~श्याम साह~
मध्यरातमा वादल जोडले गर्जन थाल्यो । झिलिक्क उज्यालो हुने गरी विजुली पनि चम्के । लगत्तै आकाश नै खस्ने गरी पानी पनि पर्न थाल्यो ।
बखतबहादुरको त्यो फुसको घरले त्यत्रो पानी थेग्न सकेन । पानीका थोपाहरु ओछ्यानमा पनि चुहिन थाले । पहिलो थोपा उसको निधारमा खस्यो । त्यसले उसको मस्त निंद्रालाई खलवल्याएको थियो । उसले वेवास्ता गर्दै टाउको अन्तै सार्यो । तर पानी एक ठाउँ मात्र परेको थिएन । पानी लगातार उसको सम्पूर्ण शरीरमा पर्न थाले पछि ऊ जुरुक्क उठ्यो ।
निष्पट्ट अन्धकारमा उसले कालो मात्र देख्यो । ओछ्यान छाम्यो, छोरा वीरबहादुर अझै निन्द्रामा मस्त थियो । छोरालाई पानीले नउठाओस भनरे ओछ्याएको तन्ना पनि उसको शरीरमा ओढ्याइदियो । त्यस पछि उसले अगाडी छाम्यो । तर सीता त्यहाँ थिइनन् ।
‘वीरेकी आमा ?’
” हजुर ! “
सीताको आवाज खाटको कुना तिरबाट आयो । तिनको आवाज टड्कारै थियो । सायद तिनी सुतेकै थिइनन् ।
‘के भो ? किन नसुतेकी ?’
तिनी केही वोलिनन् । निष्पट्ट अन्धकारमा केही पनि देखिन्नथ्यो । सीता ओछ्यानवाट तल झरेको उसले सुन्यो । फेरी उसले पाइला चालेको पनि सुन्यो । तिनले सलाई झिकिन् । छुस्स आवाज निकालेर सलाइको काटी वल्यो । तिनले अगेना छेउको टुकी झिकिन् र बालिन् । फेरी तिनले विडी झिकिन् र टुकीमा सल्काइन् ।
टुकीको उज्यालोमा बखतबहादुरले सीताको अनुहार नियाल्यो । तिनको मलिन अनुहारमा अनौठो भाव थियो । तिनको अनुहारमा मुस्कान पनि थियो । तर तिनी डराएकी जस्ती पनि देखिन्थिन् ।
‘बीरेका बा’
तिनी सानो स्वरमा वोलिन् । तिनको आवाज कारुणिक थियो सायद आत्तिएकी थिइन् ।
‘के भयो वीरेकी आमा तिमीलाई आज ?’
तिनी मुसुक्क हाँसिन । वडो अजिव हाँसो थियो तिनको । तिनले आफ्नो ब्लाउजको कुनाबाट एउटा पोको झिकिन् ।
‘बीरेका बा, हेर्नोस न वाटोमा खसिराखेको थियो । थुप्रै पैसा जस्तो छ ।’
बखतबहादुर छक्क परयो । कति सोझी थिइन् तिनी ? ऊ हतार हतार त्यहाँ पुग्यो । उसले विस्तारै पोको फुकाल्यो । उसका दुवै आँखाहरु चम्किन थाले ।
‘वीरेकी आमा , यो हात्ती भएको पैसा त एउटै एक हजारको हुन्छ ।’
वखतबहादुरलाई अझै विश्वास लागिरहेको थिएन । सीताले अनुहार छोपिन् । तिनले अझै सम्म एकहजार नोट देखेकी थिइनन् ।
‘वीरेका वा, मलाई त डर लाग्न थाल्यो ।’
वखतबहादुरले सीताको मुहार नियाल्यो । चिसो रातमा पनि तिनको अनुहारमा पसिना थियो ।
‘ तिमी न आत्तिकन बस । मलाई गन्न देऊ । ‘
वखतबहादुर पैसा गन्न थाल्यो । हजार हजारका पचास वटा नोट रहेछ ।
” वीरेका आमा, यहाँ त पचास वटा रहेछ । पचास हजार हो यो । कहाँ भेटयौ तिमीले ?’
वखतबहादुर पनि आत्तिएको थिायो । नआत्तिनु पनि कसरी ? जीवनमा पहिलो पटक उसले त्यति धेरै पैसा गन्दै थियो ।
“वीरेका बा, त्यो पैसा जस्ताको त्यस्तै राखिदिनोस । भोली जहाँबाट भेटेको थिएँ त्यहीँ राखिदिन्छु । ‘
तिनको आवाज रुन्चे थियो । एक क्षण त बखतबहादुर पनि आत्तियो । पचास हजार । सानो रकम थिएन, त्यो तिनीहरुका निम्ती । फेरि सीताले त त्यो पैसा भेटेकी थिइन् चोरेर ल्याएको थिइनन् ।
“वीरेकी आमा , तिमीले चोरेर ल्याएकी छैनौ । किन आतिन्छौ ? हेर न हाम्रा दुःख पनि कति छ ? अव त हामी पनि खुसी सँग बाँच्ने छौँ । ‘
टुकीको मधुरो उज्यालोमा अवोध अनुहार लिएर वीरबहादुरले टुलुटुलु हेरेको थाहा पाएपछि तिनीहरु झस्के । दुवैले एक अर्कालाई हेरे ।
” बा, हामीले पैसा भेटेको हो ?’
उसले सोध्यो । एक क्षण दुवै केही वोलेन । वखतबहादरले छोराको कपाल मुसार्यो ।
‘ बाबु, तिमी अहिले सुत ।..’
‘ कसरी सुत्नु ? ओछ्यान त सवै भिजेको छ । ‘
बल्ल तिनीहरुलाई वास्तविकताको वोध भयो । सीताले छोरालाई काँखमा लिइन् । वीरबहादुर त्यहिँ निदाउन थाल्यो ।
” वीरेकी आमा, यो घरलाई भोलि नै प्लास्टिक ल्याएर छाउनु पर्छ । “
तर सीता भने केहि वोलिनन् । तिनी आफै कतै अन्तै डुवेकी थिइन् ।
” वीरेका बा, अव छोरालाई स्कुलमा हालिदिनु पर्छ है ? “
वखतबहादुरले सीताको अनुहार नियाल्यो । उदास भए पनि तिनी धिपिक्क बलेकी थिइन् । कँाखमा छोरा निदाइरहेको थियो । बखतबहादुर सीताका दुवै हात आˆनो हातमा लियो । तिनी आˆनो टाउको लोग्नेको काँधमा अड्याइन् । दुवै गफ गरिरहेका थिए । दुवैले एक अर्कालाई आˆनो सपनामा सुनकाउन थाले ।
सीताले वखतबहादुरको च्यातिएको पाइन्ट सर्ट देखिन् । अव नयाँ किन्नु पर्ने वताइन् । वखतबहादुरले सीताको च्यातिएको साडी देख्यो । त्यो पनि नयाँ किन्ने कुरा गर्यो । त्यस पछि दुवै छोरा तर्फ मोडिए । स्कुलमा भर्ना गर्ने कुरा भइसकेको थियो । अव नया लुगा किनी दिने कुरा गरे । फेरी तिनीहरु घर तर्फ फर्के । यसरी तिनीहरुले सारा रात अनिदो नै काटे ।
भोलि विहानै वखतबहादुर छोरालाई लिएर शहर हिड्यो । त्यहाँ उसले घर छाउन प्लास्टिक किन्यो । आफु , सीता र छोराका निम्ती नयाँ लुगाहरु किन्यो । छोराका लागि चाहिने रङ्गीन कितावहरु किन्यो ।
साँझ फर्किदा गाँउमा भएको हल्ला उसलाई उसलाई रत्तिभर पनि थाह थिएन । सीता निकै नै आत्तिएकी थिइन् ।
” थाह पाउनु भो हिजो राती कसैले कप्तान बाको घरबाट ताल्चा फोडेर पैसा चोर्यो रे ? “
वखतबहादुर पनि आत्तियो । फेरि आफूलाई सम्हाल्यो । सीताले त्यो पैसा भेटेकी थिइन् । चोरेकी थिइनन् । फे पिनिर उसले सोध्यो,
” हिजो किन थाहा पाइनौ त ? ’
” कसरी थाहा पाउनु ? हजुर निस्के लगतै म पनि दाउ।रा लिन जङ्गल हिडेँ । तपाई जसरी म पनि बेलुकी मात्र फर्के । आज पो मुखिया बाकोमा भाँडा मस्काउन जाँदा थाहा पाएकी ।’
तिनी साह्रै आत्तिएकी थिइन् । त्यो पैसा कप्तान बाको हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो । तर पनि तिनीहरु आत्तिए ।
” म त भन्छु जस्ताको त्यस्तै पुर्याइदिउ ।…..कप्तान बाको छोरा खुकुरी लिएर खाज्दैछन् रे ।’
सीता धेरै डराएकी पनि थिइन् । तिनको आवाज रुन्चे थियो । सायद रुन पनि थालेकी थिइन् । डराउन त वखतबहादुर पनि डराएको थियो । तर ऊ रुन सक्थेन ।
” तिमीहरु वस्दै गर । म थाहा पाएर आउँछु । “
वखतबहादुर निस्क्यो । अंध्यारो हुन लागेको थियो । ऊ एक तमास भएर ओरालो झर्दै थियो । एक किसिमको आँधी चलिरहेको थियो ऊ भित्र । के त्यो पैसा कप्तान बा कै होलान् त ? भए पनि दराज फोडेर लगेको पैसा सडकमा कसरी पुग्यो ?
अव उसले त्यो पैसा सडकमा भेट्यो भने पनि कसले पत्याउने ? पैसा त उसले चलाई सकेको थियो । त्यो पनि कसरी पुर्याउने ? फेरि उसले कप्तान बाको छोरा सम्भ्यो । ठूलो ज्यान भएको ऊ खुकुरी लिएर चोर खोज्दैछन् रे ?
” ओई वखते कता हिँडेको यो अध्ँयारोमा ? “
एक क्षण त ऊ तस्र्यो र पनि फक्र्यो । ऊ सँगैको साथी रहेछ ।
” यसो तल्तिर हिँडेको । “
ऊ नरोकिकन भन्यो । तर विस्तारै हिड्न थाल्यो ।
” अनि र्फकनु पनि त पर्ला नि ? राती हुन लाग्यो । समय सकाल राम्रो छैन है । “
ऊ बखतबहादुर नजिक पुगिसकेको थियो । विस्तारै बखतबहादुरको कानमा साउती गर्दै भन्यो,
” कप्तान बाको दराज फोडेर पैसा चोरेको थाहा पायौ ? “
बखतबहादुरको मुटु ढुकढुक गर्न थाल्यो । र पनि विस्तारै सोध्यो ,
” सुन्न त सुनेको थिएँ । साँच्चै कति पो पैसा थियो हँ ?”
” खै,पचास हजार थियो भन्छन् ।”
बखतबहादुरको शरिरमा चट्याङ परे जस्तै भयो । सीताले भेटेको पैसा पनि पचास हजार नै थियो ।
” मलाई त यो काम चोरको लाग्दैन वखते ।…त्यहाँ त पैसा बाहेक गहनाहरु पनि थिए । खै लगेन त ? अरु वेला त बुढा कै छोरा पैसा चोर हिँड्थ्यो । फरक यत्ति हो । ऊ यस पटक यहीँ छ । अझ उसैले चोर खोज्दै हिँडिरहेछ छ पनि सुनेको छु ।”
बखतबहादुरको आँखामा कप्तान बाको छोराको जण्ड अनुहार नाच्न थाल्यो । खुकुरी लिएका वडेमानको शरिर । वलियो हातमा नाङ्गो खुकुरी । ऊ अगाडी हिड्न सकेन ।
” ढिलो हेाला जस्तो छ । म यहिँवाट फर्किन्छु । “
बखतबहादुर फक्र्यो । चोरी गरेका थिएनन् उनीहरुले । फेरी पनि चोर हुँदै थिए ।
बखतबहादुर केही सोच्न सकेन । उसको आँखामा केवल कप्तानको जेठा छोरा थिए । जो नाङ्गो खुकुरी बोकेर उसैलाई झम्टन आइरहेको जस्तो थियो ।
बखतबहादुर पिँढीमा गएर थुचुक्क वस्यो । सीता उसको नजिक आइन् ।
” वीरेकी आमा त्यो त कप्तान बाकै पैसा रहेछ । “
बखतबहादुरका आवाजमा निराशा व्याप्त थियो ।
‘खै कसले हो ? कप्तान बाको पैसा चोरेको रहेछ । सायद उसले हराएपछि तिमीले भेटेको हुनु पर्छ।’
रात चकमन्न थियो । तर ताराहरु अझै देखिसकेका थिएन । तिनीहरु एकअर्का तर्फ नै फर्केका थिए । तर तिनका अनुहार भने देखिएका थिएनन् ।
” के गर्ने त वीरेका बा ? बरु सवै पैसा लगेर बुझाइदिउ। “
” कसरी बुझाउने ? पैसा त हामीले चलाइसक्यौँ । पाँचहजार जति त खर्च पनि भइसक्यो । फेरी हामीले चोरेका होइनौ भनेर कसले पत्याउने ?’
बखतबहादुर आफूलाई सवै भन्दा लाचार पायो । उसको आाखामा अझै पनि खुकुरी नचाउँदै गरेको कप्तानको छोराको तस्वीर नाचिरहेको थियो ।
” के गर्ने त वीरेका बा ? “
सीता पनि निराश देखिइन् ।
” वीरेकी आमा , यो कुरा बाहिर कसैले थाहा नपाओस । कसैले यसवारे भूलेर पनि कुरा नगर्नु । अहिले यो पैसा नचलाई लुकाएर राखिदिउँ पछि कुरा सामसुम भए पछि चलाउँला । “
तिनी केही वोल्न सकिनन् । तिनले वोलेर के नै हुन्थ्यो र ? खिन्न अनुहार लिएर तिनी भित्र पसिन् । टुकीको मधुरो उज्यालोमा छोरा अझै बाबासँग लागेर आएको रङ्गीन कितावको चित्र हेर्दै थियो ।
तिनी छोराको अनुहार नियालिन् । कसै गरि यो कुरा बाहिर थाह भयो भने तिनीहरु चोर सावित हुन्थ्यो । तिनका छोरा पनि चोरका छोरा हुन्थ्यो । त्यो निदर्।मेष अनुहार, जो टुकीको मधुरो उजयालोमा टुलुटुलु आफ्नो भविष्य खोज्दै थियो । उसको निधारमा पनि चोरका मोहर लाग्ने छ । तिनको मुटु ठूलो बोझले थिचे जस्तो भयो । तिनी त्यहाँ उभिरहन सकिनन् ।
राती तिनीहरुले बाकी पैसा प्लास्टिकमा बेरेर अगेनो छेउमा गाडे ।
विहान सदा झै बखतबहादुर काम गर्न शहर हिडेँ । घरमा सीता र छोरा बीरबहादुर मात्र भए । खाना खाए पछि वीरवहादुर पनि खेल्न भनि तल गाँउमा झरे । घरमा एक्लो सीता मात्र भइन् ।
साँझ पर्नु अगावै सीता भान्साको तयारी गर्न थालेकी थिइन् । लोग्ने र छोरा अझै फर्किसकेको थिएन । तिनले मानिसहरु हिडेको सुने पछि वाहिर निस्किन् । कप्तान बाका छोरा सहित अरु पाँच जना मानिसहरु थिए । एक क्षण त तिनको होसहवास उड्यो । तिनी डरले कालोनिलो भइन् ।
” बखतबहादुर खोई ?
एक जना कड्किदै सोधयो ।
” आउनु भएको छैन । भरै अवेर फर्किनुहुन्छ । “
” ऐ भोलि विहान कतै जानु पदैन । खुरुकक मेरो घर पठाइदिनु ।”
यस पटक कप्तान बाको छोरा आफै कड्किए । सीता केही वोल्न सकिनन् । डरले तिनको हृदयको गति बढिरहेको थियो । मुटु फुट्ला जस्तै भयो । तिन्ले पिँढीको खाम्वो समातेर त्यहिँ थुचुक्क वसिन् ।
छोरा फक्र्यो । तिनी त्यहिँ वसि रहिन् । जति वोलाउँदा पनि नवोले पछि ऊ आफै लुसुक्क घर भित्र छिर्यो । राती हुन लाग्यो । अन्धकारसँगै बखतबहादुर पनि फक्र्यो । सीता त्यसरी बसेको देखेर उसको मनमा पनि चिसो पस्यो । ऊ सीताको निधार सुमसुम्यायो । सीता डाँको छोडेर रुन थालिन् ।
“वीरेका बा तिनीहरुले सवै थाहा पाए । “
बखतबहादुर जड भएर उभिरह्यो । आमा रेाएको सुनेर छोरो पनि नजिक आयो ।
” कसरी थाहा पाए तिनीहरुले ? तिमीले कहाँ भनेकी थियौ । “
निकै वेर पछि बखतबहादुरको बोली फुट्यो । ऊ कामिरहेको थियो ।
” कहा भन्नु मैले घरबाट कहिँ निस्केको त छैन । “
तिनी रुदैँ भनिन् ।
” कसले भन्यो त्यसो भए ? “
बखतबहादुर रिसले काम्दै करायो । दुवै छोरा तर्फ फर्के । वीरबहादुर डरले रातो भएको थियो । दिउँसो वीरबहादुर मुखिया बाका नातीसँग खेल्दा उसले भेटेको पैसावारे भनेको थियो । किनकी उसले वीरबहादुरलाई उसको हजुर बासँग धेरै पैसा भएको धाक लगाएको थियो । उसले पनि उसको बुबाले पैसा भेटेको सुनाएको थियो ।
बखतबहादुर रिसको झोँकमा छोराको गालामा एक चड्कन हान्यो । ऊ रुन थाल्यो । तर उसको रिस भने अझै मरेको थिएन् । उसले अर्को पटक पनि हात उठाउदा सीता अगाडि आइन् ।
” उसलाई किन कुट्नुहुन्छ ? पैसा त मैले ल्याएकी थिएँ । “
छोरालाई अङ्गालोमा लिएर तिनी रुन थालिन् । रातको निस्तब्धतामा तिनीहरुको रुवाई झन् चर्को सुनिन्थ्यो । जुन उसको लागि झन् असहृय थियो । आˆनो दुबै हात टाउकोमा राखेर ऊ थुचुक्क बस्यो ।
” गल्ती त मेरै हो ।… “
उसको आवाज रुन्चे थियो । उसका आँखाबाट आँसु खसिरहेको थियो । आँसु पुछ्दै उसले फेरि भन्यो,
” ….. तिमीले त पैसा पुर्याइदिन भनेकै थियौ नि ,…मै ले लोभी भएको । “
ऊ आफैसँग बर्बराई रहेको थियो । निकै बेर सम्म उनीहरु तेसै केहि नगरि वसिरहे ।
“वीरेका बा , ” .
सीता सुस्तरी वोलिन । तिनको काँखमा वीरबहादुर अझै हिक्क हिक्क गर्दै रोइरहेको थियो ।
” …. भोली के गर्ने ? विहानै तपाइलाई आउनु भनेका छन् ।.. ” .
तिनी एक क्षण चुप लागिन् । लोग्ने तिर हेरिन् ऊ एक तमास भएर कहिँ नियालिरहेको थियो । ऊ केही नवोले पछि फेरि तिनी नै बोलिन् ,
” … जे जति छ सवै दिएर साँचो कुरा भनि दिउँ । “
बखतबहादुर अझै केहि वोलेन । सीताको काँखमा छोरा रुँदा रुँदै निदाई सकेको थियो ।
‘कसले पत्याउँछ हामीलाई ?’ बखतबहादुर निकै वेर पछि बोल्यो । त्यति बेला ऊ डराएको जस्तो थिएन । निकै कठोर देखिन्थ्यो ऊ ।
” कसले पत्याउँछ कि त्यो पैसा हामीले भेटेका हो, चोरेका होइनौ ? हामी सवै थोक बुझाएपछि पनि त्यो बुझाएको होइन, समातिएको हुनेछ । हामी त चोर भइसकेका छौँ सीता । “
सायद पहिलो पटक बखतबहादुरले तिनलाई सीता भनेर सम्वोधन गरेको थियो ।
” यो गाउँमा चोर भएर वस्न भन्दा नवस्नु वेस । “
उसले निर्णय गरिसकेको थियो । त्यति बेला अनुहार एकदमै सपाट थियो उसको । त्याहाँ हरु कुनै भाव थिएन ।
” जे जे चाहिन्छ, सवै बाँधिहाल । विहान भाले बास्नु अगावै हामी निस्कने छौँ । विहानै वजारमा सदरमुकामबाट तरकारी लिन गाडीहरु आउँछ । हामी त्यहि सँगै निस्कनुपर्ला । “
सीता पनि केही वोलिनन् । छोरालाई तिनले ओछ्यानमा सुताइन् र तिनीहरुलाई चाहिने सामान थुपार्न थालिन् । चारैतिर हेरिन् तिनले । के नै थियो र त्यहाँबाट लानका निम्ति ? अलिकति लुगा, केही भाँडाकुडा । एक्कासी तिनको ध्यान गाडिएको पैसातिर गयो ।
” वीरेका बा , त्यो पैसा चाहि के गर्ने ?”
” जस्तो छ ,त्यस्तै छोडिदेउ । त्यहिँ कुहेर बसोस् । त्यसैको कारणले यत्रो दुःख पाइँदै छ । जहाँ लगे त्यहिँ दुःख पर्छ । “
त्यस पछि तिनीहरु रातभर बोलेन । तिनीहरु सारा रात अनिदो नै काटे । भाले बास्नु अगावै बखतबहादुरले आकास नियाल्यो । तराजु तारा पुर्वतिर ढल्किन लागेको थियो । तिनीहरुको निस्कने बेला भइसकेको थियो । उसले छोरालाई पिठ्युमा बोक्यो । सीताले जम्मा पारेको पोको बोकिन् । त्यसपछि तिनीहरु घरवाट निस्के ।
रात चकमन्न थियो । आकाशमा ताराहरु पिलपिल गर्दै तिनीहरुका मुकदर्शक भएका थिए । एक्लो जून आज मलिन र उदास देखिन्थ्यो । तिनीहरु हिँडदा वाटामा एक दुई पटक कुकुरहरु पनि भुके । केहि क्षण पछि अलि माथि पुगेर तिनीहरु पछाडि फर्के । जुनेली रातको मधुरो उज्यालोमा गाँउ प्रष्ट देखिन्थ्यो । त्यसमा भन्दा अलि माथि सुनसान ठाँउमा उनीहरुको घर थियो । जुन त्यहाँवाट जुनेली रातको उज्यालोमा तिनीहरुको वियोग रोइरहेको जस्तो देखिन्थ्यो । दुवैका आँखाबाट एकैपटक आँशुका केही थोपाहरु खसे । दु्वैले एक अर्कातर्फ हेरे । आफ्रना आँखाहरु पुछे । र सरासर आफ्नो बाटोतिर लागे ।
विहानै सदरमुकामवाट तरकारी लिन आएको गाडीमा तिनीहरु चढे । हिजो दिनभर भारी बोकेर कमाएको पैसा बखतबहादुरले आˆनो सर्टको अगाडीको खल्तीमा राख्यो ।
गाडी घ्यार घ्यार गर्दै अगाडि हिड्न थाल्यो । गाडीभरि मानिसहरुको भिड थियो । गाडीको आवाज र मानिसको हल्लाले वीरबहादुर ब्युँझियो । उसलाई गाडीको त्यो वातावरण अत्यन्तै विरानो लाग्यो । अचानक उसले बुबाले थप्पड हानेको सम्भ्ःयो । त्यसपछि ऊ बुबाको काँखबाट आमाको काँखमा गएर बस्यो ।
” आमा हामी कहाँ हिडेको ? हाम्रो घर खोई ? “
बखतबहादुरको अनुहार रुन्चे भयो । सीताले उनको अनुहार नियालिन् । उसको आँखा पिलपिल गर्दै थियो । स्रीता पनि आफूलाई थाम्न सकिनन् । तिन्का आँखा पनि भरिए ।
” बाबु हामीले घर छोड्यौँ । अव हामी शहर जाने । “
तिनी अगाडी बोल्न सकिनन् । छोराको अनुहार पनि रुन्चे भयो । तिनी आफ्नो अनुहार भ्ःयालतिर फर्काइन् । चिसो हावाले तिनीहरुको मुहारमा स्पर्श गर्न थाल्यो । तिनका आँखाका आँशु पनि त्यहिँ सुक्न थाल्यो ।
तिनीहरु सदरमुकाम पुग्दा घाम लागिसकेको थियो । त्यहाँका निम्ती तिनीहरु नयाँ थिए । सवै थोक नौलो लागिरहेको थियो तिनीहरुलाई । रातीदेखि तिनीहरुले केहि पनि खाएका थिएनन् । त्यसैले भोक पनि जोडसँग लागिरहेको थियो । बखतबहादुरले नजिकैको किराना पसलबाट चिउरा किनेर ल्यायो । र छेउकै होटेलमा अलिकति नुन माग्यो । तिनीहरुले त्यहि चिउरा पानी र नुनसँग भिजाएर खाए ।
तिनीहरु त्यहाँ विल्कुल नौला थिए । के गर्ने कसैलाई थाहा थिएन । र पनि केहि त गर्नैपथ्र्यो ।
” वीरेकी आमा , तिमी छोरा लिएर यहिँ वस । होटेलकी साहुनी दयालु जस्ती छिन् । म काम खोज्न जान्छु । नआत्तिनु छोरालाई कतै जान नदिनु । म भरै साँझ तिर मात्र र्फकन्छु । “
यत्ति भनेर बखतबहादुर त्यहाँबाट हिड्यो । तिनी भने छोरालाई समातेर त्यहाँ उभिरहिन् । लोग्ने त काम खोज्न भनेर हिँडेको थियो र तिनलाई कतै नजान पनि भनेको थियो । तर तिनका अगाडि सारा दिन एउटा पाहाड वनेर तेर्सियो । त्यत्तिकै सारा दिन कसरी विताउन सक्थिन् र तिनले ?
तिनी होटेलको साहुनी कहाँ पुगिन् । खै के के कुरा गरिन् तिनले । एक क्षण पछि तिनी त्यहाँ वसेर होटेलको भाँडा मस्काउन थालिन् । छोरा भने तिनको नजिक बसिरह्यो ।
होटेल राम्ररी नै चल्थ्यो । तिनी दिनभर भाँडा मस्काइरहिन् । वीरबहादुर दिनभर आमासँगै बसिरह्यो । य एक दुई पटक होटेलकी साहुनी आफुतिर बोलायो । तर वीरबहादुर गएन ।
साँझ परिसक्दा पनि बखतबहादुर नआए पछि सीता आतिन् । दिनभर एकहोरो भाँडा माझेर होला होटेलकी साहुनी सहानुभूतिको स्वरमा भनिन् ,
” किन आत्तिन्छौ ? लोग्ने मानिस हो, कहिँ कतै भूलेको होला । नत्र कुनै काम अल्झेको होला । ढिलो चाँडो आइहाल्छ नि । आएन भने यहिँ वस । “
तर त्यसले सीतालाई सन्तोष पार्न सकेन । तिनी एकहोरो सडक तर्फ हेरिरहिन् । अन्धकारले छोपिसकेपछि बखतबहादुर फक्र्यो । वत्तीको उज्यालोमा ऊ पसिनाले भिजेको तिनले प्रष्टै देखिन् । भर्खरै काम सकेर आएको जस्तो थियो । उसको शरिर ईटाको धुलोले पुरै रातो देखिन्थ्यो ।
” पर एउटा घर बनिरहेको रहेछ । त्यहिँ इट्टा ओसार्ने काम पाएँ । पहिलो दिन भएर होला, राती सम्म आसार्न लगाए । “
एकै सासमा भन्यो उसले । अनि सीताको अनुहार हेरेर हाँस्न खोज्यो तर अहँ उसको अनुहारमा मुस्कान भने पटक्कै देखिएन । उसले छोरालाई हेरयो । उसको टाउको सुमसुम्यायो । तर छोरा भने उबाट पर सरेर आमासँग टाँसियो ।
उसले बुबाको थप्पड अझै विर्सेको रहेनछ । बखतबहादुरको मन नराम्ररी विभ्ःयो । खाना तिनीहरुले त्यहिँ खाए । सिताले दिनभर भाँडा मस्काएकी थिइन् । होटेलकी साहुनीले केहि पैसा तिनको हातमा राखि दिइन् ।
अब भने तिनीहरुलाई बासको समस्या आइ लाग्यो । तिनीहरु त्यति बेला सडकमा थिए । त्यो पनि सुनसान थियो । चारैतिर अन्धकार व्याप्त थियो ।
” हुनत हामीले काम गरेको घरमा जाँदा पनि हुन्थ्यो । तर त्यहाँ अरु काम गर्ने मानिसहरु पनि छन् । अलि पर पाटी जस्तो बस्ने ठाउँ छ । त्यहिँ जाउँ । “
तिनीहरु यात्रुहरुका लागि बनाइरहेको बस विसौनीमा पुगे । त्यो रात तिनीहरुले त्यहिँ विताउने भए । सीता आफुले ल्याएको पोको त्यहाँ विसाइन् । छोरा चाडै तिनको काँखमा सुत्यो । तिनीहरु पहिलोपटक घरबाट वाहिर रात विताउँदै थिए ।
छोरा सुतिसकेको थियो । सीता पनि निदाइसकेकी थिइन् । तर बखतबहादुर भने निदाउन सकेको थिएन । सायद ऊ तन्द्रामा थियो । गाँउका सम्झनाहरु उसको आाखा अगाडि आउँथे र जान्थे ।
प्रहरीको भ्यान तिनीहरुको अगाडि घ्याच्च रोकियो । एक्कासि परेको हेडलाइटको उज्यालोले तिनीहरुका आँखा तिरमिराए ।
” ऐ , के हो तिमीहरु ? “
एक क्षण सवै आत्तिए को हुन् तिनीहरु ? के भन्यो भने ती प्रहरीले तिनीहरुलाई चिन्लान् ? तिनीहरुका नामले ? अहँ , तिनीहरुसँग त्यस्तो कुनै परिचय नै थिएन ।
” हजुर हामी …. “
बखतबहादुरले त्यति मात्र बोल्न सक्यो । करिव १० जना जति प्रहरीहरुले उनीहरुलाई चारैतिरबाट घेरिसकेका थिए । छोरा पनि एक्कासि त्यति धेरै मानिस देखेपछि रुन थाल्यो ।
” यहाँ के गर्दै छस् ? “
” आजै गाँउबाट आएको हजुर । बस्ने कुनै ठाँउ भेटेन । “
” साला ! यत्रा लजहरु देखेनौ ? हेर्दै चोर जस्तो छ । ठोक ऐ यसलाई ।”
एकजना बोलेको के थियो, अर्कोले बखतबहादुरको कठालो जोडले समात्यो । लगत्तै उसको ढाडमा बुटले हान्न थाल्यो । अव सीता पनि रुन थालिन् ।
” चुप लाग !”
“राती यसरी बस्न कसले भन्यो ? खै कति रुपैया छ , सवै झिक ।”
अघि कै मान्छे बोल्यो । बखतबहादुर हतारहतार दिनभर कमाएको पैसा तिनीहरुको हातमा थमाइदियो ।
“साले, के हो यो ?”
उसले एक लात्ती बखतबहादुरको ढाडमा हान्यो । बखतबहादुर पर उछिट्टयिो ।
” हजुर यत्ति नै छ । “
ऊ पिडाले कराउँदै भन्यो । ऊ रुन पनि सकिरहेको थिएन ।
” अव भोलि फेरि यँहा भेटिस भने थानामा लगेर जाक दिन्छु । “
त्यति भनेर तिनीहरु हिडे । त्यसपछि तिनीहरु सुत्न सकेनन् । रातभर रोइरहे । छोरा बखतबहादुरको काँखमा बाबा भनेर टाँसियो । त्यस पछि बखतबहादुरको पनि भक्कानो छुट्यो । तिनीहरु सारा रात रुँदै काटे ।
” वीरेका बा , तपाई अव त्यहिँ वनिरहेको घरमा नै बस्नोस् । बरु म होटेलको दिदीलाई मनाउँला । “
विहान भएको थिएन । अँध्यारोमा एक्कासि सीताले बोलेकी थिइन् । छोरा रुँदारुँदै बखतबहादुरको काँखमा सुतिसकेको थियो । उसको आँखा र ढाड सुन्निएको थियो । छोराको गालाभरि आँशुको दाग थियो । उसले विस्तारै त्यसलाई पुछिदियो । तर ऊ केही वोलेन । त्यहि त एउटा विकल्प थियो तिनीहरुका लागि । त्यसपछिका केहि दिन तिनीहरुले त्यसरी नै विताए । सीता छोरालाई लिएर होटेलमा बस्न थालिन् । बखतबहादुर दिनभर काम गथ्र्यो । साँझ एकपटक होटल पुग्थ्यो । आँउदा उसको अनुहार उदास हुन्थ्यो । जाँदा प्रत्येक पटक रोएको हुन्थ्यो ऊ । भेट्दा सिता रुन्थिन् । यसरी आमाबुबा रोएको देखेर छेारा पनि रुन्थ्यो ।
त्यसदिन पनि बखतबहादुर इट्टा माथिल्लो तल्लामा ओसार्दै थियो । दिउँसोको वेला उसले एक भारी इट्टा माथि लग्यो । इट्टा विसाए पछि लामो साँस फेर्यो उसले । उसको शरिर भरि पसिना थियो । परबाट आएको एक झोका शितल बतासले उसलाई स्पर्श गर्यो । सारा थकान विर्सेर उसले परसम्म हेर्न थाल्यो । निकै पर एक हुल मानिसहरु आइरहेको देख्यो । सुरुमा उसले वास्ता गरेन । तर चिने जस्तो पनि लागयो उसलाई । तिनीहरु नजिकिँदै थिए । उसले नियालेर हेर्यो । दौरा सुरुवालमाथि कोट र टोपि लगाएका कप्तान बालाई उसले प्रष्टै चिन्यो । छेउमा गाँउका मुखिया पनि थिए । सँगसँगै गाँउका अरु मानिसहरु पनि थिए ।
आफुलाई गतिहिन महसुस गर्यो उसले । सारा संसार रोकिएको जस्तो अनुभव गर्यो । अव तिनीहरु आउनेछन् । चोरलाई समाते जसरी उसलाई समात्नेछन् । चोरलाई जसरी गाँउ लगनेछन् । सँगै सीता हुनेछिन् । साथ मै उसको छोरा हुनेछन् । त्यसको कल्पना मात्रले आतङ्कति भयो ऊ ।
चिसो वतासले ल्याएको सारा सितल्ता हरायो । उसको शरिर भरि पसीना आउन थाल्यो । ऊ भाग्न चाहयो । तर सकेन । अव कहाँ भागोस ? यहाँ पनि त ऊ भागेरै आएको थियो । ऊ निर्जीव खम्वा जस्तै जड्वत उभिरह्यो ।
तिनीहरु आए । उनकै नजिक आए । ऊ अझै त्यसरी नै उभिरहेको थियो, प्रतिक्रिया विहीन भएर । तर तिनीहरुले उसलाई समातेनन् । सवै उसको नजिक आएर उभिए ।
” कस्तो छ बखतबहादुर तिमीलाई ? तिम्रो जहान र छोरा खोई ? “
कप्तान बाको उदास आवाज गुञ्जियो । अलिकति पनि कठोर भावना थिएन उसको आवाजमा । त्यसको साटो त्याहाँ अपार सहानुभूति थियो । बखतबहादुरका नजर झुके । त्यो सहानुभूति उसको लागि अनपेक्षित थियो । ऊ भक्कानिएर रुन थाल्यो ।
” भयो बखत, नगरेको गल्तीको सजाय कति भोग्छौ । गल्ती त हाम्रो हो । चोर तिमी होइनौ । चोर त मेरै छोरा हो । तिमीले त केवल हराएको पैसा भेट्यौ । …. हिँड हामी त तिमीलाई लिन आएको । ‘
सवै मौन थिए । र सवैका आँखामा एउटै भाव थियो । तर बखतबहादुरको रुवाई भने अझै रोकिएन ।
” हामीले त पैसा बुझाउन खोज्यौँ ।… तर पहिल्यै चलाइसकेकोले डर लाग्यो ।…बाँकी पैसा बुझाउने साहस नै भएन ।…अनि सवै पैसा घरमा छोडेर हिड्यौँ । “
फेरि बखतबहादुरको रुवाई चर्को भयो ।
” भो बखत, फेरि त्यो पैसाको कुरा नगर । तिम्रा जहान र छोरा खोई ? “
वरपरका अरु काम गर्ने मानिसहरु पनि जम्मा भइ सकेका थिए । एउटा भिड जम्म्ाा भइसकेको थियो । त्यस पछि फेरि बखतबहादुरलाई त्याहाँ काम गर्नु परेन ।
तिनीहरु सवै होटेल गए । आफ्नो बाबालाई गाउँहरुलेसँग आएको सवैभन्दा पहिले वीरबहादुरले देख्यो । ऊ दौडेर आमा कहाँ पुग्यो । तिनी अझै भाँडा मस्काउँदै थिइन् । तिनले आफ्नो हात पनि चुठ्न पाइनन् । छोराले तिनलाई डोर्याउँदै वाहिर ल्यायो । सम्पूर्ण गाउँलेसँगै बखतबहादुरलाई त्यसरी देखेपछि तिनी पनि तर्सिन् । सायद तिनलाई पनि लाग्दो हो , तिनीहरु समातिए । बखतबहादुर आफै नजिक आयो ।
” वीरेकी आमा तिनीहरुले हामीलाई समात्न आएका होइनन् । लिन आएका हुन् । हिँड, अव हामी गाँउ जान्छौ । “
सीताको आाखा पनि भरियो । छोरालाई अङगालोमा लिदै तिनी रुन थालिन् । तिनी होटेल भित्र छिरिन् । होटेलकी साहुनीसँग भेटिन् । सारा कुरा थाहा पाएपछि तिनको आँखा पनि रसाए । तिनी वीरवहादुर तिर हेरिन् । यस पटक तिनले बोलाइनन । ऊ आफै तिनको नजिक आयो । तिनले उसको कपाल मुसारिन् । उसको हातमा केही पैसा राखिदिइन् । त्यति दिन काम गरेको पैसा तिनले सीताको हातमा राखिदिइन् ।
त्यसपछि सारा गाउँलेहरुसँग तिनीहरु घर फर्के । सवैथोक नौलो लागिरहेको थियो तिनीहरुलाई । छोरा त गाउलेहरुसँग खेल्दै र जिस्कँदै आए । तर बखतबहादुर र सीता भने बाटो भरि कतै हाँसेनन् । वाटोमा पनि पटक पटक आँशु पुछेका थिए । तर तिनीहरुलाई एउटा अपार शान्तिको बोध भने भएको थियो । तिनीहरु ढुक्क भएका थिए । तिनीहरु चोर होइनन् ।
(श्रोत :- Onlinekhabar )