~नयनराज पाण्डे~
पजेरोलाई सदरमुकाममै छाडेपछि स्वकीय सचिव र म लखरलखर हिंड्न थाल्यौं । गाउँको बाटो धूलो र माटो डुङडुङ् गनाउने गोबर र गुहु । गाउँ किन यस्तो फोहोर हुँदै गएको ?
अहिले म आफ्नो गाउँ जाँदैछु । चुनाव जितेर गएपछि आफ्नो गाउँलाई पनि बिस्र्यो भन्छन् जनता । त्यो गुनासो मेट्न जाँदैछु । चुनाव जितेर राजधानी गएदेखि पहिलोपटक गाउँ र्फकंदैछु नयाँ ठाउँमा आएजस्तो लागिरहेछ । खल्तीमा चकलेट छ । केटाकेटीहरूलाई बाँड्नु पर्ला ।
“हैन, मन्त्रीज्यू हामीले त बाटो बिरायौं क्यारे ।”
“ए, हो त” -स्वकीय सचिवले भनेपछि म पनि झसङ्ग भएँ ।
“मूलबाटो त सल्लाघारीबाट छुटिन्थ्यो । हामी त धर्मपुर पो आइपुगेछौं,” यति भन्दै मैले आफ्नो निधारको पसिना पुछें ।
“अब यसो गरौं मन्त्रीज्यू, उ त्यो गोरेटो बाटो समातौं र सल्लाघरी पुगौं । यताबाट अलिक सट्कट हुन्छ जस्तो छ ।”
गाउँको अलिअलि भेउ यो स्वकीय सचिवले पनि पाएछ । मैले उसैको सल्लाह मानें र अर्को गोरेटो समातें । यसै पनि मलाई धर्मपुर पस्ने इच्छै थिएन । सबैभन्दा थोरै भोट मैले यसै गाउँबाट पाएको । जम्मा तीन सय भोट ।
“साला गद्दारहरू, ६० हजार पचाइदिए” मैले धर्मपुरका बासिन्दालाई सरापें र निश्चय गरें- यस गाउँको लागि कुनै बजेट निकासा गराउँदिन । यो कुरा मैले मनमनै भनेको थिएँ तर स्वकीय सचिवले बुझेझैं भन्यो- “हो हजुर बजेट निकासा गराउनु हुँदैन ।”
म जिल्ल परें ।
म फेरि दिक्क भएँ । सल्लाघारी त अगाडि नै छुटेछ । हामी त चित्रपुर आइपुगेछौं ।
“लाटा यो गाउँमा त पस्नै हुँदैन । कुट्छन् ।”
मैले यति भन्नुमात्र के थियो स्वकीय सचिव डरले थरथर काम्न थाल्यो ।
“एम्बुसमा परिएला सर, सल्लाघारीतिर फर्कौर् सर ।’ ऊ पाइन्टमा सु गर्न लागेजस्तो भयो ।
त्यसपछि हामीले सल्लाघारीको बाटो समात्यौं । बाटोमा नयाँ मान्छे देखेर केटाकेटीहरू पछि लागे । मैले खल्तीबाट चकलेट झिकेर तिनीहरूलाई बाँडेँ ।
……
वास्तवमा मूलबाटो सल्लाघारीबाट छुट्टदिो रहेनछ । मेरो गाउँ जाने मूलबाटो त बाँसघारीबाटै छुट्टदिो रहेछ । म अलमलिएँछु ।
“मन्त्रीज्यू आइहाल्नु भयो, यसो चियासिया खाएरै पाल्नुहोस् न ।” सल्लाघारीवन गाविस अध्यक्षले हात मल्दै अनुरोध गरे । सदरमुकाम छाडेपछि पहिलोपल्ट कसैले मलेको देखें, मन हषिर्त भयो ।
“यस गाउँमा के को समस्या छ ?” मैले गाविस अध्यक्षलाई सोधें ।
“खानेपानीको साह्रै समस्या छ ।” -उत्तर आयो ।
“पख्नुस् अध्यज्यू, नआत्तिनुस् । म पाँच वर्षमा यस गाउँलाई खलखल पखालिदिन्छु” -आश्वासन दिएँ र मनमनै भनें- ‘भूत्रो खालास् ।’
र, केही चकलेट त्यहाँ पनि बाँडेँ ।
……
यसपटक मैले स्वकीय सचिवलाई हकारेँ- “यस्तो पनि काइदा हो ? अर्कै बाटो ल्याउने ?”
“सर, म त पहिलोपल्ट आएको । बाटै थाहा छैन । बाटो त हजुरलाई थाहा होला भन्ठानेको । हजुर त यतैतिर जन्म्या, हुक्र्या । पहिला यतैबाट चुनाव जित्या… ।”
म लज्जित भएँ ।
“ल हिँड, डोन्ट माइन्ड । ऊ त्यो बाटो पक्कै बाँसघारी पुग्छ ।” मैले स्वकीय सचिव र आफूलाई विश्वस्त बनाएँ ।
हामी त्यसपछि सरासर बाँसघारीतिर लाग्यौँ । बाँसघारी आएपछि मैले गर्वसाथ स्वकीय सचिवलाई भनेँ- “देख्यौं ? यै हो बाँसघारी ।”
तर गाउँ पसेपछि थाहा भयो, त्यो त डाँडागाउँ पो रहेछ ।
……
मन्त्री हुनुको एउटा अप्ठ्यारो बल्ल थाहा भयो । मन्त्रीले आफ्नो गाउँको बाटो सोध्नु हुँदैन । यसपाली आफ्नो गाउँ पुग्ने पूरा नक्सा बनाएर जान्छु भन्ने निश्चय गरें । आफ्नो योजना स्वकीय सचिवलाई सुनाएँ । ऊ योजना सुनेर दङ्ग पर्यो ।
“सर, यस्तो महत्त्वपूर्ण योजना त बजेटमै पार्नुपर्छ ।”
उसको कुरा सुनेर म पनि दङ्ग परें ।
तर दङ्ग पर्नु व्यर्थ भयो । गाउँको बाटो फेला परेन ।
नक्सा भइदिएको भए आफ्नो गाउँ पुग्न यसरी अल्मलिनुपर्ने थिएन । नक्साको योजनासम्बन्धी आफ्नो विचार झन््झन् उचित र प्रासङ्िगक लाग्न थाल्यो ।
……
“हजुरले २०४६ सालमा यसै गाउँबाट प्रजातान्त्रिक अभियानको थालनी गर्नुभा त हो नि” – एउटा प्रौढ बुज्रुगले जानकारी गराए । यो जानकारी केहीबेरको लागि मलाई रोचक भयो । ‘ए हो र !’ झन्डै यस्तो वाक्य मेरो मुखबाट निस्कन लागेको । आफूले त्यो कुरा बिर्से पनि बिर्सें भन्न त मिलेन नि ।
मेरो अप्ठ्यारो झन्झन् जटिल बन्दै गयो । यो पनि आफ्नो गाउँ परेनछ । चित्त बुझाउने एउटै कुरा थियो । यी सबै मेरै निर्वाचन क्षेत्रभित्र पर्ने गाउँहरू थिए ।
“ए कलम झिक त” मैले स्वकीय सचिवलाई आदेश दिएँ । त्यसपछि धमाधम मैले बाटो बिराएर पुगेको गाउँहरूका नामहरू टिपाएँ ।
“मन्त्रीज्यूले यति गाउँको पैदल भ्रमण गर्नुभयो । यो त गजबको न्युज बन्छ नि सर ।” स्वकीय सचिव उत्साहित भयो ।
यो मेरो दूरदृष्टि थियो ।
हिंड्दाहिंड्दै बाटो फराकिलो भयो । मलाई लाग्यो- मेरो जन्मथलो मेरो गाउँ आउन थाल्यो । तर हामी अर्कौ गाउँ पुगेछौं ।
……
प्रचण्ड घाममा एसीको सम्झना आयो । पजेरोको सम्झना आयो । मन्त्रालयको कोठाको सम्झना आयो । मन्त्रालयमा मेरो सहायक मन्त्रीले धमाधम आफ्ना मान्छे भर्ना गर्ला भन्ने चिन्ताले सताउन थाल्यो । कमिसनहरू एक्लै हसुर्ला भन्ने डर त्रासले आतङ्कित पार्न थाल्यो ।
मैले स्वकीय सचिवलाई सोधें- “देश ठूलो कि गाउँ ?”
“देश” उसले भावुक भएर जवाफ दियो ।
“त्यसो भए राजधानी फर्कौं, मैले निश्चय सुनाएँ । “हो हजुर, गाउँ खोजेर बित्थामा समय खेर फाल्नुभन्दा देशतिरै र्फकनु ठीक ।”
……
म फर्कें । बीचबाटोमा फेरि एक हूल केटाकेटी भेटिए । बाँकी चकलेट तिनीहरूलाई नै बाँडिदिएँ । चकलेटसँगै गाउँको बाटो पनि सिद्धियो ।
(स्रोत :- कथा संग्रह ‘चकलेट’ बाट )