~एल एन सुवेदी ”हस्ती”~
बसन्त ऋतुले अन्तिम बाटो तताउन लाग्यो । बर्खा लाग्ने संकेतहरु जताततै देखिन थालेका छन् । बनजंगल , रुख बिरुवाका मुना र पालुवाले पृथ्वी हरियो रेशम साडी लगाएर अन्माउन लागेकी दुलही जस्तै सिंगारिएको देखिन्छ । सर्पले फेरेको काँचुलीहरु कता कति भेटिन थालेको छ । गाई बस्तुले आंग फेरी सके । चौर , खेतबारी , खोलानालाका किनारहरु हरिया घाँसले ढाकिन लागेका छन् । पानीका मुहानहरु अलि अलि रसाउन लागि सके । चराचुरुंगीहरु पखेटा फिंजाएर भुररर्रर्रर्रर्र उडेर फेरी रुखमा आएर बस्छन् । बर्षा ऋतु लाग्नु अगाडि फूल्ने फूलहरुमा भमराले पालैपालो शेचन गरी रहेका छन् । रंगीबिरंगी पुतलीहरु एक ठाउँबाट अर्को ठाउँ आउँदै जाँदै गरेको दृश्य त झनै हेरी रहुँ जस्तो लाग्छ । पृथ्वीले मगमगाउँदो सुवास छरी सकेको छ । मानिसहरुमा के गरौँ के गरौँ जस्तो उमंग छ । यी सबै कुरा हुँदा पनि निरमणीको अनुहारमा कुनै खुशीका लहर छाएका छैनन् । उसलाई एउटै कुराले खाएको छ, शिक्षित बेरोजगार । आफ्नै बाबुले न्वारन गरी जुराएको उपनाम “पढेको मूर्ख” भन्ने शब्दले ।
बाबु भन्छन् “त्यत्रो खर्च गरी पढाएँ । न जागिर खान सकिस् , न कुनै राम्रो इलम समाउन सकिस् । तिनै लिखा परेका गंधें केटीका पछि लाग्दै गाउँ बेसी गर । दाइहरु कहाँ देखि कहाँ पुगिसके । हेरी राख ! उनीहरुका अगाडि नोकर जस्तै भएर तेरो जिन्दगी बित्छ । हामी हुन्जेल जसो तसो होला, हाम्रो शेख पछि त बाबै तेरो कोही हुँदैन । सबै मान्छे पैसाको पछि दगुर्छन् ।” हुन त बाले मेरै लागि भनेका हुन् । म के गरौ ? समय र परिस्थिति मेरो काबु भन्दा बाहिर छ । लाख कोशिस गरें हुदैन । दाइ भाउज्यूहरुको व्यवहार हेर्दा त हाम्रो कुनै आपसी सम्बन्ध नै छैन जस्तो गर्छन् । सबै कुरा यथार्थ देखि देखि पनि बाले किन यसो गर्छन् । मैले काम पाइन , तर उनीहरुको बुढेस कालको साहरा त हुन्छु होला नि !
फेरी बाबुले बोलेका कटाक्ष शब्दहरुलाई सम्झदैं निरमणीले भन्यो, होइन हौ ! मलाई किन सधैं सौताको छोरो जस्तो व्यवहार गर्छन् ? म यिनको जन्मजात शत्रु हुँ कि के हो ? हामी वीचमा हाड-नाता र रगतको सम्बन्ध छ । उनी आफैंले बैदिक कर्म-काण्ड गरी छोराको नामाकरण गरेर सामाजिक र पराम्परिक सम्बन्ध जोडिएको छोरो पो हुँ त ! पढेर काम पाइन त मेरो गल्ती होइन नि ! कुनै दाइ लाहुरे छन् , कुनै सरकारी अड्डामा जागिरे छन् , कुनै मास्टरी गर्छन् । उनीहरुले कमाएको सबै पैसा बाबुको खुट्टामा राखेका छन् र ? त्यही आठ पाँच दिने हुन् । फेरी पनि मेरा बाको छोराहरु प्रति हेर्ने दृष्टिकोण किन यस्तो होला ? घरको काम सबै गरेको छु । मेलापात , घाँसदाउरा , भारोपर्म सबै थामेको छु । एकै आमाको पेटबाट जन्मिएका सन्तान माथिको यस्तो असमान व्यवहार हेर्दा कहिले काहीं त मरेको दिन लाग्छ ।
निरमणीले खेत बारीका मकै गोडी सक्यो, बर्ष भरीलाई पुग्ने दाउरा काटेर कटेरो भर्यो । घर कटेरा ,थान्को मुन्को सबै सक्यो । घरमा चाहिने नूनतेल , मसला , बर्खाका समान ल्याएर आमालाई जिम्मा लगायो , धानको ब्याड राख्यो । लगभग यस पटकको बर्खा याममा गर्ने काम मात्रै बाँकी राखेको छ । त्यो पनि समय आएको भए सकी दिने थियो । उसको मनमा लागेको छ, आफू नहुँदा पनि आमालाई कुनै किसिमको दु:ख नहोस् । नौ महिना पेटमा बोकिन् । जन्माइन् , हुर्काईन् , एउटा आँखा नै नउघ्रिएको पिपिरालाई हुर्काउन त्यति सजिलो थियो र ? आमा बाबुको न्यानो मायामा घरकै छहरीमा बसेर उनीहरुकै सेवा गरौँ भनेर घर छोडेर कही टाढा जान सकिन । जाउँ ! कता जाउँ ? बसौं भने पनि यहाँ को नै छ र जस्तो दोधार मनले बेला बेला निरमणी अतालिने गरेको छ । उसलाई शारीरिक तनाव भन्दा पनि मानसिक तनावले ज्यादै ग्रसित बनाएको छ । भौतिक सुख सुविधाले भन्दा बाबु-आमा र आफन्तको मायाले कता हो कता माने राख्छ ।
आखिर के हो यो नाता सम्बन्ध? निरमणी एक छिन झोक्रायो । आमाले जन्माइन् , अथाह मायाको सागरमा नुहाएर ताते गर्न सिकाइन् । बाले काँधमा बोकेर खुशी हुँदै यता उता गरे । बा कै हातका औंला समाएर गाउँ बेशी गर्न सिकें । दाइहरुका पछि पछि लगेर स्कूल गएँ । हिड्न नसकेका बेलामा पिठ्युमा बुई बोकेर लाने ल्याउने गरे । बहिनीहरु सँगै खेलेर हुर्किए । तिहारमा टिका लगाई दिए । बिहे गरेर जाने बेलामा मैले पनि कन्यादान गरी गोडा धोएर पठाएँ । आखिर यो सबै रगतको नै सम्बन्ध हो , पारिवारिक हाड नाताको सम्बन्ध हो । आफन्तसँगको सम्बन्ध अर्को छ । गाउँ-घर छिमेकीसँगको सम्बन्ध अर्को छ । मानव मानव बीचको सम्बन्ध अर्को छ । मानिस , प्राणी , जीव र प्रकृति बीचको सम्बन्ध अर्को छ । हेर्दै ल्याउँदा सबैतिर नाता र सम्बन्धले बेर्दै बेर्दै लगेको छ । सबै आफ्नै ! सबै एकै जस्तो । सबै सम्बन्ध नै सम्बन्ध जस्तो !
आँगनको डिलमा रोपेको उखुलाई हेर्यो । यो उखु र हामी बिचको पनि सम्बन्ध छ , तर केवल स्वार्थको सम्बन्ध ! जब यो हुर्किन्छ , तब काटेर यसलाई विभिन्न तरिकाले खाइन्छ । नजिकै घुम्दै गरेको बिरालोलाई हेर्यो , यस बिचरासँग पनि हाम्रो सम्बन्ध छ । यसलाई जूठोपूरो दिएर पालिन्छ , घरमा मूसाको बिगबिगी नहोस् भनेर । यदि यसले मूसा मारेन भने यसको सम्बन्ध हामीबाट टाढिदै जान्छ । कटेरमा बाँधेको गाईतिर आँखा घुमाउँदै सोच्यो । घाँटीमा दाम्लाले बाँधेर राखिएको छ , दूध दिन्छ , दही घ्यू बनाइन्छ । मिठो परिकार खान पाइन्छ भनेर गाई र मान्छे बीचको सम्बन्ध बनाएको हो । जब दूध दिन छोड्छ , गोठबाट भाटा लगाउँदै कौडीको दाममा बेचिन्छ । गाईले सकी नसकी रुदैरुँदै जानुपर्छ । हिजो दूध दिउन्जेल आफ्नै आमा जस्तो ! आज खूर लागे पछि कुन चाहिँ निर्दयीको हातबाट मारिन्छ । कति नीच स्वार्थभित्र रुमलिएका छौं हामी ! बाख्राको खोरमा उघ्राउँदै गरेको खसीतिर हेर्यो र भन्यो , योसँग अझै गहिरो हिंसात्मक सम्बन्ध छ । यसको हत्या गर्छ र मान्छे मांस भोजन गर्छ । त्यस बेला उसलाई कति आनन्द अनुभूति हुन्छ । कति निर्दयी र स्वार्थी सम्बन्ध छ योसँग मानिसको ।
निरमणीले नाता सम्बन्ध वीचको समिकरण गर्दै गयो । मानिस र वातावरण बीचको सम्बन्धको समिकरण मिल्यो । ऊ खुशी भयो । मानिस र जीव जन्तु वीचको समिकरण गर्यो , केही कुरा मानिसले त्याग गर्यो भने त्यसलाई पनि टालटुल गरेर मिलाउन सकिन्छ जस्तो भयो । मानिस मानिस वीचको सम्बन्धलाई केलाउँदै गयो । कता कता मिल्ला मिल्ला जस्तो देखियो । गरिब गरिब वीचको सम्बन्धमा पनि मिलजुल नै होला जस्तो देख्यो । धनी धनी वीचको सम्बन्धमा शुत्रलाई मिच्माच गर्दा ठिकै होला जस्तो देख्यो । उसले हाम्रो समाजमा ब्याप्त धनी र गरिब वीचको सम्बन्धको समिकरणलाई मिलाउन खोज्यो । अहँ पटक्कै मिलेन । यताबाट अलिकति काटकुट गर्यो , उताबाट अलि कति तास्तुस गर्यो , एकातिर अलि अलि च्यातचुत गर्यो , अर्कोतिर अलि कति टालटुल गर्यो । तर पनि मिलेन । हो यहींनिर मानिस चुकेको रहेछ । सबै सहज तरिकाको शुत्र वनाएर धनी र गरिब वीचको समिकरणलाई सहज बनाउँन । हुने र नहुने ,गरिब र धनी , बलिया र निर्धा वीचको नाता सम्बन्धको खाडल गहिरो रहेछ, पुर्नै नसकिने खालको गहिरो । यसैमा मेरा परिवार अडिएका रहेछन् । यसैमा मानिसहरु घुम्दा रहेछन् ।
नाता सम्बन्ध पनि वनाएर हुने न हो । के थियो र पहिले ? मेरी आमा अर्काकी छोरी थिइन् । बासँग बिहे गरेर आइन् , त्यहाँ एक खालको लोग्ने स्वास्नीको सम्बन्ध जोडियो । हामी छोरा छोरीहरु भयौं , आमा-बाबु र छोराछोरीको सम्बन्ध गाँसियो । सबैतिर यस्तै यस्तै त रहेछ । यो नाता सम्बन्ध चुडाउँदा पनि चुडिने रहेछ , जोड्दा पनि हुने रहेछ । आखिर को सधै सँगै बसेका छन् र ? आँगनमा चारो टिप्दै गरेका भंगेरलाई हेर्यो । सालै पिच्छे पाँच सातवटा बच्चा बनाउँछ ,बच्चाहरु कहाँ पुग्छन् कहाँ ! छेउमा कान हल्लाउँदै गरेको कुकुरलाई हेर्यो । यो कसका घरमा जन्मियो आमा-बाबु कहाँ छन् होला ! आज हाम्रो घरको सदस्य जस्तै भएको छ । मसिना पाठालाई दूध खुवाउँदै गरेको सिंगारी बाख्रीलाई हेर्यो । यसका हिजोका पाठापाठीहरु कहाँ पुगे हुनन् , यी कहाँ पुग्छन् ? कुनै घरमा नै पालिन्छ र पछि बेची खाइन्छ । कुनै बिरामी भएर मर्छन् । पशुको के कुरा गरौँ ! मेरै बहिनीहरुलाई हेरौ न । हिजो सम्म आफ्नै परिवारका सदस्य थिए । बिहे गरी गए । हामीबाट सम्बन्ध टाढा टाढा हुदैं जादैंछ र अर्कोतिर जोडिएको छ । मेरै भाउज्यूहरुको कुरा गरौँ ! हिजो कसका छोरी थिए ? दाइहरुले बिहे गरी ल्याए । आज यहाँ उनीहरुले साम्राज्य बनाएका छन् । मेरो पनि को चाहिं छ त यहाँ ? त्यसैले अब बाटो तताउनु पर्छ…..
निरमणीले आफूले दैनिक प्रयोग गर्ने समानहरु झोलामा हाल्यो । बारीको डिलमा झ्याम घाँस लागेको ठूलो काब्राको रूखलाई हेर्यो र भन्यो धेरै बर्ष तँसँगै लुकामारी खेलें, तेरा हाँगाहरु काटेर छिया छिया पारें , माफ गरेस् । बाख्राको पाठाहरुलाई सुम्सुम्यायो । बाख्रीलाई अलिकति घाँस थपिदियो । बिरालोलाई यसो काखमा लिएर राख्यो । गोठमा बाँधेको गाईलाई टाउकामा एकछिन कन्यायो र भन्यो बर्षौ देखि तिमीले हाम्रो प्राण धानेकी छौ , नजिकै बाँधेको सानो बाच्छीलाई चुम्मा दिदै तिमी जन्मिएको दिनको खुशी मैले कहाँ भुलेको छु र ? पर धारमा नुहाउँदै गरेकी आमालाई टाढैबाट प्रणाम् गर्दै बाटा लाग्यो । उसको कुकुरले निरमणीलाई पछि पछि पछ्याई रहेको थियो…..
(श्रोत :- Onlinekhabar )