा रूख चढ्दा लडेर कम्मर भन्दा तलको भाग नचल्ने भएको रहेछ। छेवाङले बुढी मान्छेको टाउकोमा आफ्नो टाउको जोडेर ढोगे। उनलाई खादा लगाइदिए। हर्कले होला, बुढी मान्छे रोइन्। निकै बेरसम्म उनले छेवाङका हात छाडिनन्। बल्लबल्ल हात छुटाएर छेवाङले बटुकामा रक्सी हालिदिए। त्यसपछि लोग्नेमान्छेलाई रक्सी दिए। अनि खादा लगाइदिए।
यहाँ, आफूले मान गर्नु पर्ने मानिसलाई भेट्दा खादा र रक्सी दिने चलन छ। छेवाङ पर पुगिसक्दा पनि बुढी मान्छे भने रुँदै थिइन्।
…
केही वर्ष यता तिब्बतीहरूले आफूले ल्याएका सामान गाउँगाउँ डुलेर बेच्न थालेका रहेछन्। पन्ध्रवटा घोडा चढेर आएका तिब्बतीमध्ये आधा जति महिला थिए। उनीहरू सामान पनि बेच्ने र तीर्थ पनि गर्ने भनेर आएका रहेछन्। हिनाङ गुम्बा जान लागेका भन्थे। भोलिपल्ट हामीले उनीहरूलाई पुङ्गेन गुम्बामा भेटेका थियौँ।
स्याला नजिकको उकालोमा हामीले २० वटा चौंरी भेट्यौँ। ती केही दिन अघि स्यालाको काठ बोकेर तिब्बत गएका रहेछन्। आउँदा अन्न बोकेर फर्किएका थिए। ओरालोमा पनि तौलिईतौलिई पाइला चाल्दै थिए। थाकेका थिए होलान।
त्यस रात हामी स्यालामै बास बस्यौँ।
भोलिपल्ट स्यालाको बस्तीमा घिउ–चिया र चम्पा भनिने जौको सातु खाएर हामी बिहान सबेरै उकालो चढ्न थाल्यौँ। हामी लेक लाग्न सुरु हुने ठाउँ भन्दा निकै माथि आइपुगेका थियौँ। त्यसैले आज होस नपुर्यानए ज्यानै जान पनि सक्छ।
हाम्रो आजको यात्रा २,५०० मिटर अर्थात लेक लाग्नु शुरु हुने ठाउँ भन्दा एक हजार मिटर अग्लो ठाउँबाट शुरु हुन्थ्यो। यहाँ भन्दा माथि जाँदा एक दिनमा ५०० मिटर मात्र उक्लनु भन्छन् डाक्टरहरू। तर आज हामीले एकै दिनमा ८०० मिटर जति उकालो चढ्नुथियो। जति माथि गयो, हावामा अक्सिजनको मात्रा उति कम हुँदै जान्छ र सास लिन गाह्रो हुन्छ। त्यसैले लेकमा हिँडन सजिलो हुँदैन। छिनछिनमा थकाई मार्नुपर्छ। तैपनि हामी नयाँ परिवेश हेर्ने रहरमा आफ्नो तागत लगाउँदै उकालो हिँडिरह्यौँ।
लुम्ला खोला तरेर अलिकति हिँडेपछि सामागाउँको फराकिलो उपत्यका देखियो। त्यसमाथिको हिमाललाई बादलले आधा जति ढाकेको थियो। हातमा बञ्चरो र नाम्लो लिएका १०/१२ जना मानिस भेटिए। उनीहरू स्यालाको वनको रूख काट्न जान लागेका थिए।
उनीहरूसँग एकैछिन कुराकानी गरेर हामी सामागाउँलाई दाहिने पार्दै लुम्ला खोलाको किनारै किनार उकालो लाग्यौँ। अलिकति उक्लेपछि हामीले जे देख्यौँ, त्यसले हामीलाई आधा घण्टा भन्दा बढी त्यहीँ रोकिदियो।
छरपस्ट छरिएका, काला ढुङ्गाका बीचबाट बाटो खोज्दै, सेतो फिँज निकालेर, हुर्रिँदै, गडगडाउँदै ओरालो झरेको लुम्ला खोला हाम्रो दाहिनेतिर थियो। खोलाको किनारमा पहेँला, चौडा पात भएका बुट्यान थिए। माथि निलो आकाशमा सेता बादलका टुक्रा छिरविरे भएर जताततै छरिएका थिए। पूर्वतिर एउटा टाकुरो थियो। झण्डै झण्डै कैलाश जस्तो देखिने। त्यो र त्यससँगैको अर्को टाकुरो पनि हिउँले ढाकिएर सेताम्मे भएका थिए। ती दुवै टाकुरालाई बादलले ढाकेपछि मात्रै हामी त्यहाँबाट अघि बढ्यौँ।
बाटोमा पुङ्गेन जान लागेका तीर्थयात्री भेट्यौँ। नेपाली र तिब्बती। उनीहरू पनि विस्तारै हिँडिरहेका थिए।
ठाडो उकालोको अन्त्यमा एउटा छोर्तेन थियो। त्यसमा ‘ओम् मणिपद्मे हुँ’ लेखिएका तिब्बती अक्षर र वुद्धको मूर्ति कुँदिएका अनेक शिला चढाइएका थिए। त्यहाँबाट तल स्यालाको नयाँ बस्ती देखियो। पहिले यस ठाउँलाई स्यालाको वन भन्ने गरिन्थ्यो। घर बसेको र बाटो बाहेक सबैतिर हरियाली थियो।
केही अघि बढेपछि एउटा सुन्दर चुचुरो देखियो। यहाँका मानिसले यसलाई पुङ्गेन भन्छन्। वाहिरी संसारले चाहिँ मनासलु भन्छ।
पुङ्गेन धेरै मानिसलाई धेरै किसिमको महत्व भएको हिमाल हो। कैलाश जान नसक्नेहरूका लागि यो हिमाल कैलाश बराबरको पवित्र ठाउँ मानिन्छ।
यहाँका मानिसको विश्वास अनुसार हिमाल र पहाडमा देवदेवीको बास हुन्छ। चिसो सिरेटो र भीषण पानी पर्यो भने पर्वत भगवानलाई खुशी पार्न याक र भेडा चढाउनु पर्छ भन्छन्। पुङ्गेनका नाममा पनि हरेक वर्ष एउटा सेतो याक जंगलमा छोडिन्छ। यसलाई कसैले समात्न पाउँदैन किनभने यो पुङ्गेन देवताको वाहन हो। छाड्नु अघि याकका दुवै डडेल्नामा काठीको चित्र बनाइन्छ। पुङ्गेन भगवान यही चित्रको काठीमा बसेर सयर गर्छन् भनिन्छ।
एक छिन पछि हामी मैदानको छेउमा पुग्यौँ। भित्तामा हिउँले ढाकिएको चाँदी जस्तो पुङ्गेन हिमाल थियो। त्यस भन्दा तल बुट्यानले ढाकिएको हरियो ढिस्को। अनि त्यसको तल रूप, रङ र आकारमा मझौला तर महत्वका दृष्टिले विशाल पुङ्गेन गुम्बा। अलिपर देब्रेतिरको टाकुरामा पनि हिउँ जमेको थियो। त्यसको सोझै अगाडिका भित्तामा चाहिँ ससाना गुफा बनेका थिए जहाँ आनी र लामा बस्ने गर्छन्।
तिनै टाकुराबाट आएको पानी जमेर बनेको निकै ठूलो पोखरीको दर्पणमा चाहिँ हिमटाकुरा उँधोमुन्टो लगाएर बसेका थिए।दिन ढल्कँदै जाँदा पुङ्गेन गुम्बामा चहलपहल बढ्दै गयो। माथि साम्दो र तल प्रोकदेखिका मानिस विस्तारै थपिँदै गए। आफ्नो घरबाट हिजै हिँडेका मनाङका एक हुल तरुनी तन्नेरीहरू अघि नै आइसकेका थिए। उनीहरूले गुम्बाको पश्चिमपट्टि पाल टाँगिसकेका थिए। त्यस हुलमा तिब्बतीहरू पनि मिसिएका थिए।
गुम्बाभित्र स्योका लामाहरू पूजा पाठ गरिरहेका थिए। एउटा लामो टेबुलमा मोटो किताब राखेर मन्त्र पाठ चलिरहेको थियो। दुईजना बच्चा बेलाबेलामा ढ्याङ्ग्रो बजाउने गर्थे। छेउका दियोमा बत्ती बलिरहेका थिए। केही मानिसहरू गुम्बाभित्र बसेका थिए। केही चाहिँ गुम्बाकै छेउमा हालसालै बनाइएको धर्मशालाको धुवैंधुवांले भरिएको ठूलो कोठामा खानपीन गर्दैथिए।
यही बेलामा केही तिब्बतीहरू फुर्तिला घोडा दौडाएर गुम्बामा आइपुगे।दुई बजेतिर सबै मानिस गुम्बाको आँगनमा भेला भए र चिसो भुईँमा गोलो घेरा बनाएर पलेँटी कसेर बसे। एकजना मानिसले सबैबाट एउटा एउटा सामान लिए– टर्च लाइट, माला, चुरा, कपडा आदि। सबै सामानलाई दुईवटा भाँडोमा राखे। अर्काे एकजनाले दियो बाले र भाँडासँगै गुम्बाभित्र लगे।
एकैछिनमा अर्का एकजना मानिस ती भाँडा लिएर बाहिर आए। उनले दुईवटै भाँडाबाट एउटा–एउटा सामान झिके। ती सामानलाई हातले माथि उठाएर जोडले कराएर सोधे– “कसका सामान हुन् यी?”दुईजना मानिस बीचमा गए र आ–आफ्ना सामान लिएर फर्के। अनि उनीहरू घेराभन्दा बाहिर निस्किए। एकले अर्कालाई कानमा फूल लगाइदिए। फूल त चाँडै ओइलिएर गइहाल्थ्यो। त्यसैले, नओइलिने चिनो खादा साटासाट गरे। सक्ने जतिले एकअर्कालाई रक्सीको सगुन खान दिए।
यो यहाँको मित लगाउने विधि रहेछ। पुङ्गेन देवतालाई साक्षी राखेर गाँसेको मित्रता, मित साइनो तीन पुस्तासम्म कायम रहन्छ भन्ने विश्वास छ उनीहरूमा। आज सबैजना मित लगाउनका लागि आएका रहेछन्।हाम्रा लागि यो चलन अनौठो थियो। यस विधिमा कसले कोसँग मित लगाउने भन्ने छनोट गर्न पाइँदैन। अर्थात् मित मितिनी छान्न पाइँदैन। एकजनाले दुईवटा भाँडाबाट उसलाई मन लागेका दुईवटा सामान झिक्थ्यो। ती सामानका मालिक मितमितिनी हुन जान्थे।
“कसका सामान हुन् यी?” मितका जोडी मिलाइदिने काममा खटिएका पुरुष फेरि एक पटक ठूलो स्वरले कराए। दुइजना मानिस अगाडि आए, हाँसोको फोहरा छुट्यो। यस पटक ७० वर्षकी हजुरआमा र ८/९ वर्षका केटा मित/मितिनी भएछन्। उनीहरूले पनि अघिकै जस्तो विधि दोहोर्यासए।
पलेँटी कसेर बस्ने सबैले हातमा फूलका थुँगा लिएका थिए।यस्तै अनौठोसँग भेटिने मित/मितिनीसँग सम्बन्ध गाँस्न पालो पर्खेर बसेका थिए छेवाङका भाइ छिमी पनि। उनले हातमा एउटा पहेँलो फूल र अर्को बुकी फूल बोकेका थिए।“कसका सामान हुन् यी?” निकैबेर पछि यस पटक छिमीको पालो आयो। उनी आफ्नै उमेरका तिब्बती पुरुषका मित भएछन्। फूल र खादा साट्ने औपचारिकता सकेर उनीहरू कुराकानी गर्न थाले। पहिल्यै कहिल्यै नदेखेका र पछि पनि आक्कलझुक्कल मात्र भेट्न पाइने आफ्ना मितलाई सधैँ सम्झिइयोस् भनेर सकेसम्म धेरै परिचय साटे।
भीडमा फेरि पनि हाँसोको फोहरा छुट्यो। एकजना अग्लो रातो वर्णको तिब्बती र अलि होची, कुर्ता सुरुवाल लगाएर अरू मानिस भन्दा फरक देखिएकी मनाङकी एउटी केटी मित बनेछन्। तिब्बती पुरुष सकेसम्म धेरै झुक्दा पनि उसको घाँटीमा खादा लगाइदिन मनाङकी युवतीलाई कुर्कुच्चा उचाल्नु पर्योष। त्यसपछि ढोइमाको पालो आयो। उनका भागमा चाहिँ आफैँले छानेको जस्तै, उनकै उमेरकी तिब्बती युवती परिछन्। उनीहरूले पनि फूल र खादा साटासाट गरे। ढोइमाले आफनी मितिनीलाई अरूले भन्दा बढी मानमनितो गरिन। धर्मशाला भित्र लगिन् र आफूले घरबाट डोकामा बोकेर ल्याएको खानेकुरा खुवाइन्।
यसरी सबै जना रमाइरहेको देखेर हामीलाई पनि अघि आफना एउटा एउटा सामान दिनुपर्ने रहेछ भन्ने लाग्यो। बेलाबेलामा सबैजना दिल खोलेर हाँस्ने खालका अनौठा जोडी बाँधिने उपक्रम चलिरहेको थियो। छेवाङले हामीलाई जाउँ भन्ने सङ्केत गरे। अनि छेवाङ, उनका भाइ, ढोइमा र हामी फर्किर्यौँ।
(श्रोत :- जगदम्बा प्रकाशनबाट प्रकाशित उपल्लो थलोबाट)