कथा : मायाको लाइन

~मणि लोहनी~Mani Lohani

यहीनेर उनीसंग भेट भयो । मायाको लाइनमा ।

लाइनमा महिलाहरु छन् र आफ्नो पालो पर्खिरहेछन् । उनी पनि पालो पर्खिरहेकी थिइन् । २६ वर्षकी उनले तीन वर्ष अघि लोग्ने गुमाएकी हुन् । आंतककारी विस्फोटमा परी उनका लोग्ने मारिएका । म पनि मायाको लाइनमा नै छु । तर म पालो पर्खिरहेकी छैन । उनीहरु लामबद्ध भएर मसम्म आइपुग्छन् र मैले उनीहरुलाई उनीहरुको भागमा परेको माया उपलब्ध गराइ दिनु पर्छ । एक अर्थमा म माया बाँडेर बसेकी छु । कस्तो अचम्म माया पनि बाँडिने चिज हो ? बाँडेको पनि के भन्नु ? लाइनमा बसेर माया पाइन्छ ? कस्तो उदेक लाग्दो । तर यहाँ भएको छ यस्तै, म उनीहरुलाई उपलब्ध उनीहरुले ठान्ने गरेको माया वितरण गरिरहेकीछु । मायाको अधिकृत बिक्रेता जस्तो । अधिकृत वितरक त्यो पनि सित्तैमा ।

काठमाण्डौं नजिकै धादिङको मुरलीभज्याङमा जन्मिएकी म । बिबाहपछिको पाँच बर्ष काठमाण्डौंमा बित्यो । यतिखेर म नाइजेरियामा छु । र नितान्त एक्ली छु । ऊ छैन मसंग ।

रोगी हजुरआमाको इच्छा पुरा गर्न काठमाण्डौंको राम्रो खानदानी केटासंग मेरो कन्यादान भएको थियो । आमा थिइनन् । बाबु र काकाकाकीले कन्यादान गरे । मलाई लिएर आउने त्यो पुरुषसंग काठमाण्डौ आएदेखि नै राम्रो भएन । राम्रो होला की भन्दा भन्दै पाँच वर्ष बित्यो । कुर्नु र नपाउनुको नियती भोग्नै पर्‍यो मैले । सम्झौता नगरेको कहाँ हो र, मेरो जीवनको अत्याधिक कष्टकर र दुर्भाग्यपूर्ण समय सजिलै विर्सन सक्दिन म ।

बिबाह गरेर मात्र सम्बन्ध जोडिनु भनेको एउटा अप्ठ्यारो बोकेर छुटिने तयारी मात्र रहेछ भन्ने लाग्छ । सम्वन्ध त प्रेमले बनाउने रहेछ, सम्बन्धले कहिल्यै प्रेम बनाउन सकेन हामीहरुबीच । अरुले जोडिदिएको सम्वन्धको आधारमा प्रेमको निर्धारण गर्नु निकै गाहृो कुरा हो । चिन्नु न जान्नुको मान्छेसंग एकाएक प्रेम उत्पति हुदैन पनि, थाह छैन मान्छेहरु त्यसरी जोडिएको सम्बन्धमा कसरी पुरै जिन्दगी बिताउन सक्छन् ? एक अर्काबीच माया र सम्मान नभएको सम्वन्ध असफल सम्झौता भन्दा बढ्ता अरु केही होइन ।

उसको र मेरो सम्वन्धमा न माया थियो न सम्मान । हरेक पल कष्टकर रहेको त्यो सम्वन्ध कुनै पनि बेला टुट्न सक्छ भन्ने लाग्थ्यो मनमा । कति सहनु मैले मात्र ? सम्झाएकै थिए पटक पटक उसलाई र आफ्नो मनलाई पनि, ‘चित्त नबुझेको कुरामा हामी छलफल गरौं । केही कुरा तिमी मान केही कुरा म मान्छु । मिलेर बस्नु पर्छ । जिन्दगी लामो छ । मुख कालो बनाएर कसरी जिन्दगी बिताउनु ?’ भनेकै हो हरेक असहमतिहरुमा ।

तर उसले मेरो कुरा कहिल्यै सुनेन । ‘मेरो सल्लाह मान्छौं भने तिमी र म झगडा नगरौं । तिमीलाई मन लागेको तिमी गर । मलाई मन लागेको म गर्छु ।’ सम्झौताको हदमा पुगेर मैले सल्ल्ााह दिएथें । मेरो सल्लाहले उसको पुरुष अंहममा ठेस पुग्यो सायद । त्यो साँझ अरु साँझभन्दा ज्यादा कुट्यो मलाई । अरु साँझ झै चुपचाप सहेर बस्न्ा मन लागेन त्यो साँझ र उल्टै उसैको हात समातेर उसलाई भकुरेँ ।

भोलिपल्ट उसका भाउजु र आमा आएर मलाई गाली गरे । मलाई मात्र होइन मेरी मरिसकेकी आमाको बारेमा पनि के के भने । आफुले गर्दै नगरेको गल्तीमा आमाको समेत नाम मुसिदाँ मलाई नमीठो लाग्यो । सहनै सकिन र म अदालतको शरणमा पुगेँ ।

१५ / २० दिन लाग्यो त्यसपछि उसंगको वेस्वादिलो साइनो र कष्टकर सम्वन्धबाट म मुक्त भएँ । अदालतबाट डिभोर्स पेपर हातमा लिएर र्फकदा म फूल झैं हलुंगो थिएँ । कति पि्रय लाग्दो रहेछ एउटा उन्मुक्त जीवन त्यति वेलै बुझे । असहज सम्वन्धलाई घाउजस्तो टाँसेर हिड्न हुदैन रहेछ । काटेर फाल्नु नै उत्तम ।

‘किन बिबाह गर्न खोजेको ?’ मैले सोधेँ ।

उनले मलाई पुलुक्क हेरिन् । गोरो अनुहारमा कालो आँखा र आँखाभरि असरल्ल छरिएका दुःखहरु । ‘मलाई बच्चाको बाबु चाहिएको छ । म चाहान्छु मेरो बच्चाले टुहुरो हुन नपरोस् ।’

‘तिमीलाई लोग्ने चाहिएको छैन ?’ मैले सिधै सोधेँ । मेरो काम नै उनीहरुलाई लोग्नेस्वास्नी जुराई दिने भएको छ यति वेला ।

‘मेरो जीवन म जसरी पनि बिताउँथे । तर यो आंतकमा मेरो बच्चालाई एक्लै जोगाउन गाहृो छ ।’ उनले काखमा च्यापेको बच्चा तिर हेर्दै भनी । उनले बताए अनुसार उनका दुई बच्चा रहेछन् । यति कलिली नाबाहानी उस्मानको दुई बच्चा ? उदेक लाग्छ । यी मुश्लिमहरु बच्चा जन्माउनका लागि मात्र बिहे गर्छन की क्या हो ? मनमनै सोच्छु ।

नाइजेरियाको उत्तरी भागमा पर्ने कानो शहर, जहा म छु र मसंगै छन् मायाको लाइनमा बसिरहेका नाबाहानी र दर्जनौ महिलाहरु । उनीहरु सबै पुनः विवाह गर्न चाहान्छन् । नाइजेरिया सरकारले शान्ति ल्याउन सहयोग पुग्ने आशाका साथ आरम्भ गरेको विवाह कार्यक्रममा सामेल हुन उनीहरु ल्ाामवद्ध छन् । विवाह गर्नुलाई उनीहरुले मायासंग जोडेका छन् र यसलाई उनीहरुले मायाको लाइन भन्ने गरेका छन् । कति सरल बुझाई, अनि कति सहज मन । के बिबाह र माया एकै हुन सक्छ ?

विबाह र माया एकै हुँदो हो त म यसरी यहाँ किन आउँथे ? किन मेरो विवाहित पुरुष मेरो मायाको भागमा पर्न सकेन ? नमीठो लाग्छ मलाई, माया महशुश गर्न नसकेको त्यो सम्वन्धको सम्झनाले ।

गैरसरकारी संस्था भ्वाइस अफ विडोज, डाइभोर्सिज एण्ड अर्फान्स अफ नाइजेरिया हिसबाहमा कार्यरत छु यति वेला । हिसबाहले कार्यक्रम संयोजकको रुपमा मलाई कानो शहरमा खटायो । सम्बन्ध तोडेर हिडेकी म सम्बन्ध जोड्न बसेकी छु । आश्चार्य लाग्छ जीवनको परिपाटीभित्र परेको मान्छेको जिउने प्रक्रिया, प्रेम नबुझेकी मैले सम्बन्ध कसरी बुझ्नु ?

शहरबाहिरको यस्तै शिविरमा लामबद्ध पुरुषहरुलाई छानेर हाम्रा साथीहरुले यहाँ ल्याउछन् र यहाँ लामबद्ध महिलाहरुसंग छुट्टाछुट्टै भेट गराइन्छ । उनीहरुको कुरा मिल्यो भने हिसबाहले नै उनीहरुको बिहे गरिदिन्छन् ।

इस्लामी सरिया प्रहरीको सहयोगमा सञ्चालित यस कार्यक्रमबाट नाइजेरियाको अस्थीरता कम हुने हिसबाहको विश्वास छ । यसले विधवा र पारपाचुके गरेका महिलाहरुलाई उपलब्ध पुरुषसंग बिवाह गरिदिन्छ । इस्लामिक समूह बोकोहरामका कारण नाइजेरियामा हिंसात्मक गतिविधि अत्याधिक हुने गरेको छ । जसबाट हरेक महिना ९० जनाभन्दा बढि विधवा हुने गरेका छन् । थाहा छैन यस किसिमको मायाको लाइन अर्थात सामुहिक विवाह कार्यक्रमले स्थिर घर तथा परिवार उपलब्ध गराएर सामाजिक सम्वन्ध विस्तारमा सहज हुने र हिंसात्मक गतिविधि कम हुने नाइजेरियन सरकारको अपेक्षा कति पुरा हुन्छ ।

तर नाइजेरिया आएपछि अभाव, आवश्यकता, बरोजगारीको दिक्दारी भन्दा ठूलो प्रेम नहुदो रहेछ भन्ने शिक्षा पाएकी छु मैले । अभावको हिंसा भन्दा ठूलो हिंसा नहुदो रहेछ प्रेमको । हिंस्रक बनेका यहाँका युवाहरु, यस्ता कार्यक्रमले हिंस्ाा बाट केही रोकेको अनुभूत पनि भएको देखिन्छ । बालबालिकाले आमा तथा नयाँ पितासंग स्थिर जीवन बिताउन पाउँछन् । उचित शिक्षादिक्षा र स्याहारले उनीहरु सामाजिक बन्न प्रेरित हुन्छन । मान्छेको भावुकता भन्दा पहिला जीवन रक्षा नै भौतिक सत्य रहेछ ।

मैले नाबाहानीलाई इस्म्ााइल इब्राहिमसंग भेटाइ दिएँ । दुबैले केही बेर कुरा गरे । दुबै खुशी बनेँ ।

‘हामी अव बिहे गर्न चाहान्छौं ।’ इस्माइलले भने ।

‘यो विवाहलाई दिगो बनाउन सक्छौ ?’ मैले इस्माइललाई सोधेँ ।

‘कतैबाट मारिएनौ भने हामी छुटिदैनौं ।’ इस्माइल मुस्कुराए । नाबाहानीले मायालाग्दो गरी इस्माइललाई हेरी । बर्षौदेखिका प्रेमीप्रेमिकाजस्तो उनीहरु एक अर्कालाई हेरिरहेका थिए ।

बिबाहको दिन नाबाहानीले मेरो दुबै हात समाती, ‘भोलि बेलुकाको खाना हामीकहाँ है ?’

मैले ‘हुँदैन’ भनें । इस्माइल पनि नजिकै आए र दुःखी अनुहारमा भने, ‘कानो शहरमा हामीसंग हाम्रो बच्चा सिबाय अरु कोही छैनन् । तपाईले हामीलाई भेटाइ दिनुभो । हामी तपाईलाई धन्यवाद भन्न चाहान्छौं ।’

नाबाहानीले आँखाभरि आँसु पारेर मलाई हेरी, ‘हामी दुःखी छौं गरिब छौं, आफ्नै देशमा असुरक्षित छौं तर हाम्रो पनि मन छ म्याडम ।’ मलाई कता कता दुख्यो । भावुकता त रहेछ नि यहा पनि । सम्झौता गरे सम्बन्ध प्रेम पनि बन्दो रहेछ, यस्तै लाग्यो । तर म सम्वन्धहरुबाट भागेकी स्वास्नीमानिस । मलाई उनीहरुसंग जोडिनु छैन । सम्वन्धले दुःख सिवाय केही दिदैन भन्ने मलाई लाग्छ । भर्खरै जोडिदै गरेका उनीहरुलाई यो सब कसरी बताउनु ?

मैले ‘भोलि बेलुकाको खाना तिमीहरुका पक्का’ भनेपछि उनीहरु खुशी भएर गए ।

बिहानै नाबाहानीले फोन गरिन् ‘बिर्सिनु भएको त छैन नी ?’ म हाँसे, ‘आउँछु ।’

केही मिठाई र बच्चाका लागि कपडाहरु लिएर उनीहरुको घर इकाबिला रोडमा पुगेँ । बच्चालाई लेख्न सिकाइरहेको इस्माइल हाँसेर ढोकामा आइपुग्ो । अल्लाहको मन्त्र लेखिएको पोष्टर टाँसिएको भित्तामुनि रहेको काठको कुर्सीमा म बसेँ । खाना पकाउँदै गरेकी नाबाहानी पनि मुस्कुराउँदै नजिकै आइन् ।

साँझको सात बज्न लागेको थियो । इस्माइल घर बाहिर निक्लिन लागे ।

‘किन’ मैले सोधे ।

‘दहि लिन ।’ नाबाहानीले जवाफ दिइन् । कानो शहरको इकाविला रोडमा अवस्थित उनीहरुको घर बजार नजिकै थियो । मस्जिद नजिकैको बजार मिठाइ र दहीको लागि चर्चित थियो ।

‘ड्याम्म…….’

इस्माइल बाहिर निक्ले लग्ात्तै आएको ठुलो आवाजले हामी तर्सियौं । आवाज बम विस्फोटनको थियो । एक्कासी कोलाहल सुनियो । मानिसहरुको भागदौड मच्चियो । प्रहरीको भ्यान र एम्बुलेन्सहरु दगुरेको आवाज पनि सुनियो । नाइजेरियाका प्रहरीहरु मलाई लिन आए, ‘सुरक्षा अवस्थ्ाा बिगि्रएको छ तपाई छिटै होस्टेल हिड्नुस् ।’

मैले नाबाहानीलाई हेरेँ । उसको अनुहारको रंग एका एक अध्यारो भयो । प्रेम र आदरसाथ उनले मलाई खाना खान बोलाएकी । खाना नखाई म कसरी जानु ?

म केही नबोलेको देखेर प्रहरी अधिकारी रिसाए, ‘बाहिर अवस्था बिगि्रएको छ । छिटो हिड्नुस् । विदेशी पाहुनाको सुरक्षा हाम्रो पहिलो दायित्व हो ।’

इस्माइल अझै फर्किएको थिएन । म हिड्नु अघि नाबाहानीले मेरो हात चपक्क समातिन् । मैले उनलाई अंगालो मारे र निस्किएँ । रात भर निन्द्रा लागेन । इस्लाम फर्कियो कि फर्किएन, नाबाहानीले के गरिहोली ? सोचीरहे ।

भोलिपल्ट मन नलागी नलागी म फेरि विवाह शिविरमा गएँ । सधै जस्तै मायाको लाइनमा दर्जनौ महिलाहरु ल्ाामबद्ध थिए । ती दर्जनौं विधुवा महिलाहरुको भीडमा मैले पुन नाबाहानीलाई देखे । उनी अँध्यारो मुख लगाएर पुनः मायाको लाइनमा उभिएकी थिइन् ।

(श्रोत :- Onlinekhabar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.