वेवारिस अवस्थामा फेला परेको मृत युवकको लास अस्पतालमा पुयाइयो । केही दिनसम्म पनि लासको सनाखत गर्न कोही पनि आएनन् । त्यसपछि प्रहरीले युवकको लासको हुलियासहित प्रचारप्रसार भयो ।
समाचार पढ्ने र सुन्नेहरुको अस्पतालमा भीड लाग्न थाल्यो । त्यसमा पनि छोरा हराएकाहरु नै बढी थिए ।
युवकको लास भएको कोठामा पुगिनसकेका आमाबाबुहरु अत्यन्त बिलौना गरिरहेका थिए । हेर्न आउनेहरु रुँदै विलौना गर्दै थिए ।
“छोरा तिमीलाई के भएको थियो र घर छोडेर हिँड्यौ ?”
“हरे ! तिमीले भनेकैसँग विवाह गरिदिन्थ्यौं नि !”
“हे भगवान् ! तिमी त्यस्तो होलाऊ भन्ने सपनामा पनि सोचेका थिएनौं …।”
“कति ठूलो सपना बनाएका थियौं, सब चकनाचुर भयो बाबु ,सब चकनाचुर ।”
“ल ल अब तपाईहरु पालैपालो लासको अनुहार हेरेर आफ्नो छोरो भएनभएको पत्ता लगाउनुस् । अस्पतालका कर्मचारीको आवाजले उपस्थित सबै जना ससंकित भए ।
क्रमश आफ्नो छोरो हो कि भन्ने ठानेर आत्तिंदै आएका आमाबाबुहरु लासको अनुहार हेर्न गए । कोही र्फकंदा सन्तोषपूर्वक फर्किए । कोही शान्तपूर्वक फर्किए । कोही दंग पर्दै फर्किए । कोही मेरो त सात्तो नै गएको थियो भन्दै फर्किए । कोही खुशीका आँखा फरफराउँदै फर्किए ।
यस्ता कुरा सुनेपछि अनुहार हेर्न बाँकी रहेका आमाबाबुहरु भने अझ बढी आतंकित भए । यही क्रम अन्तिम आमाबाबुसम्म चल्दा पनि लास कसैको छोरा बन्न सकेन । र युवकको लास फेरि पनि बेवारिस नै बनिरह्रयो आफ्नै आमाबाबुको प्रतीक्षामा ।
(श्रोत :- अन्तर्जाल )