संस्मरण : लीला, मुँआ र आँपको बोट

~सीता पाण्डे~

सानै थिएँ, त्यस बेला सायद आठ-दश वर्षजतिकी ! हाम्रो घर सडकको छेउमा थियो । त्यसभन्दा केही तल बाटैमा आँपको ठूलो बोट थियो । आँपको सिजनमा आँप त खाइन्थ्यो नै त्यसबाहेक करिब-करिब दिनको सम्पूर्ण समय त्यो ठाउँ, गाउँका केटाकेटीका लागि क्रीडास्थल नै थियो । स्कुल जाने केही केटाकेटीहरू पनि त्यहाँ जम्मा हुन्थे भने केही नजानेहरू । स्कुल नजानेहरूमा झापाका आदिवासीहरू जस्तो- सतार, राजवंशी, ताजपुरिया आदि थिए ।

आँपको त्यो फेद एकप्रकारले ‘चिल्ड्रेन पार्क’जस्तै थियो भने पनि हुन्छ । हुन त भौतिक सुविधाका हिसाबले यो संज्ञा ‘त्यो’ ठाउँलाई दिन नसकिएला तर त्यस बेलाका त्यहाँका केटाकेटीका लागि त्यो ठाउँ उपयोगी र मनोरञ्जनयुक्त थियो । हुन त त्यहाँ केटाकेटीबीच कहिलेकाहीँ लडाईँ-झगडा पनि नहुने होइन । यस्तो बेला कि त ठूला मान्छेहरूले आएर छुट्याइदिनुपथ्र्यो या लडाइँ गर्दा-गर्दा उनीहरू थाक्नुपथ्र्यो । खासगरी गर्मीको समयमा (हुन त तराईमा प्रायः गर्मी नै हुन्छ) केटाकेटीहरू त्यस छहारीमा बस्न, खेल्न रुचाउँथे । म पनि प्रायः त्यहीँ हुन्थे ।

अहिलेजस्तो त्यो बेला खेलकुद त्यति सर्वसुलभ र सहज थिएन । त्यसमा पनि गाउँका ती आदिवासीहरूका छोराछोरीका लागि कहाँ सम्भव थियो र ! तिनीहरू माछा मारेर, सिकार गरेर र गाउँमा जमिनदारहरूको काम गरेर जीविका चलाउँथे । अहिले त गाउँमा पनि फुटवल, क्रिकेट, भलिवल आदि लोकप्रिय र बहुप्रचलित छन् । यद्यपि म कुरा गर्दै छु, आजभन्दा सत्ताइस-अठ्ठाइस वर्षअघि झापाको गौरादहको । मादलडङ्गा जाने बाटोमा उभिएको आँपको त्यो ठूलो छहारी मुन्तिर एक दिन केही केटाहरू खोपी खेलिरहेका थिए । त्यसमध्ये एउटा ‘लीला’ नाम गरेको किशोरवस्थाको सतार केटो थियो । खोपी खेलमा सायद तिनीहरूले माटाको खबटा प्रयोग गरेका थिए । तीन-चार कदमको दुरीमा भूइँमा खोपेर खेलिने खेल हो क्यार खोपी । एकप्रकारले गुच्चा खेलेजस्तै एउटा ढ्याक सायद तामा वा पित्तलको दस पैसा होला ।

म पनि छेउमा उभिएर हेरिरहेकी थिएँ । मसँगै उभिनेहरू अरू पनि थुप्रै थिए । तिनीहरूको नाम अहिले मलाई सम्झना छैन । साथै तिनीहरू कहाँ र कस्तो अवस्थामा छन् ? त्यो पनि थाहा छैन । तर लीलाले गरेको त्यस बेलाको क्रियाकलाप मेरो मस्तिष्कबाट हटेको छैन । खोपीमा जब-जब ऊ अरूसित हाथ्र्यो, झटपट धूलोको त्रिकोण बनाएर त्यस बेलासम्म ‘पुसअप’ गथ्र्यो जबसम्म उसको खोपीमा पालो आउँदैनथ्यो । अनि त्यो त्रिकोण त्यति बेला भत्किन्थ्यो, जब त्यहाँबाट बनियाँको लुते घोडीको टापले कुल्चिदैनथ्यो । त्यो रुख बाटैमा भएकाले आवतजावत भइरहन्थ्यो । हटियामा सामान बेच्न लैजाने बनियाँहरू घोडा चढ्दैनथे । हुन त ती घोडी वा घोडाहरू चढ्नलायक पनि हुँदैनथे । तिनमाथि सामान यति धेरै लादिएको हुन्थ्यो कि त्यसको बोझले तिनीहरूलाई हिँड्नसमेत गाह्रो पथ्र्यो । बनियाँहरू पछाडिबाट सिर्कनाले हिर्काएर हिँडाउँथे ।

लीलाको त्यो क्रियाकलापले अरूलाई त के कस्तो प्रभाव पार्‍यो वा पारेन मलाई थाहा छैन । तर त्यसबेला त मलाई पनि केही भएन, त्यसबारे सोचिनँ पनि । यद्यपि जब कथा लेख्न थालेँ, विस्तारै ‘लीला’ लाई सम्झिन पुगेँ- आँपको बोटलाई, केटोकटीहरूको त्यो हुललाई, लीलाले माटोले बनाएको त्रिकोण, लँगौटी खोलेर मच्चिने गरेको त्यो दृश्य । मेरे धेरै कथाहरूमा पनि आदिवासी केटाकेटीहरूको त्यस बेलाको चित्रण छ । तिनीहरूमध्ये थोरैको शरीरमा मात्र लुगा हुन्थ्यो । तर तिनीहरू प्रायः सबैको कम्मरमा कालो धागोको कन्दनी लगाइएको हुन्थ्यो जसमा पैसा, कौडा या त्यस्तै धातुहरू उनिएको हुन्थ्यो ।

लीलालाई मैले संयुक्त उपन्यास ‘अवतार विघटन’मा प्रस्तुत गरेकी छु । मलाई लाग्छ, त्यसबेला लीला उत्तेजित थिएन । यद्यपि ऊ अनुकरण गरिरहेको थियो । विपन्न सतारहरूको घरलाई एउटा कोठा मान्न सकिन्थ्यो वा कोठालाई ‘घर’ भने पनि हुन्छ । अहिले पनि तराईमा त्यस्ता थुप्रै घरहरू देख्न पाइन्छ- बाबु-आमा, छोराछोरी सबैजना सँगै सुत्ने एउटै कोठा, एउटै घर । त्यस्तो बेला बाबुआमाले जति सचेतता र होसियारी अपनाउँदा-अपनाउँदै पनि कहीँ कतै त्रुटि भइदिन्थ्यो होला । एउटा कुनै कथामा मैले यही कुरालाई यसरी देखेकी छु, ‘तिनीहरू जब (जब त्यस कुराले पिरोलिन्थे वा सताइन्थे तब-तब कँचिया-हँसिया) वा खुर्पी लिएर घाँस काट्ने निहुँले खेतबारीतिर लाग्थे ।’

केही वर्षअगाडि म घर जाँदा रुखलाई उभिरहेको देखिनँ । त्यसलाई काटेर मानिसले आ-आफ्ना घरतिर हिँडाएछन् । केहीबेर नरमाइलो र खिन्न लाग्यो । अब त्यहाँ कुनै पनि सतारको परिवार थिएन । सम्पन्न र जमिनदार राजवंशी र ताजपुरियाहरू सानो ठाउँमा साँगुरिन पुगेछन् । पहाडेहरूलाई जग्गा बेच्ने तिनीहरू अहिले पहाडेहरूकै हली र गोठाला बन्न पुगेछन् । ‘औँलो दिँदा डुँलुलो निल्ने’ भनेझैँ घडेरीका लागि “अलिकति जग्गा देऊ देउनियाँ !” भन्नेहरू अहिले दसौँ बिघाको भूमिपति बनेछन् भने देउनियाँहरू ‘ऐलानी जग्गा’ खोज्दै हिँड्न थालेछन् ।

ती देउनियाँहरू जो अहिले अर्का(पहाडे)को घरमा हली, गोठाला छन् वा ठेला घुराउँदै, झल्ला बुन्दै अतीतलाई सम्झिदा हुन् जसको जीवन कुनैबेला राजसी ठाँट र ऐयासीपूर्ण थियो । मलाई यी सब सम्झिदा एउटा लोककथाजस्तो मात्र लाग्छ ।

जुन लोककथाको एउटा साक्षी म पनि हुँ । एउटा ‘मुँआ’ नामको जमिनदार थियो हाम्रै गाउँमा । तिनी बिसौँ बिघा जमिनका मालिक थिए । तिनको आँपको ठूलो बगैँचा थियो । थुप्रै गाई, भैँसी थिए । केही वर्ष पहिले घर जाँदा बजारमा र एउटा घुम्तीमा बसेर चिया पिउँदै थिएँ । एउटा कुनामा शरीर बेस्सरी सुन्निएको मान्छे जुठा गिलास पखालिरहेको थियो । लाग्दथ्यो, ऊ निक्कै बिरामी र अस्वस्थ छ । उसको बिरामीपनलाई हेर्दा मलाई त्यो मान्छे कता-कता चिनेजस्तै, देखेजस्तै लाग्यो । मैले होटल मालिक्नीसित उसका बारेमा सोधेँ । अनि मलाई थाहा भयो त्यो त कुनै बेलाको जमिनदार ‘मुँआ’ पो रहेछ ! मलाई आश्चर्य, दुःख, पीडा र क्षोभ सबैले एक्कैचोटि घेरे । म हेरेको हेर्‍यै भएँ । अनि केहीबेरपछि तिनीहरूको घेराबाट चियाउँदै सोधेँ, “तपाईं मुँआ काका होइन ?”

उसले मुन्टो हल्लाएर केवल ‘हो’ भन्ने सङ्केत मात्र गर्‍यो । सानो छँदा मलाई बोकेर माया गर्ने काकाले काठमाडौँबाट कहिले आयौ ? के गर्दैछयौ ? या कस्तो छ ? भनेर समेत सोधेन । तर नचिनेर भने होइन । उसले मलाई सहजझैँ लियो, नलियोस् पनि कसरी ! समाजका निर्मम, क्रूर र हिंस्रक टाठा-बाठा र बुद्धिजीवीहरूले उसको जमिन्दारी कर्‍याम-कर्‍याम चपाइदिएछन् ।

अझ पछिल्लोचोटि जाँदा त त्यस दोकानमा मुँआलाई देखिनँ । एउटा फुच्चे रहेछ । पसलवाल्नीलाई “मुँआले यहाँ काम गर्न छोड्यो ?” भनेर सोधेँ । “हैन संसार नै छोड्यो” भन्ने जवाफले म अवाक् रहेँ । ‘चिया !’ म झस्किएँ । एउटा बालक मुँआझैँ चियाको कप राखेर मेरो अगाडि उभिइरहेको थियो- आँपको बोटझैँ ठिङ्ग ।

(श्रोत :-  संस्मरणात्मक कृति यौन र अनुभूतिबाट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.