~सुस्मिता नेपाल~
म पनि स्कुल जान पाउने भएँ रे ! मेरो शरीरभन्दा मेरो भावना जुरूक्क उठ्यो र मलाई हेर्यो । मानौ भावना ऐना हो, म भावनाको ऐनामा आफ्नो अनुहार हेर्न लजाइरहेकी थिएँ त्यतिबेला ।
स्कुल जान मेरो लागि के सम्भवको कुरा थियो र ? अहँ थिएन, यो कुरा मेरो लागि सम्भव थिएन । कतै मैले सपनामा त पाइला टेक्न खोजेकी थिइनँ ? कसरी जन्म दिने आमाको विश्वास नगरूँ मैले ? उहाँको अनुहारमा कुदेका खुसीका रेखाहरूसँग म पनि त कुदिरहेकी थिएँ नि ।
चौध वर्षपछि आमाको अनुहारमा कुदेका खुसीका रेखाहरू देख्दा यो मनमा नयाँ नयाँ आशाका किरणहरू जुरमुराएका थिए ।
कसरी बिर्सन सक्थेँ र म त्यो दिनलाई ? मेरो संसार थियो एउटा सानो कोठा । खाटमा बस्यो, सुत्यो । त्यही खाट नै मेरो जीवन थियो ।
एउटा ह्विलचियर थियो । ह्विलचियरले मलाई करूणाले हेरिरहन्थ्यो । तर म आफै ह्विलचियरमा बस्न सक्दिनथेँ । ह्विलचियरले पनि मलाई उठाएर राख्न सक्दैनथ्यो । त्यसमा बस्न मलाई अर्को मानिसको सहयोग चाहिन्थ्यो । ह्विलचियरमा बस्न म सधैँ अरूको सहयोगको बाटो हेरेर बस्थेँ ।
व्यस्त समयले सबैलाई बेरेको हुन्थ्यो । त्यसबाट कोही पनि सजिलै मुक्त हुन सक्दैनथे ।
कस्तो विडम्बना ! मलाई समयले बेरेको थिएन । तर म आफै चाहिँ समयको हरेक पलसँग बेरिरहेकी हुन्थेँ । खाना खान, दिशा पिसाब गर्न मैले अरूको समयलाई कुरेर बस्नु पर्थ्यो ।
आमाको अनुहारमा मैले मेरो आफ्नो संसारलाई हेर्थेँ । उहाँका सारा इच्छाहरू मेरै अपाङ्ग अवस्थामा उभिरहेका हुन्थे । एकछिन पनि थकाइ मार्न पाउँदैनथे । मेरो जन्म भएदेखि उहाँले आफ्नो व्यक्तित्वको विकाश गर्नै पाउनुभएन ।
त्यो दिन म टोलाइरहेकी थिएँ । एकै ठाउँमा कुजिएर बस्नु सजिलो कुरा थिएन । मलाई रातिदिन हेर्नु पर्ने आमाका कारूणिक क्षणहरूमा च्यातिनसम्म च्यातिएकी थिएँ म ।
झ्याल खुलै थियो । झ्यालको एउटा कुनाबाट घामको मधुरो प्रकाशले चियाइरहेको थियो । हावाले पर्दा हल्लिरहेको थियो । घामको मधुरो प्रकाशलाई मनका हातहरूले उठाएँ । झ्यालबाट बाहिर हेरेँ । आँखाहरू झ्यालबाटै हाम फाले र सडकमा छरिएका आवाजहरूसँगै मिसिए ।
म पनि हिँड्न सक्ने भए ती आवाजहरूसँग कति कुद्थेँ होला । मन नरमाइलो बन्दै गइरहेको थियो । हाम फालेका आँखाहरूलाई तानेँ । फेरि आकाशमा लगेर छाडिदिएँ ।
आकाश कतै निलो सफा थियो त कतै काला बादलहरूले ढाकिएको थियो । आफू बसेको ठाउँबाट हेर्दा आकाश पल्लो घरको कौसीमा टेक्न लागेकोजस्तो देखिन्थ्यो ।
मसँग खेल्ने साथीहरू भनेकै मेरा आफ्नै कल्पनाहरू थिए । म आकाशलाई छुन चाहन्थेँ । आकाशमा छरिएका बादलहरूलाई एकै ठाउँमा बटुल्न चाहन्थेँ । साच्चै मैले ती बादलहरूलाई एकै ठाउँमा बटुल्न सकेकी भए ………. कस्तो पो हुने थियो होला ? तिनै बादलका थुप्राहरूमाथि उफ्रिन पाए….. त्यस्तै कल्पनाहरूमा उठ्न खोज्दा पुर्लुक्कै खाटबाट खस्थेँ । अत्तालिँदै आमाले मलाई उठाउहुन्थ्यो । कसरी खसेकी भनेर सोध्नुहुन्थ्यो । आफूले सकेजति भन्थेँ । मैले भनेका आधा कुरा आमाले बुझ्नुहुन्थो भने आधा कुरा बुझ्न चाहेर पनि बुझ्न सक्नुहुन्नथ्यो । म भने आमाले भन्नुभएका सबै कुराहरू बुझ्थेँ ।
उहाँले मलाई खाटमा राख्नुहुन्थ्यो र फेरि आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो ।
मलाई भाइ र बहिनीले थुप्रै खेलौनाहरू खेल्न छाडिदिन्थे । म ती खेलौनाहरूलाई टुलुटुलु हेरिरहन्थेँ । हातखुट्टा नचल्ने हुनाले म ती खेलौनाहरूलाई उठाउन त परै जाअोस् छुनसम्म पनि सक्दिनथेँ ।
उनीहरू स्कुलबाट फर्किएपछि मसँग खेल्न खूब मन पराउँथे । तर गृहकार्य थुप्रै हुने हुनाले उनीहरू पनि मबाट टाढै रहन बाध्य हुन्थेँ । कहिलेकाहीँ भने उनीहरू गृहकार्य मेरै अगाडि बसेर गर्थे । बिदाको समयमा मसँग केहीबेर रमाएर खेल्थे । त्यसैले म उनीहरूको बिदा कहिले हुन्छ भनेर सोचिरहन्थेँ ।
शून्य समयले अत्याएको बेलामा म आँसुका नदीहरूमा बग्थेँ । भाइ बहिनीले जस्तै म पनि खेल्न चाहन्थेँ । पढ्न चाहन्थेँ । कुद्न चाहन्थेँ । बाबाआमाको अगाडि बसेर सँगै खाना खान चाहन्थेँ ।
मैले खाने थाल बटुका, ग्लास छुट्टै थिए । म भाइबहिनीको जुठो मजाले खान्थेँ । तर मेरो जुठो उनीहरूले झुक्किएर खालान् कि भनेर बाबाआमा तर्सिनुहुन्थ्यो । त्यतिबेला भने म उनीहरूको संसारबाट टाढा भएको महसुस गर्थेँ । किन मलाई छुट्टै व्यवहार गरिएको होला भनेर सोचिरहन्थेँ ।
के मेरो यो अवस्था हुनुमा मेरो दोष थियो त ? मेरी आमाको दोष थियो त ? समयले मलाई यो मोडमा ल्याएर छाडिदियो । समयलाई हामीले केही गर्न सक्दैनथ्यौँ ।
भाइबहिनीलाई गर्ने व्यवहार र मलाई गर्ने व्यवहारमा भिन्नता देखेर मेरो मन कोपरिएर आउँथ्यो । कोपरिएको मनलाई बुझाउन खोज्दा मन मदेखि पर बसेर रून्थ्यो ।
घरमा आउने कुनैकुनै पाहुनाहरूले मलाई राम्रो व्यवहार गर्दैनथे । मैले केही पनि बुझ्दिन भनेर मेरै अगाडि यसो भन्थे- “पहिलो जुनीमा कति पाप गरिछे । त्यही पाप अहिले भोग्दै छे । आफूले त दु:ख पाई पाई हेर बाबुआमालाई पनि कति दु:ख दिएकी ! यस्ता सन्तान जन्मिनुभन्दा नजन्मिएकै बेश !”
उनीहरूले भनेको कुरा सबै त म बुझ्दिनथेँ । तर उनीहरूले घृणाले मलाई हेरेको बेलामा म निकै डराउँथेँ ।
नबुझे पनि “पहिलो जुनी” भन्ने शब्द मेरो अगाडि डरलाग्दो आकृति भएर उभिन्थ्यो । त्यसले मलाई चारैतिरबाट च्यातच्युत पारेर फालेको जस्तो लाग्थ्यो ।
आमाबुबाको माझमा थिएँ म । मामाघरका हजुरबा, हजुरआमा, मामा माइजू , सानीमा, मामाका छोराछोरीहरू सबैको माझमा थिएँ । आफन्तहरूका माझमा थिएँ। कस्तो विडम्बना ! सबैको माझमा भएर पनि म एक्लै थिएँ – नितान्त एक्लै ।
एकान्तको आँखामा उभिँदा उभिँदा म आफै एकान्त बन्दै बन्दै गइरहेकी थिएँ ।
कोठाको पश्चिमतिर झ्याल र दक्षिणतिर ढोका थियो । पूर्वतिर सिरानी फर्काएर एउटा सानो खाट राखिएको थियो । ढोकाकै छेउमा ह्वीलचियर राखिएको थियो । भाइबहिनीको कोठा भने माथि थियो – माथिल्लो तलामा । आमाबाबा कहिले माथि सुत्नुहुन्थ्यो त कहिले तलै । मलाई हेर्नका लागि एकजना दिदी राखिएको थियो । दिदी राति मेरै छेउको पल्लो कोठामा सुत्नुहुन्थ्यो । राति मलाई बेलाबेलामा हेर्न पनि आउनुहुन्थ्यो ।
बिहान सधैँ मेरोलागि आमाले दूध लिएर आउनुहुन्थ्यो । दूध पिउन मलाई निकै समय लाग्थ्यो । जति समय लागे पनि उहाँले कहिले पनि हतारो देखाउनुहुन्नथ्यो । म त गिलास उठाएर पिउन सक्दिनथेँ । मेरा अशक्त हातहरूको सहारा आमानै त बन्नुभएको थियो ।
भाइबहिनीहरू बिहानको समयमा झनै व्यस्त हुन्थे । मेरो मन पनि उनीहरूकै व्यस्ततामा हराउँथ्यो । कहिले कहिले उनीहरू सानातिना कुराहरूमा झगडा गर्थे । उनीहरूको झगडाले आमा दिक्क मान्नुहुन्थ्यो । बाबाले त बेसरी गाली पनि गर्नुहुन्थ्यो उनीहरूलाई । मलाई पनि झगडा गर्न मन लाग्थ्यो । आमाले मान्ने दिक्क अवस्थाले मलाई पनि घेरे हुन्थ्यो, बाबाको गाली ममाथि पनि वर्षिए हुन्थ्यो जस्तो लाग्थ्यो तर यी कुराहरू मबाट टाढा थिए, एकदमै टाढा । म यिनै कुरा हेरेर आफ्नो समय बिताउँथेँ ।
मलाई हेर्ने दिदीको नाम थियो – मीना। उहाँले आमालाई पनि धेरै काम सघाउनुहुन्थ्यो । सबैले उहाँलाई मीनू भन्थे । मलाई पनि मीनू दिदी भनेर बोलाउन मन लाग्थ्यो । बोलाउने कोशिस पनि गर्थेँ । मेरो आवाज पर परसम्म गुञ्जिन्थ्यो तर आवाजको अर्थ कसैले पनि बुझ्न सक्दैनथे ।
आमा व्यस्त हुनुभएको बेलामा मीनू दिदी भान्सामा काम गरिरहनुहुन्थ्यो । बिहानको समयमा उहाँलाई सास फेर्नै फुर्सद हुँदैनथ्यो । उहाँको व्यस्ततामा मलाई पनि भिज्न मन लाग्थ्यो । आमाको व्यस्ततामा, मीनू दिदीको व्यस्ततामा भिज्न खोज्ने मेरो मन मैसँग टाँसिन्थ्यो । मुटु गाँठैगाँठाले बेरिन थाल्थ्यो । आँखामा अनयासै आँसु भरिन थाल्थे ।
आमाबाबाले मेरो नाम स्मृति राख्नुभएको थियो । भाइको नाम संयोग र बहिनीको नाम सङ्गीता राख्नुभएको थियो । हामी तीनजना थियौँ । म ठूली छोरी थिएँ घरकी ।
भाइबहिनीहरू स्कुल जान ठीक परेको समयले मलाई सँधै सपनाको संसारमा पुर्याउँथ्यो । म पनि उनीहरूसँगै स्कुल जान ठिक्क परेकी हुन्थेँ । “बाई स्मृति दिदी” भन्ने उहनीहरूका शब्दहरूले यथार्थको जमिमा पछारिन पुग्थेँ । आफूलाई सकिनसकी उठाउँथेँ र “बाई” भन्थेँ । मैले बोलेको शब्द स्पष्ट त हुँदैनथ्यो । तर उनीहरूलाई मैले बोल्ने शब्दहरू सुन्ने बानी परिसकेको थियो ।
दिनभरि एक्लै हुन्थेँ । मीनू दिदी मेरो कोठामा पस्नुहुन्थ्यो । मेरो आवश्यकता अनुसार काम गर्नुहुन्थ्यो । मेरा हरेक कुराहरू उहाँले नै हेर्नुहुन्थ्यो । खाना खुवाउन भने खै किन हो आमा नै आउनुहुन्थ्यो । खाना खुवाउँदा मैले खान नसकेको देखेर आमा रूनुहुन्थ्यो । उहाँ रुँदा म उहाँको पीडालाई बुझ्थेँ । तर के गर्ने ? उहाँलाई सम्झाउन सक्ने क्षमता ममा थिएन । आँसुको जवाफ म पनि आँसुले नै दिन्थेँ ।
बाबा अफिसबाट फर्किएपछि पहिला मेरै कोठामा पस्नुहुन्थ्यो । मेरो टाउकोमा हात राखेर सोध्नुहुन्थ्यो, ‘छोरी तँलाई अहिले कस्तो छ ?’
म हाँस्थेँ । हाँस्दा मुखबाट र्याल तरर्र झर्थ्यो । म नजिकै राखिएको रूमालले बाबा मेरो र्याल पुछिदिनुहुन्थ्यो । टोलाउनुहुन्थ्यो । मलाई भन्नुहुन्थ्यो, ‘हेर, आज मैले एउटा राम्रो डक्टरसँग कुरा गरेको छु तेरो बारेमा । अब सबै कुरा राम्रो हुन्छ ।”
यी कुराहरू भन्दा शब्दहरू बाबाकै मनमा कताकता अल्झिएका हुन्थे । उहाँहरूले मेरो लागि हुन सक्ने सबै कुराहरू गरिसक्नुभएको थियो । तैपनि मलाई अझै राम्रो हुन्छ कि भनेर मनमा उब्जेका आशाहरूलाई सेलाउन दिनुभएको थिएन ।
घरमा मैले माया पाएकी थिएँ । रातोदिन सबैले मेरोलागि व्यस्त हुनु परेको थियो । म जन्मेदेखि आमाले आफ्ना सारा सपनाहरू मेरैलागि छाडिदिनुभएको थियो । यी कुराहरू कसैले नभने पनि म राम्रैसँग बुझ्थेँ ।
बाबा बेला-बेलामा विदेश जानुहुन्थ्यो । उहाँसँग विदेश जाने मौका आमाले पनि पाउनुहुन्थ्यो तर मेरोलागि ती मौकाहरू चुपचाप आमाकै मनभित्र टाँसिएर बस्थे । मेरो कारणले आमालाई कतै फर्किनै मिल्दैनथ्यो ।
दिउँसो आमालाई केही समय फुर्सद हुन्थ्यो । उहाँ मेरै छेउमा आएर बस्नुहुन्थ्यो । कहिले बुन्ने काम गर्नुहुन्थ्यो त कहिले राम्रा राम्रा किताबहरू पढ्ने गर्नुहुन्थ्यो । उहाँमा काम गर्ने उत्साह थियो । तर उहाँकै छोरी म चाहिँ केही गर्न सक्दिनथेँ । समयले मलाई केही गर्न नसक्ने बनाएको थियो ।
मेरो मन, मेरो माया उहाँ सँगै हुन्थे । म मेरो मनलाई र मायालाई आमाको अगाडि देखाउनै सक्दिनथेँ । उहाँले राम्रा-राम्रा स्वीटरहरू बुन्दा मलाई पनि बुन्न मन लाग्थ्यो । त्यसमा आफ्नै मनमा उब्जेका विभिन्न बुटाहरू थपिदिन मन लाग्थ्यो । आमाको हात मेरो मन भएर एकनास चलिरहेको हुन्थ्यो । आकार नभएका मेरा मनका थुप्रै बुटाहरू आमाले बुनिरहनुभएको स्वीटरमा बुनिन्थे ।
आमाले कथाहरू पढ्दा म पनि त्यस्तै आवाजमा कथाहरू पढ्न चाहन्थेँ । कोसिस गर्थेँ । तर सक्दिनथेँ । आफ्नो आवाज आफैभित्र हराउँदा निकै गाह्रो हुन्थ्यो मलाई । यो कुरा मैले आफ्नै आमालाई समेत व्यक्त गर्न सक्दिनथेँ । आमाले पढेका कथाका आवाजहरूमा म पनि अव्यक्त आवाजहरूसँगै यात्रा गरिरहेकी हुन्थेँ । ती कथाका आवाजहरूमा कतै समेटिन्थेँ त कतै नमजाले छुट्थेँ पनि ।
आमाले मलाई कथा सुनाउनु हुँदा कुनै कुनै शब्दको अर्थ बुझ्न सक्दिनथेँ म । ती शब्दका अर्थहरू सोध्न मन लाग्थ्यो तर सक्दिनथेँ । मेरो अनुहार मलिनो भएको बेलामा आमाले आफ्नै मनले सोचेर शब्दको अर्थ पनि बताइदिनुहुन्थ्यो । कुनै शब्द मैले बुझेका पर्थे भने कुनै शब्दहरू मैले नबुझेका पनि पर्थे । शब्दको अर्थ बुझ्नलाई पनि मलाई संयोग नै जुर्नु पर्थ्यो ।
समयले दिएको यस किसिमको अवस्थासँग सम्झौता गर्ने बानी परिसकेको थियो मलाई ।
जाडोको मौसम थियो । दिउँसो घरभित्रभन्दा घाममा बस्न रमाइलो हुन्थ्यो । न्यानो हुन्थ्यो त्यहाँ । मीनू दिदीले मलाई पनि ह्विलचियरमा राखेर बगैँचामा पुर्याइदिनुहुन्थ्यो ।
न्यानो घामको किरणले मेरा नचल्न हातगोडा तताउँथे । घामको न्यानो स्पर्शको अनुभवले बेरिनथेँ म ।
एकदिन मीनू दिदी सामान किन्नको लागि बजार जान ठिक पर्नुभयो । मलाई हातको इशाराले के ल्याइदिऊँ भनेर सोध्नुभयो । त्यसको जवाफमा मेरो टाउको मात्र हल्लियो । आमा खै के कामले होला भित्र पस्नुभयो । म एक्लै बाहिर बसिरहेकी थिएँ ।
जाडोले होला फूलहरूका अनुहारहरू पनि चाउरी परेका थिए । बिरुवाहरू पनि सुकेका थिए । अलि पर भने सागहरूको हरियोपन सप्रिएको थियो । आकाश भने नीलो अनुहार देखाएर मलाई नै हेरिरहेको थियो । म प्रकृतिको काखमा रमाइरहेकी थिएँ । त्योबेला मैले आफूलाई असक्त हुँ भनेर सोच्नै सकेकी थिइनँ ।
सानो सेतो कुकुर मजाले खेलिरहेको थियो । कुकुर खेलेको देखेर मेरो मन पनि रमाइरहेको थियो । कुकुरले एउटा कपडाको टुक्रालाई दुइवटा खुट्टाले च्यापेर दाँतले तानी तानी च्यातिरहेको थियो । त्यो कपडा नयाँ थियो । के थियो त्यो त मैले थाहा पाइनँ । तर कुकुरले त्यसरी कपडा च्यातेर खेलेको मैले कहिले पनि देखेकी थिइनँ । मलाई खूब रमाइलो लागिरहेको थियो ।
म पनि त्यही कुकुरको खेलाइसँग खेलिरहेकी रहिछु । मभित्र गुम्सिएका आवाजहरू नबुझिने भाषामा चारैतिर फैलिएछन् । आमा कुद्दै बाहिर आउनुभयो । मेरो आवाज पनि कुकुरको खेलाइसँगै खेलेको देखेर खुसी हुनुभयो । तर कुकुरले उहाँको नयाँ रूमाल च्यातेको देखेर कुकुरसित रिसाउनुभयो । मतिर फर्किएर भन्नुभयो, “स्मृति तैंले कुकुरले रूमाल च्यात्यो भन्नु पर्देन मलाई । के हेरेर बसिरहेकी तँ ।”
म तरङ तर्सिएँ, आमालाई त्यो क्षण के भएको होला भनेर । उहाँलाई थाहा थियो म राम्ररी बोल्न सक्दिनँ । मेरो आवाज त उहाँहरूले कहिले बुझ्नुहुन्थ्यो त कहिले बुझ्न सक्नुहुन्नथ्यो ।
एक्कासि मेरा आँखाहरू भरिए । आमा मेरो नजिकै आउनुभयो । मेरो टाउकोमा हात राख्नुभयो र भन्नुभयो, “म पनि कस्ती होला ! तैंले बोल्न नसक्ने कुरा थाहा हुँदाहुँदै पनि तँलाई नै गाली गरेछु छोरी । मन नदुखा है । तँलाई मैले मेरै हृदयभरि सङ्गालेर राखेकी छु । कुकुरले मेरो नयाँ रूमाल च्यातेको रिस मैले तँमाथि पो खन्याइछु । त्यो क्षण मैले तेरो बारेमा केही पनि सोच्न सकिनछु । धेरै दिनपछि तेरो अनुहारमा खुसी देखेँ । त्यही कारणले गर्दा मेरो मुखबाट त्यस किसिमका वाक्यहरू आफै फुटेछन् ।”
आमाको अनुहार हेरेँ । आँखाभरि आँसुको समुद्र देखेँ । उहाँले भन्नुभएका कुराहरूको जवाफ दिन त मन लागेको थियो तर कसरी ? मैले टाउको मात्र हल्लाएँ पीर नगर्नुस् भनेर । मेरा आँखाहरूबाट पनि आँसुका धारा बगे । उहाँले मलाई मायाले नरम रूमालले मेरो आँसु पुछिदिनुभयो । तर मैले उहाँको आँसु पुछ्न भने सकिनँ ।
आमाको यस किसिमको मायाले हरेक दिन नयाँ नयाँ कुराहरूको आँचलभित्र लुक्दै म समय भएर बगिरहेकी थिएँ ।
मध्य रातमा पानीको तिर्खा लाग्यो । सबै मस्तसँग सुतेका थिए । मन छटपटियो । कम्मरदेखि माथिको भाग अलिअलि चलमलायो । अोठमुख सुक्न थाले । आफूले सकेजति आवाजले सबैलाई उठाउन चाहेँ तर सफल भइनँ । तिर्खा लाग्दा लाग्दा रातले कहाँदेखि कहाँसम्म यात्रा गर्यो केही चालै पाउन सकिनँ । म त बेहोस भइछु ।
बिहानको उज्यालो छिर्नुभन्दा अगाडि नै मेरो कारणले घरमा अन्धकार छाएछ । मलाई बाबाले र आमाले अस्पताल लानुभएछ । अस्पतालमा के भएको हो भनेर डाक्टरले सोध्दा उहाँहरूले केही भन्नै सक्नुभएनछ । अस्पतालमा डाक्टरले औषधी गरेको धेरैबेरपछि मात्र मेरो होस आएछ । म त्यतिबेला धेरै कमजोर भइसकेकी रहिछु । केही दिन मैले अस्पतालमै बस्नु पर्ने भएछ ।
मलाई के भएको हो भन्ने कुरा थाहा थियो । राति पानी खान नपाएर यस्तो भएको हो भन्ने कुरा मलाई थाहा थियो । मलाई थाहा भएको कुरा पनि मैले त्यो समयमा भन्न सक्दै सकिनँ । म कति विवश थिएँ । सम्झदा पनि सारा शरिर निचोरिएर आउँथ्यो ।
घरको कोठाबाट एकैचोटि अस्पतालको बेडमा पुग्दा मनभित्र एक प्रकारको दु:खले चसचसी घोचिरहेको थियो ।
बिहानको दश बजेसकेको रहेछ । आमा घर जानुभएको थियो । बाबा मेरै छेउमा बस्नुभएको थियो । बाबाले मलाई एकोहोरो हेरिरहनुभएको थियो । उहाँको आँखामा आँसु टलपलटएको थियो । मैले उहाँको अनुहार हेर्नै सकिनँ । झ्यालबाट बाहिर हेरेँ ।
बाबाले मेरो निधारमा हात राख्नुभयो । मलिनो आवाजमा भन्नुभयो, “छोरी, हामी आमाबाबु भएर पनि तँलाई केही गर्न सकेनौँ । तँलाई के भएको हो भन्ने कुरा समेत थाहा पाएका छैनौं । गल्ती हाम्रै हो । तँलाई त्यसरी एक्लै कोठामा सुताउनुहुन्नथ्यो । त्यो कुरा थहा पाउँदा पाउँदै पनि हामीले तँलाई एक्लै सुतायौँ । मैले त मीनूले हेर्ली भनेर त्यति वास्ता गरिनँ । मीनूको पनि के दोष ! ऊ पनि दिनभरि काम गरेर थाक्छे । निदाइहोली । यतिका वर्ष तँलाई हेरेको, यति सानो कुरा समेत कसरी सोचेनछौँ । तेरी आमाले असाध्यै पीर गरेकी छे । अबदेखि तँलाई यसरी हामीले छाड्दैनौ है ! राति कति पीडा भयो होला हगि तँलाई ?”
रातको पीडा बाबाको मायाले भरिएका वाक्यहरूसँगै पखालियो । उहाँ त्यो दिन अफिस पनि जानुभएन । दिनभरि मैसित बस्नुभयो ।
आमाले बाबा र मेरोलागि खाना लिएर आउनुभयो । आमासँगै मीनू दिदी पनि आउनुभएको रहेछ । उहाँ मलाई देख्ने बित्तिकै रूनुभयो । उहाँलाई उहाँको कारणले म बिरामी भएको भन्ने लागेछ ।
मीनू दिदीले भन्नुभयो, “स्मृति अबदेखि म तिम्रै कोठामा सुत्छु । कठै ! कति दु:ख भयो होला तिमीलाई । अहिले कस्तो छ बा तिमीलाई ?”
आमा त्योबेला केही बोल्नुभएन । उहाँले मलाई एकोहोरो हेरिरहनुभएको थियो ।
चार दिनपछि डाक्टरले मलाई घर जाने अनुमति दिए । म धेरै कमजोर भइछु । डाक्टरको सल्लाह अनुसार मैले धेरै झोल कुराहरू पिउनु पर्ने भएछ । बिस्तारै-बिस्तारै मेरा हातगोडा पनि चलाउने तरिकाहरू डाक्टरले सिकाइदिए ।
मेरो शारीरिक अवस्थामा केही सुधार त आएन तर सबैको मायाले मेरो मन खुसीको समुद्रमा पौडी खेलिरहेको थियो ।
साँझको समयमा म आफ्नै घरभित्र पसेँ । भाइबहिनीहरू मेरो वरिपरि आएर बसे । दुवै मलाई हेर्दै रून थाले । म पनि उनीहरूसँगै रून थालेँ ।
मेरो कारणले सबैलाई दु:ख भएको थियो भन्ने कुरा मैले राम्ररी बुझेकी थिएँ । के गर्दा सबैलाई सुख हुन्छ होला भनेर धेरै बाटाहरूको कल्पना गरेँ । ती बाटाहरू त कल्पनामा रहे जहाँ कोही पनि हिँड्न सक्दैनथेँ मेरो त के कुरा !
रातमा धेरैबेरसम्म भाइबहिनीहरूले मलाई छाडेर कतै पनि गएनन् । त्यस दिनदेखि मीनू दिदी पनि मेरै कोठामा सुत्न थाल्नुभयो ।
सबैको मायाले मलाई चपक्क समातेको भए पनि मेरो आफ्नै पीडा भने मैसँग थियो । अचानक म जस्ताका लागि पनि पढ्ने स्कुल खुलेको छ रे भनेको सुन्दा मेरो मन खुसीले माथि माथि आकाशमा उड्न थाल्यो । म पनि स्कुल जान पाउने भएँ !
(श्रोत :- Onlinekhabar )