कथा : भैंसी चोर

~महेशविक्रम शाह~Mahesh Bikram Shah

हवाईजहाजको ढोकाबाट निस्केर सिंढी ओर्लदैं गर्दा उसको चालमा विजेताको आभाष पाईन्थ्यो । सिढीबाट भुँइमा खुट्टा राख्ने वित्तिकै उसले झुकेर दुवै हातले भुँई स्पर्श गर्‍यो र फेरि त्यही हातले शीरमा, छातिमा र ओठमा स्पर्श गर्दै आकाशमा हात फैलायो । उसका ओठहरु चलिरहेका थिए । सायद उ भगवानको नाम जपिरहेको थियो । उसले अर्को पाईला चाल्नै खोजेको थियो कि एक झुण्ड मान्छेहरुले उसलाई वरिपरिबाट घेरिसकेका थिए । तिनीहरु उसको राजनैतिक पार्टीका जिल्लास्तरीय कार्यकर्ता थिए । तिनीहरुले हात-हातमा अविर, माला, फूलको गुच्छा र मिठाई बोकेका थिए । केही छिनमा नै उसको अनुहार अविरले रङ्गएिको थियो । गला फूलको मालाले ढाकिएको थियो । दुई चार जनाले उसलाई हातले उचालेर काँधमा बोक्न पनि भ्याइ सकेका थिए । मान्छेहरुको त्यो झुण्डले अव नाराबाजी गर्न शुरु गरेको थियो ।

रायबाबु जिन्दाबाद !

रायबाबु जिन्दाबाद !

रायबाबु जिन्दाबाद !

उ यानि रायबाबु अट्टहास गर्दै हासिरहेको थियो । विमानस्थलमा भेला भएका कर्मचारीहरु, यात्रुहरु, उसलाई स्वागत गर्न आएका मान्छेहरु र संचारकर्मीहरु रमाइलो मानेर उसलाई हेरिरहेका थिए । उ झन् रमाइलो मानेर तिनीहरु सबैलाई मुन्टो घुमाई घुमाई हेरिरहेको थियो ।

मैले उसलाई पहिलोपल्ट सुटमा देखेको थिएँ । खैरो रङ्गको सुट अबिर लागेर बहुरङ्गी देखिएको थियो । अनुहारमा अबिर दल्ने र गलामा फूलको माला पहिराउने मान्छेहरुको भीड बढ्दै गईरहेको थियो । उसलाई र उ वरिपरिको मान्छेको भीडलाई देखेर म आश्चर्यचकित भईरहेको थिएँ ।

उ मेरो नजिक आइरहेको थियो । उ जतिजति मेरो नजिक आइरहेको थियो त्यति नै मैले टेकेको भुँइ भास्सिदै गइरहेको थियो । मैले मनले नमानेतापनि उसको स्वागतार्थ हातमा फूलको गुच्छा लिएर उभिइरहेको थिए । उ यसरी आउला र उसलाई मैले योरुपमा स्वागत गर्नु पर्ला भन्ने कहिल्यै सोचेको थिईन । जीवनमा प्राय हामीले इच्छा नगरेका र नसोचेका घटनाहरु नै वढी घटित हुने गर्दछन् । यो घटना पनि सायद त्यस्तै नै थियो ।

उ मेरो धेरै नजिक आइसकेको थियो । उसको वरिपरि रहेका प्राय सम्पूर्ण मान्छेहरुलाई म चिन्दथे । तिनीहरु यस क्षेत्रका पेशेवर अपराधी, तस्कर र गुण्डाहरु थिए, जसमध्ये कोही भर्खर कैद भुक्तान गरी जेलबाट रिहा भएका थिए, कोही अदालतबाट धरौटीमा छुटेका थिए त कसैका विरुद्ध अदालतले पक्राउ गर्नका लागि वारेण्ट समेत जारी गरेको थियो । तिनीहरु सबै मेरो उपहास गर्दै चिच्याई रहेका थिए ‘भ्रष्ट प्रहरी प्रशासन मूर्दावाद !’

उ मेरो अगाडि खडा थियो । उसको अनुहारमा हेर्दै म र्किकर्तव्यविमूढताको अवस्थालाई महसुस गरिरहेको थिएँ । मभन्दा पहिले नै प्रमुख जिल्ला अधिकारीज्यूले अगाडि बढेर उसलाई नमस्ते गर्दै पुष्पगुच्छा दिनुभयो र भन्नुभयो : ‘बधाई छ मन्त्रीज्यू !’

उ आँखा तरेर मलाई हेरिरहेको थियो । मैले हडबडाउँदै छडी बायाँ काखीमुखी च्यापेर सलाम ठोके र भने ‘मन्त्रीज्यू बधाई छ ।’ उ खितखित हाँस्यो । उसले स्वागतकालागि उभिएका सबैसँग हात मिलायो तर मसँग भने मिलाएन । म हीनताबोधले मन भित्रभित्रै गलि रहेको थिएँ । उसलाई सलाम ठोक्नु पर्ने आफ्नो नियतिलाई म धिक्कारी रहेको थिएँ ।

‘मेरो सुरक्षा व्यवस्था कस्तो छ एसपी ?’ उ बोल्यो ।

‘सबै ठीक छ सर !’ म बोले ।

उ फेरि मलाई हेर्दै खित्खित् हाँस्यो । उ हाँसेको देखेर उसलाई वरिपरिबाट घेरी बसेको मान्छेको झुण्ड झन् जोडले हाँस्यो ।

‘मन्त्रीज्यूको सुरक्षामा अलीकति मात्र तलमाथि भयो भने जागिर जान्छ नी ।’

मन्त्रीको पिएले चेतावनीको भाषामा मतिर हेर्दै भन्यो ।

मलाई भने ऐले नै जागिर छोडेर बर्दि फुकाली घर जान पाए हुन्थ्यो जस्तो लाग्यो ।

मन्त्रीको सवारी चलिरहेको थियो । मेरो गाडी मन्त्रीको गाडीको अघि अघि गुडीरहेको थियो । मन्त्रीको गाडी पछाडि हातहतियारले सुसज्जित प्रहरीको पछुवा गाडी पनि थियो । त्यसपछि अन्य गाडीहरु थिए ।

मन्त्री गाडीको झ्यालबाट हात र टाउको बाहिर निकालेर सडकमा उभिएका नागरिकहरुलाई उत्साहका साथ अभिवादन गरिरहेको थियो । ती नागरिकहरु आश्चर्यचकित भएर मन्त्रीको लश्करलाई हेरिरहेका थिए ।

मेरो दिमाक भने विगतका घटनाहरुलाई स्मरण गर्न थालेको थियो ।

00

नेपाल भारत सीमानामा रहेको प्रहरी चौकीले एक रात रघ्घु नामक युवकलाई सीमानामा पक्राउ गर्‍यो । उसको साथमा १५ वटा भैंसीहरु थिए जुन उसले नेपालभारतको सीमानामा पर्ने इन्द्रपुर गाउँबाट चोरी गरेको थियो । ऊ ती भैसीहरुलाई सीमापार गरी भारतमा लग्न थालेको थियो ।

दोश्रो दिन १५ भैंसी सहित रघ्घुलाई जिल्ला प्रहरी कार्यालयमा कारवाहीका लागि ल्याईयो । उसको पुरा नाम रघुवन राय थियो । कार्यालयको अभिलेख अनुसार उसलाई यस भन्दा पहिले पनि दुई-तीन पटक भैंसी चोरेको अभियोगमा कारवाही भइसकेको थियो । गाउँलेहरु उसलाई ‘भैंसी चोर’ भन्न थालेका थिए । कार्यालयको फोटोग्राफरले रिकर्डको लागि भनेर १५ वटा भैंसीको वीचमा राखेर उसको फोटो खिच्यो । त्यो फोटोलाई हामीले केही दिनसम्म अफिसको वोर्डमा टाँसेका थियौं । काम विशेषले प्रहरी कार्यालयमा आउनेहरु त्यो फोटो हेर्दै रमाउँथे र हाँस्दै भन्थे “अरे यो त जयसपुरको भैंसी चोर पो हो त !” हो उ नेपाल भारत सीमा नजिक रहेको गाउँ ‘जयसपुर’ को वासिन्दा थियो ।

एक विहान उ मेरो अगाडि हात जोड्दै गिड्गिडायो “हजुर एकबारलाई माफ गरिदिनुस् ।”

उसलाई माफी दिईएन किनकि उसले यस्तै अपराध एकबार होईन धेरैबार गरिसकेको थियो ।

00

मन्त्रीको सवारीको कारकेड अगाडि बढिरहेको थियो । म ‘उ’ यानि मेरो विगतको पात्रलाई सुरक्षा दिई रहेको थिएँ । मेरो विगतको भिलेन पात्र – वर्तमानमा हिरोको भूमिकामा थियो । यस्ता घटनाहरु यथार्थमा भन्दा बढी फिल्ममा हेर्न पाईन्छन् । तर म आˆनै जीवनमा भोगिरहेको थिएँ । यो भोगाई सर्पको विषालु डसाई भन्दा कम पीडादायक थिएन । म फेरि विगतमा र्फकें र भिलेनको भूमिकामा रहेको उसको चर्तिकलालाई स्मरण गर्न थालें ।

उसले कसम खाए अनुसार भैंसी चोरीको काम छोडेको थियो । तर केहि समयपछि आश्चर्यजनक रुपमा उसको नाम लागुऔषध कारोवार गर्ने गिरोहसँग जोडिएको थियो । पक्राउ परेका लागु औषध दूव्र्यसनीहरु उसबाट नै लागु औषधको धुलो पाएको भनी बयान दिन्थे । लागु औषधको पुडिया बेच्नेहरु पनि उसबाट नै थोकको भाउमा सेतो हिरोइन र खैरो हिरोइन लिने गरेको दावी गर्थे । तर उ भने धेरै समयसम्म प्रहरीको आँखा छलेर आˆनो अवैध व्यापार बढाउन सफल भईरहृयो । यो सफलता प्राप्त गर्न उ मनग्गे पैसा खर्च गरेर राजनैतिक पार्टीका शक्तिशाली नेताहरु, कार्यकर्ताहरु, घुमुवा प्रहरीहरु, भन्सारका कर्मचारीहरु, सीमाका सुरक्षाकर्मीहरु र लोकल गुण्डाहरुको सहयोग जुटाउँथ्यो । यतिसम्मकि उसको घरमा पाइलटहरु, डाक्टर, इन्जिनियरहरु, प्रहरीहरु, सैनिकहरु, उच्च ओहोदाका कर्मचारीहरु, उद्योगपति र व्यापारीहरु पनि लागुको रमरमको मजा लिन जान थालेका थिए । हुँदाहुँदा स्कूल-कलेजका विद्यार्थीहरु समेत स्कूलको ड्रेसमा नै उसको गाउँ छिर्न थाले । पूरै गाउँलाई ऊ ‘लागुऔषधको संसार’ उपनामले चिनाउन सफल भएको थियो । अव त्यो गाउँमा खुंखार अपराधीहरुको यति जमघट हुन थाल्यो कि प्रहरीलाई दिउँसै गाउँभित्र पसेर गस्ति गर्न पनि गाह्रो हुन थाल्यो । भैंसी चोर रघुवन, रघ्घु दादाको नामले लागु औषधको ‘डन’ का रुपमा कुख्यात भइसकेको थियो । एकदिन प्रहरीको विशेष अप्रेशनमा उ पक्राउ पर्‍यो । करीब असी दिन उ प्रहरीको थुनुवा कोठामा थुनियो । थुनुवा कोठा निरीक्षण गर्न जाँदा उ थुनुवा कोठाको बारभित्रै घोप्टो परेर अनुनय विनय गर्दै कोकोहोलो गथ्र्यो “हजुर बुद्धि विग्य्रो । कुमार्गमा लागें । त्यसको सजायँ त पाइरहेको छु । सकिन्छ भने मेरो मुद्दा मिलाई दिउँ हजुर । मा कसम ! अव कहिल्यै यो काम गर्दिन ।”

उसको बुद्धि साँच्चैनै विग्रेको थियो जसलाई सपार्नु आवश्यक थियो । उसको मुद्दा अदालत पुग्यो । सोचें अव जेल परेपछि उ सप्रिन्छ ।

तर अदालतबाट रु. ५०००।- धरौटीमा छुट्यो उ । मेरो मनमा पहिलोपटक आघात पर्‍यो । भैंसी चोर रघुवन लागु औषधको डन बन्दा सम्मन् यति शक्तिशाली भईसके छ कि अदालतमा पुग्ने वित्तिकै मुद्दाको मिसिल कमजोर भयो र उ साधारण धरौटीमा छुट्यो ।

00

अदालतबाट धरौटीमा छुटेकै दिन उसले मलाई फोन गर्‍यो र भन्यो : “एसपी साप देख्नुभो त रघ्घु दादाको करामत ! हेर्दै जानुस् रघ्घुले कस्ता-कस्ता कारनामा गर्दै जान्छ । एकदिन तपाईले मेरो अगाडि झुक्नै पर्छ, याद गरेर राख्नुस् ।” “तेरो अगाडि झुक्नु भन्दा पहिले मैले वर्दि फुकालिसकेको हुने छु । तैले पनि याद राखेस् ।” यताबाट म गर्जेको थिएँ । उसको अट्टहास गुञ्जेको थियो मेरा कानमा ! मैले हत्त न पत्त मोवाइलको रातो बटन थिचेको थिएँ ।

उसले सरकार चलाई रहेको राजनैतिक पार्टीको सदस्यता लिई सकेको थियो । उ अव रघ्घु दादाबाट नेताजीमा रुपान्तरित भएको थियो । भारतमा बनेको स्कोरपिओ लक्जरी गाडी चढ्न थालेको थियो । उसको दबदबा गाउँबाट जिल्लासम्म फैलिएको थियो । भन्नेहरु उसमाथि जिल्लामा घटित हुने हरेक अपराधिक घटनाहरुमा उसको संलग्नता रहेको आरोप लगाउँथे । तर प्रहरीसंग पुष्टी गर्न सक्ने प्रमाणको अभाव थियो । उसको बसाई नेपालमा भन्दा पनि भारततिर बढी हुन थालेको थियो । उसको गाडीमा पनि धेरै जसो भारतीय अनुहारहरु नै चढेका देखिन्थे । भारतबाट लामो बसाइपछि उ जब नेपालमा र्फकन्थ्यो उसको गाडीको अगाडि पछाडि भारतीय नम्बर प्लेटका अरु गाडीहरु पनि ताँती लागेर आउँथे । उसको घरमा भोज चल्थ्यो । लखनउबाट ‘मुजरा’ नाचको टोली आइपुग्थ्यो । उक्त भोजमा धेरैजसो उसको पार्टीका नेता कार्यकर्ताहरुको जमघट हुन्थ्यो । मान्छेहरु भन्थे उ भारतमा गएपछि नेपालमा अपराध गराउँछ र नेपाल र्फकेपछि भारतमा अपराधिक घटना घटित गराउँछ । हुन पनि हो ऊ भारतमा गएको बेला नेपाल भारत सीमानाबाट पाँच जना अपहरणमा परिसकेका थिए । अपहरित सबै जनालाई भारतमा नै लगिएको थियो । कोही फिरौती बुझाएर मुक्त भएका थिए भने कोही अपहरणकारीकै कब्जामा थिए । एउटा अपहरणको घटनामा भने प्रहरी अपहरणकारीको नजिक पुग्न सफल भयो । प्रहरीले एकरात उसको गाउँमा छापा मारेर घरभित्र बन्धक बनाएर राखेको एक ठिटोलाई मुक्त गर्नुका साथै तीन जना अपहरणकारीहरुलाई पनि पक्राउ गर्‍यो । प्रहरीसंग तिनीहरुले भने : यो अपहरणको मूल नाइके रघ्घु दादा नै हो । उसका विरुद्ध किटानी जाहेरी पनि पर्‍यो । तर उ पक्राउ पर्नुभन्दा पहिले नै गाउँबाट गायब भइसकेको थियो । मुद्दा अदालतमा पुगेपछि अदालतले उसका नाममा वारेण्ट जारी गर्‍यो ।

तर एकदिन अचानक उ टिभीमा झुल्क्यो । उ टिभीमा प्रत्यक्ष अन्तर्वाता दिइरहेको थियो । ऊ भनिरहेको थियो कि ऊसलाई विरोधी राजनैतिक पार्टीहरुले फसाउँने षडयन्त्र गरेका हुन् । दोश्रो दिन सरकारका शक्तिशाली मन्त्रीको साथ लागेर उ जिल्लामा आयो । उसले दिनभर विभिन्न कार्यक्रममा भाग लियो, विभिन्न मान्छेहरुलाई भेट्यो, पार्टी कार्यालयमा भाषण दियो र नामी होटलमा स्वादिष्ट लञ्च खायो ।

हामीहरु ट्वाल्ल परेर उसलाई हेरिरहृयौं । उ हामीलाई हेर्दै नेताको मुद्रामा खित्खित् हाँसिरहृयो । उसका विरुद्ध उदालतले जारी गरेको पक्राउको वारेण्ट मेरो गोजी भित्रै गुम्सिरहृयो । अर्को दिन मन्त्रिपरिषदले उसको मुद्दा राजनैतिक मुद्दा भनि फिर्ता लिएको घोषणा गर्‍यो । ऊ फेरी टिभिमा देखापर्‍यो । हिजो अस्तिको भन्दा अझ चहकिलो र उत्साहित बनेर ! उ क्यामेरामा हेर्दै खित्खित् हाँसिरहेको थियो । मलाई लाग्यो उ मलाई नै हेरेर व्यङ्ग्यपूर्ण हाँसो हासिरहेछ । मैले टिभि बन्द गरे ।

00

मैले सडकका किनारमा हेरे । लामबद्ध भएर उभिएका मान्छेहरु मन्त्रीको स्वागत गरिरहेका थिए । समय अनुसार मान्छेहरु कति छिट्टै परिवर्तन हुंदारहेछन्, मलाई आश्चर्य लाग्यो । जुन मान्छेले उनीहरुको वस्तीमा लागुऔषधको विषालु बोट रोप्यो र युवा पुस्तालाई तहसनहस बनायो, मान्छेहरु फूलमालाले उसैको स्वागत गरिरहेका थिए । उसैको जयजयकार गरिरहेका थिए । यी दृष्यहरुले मेरो आत्मसम्मानमा चोट पुर्‍याईरहेका थिए ।

देशमा सांसद सदस्यको निर्वाचनको घोषणा भयो । उ रघुवनबाट रघ्घु दादा र रघ्घु दादाबाट रायबाबु भइसकेको थियो । एक विहान आफ्नो पार्टीका कार्यकर्ता सहित उ मकहाँ आयो र भन्यो , “एसपी विगतमा जे-जे मनमुटाव भयो, बिर्सिदिनुस् ! चुनावमा मलाई सहयोग गर्नुहोस् । मैले जितेभने तपाईलाई पनि फाईदा हुने छ । तपाईको प्रमोशनकोलागि म लड्छु ! तपाईलाई कहाँ सरुवा भएर जाने इच्छा छ ? म मिलाउँछु । मलाई जिताउनुहोस् मात्र, म सब कुछ मिलाउँछु ।”

“चुनाव मैले होईन जनताले जिताउने हो । रहृयो मित्रताको कुरा ! तिमी ऐले पनि मेरा लागि अभियूक्त नै हौ ।”

मेरो जवाफ सुनेपछि उ म तिर हेर्दै खित्खित् हास्यो ।

“अच्छा देखलुँगा !” यति भन्दै गाडीमा चढेर उ आफ्ना कार्यकर्ता सहित बाहिरियो ।

चुनाव सम्पन्न भयो । उसले जिल्लाका चार निर्वाचन क्षेत्रहरु मध्ये एक निर्वाचन क्षेत्रबाट भारी बहुमतले चुनाव जित्यो । उ संसद सदस्य यानि सांसद भयो । सांसद बनेको प्रमाणपत्र पाएको दोश्रो दिन उसले मलाई फोन गरेर भन्यो “हेलो एसपी साहव म माननीय रघुवन राय बाबु बोल्दैछु । अव आजदेखि तपाईले मलाई सलाम ठोक्नु पर्छ । यही कुरा सम्झाउँन फोन गरेको हुँ ।”

त्यसपछि पहिले झैं उ खित्खित् हाँस्यो र फोनको सम्पर्क विच्छेद गर्‍यो ।

00

मेरो मुख प्याक-प्याक सुकेको थियो । मैले पानीको वोतल मुखमा लगाएर घटघट पानी पिएँ । अनुहारको पसिना पुछें । हामीहरुको कारकेड गेष्ट हाउसतिर बढिरहेको थियो । रघुवन रायको विगत जस्तो भएपनि ऐले देशको मन्त्री भइसकेकाले म आफ्नो सुरक्षा जिम्मेवारीलाई गम्भिरताकासाथ निर्वाह गरिरहेको थिएँ ।

अचानक कारकेडको दाँयाबायाँ बम विस्फोटको आवाज आयो । गाडीहरुले सन्तुलन गुमाए । म हत्त न पत्त गाडीबाट ओह्रले र हातमा पिस्तोल लिएर पोजिसन सम्हाले । अत्य सुरक्षाकर्मीहरुले पनि आ-आˆनो पोजिसन लिई सकेका थिए । तर हामीले सुरक्षा दिनुपर्ने मन्त्रीको गाडी तिव्र गतिमा हुँइकेर गेष्ट हाउसतर्फ लागि सकेको थियो । टिभि च्यानलहरुले लाईभ प्रसारण दिन शुरु गरे, प्रहरीले मन्त्रीको सुरक्षाको मजवुत व्यवस्था गर्न सकेन । फितलो सुरक्षाका कारण मन्त्रीको गाडीमाथि बम प्रहार ! मन्त्री झण्डै बचे । आदि ।

मलाई यसको परिणाम थाहा थियो । ममाथि कारवाहीको प्रक्रिया शुरु गर्नुका साथै मलाई २४ घण्टे लगाएर हेडक्वार्टर्स् बोलाईएको थियो । म भने कारकेडमाथि बम प्रहारको घटनालाई स्वीकार गर्न सकिरहेको थिएन । मेरो मनले भनिरहेको थियो कि यस घटनामा कसैको नियोजित षडयन्त्र लुकेको थियो ।

अर्को दिन विहान म जिल्ला छोड्ने क्रममा थिए कि मन्त्रीबाट मलाई बोलाहट आयो । म अन्मन्यस्क भावले मन्त्रीलाई भेट्न गेष्ट हाउसतिर लागे ।

मन्त्रीको निजी सचिवले मलाई मन्त्रीको वेडरुममा लिएर गयो । भित्र मन्त्री एक्लो थियो । मन्त्रीलाई मैले सलाम ठोके ! मेरो सलाम हेर्दै उसले आफ्नो चिरपरिचित हासोले कोठा गुञ्जायमान गर्‍यो । “जिल्ला छाडेर जाँदै हो !” उ बोल्यो ।

मैले शीर हल्लाएँ ।

“मैले एकदिन के भनेको थिएँ सम्झना छ ?” उसले मतिर हेर्‍यो ।

“मैले भनेको थिए कि ‘तिमीले एकदिन मेरा अगाडि झुक्नै पर्छ ।’ झुक्नु पर्‍यो कि परेन ?” उ बोल्यो ।

म केही पनि बोलिन ।

“एउटा कुरा थाहा छ ?” उ खित्खित् गर्दै हास्यो । त्यसपछि उसले मेरो निन्याउरो अनुहारमा व्यङ्ग्यपूर्ण नजरले हेर्दै भन्यो, “हिजो मेरो गाडीमाथि जुन बम प्रहारको घटना भयो, त्यो मैले आफै गराउँन लगाएको हुँ ।”

उसले अट्टहास गर्‍यो ।

गेष्ट हाउसको आँगनबाट आवाज घन्किरहेको थियो :

राय बाबु जिन्दाबाद !

राय बाबु जिन्दाबाद !

राय बाबु जिन्दाबाद !

अस्तु ।

(श्रोत :- Onlinekhabar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.