~कृष्ण अविरल~
यतिखेर मेरो हातमा सीता पाण्डेको ‘यौन र अनुभूति’ भन्ने पुस्तक छ । एक दशकअघि नै बजारमा आएको यो पुस्तक यतिखेर दोहोर्याएर पढ्दैछु म ।
मानसपटलमा भने सुशीलाको अनुहार आइरहेको छ । हरेक पानैपिच्छे, सन्दर्भैपिच्छे उनैलाई सम्झिन पुग्छु म ।
कुनै असल कृति पढिरहँदा त्यस भित्रका सजीव पात्र र परिवेशले पाठकको मस्तिष्कमा काल्पनिक संसार निर्माण गर्नु नौलो कुरा होइन । ती पात्रहरु पुस्तकका पानामा दगुर्ने पाठकका आँखासँगै दगुरिरहेका हुन्छन् । कहिले आँशु बनेर खस्छन्, कहिले हाँसोको खित्का बनेर ओठबाट फुत्कन्छन् ।
तर पाण्डेको पुस्तकसँगै मेरो मस्तिष्कमा सुशीला किन आइन् ! म आफैँसँग अचम्ममा परिरहेको छु । किनकि पुस्तकमा सुशीला र पुस्तकबीच गोरु बेचेको साइनो पनि छैन ।
मान्छेको यो मस्तिष्कको बुनोट पनि कस्तो ! जुन कुरा नसम्झुँ भन्यो त्यही कुराचाहिँ घरिघरि याद आउने । आफूलाई मन नपर्ने कुरा पुनः याद नआउने बनाउन मस्तिष्कमा एउटा स्वीच भइदिएको भए कस्तो जाति हुन्थ्यो !
बाँदर विकशित हुँदै मान्छे बनेको भन्ने बनावटी कथा अहिले बासी भइसक्यो । मान्छे सबैभन्दा पहिला कहाँबाट आयो, कसले बनायो भन्ने कुरा पत्ता लाग्न बाँकी नै भए पनि उसले गम्भीर भूल गरेको कुरा भने अकाट्य सत्य हो । मान्छेले आफूलाई मनपर्ने, प्रशंसाका कुरा मात्र सुन्न पाउने अनि आलोचना र गाली कुरा सुन्न नमिल्ने गरी कानका पछाडि सानो स्वीच बनाइदिएको भए कति हाइसन्चो हुन्थ्यो Û सायद दुनियाँमा यति कलह र झैझगडा पनि हुने थिएन ।
हो, त्यसकारण पनि सुशीलाको ताजा अनुहार स्मृतिबाट मेट्न सकिरहेको छैन ।
खासमा सुशीलालाई मैले तीन वर्षअघि रिपोर्टिङका सिलसिलामा सुनसरीको इटहरी पुगेको बेला चिनेको हुँ । त्यतिखेर उनी व्युटि पार्लर व्यवसायी थिइन् । होचो कद, भद्दा जिउकी उनको रुपमा त्यस्तो खास आकर्षण छैन । तर बोली व्यवहार यति शालीन र यति भद्र कि -नामसँग ठ्याक्कै मिल्दो । त्यसले मलाई तुरुन्तै आकषिर्त गरेको थियो ।
त्यो बेला उनीसँग महिलामा बढ्दो आत्मनिर्भरताको विषयमा कुराकानी भएथ्यो । एसएलसी मुनिको अध्ययन भए पनि उनका अनुभव र विचार रोचक थिए ।
त्यसपछि हामीबीच बाक्लै टेलिफोन वार्ता हुन थाल्यो । दाजु-बहिनीको नाता बन्यो । पूर्व गएका बेला उनलाई नभेटी र्फकँदा उनी मज्जैले रिसाउन थालिन् । युवती सिगार्ने-सिगारिने पार्लरमा जानु अशोभनीय हुने ठानेर म भने तर्किन खोज्थेँ । उनले आत्मीयता देखाउँदै चर्कै गाली गरेपछि फोन मार्फत् इटहरी आएको जनाउ दिएर उम्कन खोज्थें । तर हार्नु शिवाय अर्को उपाय हुँदैनथ्यो ।
पार्लरमा बसेर कुराकानी गर्न आनाकानी गरेपछि उनले आफ्नो कोठामै लैजान थालिन् । अन्तरंग पारिवारिक कुराकानीको डोरी राम्रैसँग बाटिन थाल्यो ।
एकपटक कुरै कुरामा उनले आफ्नो असली उमेर बताइन् । दाजु हुनुको कर्तव्यबोधले मैले सल्लाह दिएँ, “बिहे गर्ने उमेर पनि घर्किन लागेछ । अब कोही मन मिल्ने खोजेर नयाँ जीवन सुरु गर ।”
“को खोज्नु हौ दाजू, मन मिल्ने खालका कोही छैनन्…. ।” चुल्होमा बसाएको चियालाई छान्नेले चलाउँदै ठ्ट्यौलो पारामा भनिन्, “मोटी देखेर हो कि हत्तपत्त कोही केटाहरु नै छेउ पर्दैनन् ।”
त्यसपछिका दिनमा हामी बीचका अन्तरंग कुराकानी अरु अन्तरंग हुँदै गए । यस्तै सिलसिलामा एकपटक मैले उनलाई नयाँ जीवनका लागि ज्योतिषको परामर्श लिन सल्लाह दिएँ । आखिर दुनियाँमा अरुलाई दिनका लागि सबैभन्दा सस्तो कुरा सल्लाह त हो नि । लिनुपर्नेले लिओस् कि नलिओस् कसैलाई सरोकार हुँदैन । अथवा उसलाई सल्लाहको खाँचो छ कि छैन भनेर सोच्न कसलाई चासो Û
एकपटक पार्लर गएका बखत कोठाको चाबी थमाएर उनी केही छिनका लागि पार्लरमै व्यस्त हुने भइन् । कोठामा अल्मलिने कुनै उपाय नभएपछि र्याकबाट झिकेर उनको फोटो अल्बम पल्टाउन थालें । मलाई कताकता आफूले अहिलेसम्म थाहा नपाएको उनको विगत थाहा पाएजस्तो लाग्यो ।
पूर्वनिर्धारित भन्दा झन्नै एक घन्टा बढी कोठामा कुराइसकेपछि उनी आइपुगिन्, तरकारीको झोला बोकेर । अल्बम भित्रको एउटा फोटो, जसमा एउटा पुरुषलाई उनले अँगालो हालेकी थिइन् देखाउँदै सोधिहालें, “यो मान्छे को हो ?”
“ला…. दाइले सप्पै कुरा था पाउनु भएछ !” आत्तिँदै सुशीलाले मेरो हातको अल्बम खोस्दै भनिन् ।
“मैले थाहा पाउँदा के फरक पर्छ र !”
त्यसपछि उनले आफ्नो जीवनको नयाँ पर्दा खोलेकी थिइन् । चार वर्षदेखि ऊसँग प्रेम गरिरहेको बताइन् ।
“ऊ अहिले सेनाको चारआली ब्यारेकमा छ । घर चैं काठमाडौंकै थानकोट हो । फोन गरिराख्छ । कहिलेकाहीँ याँ पनि आउँछ । म पनि उसको घर गएकी छु । आमा छैनन्, घरमा बाबु र एउटा भाइ मात्र छन् । एउटा भाइ चै कतारमा छ । उसले पनि भाउजू भनेर बेलाबेला मलाई फोन गरिराख्छ ।” मंसिरको त्यो बेला केराउका कोसा केलाउँदै उनले भनिन् ।
“त्यसो भए मलाई कहिले भेटाउने त ?” मेरो मनले दाजु हुनुको दायित्व निर्वाह गर्न चाह्यो ।
त्यही बेला उनको मोवाइल बज्यो । संयोगले त्यो फोन उनको त्यही प्रेमीको रहेछ ।
“कस्तो मीठो संयोग ! तपाईंको आयु त निकै लामो रहेछ । अहिले दाजुले अल्बमको हाम्रो फोटो हेरेर को हो भनेर सोध्दै हुनुहुन्थ्यो, ठ्याक्कै फोन आयो…..।”
कुराकानीबाट थाहा भयो, उनले मेराबारेमा उसलाई पहिल्यै बताइसकेकी रहिछन् ।
त्यसपछि मैले उनको निजी जीवनमा चासो दिइनँ ।
त्यसको निकै महिनापछि म उनकोमा पुगें । त्यो बेला उनको कोठामा उनकै साथी कमला र एकजना पुरुष थिए । सुशीलाले नै अघि सरेर परिचय गराइन्, “उहाँ मेरो रत्न दाइ ।”
खडका थरका रत्नजीको घर मोरङको पथरी रहेछ । पेशा हेभी ट्रक ड्राइभर । श्रीमती र छोराछोरी गाउँमा…… । -मैले सोधिखोजी गर्नुभन्दा पहिल्यै उनले बताएका कुरा ।
मैले धरान जानुपर्ने भयो । मोवाइल ताकेता आएपछि कपको चिया रित्याउन हतारिएँ । कमलाजीले भनिन्, “पख्नुस् न, सँगै जौं । मेरो पनि धरान जाने काम छ ।”
इटहरी चोकमा आइपुगेपछि कमलाको बोली फेरियो । भनिन्, “म त धरान जान्न, घर जान्छु । तपैं जानुस् ल ।”
“अघि त तपाईंले धरान जाने भन्या होइन ?”
सुनेर कमलाजी मज्जाले हाँसिन् । भनिन्, “त्यहाँ बसिराख्दा उनीहरुलाई डिष्टर्ब हुन्छ भनेर निस्कने बाहना पो खोज्या त ।”
“हँ ! उनीहरु दाजु-बहिनी होइनन् ?”
यसपटक उनको हाँसो केही मन्द भयो । बोलिन्, “यो बारेमा पछि म तपाईंलाई बताउँला ।”
त्यही बेला एउटा मोटरसाइकल हाम्रो छेउमा आएर रोकियो, उनैलाई डाक्दै । कुराको सन्दर्भ पनि मोडियो ।
उनी त्यही मोटरबाइकवालाको पछाडि बसेर दुहबीतिर लागिन्,म आफ्नो बाटो लागें । मनमा भने अनेकथरि कुराले कुस्ती खेलिरहे । अर्काको व्यक्तिगत जीवनमा चासो नराखे पनि हुने नि । तर म पनि आमनेपालीमध्येकै न ठहरिएँ ! अर्काको व्यक्तिगत जीवनमा चासो नराखी खाएको के पच्थ्यो ?
खुल्दुलीले उर्खपात गरेपछि मेरा आँखाले अब सुशीलालाई बहिनीभन्दा बढी आख्यानको पात्र देख्न थाल्यो । उनको रहस्यमय चरित्रका बारेमा जान्न अरु उद्दत भएँ । अत्मीयताका कुराभन्दा बढी जिज्ञासा मेट्ने कुरा उक्काउन थालेँ ।
त्यसपछिको भेटमा सुशीलाले प्रतिष्पर्धा बढेर पार्लर चल्न छाडेको दुखेसो गरिन् । अनि भविष्य असुरक्षित भएको दुखेसो गर्दै कोही राम्रो केटा खोज्न एकप्रकारको आत्मीय दवाव दिइन् । मैलेचाहिँ आफ्नो अनुभव सुनाएँ । बिहे गरेर पारिवारिक जन्जाल र बच्चाका गुहुमुत सोहोर्ने चक्करमा फँस्नुभन्दा कुनै बिवाहित पुरुषसँग प्रेम सम्बन्ध राखेर आनन्दको जीवन बिताउन सुझाव दिएँ ।
“को छ र दाजु ! त्यस्तो खालको लभ गर्नका लागि मन मिल्दो मान्छे पनि चाहियो नि ।” उनले रुन्चे पारामा दुखेसो गरिन् ।
त्यसपछि भने मैले रत्नजीको नामै लिएर जिस्काइदिएँ ।
उनी निकै मज्जाले रिसाइन् । अनि मेरो विश्वासको खण्डन पनि गरिन् ।
मलाई विश्वास लागेन । तैपनि पत्याइदिएँ ।
त्यसको झन्नै तीन महिनापछि इटहरी गएका बेला चोकैमा कमलाजीसँग भेट भयो । चिया खाँदै गफ गर्नका लागि हामी सोनी पुस्तक पसलका लेख दाइको होटेलमा पस्यौं ।
सुशीला बारेको खुल्दुली ताजै थियो । गफका सिलसिलामा भनेँ, “तपाई सुशीलाको यस्तो मिल्ने साथी । उमेर पनि ढल्किन लागिसक्यो, उनको बिहेका लागि पहल गर्नुस् न हौ ।”
“उसको त पहिल्यै दुईचोटि बिहे भइसक्या हो नि ।” उनले तीन महिनाअघि रहस्यमा छाडेको सुशीला बारेको सन्दर्भ बिर्सिसकेकी रहिछन् । भनिन्, “चर्ने बानी लाग्या मान्छेले पनि कहीँ घरजम गर्छ र केटा खोज्नु ?”
“तपाईं पनि आइमाई मान्छे हो । तपाईंलाई पनि थाहा हुनुपर्ने कि हाम्रोजस्तो समाजका कोही पनि केटीहरु रहरले यौनकर्म गर्दैनन् । त्यसका पछाडि केही बाध्यताहरु हुन्छन् । के हामी उनलाई ती बाध्यताहरुबाट मुक्त गरेर पारिवारिक जीवन जिउने परिस्थिति सिर्जना गर्न सक्दैनौं ?” म अझै पनि सुशीलाको भविष्यका लागि चिन्तित थिएँ ।
“दाइ, तपाईं सुशीलाको चरित्रका विषयमा भ्रममा हुनुहुन्छ । उसका बारेमा तपाईले जे सोचिरहनु भएको छ, त्योभन्दा ऊ बिल्कुल फरक मान्छे हो ।” बोल्दै गर्दा उनले दायाँबायाँका अरु टेबुलमा बस्नेहरुतिर नजर डुलाइन् । कसैले वास्ता नगरेको थाहा पाएपछि भनिन्, “पहिलो बूढाले उसलाई अर्कोसँग सुतेको रंगेहात फेला पारेपछि घरबाट घोक्र्याएर निकालेको……। त्यसपछिको अर्को बूढाले चै आफूलाई सोध्दै नसोधी गर्भपतन गरेको थाहा पाएपछि कोठाबाट मध्यरातमा लखेटेको…..। त्यो रात मैले उसलाई बास दिएर जोगाएकी ….। “
त्यसपछि मेरो मस्तिष्कमा छिचिमिरा दर्गुन थाले । र, अहिले पनि मेरो मस्तिष्कमा कमलाका बारेमा सुशीलाले भनेका त्यस्तै खाले कुराले फन्का मारिरहेका छन् । र, सीता पाण्डेका पुस्तकका पाना पल्टाउने क्रमसँगै सोचिरहेछु, के महिलाहरु बन्दाकोभीका पत्रजस्तै रहस्यमय हुन्छन् !
(स्रोत :- Onlinekhabar )