~गंगा सुवेदी~
घुमन्ते चियापसले बाट चिया लिएर पुण्यबहादुरले स्वास्नी ललितालाई पिउन दिएको केहीबेरमा नै ललिता लठ्ठ परेर बेहोस भई । उसले ढुक्क भएर यताउती हेर्यो । कसैको ध्यान पनि आफूतिर छ्रैन भन्ने भएपछि भरखर पाँचबर्ष मात्र टेकेको फुच्चे सानुको काँधहल्लाउँदै फुस्फुसाएर बोलायो ।
“सानु…ए सानु…उठ् ।” बाटोभरी छाद्दाछाद्दा लखतरान परेको सानु झस्किएर उठ्यो । एकपल्ट बाबा पुण्यबहादुरलाई हेर्यो । पुण्यबहादुर सानुलाई आफ्नो पछिपछि आउने इशारा गर्दै अघि लाग्यो । पूर्ण विश्वासका साथ बाबाको पछि लागेको सानुलाई बसको ढोकाबाट बोकेर तल ओराल्यो ।सानुको हात पक्डिएर भींड चिर्दै नजिकैको सानो फूटपाथे पसलमा पुगेर अडियो । यतिबेरसम्म संरक्षक जसरी समातेको सानुको हात छाडेर सोध्यो ,
“के खान्छस् सानु ?” सानु ट्वाल्ल पर्यो ।उसले भींडभित्र कुनै भेउ पाइराखेको थिएन । त्यहाँ यसो अलमलिए जस्तो गरेको केहि बेरमा नै गन्तव्यका लागि बसको हर्न बजेको थियो । हत्तनपत्त खल्तीबाट दशको नोट निकालेर सानुलाई दिदै भन्यो,
“ऊ त्यो पसलबाट चक्लेट किन्दै गर्, म बीडी किनेर आइहालें,जा ।” चक्लेटको नाम सुनेर मख्ख पर्यो सानु , तर तुरुन्तै भन्यो,
“बाबा पनि जाने नि ।” आफ्नो बाबाको भर चाह्यो सानुले । उसले जान्दाखेरी पुण्यबहादुरलाईर् नै बाबाको रुपमा देखेको थियो ।
“नडरा,म आइहाल्छु, जा जा ।” पुण्यबहादुरले अह्राएपछि टार्न सकेन सानुले । मनभरी डर भरिएको भएपनि”हुन्छ” भने पसलतिर अग्रसर भयो । उसलाई यसरी छकाएर अरुका आँखा छल्दै हिंड्न आँटेको बसभित्र पसेर आफ्नो सीटमा केही नभए जसरी बस्यो पुण्यबहादुर । उसको उद्देश्य सार्थक भएको थियो । सानुले थाहा पाउँदानपाउँदा बस हिंडिसकेको थियो ।
“फाइभ स्टार चक्लेट दिनु ।” पुण्यबहादुरले दिएको दशको नोट दिदैसानुले अबोध स्वरमा पसलेसँग मन परेको चक्लेट मागेपछि पसलेको ध्यान सानुतिर गएको थियो । एउटा फुच्चे केटोले त्यसरी चक्लेट मागेको देखेर पसलेले आँखाले फुच्चेको वरिपरि उसको साथी खोजेको थियो । कोहि पाएन र चक्लेट दिंदै सोध्यो,
“सानो मान्छे , तिमी कोसँग आएको ?” सानु बालकै भएकाले उत्तर दिन सकेन । प्रायःजसो आइरहने एउटा ग्राहकले मन्द मुस्कानका साथ भन्यो ,
“अहो, ठूल्दाई, आज त निकै मिठो बोल्नुभो नि ।” फेरि सानुलाई हेरेर भन्यो ,
“कस्को बच्चा हो ?”
“के थाहा पाउनु ? चक्लेट किन्न आको रैछ , साथी देखिदैन ।” सानुले पुलुक्क हेर्यो पसलेलाई ।
“यत्रो भींडभाड छ । छुट्न पनि सक्छ ।” भन्दै हिंडेको ग्राहकलाई पनि सानुले डिठ्याएर हेर्यो । अबोध हेराइभित्र आफ्नो बाबाप्रति पुरै बिश्वास भरिएको छ ।
“तिमी कोसित आ’को बाबु ?” पसले ठूल्दाईको प्रश्नको उत्तरमा फाइभ स्टार चक्लेटको खोल उधारेर फ्याक्दै निर्धक्क उत्तर दियो उसले ।
“बाबासँग”
“ला..यो केटो त छुटेछ कि क्या हो ?” छैंटौ इन्दि्रयले लख् काटेको बिषयलाई साम्य पार्ने उद्देश्यले पसलेले पुनः सोध्यो ।
“खोइ त तिम्रो बाबा ?” सानुले
“ऊ त्यहाँ…।” भनेर पछाडि फर्किएर हेर्दा अलि छाँटिएको भींडमा कहिंकतै बाबालाई देखेन । बसतिर हेर्यो, देखेन । थर्रर कामेर हातको चक्लेट भूईंमा हुत्याउँदै ‘हृवाँ’ गरेर भक्कानियो सानु । वरिपरीका थाहापाउनेहरू सबै झस्किए । एकछिन गाईंगुईं चल्यो । त्यसपछि गहिरिदै गएको साँझ सँगसँगै बिस्तारै बिस्तारै स्थिति सामान्य हुँदै गइरहेको छ । दिनहुँ अखबार,रेडियोबाट सुनिन्छन्यस्ता र यो भन्दा पनि बिभत्स घटनाहरू। सुन्दासुन्दा वाक्क भइसकेका छन् मान्छेहरू ।जसले सबैलाई आफ्नैमात्रवास्ता गर्न सिकाएको छ । आफ्नै आँखा अगाडि घटेको घटनालाई पनि सामान्य मानिदैछ । केहिबेर हल्ला र खोजी भएपनि क्रमशः उडन्ते खबरमा परिणत हुँदैछ सानुको घटना पनि ।
बाबालाई र बसलाई नभेटेर साह्रै रोयो सानु । कुनै आधार नभेटेपछि गलेर त्यहींको पेटीमा थ्याच्च बस्यो ।हिक्का छाड्दै पर्खालमा अडेसा लाग्यो । सर्वस्व हारेको जुवारी जस्तै हरेस खाइसकेको छ सानुले । पसलेको ध्यान सानुबाट हट्न सकेन । कसैले दाउ कस्ने हो कि Û भन्ने शङ्का छ ठूल्दाईको मनभित्र । बाबासम्म पुर्याइदिने चारो दिएर स्वार्थ सिद्ध गर्ने कुसोचहरुले बहकाउने प्रयत्न पनि गरेका हुन्, तर सानु त्यहाँबाट टसदेखिमस भएन । आफूलाई खोज्दै बाबा त्यहीं आउनुहुनेछ भन्ने बिश्वास छ उसलाई ।
साँझ छिप्पिने क्रममा छ । पसले ठूल्दाईको ध्यान छाँटिदै गइरहेको भींडतिर छ । जाने अन्तिम बस पनि गइसकेको छ । आउने पनि आइसकेका छन् । धेरैजसो पसलहरू धमाधम आजलाई बन्द हुँदै छन् ।सधैंझैं अलिबेरमा बन्द हुने यी पसलेले पनि सटर तल झारेर ताल्चा मारिसकेका छन् । नाडीमा घडि हेर्दा आठ बजेर पैंतिस मिनेट भइसकेको छ । यताउति हेरे ।अघिका कोही थिएनन् । अहिलेका पनि फाट्टफुट्ट संख्यामा मात्र छन् । जो आफैमा मग्न छन् । मन अलि ढुक्क भयो ।जाडो निकै बढेको छ । फर्किएर सानु भएको ठाउँ पुग्यो । घच्घच्यायो । सानु अघिको पेटिबाट सर्दैसर्दै यात्रु प्रतिक्षालयको ढुङ्गे ब्रेन्चीमा खुम्चिएर लत्रक्क परेको थियो । झसङ्ग भयो सानु । आँखा मिच्दै पसले ठूल्दाईलाई हेर्यो । उसलाई बाबाले लिन आएको हो कि भन्ने लाग्यो । तर यथास्थिति बुझेपछि आत्मैदेखि रोयो सानु ।
“नरोऊ बाबा Û आज मसँग जाने…भोलि बाबा खोज्ने है ! उठ जाउँ !” नजानलाई अररियो सानु ।
“बाटामा हराइयो भने त्यहीं पर्खेर बस्नु….कतै नजानु…कसैले खानेकुरा दियो भने नखानु…फकाउँदा पनि नमान्नु है ।” मामुले हिंड्ने बेलामा सम्झाएको उसले बिर्सेको छैन ।
“राती भइसक्यो…उठ जाउँ…नत्रभने स्यालले खान्छ ।”ठूल्दाईले हौवा देखाएपछि सानुलाई साँच्चै डर लाग्यो । बार बिनाको घरले उसलाई मोहमा पार्न सकेन । जाडो, रात, भोक, निन्द्रा र एक्लोपनले घ्वाप्प छोपेको बेला बबुरो सानुको बाल मष्तिष्कले अह्राएकाले ठूल्दाईको हात च्याप्प समात्यो । यसको मतलब ऊ सँगै जान तयार छ ।
बसभित्र ललिता अझै बेहोस छे । कोशी तरेपछि मात्र होसमा आओस् भन्ने ध्यावन्तमा छ पुण्यबहादुर । अघिसम्म चोरदृष्टीले चारैतिर नजर घुमाउदै थियो । कसैले थाहा पायो कि ? कुरो उठाउने पो हो कि ?लभन्ने डर थियो । कोशी पुल वारी भन्टाबारी भन्ने ठाउँमा अलि घुइँचो थियो । आफू चढेको बस अडिएको थियो । एउटा पुलिस डन्डा ठाक्ठुक गर्दै बसभित्र पसेको बेलामा त उसको सात्तो नै गयो । ऊ बसेकै सीटमा एकछिन अडेसिएर पुनः ओर्लिएपछि उसको सासमा सास आयो । लामो सास फेरेको कसैलाई जानकारी दिएन ।
“बज्याले मेरो सात्तै लियो । उफ : पापगर्नपनि सजिलो चैं हुँदैनरहेछ ।” मनमनै भन्यो । बस फेरि आफ्नै गतिमा लम्किदैछ । घरिघरी यात्रु ओराल्न र चढाउन स्टपैपिच्छे बस रोकिदा भने दिक्क लाग्न थालेको छ ।
“खचाखच बस भरिइसक्दा पनि तालमा परिवर्तन आउँदैन ।” उसले मनमनै ड्राइभर र खलासीलाई गाली गर्यो । ललिता होसमा फिरिसकेकी छे । पूण्यबहादुरलाई छट्पटाइले न्याक्दै गएको छ । उसलाई दिनुपर्ने अनगिन्ति उत्तरहरू प्रश्नभन्दा पहिले नै ऊभित्र झुत्ति खेल्दैछन् । हुनत ः सानुलाई छोडेर बस चढे देखिन नै बिथोलिएको मन अझैसम्म शान्त हुन सकेको छैन । त्यसमाथि ललिता होसमा आएपछिको प्रतिक्रिया कस्तो हुने हो ? भन्ने डरले छोप्दै गएको छ । बेलाबेलामा ‘बित्थामा पापको जोहो गरें, कत्तिको खाइहाल्थ्यो र ? कत्ति चैं पोस्नु पथ्र्यो र ?’ मनमनै कल्पिदैछ ऊ ।
‘सानो भाँडो भएको म गरीब…मेरा छोराछोरीमाथि पनि त मेरो दायित्व छ…ब्याजमा आइलागेको नासोलाई पन्छाएर ठिकै गरें ।’ भनेर आफूलाई सम्झाउँछ पनि । मन भने शान्त हुन मानिरहेको छैन ।
“अँहँहँहँ…कस्तो टाउको दुःखेको ? कत्ति बज्यो ?” ललिताले सोधी ।
“पौने आठ” पुण्यप्रसादले भन्योे ।
“एऽऽ म त निकैबेर पो सुतिछु…कत्ति थाकिछु…सपना पनि देखिन…।” भन्दै बस बाहिर अँध्यारोमा हेर्ने कोशिष गरी ।
“राती भइसक्यो…बाहिर केही देखिदैन…सुत् सुत्..।” भनेर आफूभित्रको त्रासलाई बीट् मार्ने प्रयत्न गर्यो पुण्यबहादुरले ।
“सानु छ ?” तैपनि ललिताले सोधिहाली ।
“अँ” उसले छोटो तर धुर्त उत्तर दियो । लोग्नेको बिश्वासमा टाउको दुःखेको हुनाले पुनः आँखा चिम्लिई ललिताले । पुण्यबहादुरले आफूले आफ्नो दाहिनेतिर राखेको झोलालाई आफूसमेत छोपेर स्वास्नीलाई झुक्याउन भरपूर खोज्यो ।
…………………….
सधैंझैं घर पुगेर ठूल्दाइले ढोका ढक्ढक्याए पछि उनकी श्रीमती निर्मलाले ढोका खोलीन् । लोग्नेका साथमा आएको फुच्चेलाई देखेर सोधीन् ,
“को हो ?”ठूल्दाईले झट्ट घरभित्र भित्रिदै दैलो बन्द गर्न अह्राए । स्नेहवश सानुलाई सुम्सुम्याउँदै सोधे
‘भोक लाग्यो ?’ भोकाएको सानुले हेर्यो मात्र । उत्तर दिएन । परिस्थितिलाई जान्नै सकिरहेको छैन । अन्यौलमा छ सानु ।
“निर्मला,बाबुलाई भोक लागेको छ…भात पाक्यो भने खान देऊ ।”श्रीमतीलाई अह्राएपछि सानुले “मामु जाने ।” भन्यो । ठूल्दाईका आँखामा आँशु नसल्बलाईकन रहन सकेन ।
“हैन…कसको बच्चा ल्याउनुभो ? नचाइने काम त गर्नुभएन ?” निर्मलाले लोग्नेका छेउमा आएर फुस्फुसाउँदै सोधी । ठूल्दाईले सानुका छेउबाट उठेर निर्मला सामु पुगेर सारा वृत्तान्त भनेपछि निर्मलाको निर्मलाको गहभरी आँशु भरिएको थियो । निःसन्तान हुनुको पीडामा सल्किनु उसको नियती जत्तिकै बनेको थियो । यसैबेला भेटिएको सानु र उसको अवस्था जानेपछि ममताको बाँध फुट्यो । सानुलाई सुम्सुम्याउन पुगीन् निर्मला ।
“हेरन कसैका भने सन्तानै नहुनु,कसैका भने यस्तो छ…”ठूल्दाईले आफ्नी श्रीमतीसँग भावुक भएर भन्दा समर्थनमा शीर हल्लाएर निर्मलाले सोधीन् ,
“यसलाई यहाँ ल्याएको कसैले देखेन त होला नि !”
“देखेजस्तो लाग्दैन…तैपनि भोलि थाहा हुन्छ ।”
“बबाल पो हुने हो कि !” निर्मलाले गरेको आशङ्का जायज थियो ।
“भगवानकै ईच्छा हो भने त केही नहोला ।” ठूल्दाईले आफ्नो मनमा पनि झिनो आशङ्का महसुस गरेका थिए ।
“अब के गर्ने ? छरछिमेकलाई के जबाव दिने ?” जस्ता समस्याले घेर्न शुरु गरिसकेको छ दुवैलाई । बिभिन्न द्विविधायुक्त तर्कवितर्क उब्जिएर तिनलाई शान्त पार्ने उपाय गर्दा गर्दै निर्मलाले झ्वाट्ट भनिन्, “म यसलाई लिएर भोली नै माइती जान्छु ।”ठूल्दाईलाई पनि चित्त बुझेको छ ।
“हुन्छ । म यहाँ समालुला । कसैले सोध्यो भने अमेरिका जाने भीसा लाग्यो भनुला । अस्ति नै मैले डि.बि. हालिसकें भनेकै छु सबैलाई ।” दुवै सहमत भए । बीचमा सानुलाई र दुवैपट्टी दुईजना भएर ओछ्यानमा सुत्न पल्टिएका छन् ।
“यो बिचरोलाई न आफ्नो नाम थाहा छ, न बाउआमाको थाहा छ । न ठेगाना नै थाहा छ ।” दुःखी भएर ठूल्दाईले भनेपछि
“हाम्रो गाउँसमाजमा अझैपनि उपनामले बोलाउने चलन छ । कसैको नामको पत्तो कसैलाई पछिसम्म पनि हुँदैन ।”लोग्नेको भनाइलाई यसरी सकारिन निर्मलाले । दुवैले एकछिनसम्म हेरिरहे सानुलाई । मायालु हेराइ आफैमा मस्त छ । एकछिनको मौनता फलाँगेर बडबडाइन्,
“यसलाई हाम्रो पीर बुझेर भगवानले हाम्रो लागि पठाएको हुनुपर्छ । अब यही हाम्रो सन्तान हो ।”
सानुको निधारमा म्वाइ खाँदै भनिन् निर्मलाले । निर्मलाको स्नेह र खुसीको सीमा अपार छ । यसैले पसलेले भने ,
“मैलै पनि यही सोचेर ल्याएको हुँ । तर समयले के भन्छ ।”
“समयको खेल । कसले जान्दछ र ? तरपनि यो पुन्टे हामीसँग हुनु भनेकै हाम्रो हो जस्तो लाग्दछ । कुनै जन्ममा यो हाम्रै छोरो हुनुपदर्छ ।” आश्वासनको पुनित अन्र्तप्रकाश छर्नुसम्म छरिन् निर्मलाले । निर्मलाभित्रको बात्सल्यलाई आभास गरेर भोली आउनसक्ने परिणामको सोचलाई थान्को लाउनुमा नै श्रेयस्कर ठान्दै लामो सास फेरे ठूल्दाईले ।
……………….
यहाँबाट काठमाडौं जान अर्को बस चढनुपर्नेछ । पूण्यबहादुरका लागिढल्केवरबाट छुट्ने बसले पूर्व सतासीधाम देखि यहाँसम्म दिएको साथको अगाडि सबै दुःखहरु बाउन्ने भइरहेका छन् । आजलाई बिश्राम लिएको यस बसलाई नम्बर सहितको नाम समेत बिर्सिन गाह्रो छ अब पुण्यबहादुरलाई । त्यसमा पनि इटहरीलाई त बिर्सिन असम्भव नै छ । छट्पटाहट छ त केवल ललिताको प्रतिक्रियामाथि । तैपनि केही नभएजस्तै गरेर व्यवहार गर्दैछ ऊ । बसबाट ओर्लिएपछि ललिताले सानुलाई खोजी ।
“सानु कहाँ छ ?”उसले अँध्यारोमा औंल्याउँदै भन्यो,
“ऊ त्यहीं छ ।” ललिताले हेर्ने प्रयास गरी । एकछिन पछि पनि सानु आफ्ना छेउ आइनपुगेपछि फेरि सोधी ।
“अँध्यारो छ । छेउछाऊ पनि आउँदैन त ।” सानु ए सानु सुध्याए जस्तै गर्यो पुण्यबहादुरले ।
“किन बोल्दैन यो ?” भनेर ललितातिर फर्किएरभन्यो ।
“निन्द्रामै होला । त्यसैले बोल्दैन नि । चिन्ता लिनुपर्दैन , यहीं छ ।”
“सानु ए सानु” बोलाई निर्मलाले तर अझै बोलेन सानु ।
“ब्ाोल्दैन त…हराउला…अँध्यारोमा ।” लोग्नेको बिश्वासमा सतर्क हुन खोजेकी छे ललिता ।’शङ्का पो गर्लि कि ?’ भन्ने बिचारले निकै सताइए पनि बिचलित नभइ भन्यो पुण्यबहादुरले,
“केही हुँदैन । म छु नि ।” केही बोलिन ललिता । त्यत्ति बोल्ने बानी पनि होइन उसको । त्यसमा पनि लोग्नेले बोलेपछि अविश्वासको घेरा तानेर त्यसलाई नाघ्ने गर्दिन ऊ । बरू अति भयो भने छाडिनै दिने स्वभावले गर्दाको परिणाम भोगिसकेकी छे उसले। अब त उसलाई यति मायाँ गर्ने लोग्ने पुण्यबहादुरप्रति कुनै तुष राख्न चाहन्न ऊ । पुरा विश्वास छ उसलाई लोग्नेमाथि । पुण्यबहादुरलाई भने लोडसेडिङले दिएको यो अँध्यारोबाट पुरै फाइदा भएको छ ।
काठमाडौं जाने बसमा चढेर बिहानै मिर्मिरेमा बसबाट ओर्लिदा पनि सानुलाई नभेट्दा भने ललिता लगभग चिच्याई ,
“ए बुढा । खोई छोरो ?” अबभने निकै ढुक्क भइसकेको छ पुण्यबहादुर । आफूलाई हरसम्भव तयार पारिसकेको छ उसले ।
“अरे ।बसभित्रै त छैन ?” हिंडन आँटेको बसलाई रोकेर भित्र खोजेजस्तो गर्यो पूण्यबहादुरले ।
“राती मसितै अँगालोमा सुतेको थियो ।” सहाराका लागि नाटकीय शब्दको खुब साथ पायो उसले । ललिताको सातो गयो ।
“किन यस्तो भयो ? झन भगवानको दर्शन स्नान गर्न धाइधाइ यति टाढा सतासी धाम पुगें , झन मेरो छोरो हरायो ।” बरबराउन लागी ललिता । आफैसितको गुनासो । ईश्वरप्रतिको रीस व्यक्त गर्दै भनि ,
“ख्ाोज्नुस् न । कहाँ अलपत्र परेको होला ? हिजै देखि बोल्न देख्न पाएकी छुइन ।”
“के भयो ? के भयो ?”एकदुईजनाले सोधे ।
“हेर्नुस् न । हिजोसम्म मसितै टाँसिएर सुतेको छोरो अहिले बसबाट ओर्लिएर हेर्दा छैन ।” आत्तिएझैं गरेर भन्यो उसले ।
“ए,कसले चोर्यो ?कस्तो होस् नगर्नुभएको त ?” कसैले यसरी खै गर्यो ।
“म पनि भुसुक्कै भएछु । बिहान मात्र आँखा खुल्यो ।” स्वीकार्यो आरोप पनि ।
“यसकी आमाले त हिजैदेखि भन्दैथिई । मैले नै आश्वासन दिइरहें ।आजसम्म यस्तो भएको पनि थिएन, होला भन्ने पनि भएन ।”आँखामा जबरदस्ती आँशु ल्याएर पुछ्यो उसले ।
“अब थानामा गएर रिर्पोट लेखाउनुस् ।”
“लेखाएर पनि के हुन्छ । उल्टो दुःख मात्र पाइने त हो नि ।भेटिने होइन ।”
“कति पैसा हप्ल्यास पारेर नङ्गा छाड्ने हुन् मोराहरुले ।” आआफ्नो बिचार पोखे केहिले । सुनेर नराम्ररी रोई ललिता । ऊ आमा थिई । ललिताको रुवाइले पुण्यबहादुरभित्रको राम्रो मान्छे पनिपछुताउँदै रुन लाग्दा निकै शोकाकुल परिस्थितिको सृजना भयो ।
“सानो भाँडो भएका हामी के गरुँ कसो गरुँ ? बडो द्विबिधामा परें म त । बालख पाँचवर्षमात्र टेकेको छोरो, यहीं भन्ने थाहा भए त खोज्न पनि हुन्थ्यो ।” लाचारी प्रस्तुत गर्दा एकदुईजना त्यस्तै केटाहरू पनि केही फाइदा लिन सकिन्छ कि भनेर नआएका होइनन् ।
“ल है दाई । खोज्नुस्…सकेसम्म खोज्नुस्” भनेर तर्किए । केहि हात नलाग्ने रहेछ भनेर पछि आएका केटाहरू पनि तर्किए ।
जसोतसो ललितालाई घर पुर्याएर ओछयानमा राखुन्जेलमा घरमा भएका छोराछोरीलाई पनि सबै थाहा भइसकेको थियो ।सबै सामसुम थिए । दिनहुँ घरबाट सानुलाई खोज्ने निहुँमा पुण्यबहादुर निक्लिन्थ्यो र रित्तै फर्किन्थ्यो । ललिताका आँखाभरी निराशा छाउँदै गइरहेको छ । आशको झिनो त्यान्द्रो मात्र बाँकी थियो । भएका छोराछोरी अब आफैमा रमाउन थालेका छन् । दिनैपिछे पुण्यबहादुर सामान्य हुँदै गइरहेको छ ,तर ललिता यहि पीरले गर्दा थला पर्दै गई ।
एकदिन सिकिस्त परेर नबाँच्ने टुङ्गो लागेपछि ललिताले पुण्यबहादुरलाई नजिकै बोलाएर भनि ,
“सानु हराएकै हो ?” उसको प्रश्नसँगको हेराईलाई पुण्यबहादुरले थेग्न सकेन । निरुत्तर भयो । शीर झुक्यो । आँखा जुध्न सकेनन् । यो बुझ्नेका निम्ति स्वीकृति थियो । जसलाई ललिताले हेरेरै बुझी । आफूले चाहेर पनि सोध्न नसकेको प्रश्न अन्तिम घडिमा यसरी सोधेरै छाडि ।
“भैगो” बडो निराशापूर्ण स्वरमा भनि । उसका आँखाका दुई किनाराबाट सर्लक्क आँशु झर्यो । अबभने पछुतोले निथ्रुक्क भयो पुर्णबहादुर र भक्कानियो । ललिता यस कुराको जानिफकार पहिल्यै रैछे भन्ने भान ऊभित्र सँगेलियो । माफी माग्न चाहृयो ।सकेन । आफ्नो र आफूबाट जन्मिएका छोराछोरीका लागि एउटी आमाबाट उसको पहिलो सन्तानलाई अलग पार्नुको पीडा अनुभूत गर्यो । यही त्यो छोरो थियो जसको मोह पहिलो लोग्ने छोड्दापनि रहिरहेको थियो । परिणामतः ललिताले आफूसँगै ल्याएकी थिई ।अझैपनि शीर उठाउन सकेन उसले ।
“मेरो बाबु”ललिताको अनौठो शैलीबाट सानुका लागि पोखिएको मातृत्वबाट झस्किएर उसले ललितालाई हेर्दा ललिता गइसकेकी थिई । उसको Åदय अति पोल्यो,तर कुनै बिकल्प बाँकी रहेन । उसका अगाडिइटहरी बस स्टप सग्लै सामु छ ।
समयको खेल हो । निर्मला बिहान माइत जाँदा पाँचबर्षपछि जानुपरेपनि फाइदै भयो । सबैलाई अथ्र्याउन सजिलो हुने भयो भन्ने कुरा मनमा खेलाउँदै सखारै बाटो लागिन् । गन्तव्य थियो काठमाडौं । पसले ठूल्दाई पसल खोल्न पुगे ।दिनभरीडर लागिरहृयो । हरकोही ग्राहक छिमेकी पसलेहरू अखबार , पुलिस सबैलाई आशङ्कति दृष्टीले नजानिदो गरी हेर्थे,बिचार्थे ठूल्दाई । तर कुनै अप्रत्यासित घटना घटेन । बरु चर्चा भने उठ्यो ।
“हिजोको बच्चो कहाँ गएछ ? ठूल्दाईलाई थाहा छ कि “? कसैको यसकिसिमको सोधाइबाट हत्तनपत्त उनले भने
“कहाँ हुनु नि , ऊ त्यो बेन्चमा थियो । म यत ग्राहकसँग अल्मलिएँ । एकछिन पछि त त्यहाँ पनि थिएन ।” राती सानु पसलबाट दौडिएको देख्नेले उनको कुरामा सही थाप्दै भने,
“हो ,हो , बाफ रे । कस्तो आत्तिएर दौडियो भने …हेर्दा माँयै लागे आयो तर के गर्ने बिनासित्तिको टेन्सन कसले बेहोर्ने ? यहाँ भएका हामी पनि बाटो लाग्यौं । तर बिचराको गति चैं झुर नै भयो होला ।”
“तै त कुन पिशाचको पन्जामा पर्यो कोनी?”
“आफ्नै मान्छेले भेटेर लग्या पनि हुन सक्छ ।”
“के हुन्थ्यो? जे होस् केटो हेर्दै जाती थियो ।” यसतै यस्तै बिभिन्न क्रिया प्रतिक्रिया र लख् काट्दै हिंडे सबै । तीन चार दिन पछि जब कुरा आएगएको भयो ।तब आफ्नो डि.बि. परेको हल्ला गरे ठूल्दाईले ।बधाइ र शुभकामना पनि प्रशस्त बटुले । केही दिनपछि पसल बेचेर श्रीमतीसँगको सल्लाह अनुसार त्यहाँबाट पन्छिए ।
काठमाडौंकै एक कुनामा एउटा सानो डेरा लिएर उदय (सानु) को सकेसम्म रहर पुगुन्जेल लालनपालन, शिक्षादिक्षा आदि गर्न थाले । बित्दै गइरहेको समयले खुब साथ दिएको छ । यो परिवारलाई । अन्तर्अात्मा देखि नै निर्मला र ठूल्दाईलाई आमाबाबु मानेपनि घरिघरी अतित सम्भिmएर उदाश हुने गर्छ सानु । आफ्नो कुन चैं गल्तिले गर्दा बबाले शत्रुको भुमिका बहन गरे भनेर बुझ्न सक्दैन र छट्पटाउने गर्छ ऊ ।
आफूबाट जन्मिएका सन्तान पार लागेपछि एक्लिएको पुण्यप्रसादको हृदयमा ललिताको अन्तिम वाक्य बिझाइरहेकै छ । मन मानेन र नाकनक्स त जति ठूलो भएपनि फेरिदैन नि । एकपल्ट हेरेर मात्र भएपनि चित्त बुझाउन चाहृयो । आशाको झिनो त्यान्द्रो पक्डिएर अपराधीको उपनाम आफैबाट आफैले स्वीकार गर्दै एकदिन त्यहाँबाट इटहरी तिर लाग्यो पुण्यबहादुर । आजको यो काम एकदमै मुर्खतापूर्ण लागेपनि भौंतारिएको मनलाई शान्ती दिने असफल प्रयासका लागि पनि हिंड्यो ऊ । आफ्नो पापी सोच बोक्ने शरीरलाई सकेसम्म दुःख दिन खोजेर पनि हिंड्यो ऊ ।
(स्रोत :- घाम अझै उघ्रिएको छैन कथा संग्रहबाट )