कथा : दाग

~सरु पोखरेल~Saru Pokhrel

” ओ हो छपक्कै सेतो आइसकेछ । कपाल पनि सबैतिर सेतो भैसकेछ । सर्न त सर्दैन ” उसलाई देख्ने वित्तिकै आँखीभौं खुम्चयाउँदै मिराले भनी ।

“सर्दैन सर्ने भए त यसका भाइ बहिनीलाई पनि सर्दो हो नी सँगै खाने बस्ने गर्दा । ” उसकी आमाले मसिनो स्वरमा भनी ।

“अरु केही रोग त छैन नी ।” ।

“छैन कहाँ हुनु यही छाला विग्रेको मात्रै हो ।”

“ओइ काम त सबै गर्न सक्छेस ?” बरण्डाको छेउमा नङ टोकेर उभिइरहेकी केटीलाई हेर्दै फेरी मिराले भनी

“किन सक्दिन सबै गरिहाल्छे नी” उ भन्दा पहिला आमा नै बोली ।

“स्कुल जाने गरेकी छस् ?”

“पाँचमा बढ्छ”

“हृयाँ बसेर त पढ्न जान पाइदैन, मलाइ सार्‍है गार्‍हो भएर तँलाइ मगाएको हो ।”

“जान्न पछि मिल्यो भने पढ्दा भैहाल्छ नी” फेरि आमा नै बोली ।

मिराले उसलाई तलदेखि माथिसम्म नियाली, उसको शरीरमा दश ठाउँमा खुम्चिदै उचालिएर तिघ्रासम्म पुगेको पोलिष्टरको एकसरो जामा छ । पाइतालाको पछिल्लो भागको टेक्ने खिइएर भुइ देखिएको चप्पल लगाएकी छ । माघको जाडोमा पनि न उसको शरीरमा स्वेटर छ न पछ्यौरा नै ओढेकी छ । जाडोले उसको टाटेपाटे छालाको छिद्र ढाकेका रौंहरु ठाडा भएकाछन् ।

“कसरी दिने त पैसा”

“महिनाभरी हजार दिनु भैहाल्यो”

“हजार त महंगो भयो, खान लगाउन दिनै पर्‍यो, यस्तो दुवी भएकी सद्धे पनि त होइन ।”

“काम त गरिहाल्छे नी महिनाको आठसय दिनु त्यो भन्दा कममा त हुँदैन ।

आठ सयमा उनीहरुको सहमति भयो । बाटो खर्च लिएर आमा गई । ऊ आमा गएकै बाटोतिर हेरेर बसिरही ।

ऊ त्यसघरभित्र प्रवेश गरेदेखि एकाएक कामहरु थपिदै गए । उसले नयाँ घरमा आएपछि नयाँ नाम पनि पाइ ‘टाटे’ ।

“टाटे लुगा धो”

“टाटे भाँडा माझ”

“टाटे कुचो लगा”

“टाटे ………………. आदि ।

“काम त गर्दिरहिछ तर डर लाग्दी टाटे रहेछ है भाउजू, ……. है दिदी…………….. है आण्टी ।” घरमा आउनेहरुको प्रतिक्रिया उसलाई देखेपछि यस्तै हुन्थ्यो ।

“अर्को नपाउनेजेल हो । पछि त कहाँ राख्छु र ।” मिरा प्राय यही जवाफ दिन्थी ।

शुरुमा उसलाई पकाउने काम लगाइएको थिएन पछि पछि पस्किन मात्रै रोक भयो ।

“छ्या चिया लिएर आउँदा पनि हात देख्दै घिन लाग्दो” एक दिन उसको मालिकले भनेपछि उसले चिया पुर्‍याउन जानु नपर्ने भयो । यद्यपी चिया भने उसैले नै पकाउँथी ।

मालिक्नीको ठूलो पेट देख्दा सोच्थी । त्यहाँ भित्रको बच्चा कस्तो होला । छोरा हुन्छ की छोरी । त्यसको पक्कै पनि दाग हुँदैन आदि आदि । त्यो बच्चा जन्मिने सोचाइले पनि उ दंग पर्थी । मालिक्नी जागिर खान जाने भएकोले त्यसलाई खुवाउने, सुताउने, फूलाउने गर्दा बल्ल आफूलाई यो घर रमाइलो लाग्ने आशा उ भित्र थियो । उसले त्यो बच्चाको तिव्र प्रतीक्षा गरेकी थिई तर कहिले आउँछ भनेर मालिक्नीलाई कहिल्यै सोध्न भने सक्दिनथी ।

“मान्छे खोजेको खोज्यै छु । कति गार्‍हो पाउन हेरिस्योन सुत्केरी हुने बेला भैसक्यो । खै सर्न त सर्दैन भन्छन् । तै पनि बच्चालाई छुन त कसरी दिनु । यसो हजुरले पनि हुनेसम्म खोज्दिसेला है दिज्यू” मिराले फोनमा बोल्दै गर्दा उसका कानले सुने ।

उसले जड्याहा बाबु सम्झी महिनै पिच्छे आठसय लिन आउने आमा सम्झी । भोक र रोगले ग्रस्त भइ बहिनी सम्झी, आफ्ना सँगै खेल्ने साथी सम्झी । साथीलाई सम्भिmदा मैनाले कुनै दिन उसलाई भनेको पनि सम्झी ।

“सगुना तलाई त दुवी आएको छ त्यसैले पछि तेरो विहे हुँदैन होला है । ”

“त्यस्तो बिहे नभएर के भो त ” उसले कति सजिलै जवाफ दिएकी थिइ त्यतिखेर ।

उमेर बढ्दै जाँदा उसको दाग पनि बढ्दै गयो । दागले सँगै उब्जाएको घृणा पनि क्रमैसँग बुझ्न थाली उसले ।

भर्‍याङ्ग मुनी उसको ओच्छ्यान छ । बाहिरको पर्खाल छेउ जोडिएको थोत्रो ट्वाइलेट उसको लागि छुट्याइएको छ । तर घर भित्रका ओच्छ्यान र ट्वाइलेट सफा गर्ने जिम्मेवारी भने उसकै हुन्छ ।

घर भित्रको वाथरुम सफा गर्ने क्रममा उसले आफूलाई त्यहाँको ऐना अगाडि उभ्याएर हेरी । उसको गहुँ गोरो अनुहार हिउँ जस्तो सेतो दागले ठाउँठाउँमा छोपिएको छ । उसका मृगनयन आँखा, चुटुक्कको नाक, टम्म मिलेका दाँत त्यही दागका वरिपरि हराएका छन् । ती सबैको परिचय खोसेर सेतेा दुवीले उसलाई टाटेको रुपमा परिचित गराइदिएको छ ।उसको वाक्लो कपाल बुढी आइमाइको जस्तो ठाउँ ठाउँमा सेताम्मे देखिएको छ । ओठको आफ्नो रंग छैन सर्लक्कका हात खुट्टा फुस्रा र टाटेपाटे बनेकाछन् । उसले वाथरुममै उभिएर केही वेर नंग टोकी फेरि झसँग हुँदै बाथरुमको भित्ताका दागहरुमा हर्पिक खन्याएर घोट्न थाली । बाथरुमभित्र ऊ अरुबेला भन्दा बढी नै टोलाउछे । एक त उसको छालाको नेमेटिने दागलाई ऐनाले त्यहां छलर्ंग्याइदिन्छ अर्को वाथरुमको भित्ताका दागहरु उसैका हालबाट मेटिदै जान्छन् । ऊ सोच्दी हो उसको शरीरका दागलाई सफा गर्न पनि यस्तै हार्पिक र ब्रश भैदिएको भए उसले टाटे नाम पाउने थिइन होला ।

दिनहरु वित्दै गए । अचानक एकरात मिराको पेट साह्रदै दुख्यो । राति नै उसलाई हस्पिटल लगियो । भोलिपल्ट गुडिया जस्तै बच्ची लिएर आए उसका मालिक मालिक्नीले ऊ खुशी हुँदै मिराको छेउमा गई ।

“ओ टोटे छुन चाँहि न छो है” उमेशको बोलिले उ हच्की ।

दुई महिनासम्म तेल लगाउने मान्छे भएकोले उसले बच्चाको केही गर्नु नपर्ने भयो । ऊ बच्चीलाई टाढैबाट हेर्थी, जिस्काउथी, चाहेर पनि काखमा लिन हुन भने सक्दिनथी ।

ऊ बच्चीलाई दूध बनाउथी, बोतल सफा गर्थी, उसका दिशा पिशावका थाङ्ना कति घिन नमानी धुन्थी । बच्चीले हास्दा आफैसँग हाँसेको ठान्थी । मसिना औंला चलाउदा आउ भनेर इशारा गरेको बुझ्थी ।अनि सोच्थी हिड्न सक्ने भएपछि बहिनी आफैं दौडेर आइहाल्छे ।

एकदिन मिरा बाथरुममा नुहाइरहँदा छोरीले टाउकोको कानेटोपीले मुख छोपिछ । आत्तिदै रोइ । उसले हत्तपत्ति टोपी खोलेर केही नसोची बच्ची बोकी ।

“नरोउ नानू नरोउ” काखमा बोकेर फूल्याउन थाली । उसले आफूसगँ एकछिन टाँसेपछि बच्चीको रुवाइ बन्द भयो । बच्चीले उसको गाला छोइ, नाक समात्न खोजी, हात मुसारी आफूले लिन नहुने झल्यास्स सम्झे पनि उसले बोकिरही बच्चीलाई । एक्कासी चिसो हातले उसलाई धकेलेर बच्ची खोसिदा पो उ झस्की । मिराले आँखा तरेर हेरिरहेकी छ । ठूलो अपराधी सरह त्यस कोठाबाट बाहिर निक्की, आँखाबाट बगेको आँशुलाई वाहुलाको फेरले सरक्क पुछी ।

मिराको अफिस शुरु हुने भयो पर्सी देखि । को आउने, कसलाई ल्याउने आदि कुरा दिनँहु फोनमा भैरहन्थ्यो। उ पर्सीको प्रतीक्षामा थिई । बहिनी घरमा एक्दै हुँदा त मैले नै हेनुपर्छ यही सोचेर आनन्द मान्थी ।

गर्मीको समय तराइको माइती, छुट्ट िमिलाउन गाह्रो आदिले गर्दा मिरा जान नसकेपछि उसकी आमा आउने कुरा भयो ।

उमेश मोटरसाइकल लिएर सासूलिन वसर्पाक गयो । मिराकी आमा र मालिकको बीचमा बसेर उ जस्त्रै केटी आई । उसले आँगनमा कुचो लगाउँदै थिई । मालिकसँग एउटै मोटरसाइकलमा आउने पक्कै त्यो केटी आफन्त होली उसले सोची ।

“ऐ टाटे तेरो सामान पोको पार है, भोलि तँ तेरो घर जान्छेस् ।” भाँडा माझ्दै गरेका उसका हात मालिक्नीको बोलीले एकछिन रोकिए ।

किन के गल्ती भयो, के का लागि अनगिन्ती प्रश्को ओइरो एकैचोटी उसको सानो दिमागमा आयो तर बोली गलामा अड्कियो ।

“हामीले अर्की केटी पायौं तेरी आमालाई खबर गरिदिएको छ ।”

उसले बुझी उसको गल्ती उसको दाग भएको शरीर थियो ।

भर्‍याङ्गमुनीको कोठाबाट बाहिर पर्खालछेउ ट्वाइलेट जाँदा रातपरेपछि उ सँधै डराएर यताउति नहेरी भाग्थी तर आज उ डराइन । जुनेली रात थियो । उ पर्खालमा अडेस लागेर टाउको माथिको जुनलाइृ धेरै वेर हेरिरही । सायद सोचिरहेकीथिइ । तिमीमा पनि त दाग छ तिम्रो दागले शितलतामा कमी आएको छ र । त्यो रात भर उ वेला बेलामा व्युझिरही ।

एकाबिहानै आमाको सट्टा बाबु लिन आएछ ।

“ओ दागे हिँड छिटो” बाबु दागे भन्छ उसलाई ।

उसले बच्चीलाई एक पटक हेरी “तिमी ठूलो भएको देख्न पनि पाइन “मनमनै भनी । आँशु रोक्दा सिंगान बग्यो बाबुले आधा महिनाको चार सय खल्तीमा हाल्यो । ऊ थोत्रा लुगाको पोको बोकेर बाबुको पछाडी पछाडी लुरु लुरु हिडी ।

(श्रोत :- Onlinekhabar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.