~महेशविक्रम शाह~
एल्जो टयाक्सी पार्किङमा यात्रुहरुको प्रतीक्षा गरिरहेकी थिई ।
रात जति गहिरिँदै थियो, रेड लाइट एरियाका राता बत्तीहरुको उज्यालो झन् प्रगाढ हुँदै थियो । रेड लाइटका हरेक गल्लीमा टेक्ने ठाउँ थिएन । धक्कमधक्का गर्दै मान्छेहरु आˆनो बाटो बनाइरहेका थिए । गल्लीबाट मान्छेहरु खुला सडकमा निस्कँदा गोठबाट वस्तुको बथान निस्केझैँ प्रतीत हुन्थ्यो ।
‘यतिका मान्छेहरु के हेर्न आएका होलान् यहाँ ?’ क्याबिनको रातो प्रकाशमुनि नाम मात्रको कपडाले छोपिएको आफ्नो नाङ्गो देह प्रदर्शन गरेर विभिन्न हाउभाउद्वारा ग्राहकहरुलाई आकषिर्त गरिरहेका युवतीहरुलाई देखेर असजिलो मान्छे एल्जो । उसलाई किनकिन यो काम मन पर्दैन । हजारौं मान्छेका भोका आँखालाई कसरी क्याबिनभित्र बसेका केटीहरुले झेल्न सकिरहेका होलान् ? ऊ यसरी मान्छेको अगाडि नाङ्गिनुपरेको भए मुर्छा पर्थी ।
रातो गल्लीमा उसका साथीहरु पनि छन् । उसका तीन-चार जना साथी पढाइ छोडेर रातो क्याबिनको शोभा बन्न आएका थिए । नादिया उसकी पुरानी साथी, जो केही महिनाअगिसम्म अटोरिक्सा चलाउँथी । साथीको लहैलहैमा लागेर एक दिन ऊ पनि रातो गल्लीभित्र छिरी । अटोरिक्सा चलाएर एक महिनामा कमाउने रकम उसले तीन-चार दिनमै कमाई । त्यसपछि ऊ कहिल्यै त्यहाँबाट ˚र्किइन ।
उसले ती साथीहरुलाई स्मरण गरी जो प्रायः उसलाई रातो गल्लीमा आउन आमन्त्रण गर्छन्- “एल्जो, किन दुःख गर्छेस् ⁄ टयाक्सी चलाउन छोडेर तँ पनि आइज यहाँ । यहाँ आएपछि तैंले पनि थाहा पाउँछेस्, यी पुरूष र सुँगुरमा के फरक छ ? बाहिर हाम्रो अगाडि सभ्य र भद्र देखिने यी लोग्ने मान्छेहरु रातो गल्लीभित्र छिर्नेबित्तिकै सुँगुर बन्छन् । जताजता हाम्रा क्याबिन छन्, त्यतै नाक र मुखले सुँघ्दै हिँड्छन् । हाम्रो क्याबिनभित्र छिरेपछि त झन् यिनीहरु एकतिर मात्र मुख भएको दुलामा पसेको मुसो बन्छन् । मुसो ठान्छ, ऊ दुलो भत्काइरहेको छ । वास्तवमा हामी मुसालाई दुलाको धरापमा पारी उन्मुक्त भएर हाँसिरहेका हुन्छौं । क्याबिनमा झुन्डिएको रातो बत्ती हाम्रो मोहिनी रुप हो, जसमा लट्ठिएर पुरूषहरु बेबकु˚ बन्छन् र आफ्नो सर्वस्व लुटाएर जान्छन् ।”
एल्जोले रातो गल्लीतिर हेरी । विभिन्न उमेरका पुरूषहरु- युवादेखि वृद्धसम्म ⁄ सबैको अनुहारमा एउटै भाव छ- पश्चात्ताप, लज्जा ! ‘यिनको अनुहारमा तृप्तिको भाव किन देखिँदैन ?’ एल्जो जिल्ल पर्छे । वास्तवमा तिनको अनुहार मग्न र मुग्ध देखिनुपर्ने हो । नयाँ स्वाद र सन्तुष्टि पाएपछि तिनीहरुको मुखमण्डलमा बेग्लै आभा तैरिनुपर्ने हो । तर आश्चर्य ⁄ एल्जोलाई रातो गल्लीबाट निस्केर आउने प्रायः हरेक पुरूष गाँजा खाएर पछुताएको गँजडी र जुवाको खालमा सर्वस्व गुमाएर ˚र्केको जुवाडेझैँ लाग्छ ।
दुई जना मानिस पार्किङतर्फ आइरहेका थिए । उसले आफ्नो विचारको शृङ्खला तोडी र टयाक्सीको चालक-सिटमा गएर बसी । उसले टयाक्सी स्टार्ट गरी, हेड लाइट बाली र हर्न बजाई ।
ती मान्छेहरु उसको टयाक्सीमा चढे ।
“अल्फ्रेड डब्लिन स्ट्राट ६६, साउथ इस्ट ⁄” एउटा व्यक्ति लट्ठिएको स्वरमा बोल्यो ।
उसले टयाक्सी मोडी र ग्राहकले भनेको ठेगानातिर गुड्न थाली ।
“कस्तो रहृयो क्याबिन नम्बर १०३ ?” एउटा व्यक्ति बोल्यो । उसको स्वर मोटो थियो ।
“अद्भुत ⁄” अर्को व्यक्तिले भन्यो । उसको स्वर अलि मसिनो थियो ।
“किन अद्भुत ? कहिल्यै नदेखेको के कुरा देख्यौ र अद्भुत लाग्यो तिमीलाई ?” पहिलो व्यक्तिलाई दोस्रो व्यक्तिको ‘अद्भुत’ शब्द मन परेन अथवा उसको अद्भुत अनुभवप्रति उसलाई ईष्र्या लाग्यो ।
“इटालियन हुँ भन्थी ।” मसिनो स्वर भएको व्यक्ति अझै आˆनो नयाँ अनुभूतिमा रमाइरहेको प्रतीत हुन्थ्यो ।
“इस् ⁄ खुब भेटयौ इटालियन ⁄ मोरी यतैतिरकी खच्चड होली ⁄ मक्खै पर्यौ जस्तो छ नि तिमी ? यी रन्डीहरु खुब नखरा पार्छन् । यिनीहरुको नाटक पत्याउँछौ तिमी ? कति बेबकु˚ बनाउँछन् हामीलाई ⁄” पहिलो व्यक्ति असन्तुष्टि पोखिरहेको थियो ।
“किन ? तिम्रो मुड खराब भए जस्तो छ नि ⁄ नराम्रो माल भेटयौ कि क्या हो ?” दोस्रो व्यक्ति हाँस्दै बोल्यो ।
“घरको मालभन्दा त राम्रै हो यार ⁄ तर हरामीकी छोरी अति चलाख र धूर्त थिई । क्याबिनभित्र छिरेको पाँच मिनटमै मैदान खाली गराइदिई । साथसाथै ५० युरो टिप्स पनि झम्टेर लिई ।” ऊ चिन्ता मानेझैँ गरी बोल्यो ।
साले सुँगुरहरु ⁄’ एल्जोलाई तिनीहरुको कुराले क्रोधित बनाइरहेको थियो । नादियाले भनेको ठीकै रहेछ- रातो गल्लीभित्र छिरेपछि यी पुरूषहरु सुँगुर बन्छन् ।
आम्सटर्डमको रातो गल्ली चहारेर ˚र्केका यी दुई पुरूषबीचको वार्तालापले एल्जोको मन उद्विग्न भइरहेको थियो । उसको हृदय चीत्कार गरिरहेको थियो । टयाक्सीको स्टेयरिङ समातेदेखि उसले कति ग्राहकहरुलाई रेड लाइट एरियामा ल्याउने र लैजाने गरिसकेकी छ तर आज पहिलो पटक उसमा पुरूषहरुप्रति घृणाभाव जागिरहेको थियो । सायद नादियाको कुराले पनि उसलाई प्रभावित गरेको हुन सक्छ । ती दुई यात्रुहरु एल्जोको वास्तै नगरी अश्लील शब्द बोलिरहेका थिए । उनीहरुको यो व्यवहार उसलाई मन परिरहेको थिएन । केही मिनटका लागि बाझ्नुभन्दा चुप लाग्नु नै उपयुक्त ठानेर ऊ आफ्नै धुनमा टयाक्सी चलाइरहेकी थिई ।
हि हि हि ⁄ दोस्रो व्यक्ति हाँस्यो । आफ्नो साथीले पाँच मिनटका लागि १५० युरो झ्वाम पारेको सुन्दा उसलाई पक्कै रमाइलो लागेको हुनुपथ्र्यो ।
“अब तिम्रो खल्तीमा कति युरो बाँकी छ ?”
“पर्स हेर्नुपर्छ । धेरै छैन, त्यस्तै १०-१५ युरो छ कि ⁄” पहिलो व्यक्ति बोल्यो ।
“धत् ⁄ टयाक्सीको भाडा तिर्ने पैसा पनि छैन ?” दोस्रो व्यक्ति झोक्कियो ।
“आज तिमीले तिरे हुन्न ? अस्ति मैले तिरेको भुल्यौ ?” पहिलो व्यक्तिको मोटो स्वर झन् धोद्रो भयो ।
‘हे भगवान् ⁄’ एल्जोको हृदयमा शूल उठयो । सुँगुरहरु सम्भवतः हरेक दिन जाँदा रहेछन् । उसले तिनीहरुलाई धिक्कारी ।
“मसँग पनि धेरै पैसा कहाँ छ र ? यस्तै ४०-५० युरो होला ।” दोस्रो व्यक्तिले प्यान्टको खल्तीबाट पर्स निकालेर हेर्यो, “अँ, ६० युरो रहेछ ⁄”
“त्यतिले पुगिहाल्छ नि ⁄ पहिले म उत्रिन्छु, तिमीले उत्रिने बेलामा भाडा दिनू ⁄” पहिलो व्यक्तिले मिटर हेर्यो । १० युरो पुगेको रहेछ । ऊ खिस्स हाँस्यो ।
“आज पनि बजारबाट ब्रेड, बटर र ससेज ल्याएन भनेर गाली खाइने भो ⁄ बच्चाहरु हिजैदेखि कराइरहेका थिए ।” पहिलो व्यक्तिको स्वर उदास थियो ।
“छोड यार ⁄ यी घरका मुर्गीहरु कुरकुर गरिहन्छन् । यिनले कराउँदैमा हाम्रा पखेटाको प्वाँख झर्ने हो र ? यिनीहरुको कामै कराउने हो । देखेनौ, पैसा पाएर पनि रेड लाइटका ती कुकुर्नीहरु भुक्न छोडे ? जातै यस्तो ⁄ के गर्छौ ?” दोस्रो व्यक्तिको स्वर चर्को भइरहेको थियो ।
“मेरी घरकीले पनि कफीको बट्टा र जुस ल्याउन मोबाइलमा एसएमएस गरेकी थिई । कफीको बोटै चपाउन पाएपछि धुलो घोलेर के खानु ? होइन त यार ⁄” दोस्रो व्यक्ति जोडले हाँस्दा पहिलो व्यक्तिले पनि खित्का छोडयो, “क्या गजबको कुरा गर्यौ यार ⁄” तिनीहरुको हाँसो टयाक्सीबाहिर पनि गइरहेको थियो ।
एल्जोले अचानक जोडले ब्रेक लगाई । टयाक्सी पल्टिएलाझैँ भयो । फलामको डन्डीमा ती दुवैका टाउका ठोकिए ।
“ऐरया ⁄” पहिलो व्यक्ति चिच्च्यायो ।
“झन्डै टाउको फुटेको ⁄” दोस्रो पनि पीडाले करायो ।
“यसलाई टयाक्सी चलाउने लाइसेन्स कुन स्वाँठले दियो होला ?” पहिलो व्यक्तिले टयाक्सीमा लात बजार्यो ।
एल्जो केही बोलिन । आधा शिर बाहिर निकालेर उसले थुकी ।
केही बेर सन्नाटा छायो । ती दुवै व्यक्ति चोटले रन्थनिइरहेका थिए ।
“तिमीले बेरोजगार भत्ता’ पायौ अल्बर्ट ?” दोस्रो व्यक्तिले सोध्यो ।
“अप्रिलको पाएँ, मेको बुझेको छैन । खल्ती खाली भो । अब एक-दुई दिनमा बुझ्ने हो कि ?” पहिलो व्यक्ति अर्थात् अल्बर्ट बोल्यो ।
“तिमी कहिले बुझ्छौ नि वीरबहादुर ?” पहिलो व्यक्तिले दोस्रो व्यक्तिलाई सोध्यो ।
“मलाई कसले बेरोजगार भत्ता देओस् ? शरणार्थी जस्तै बसेको मान्छे ⁄ जति पैसा कमाए पनि यिनै रन्डीहरुमा खर्च भइहाल्छ । घरको खर्च श्रीमती र छोरीले चलाउँछन् ।” वीरबहादुरले दुखेसो पोख्यो ।
“भाग्यमानी छौ यार ⁄ श्रीमतीको कमाइले भुँडी भरेका छौ । हामीले त कहाँ त्यसो गर्न पाउनु ?” अल्बर्टले ईष्र्या गर्यो ।
“ल गाँजा खाऊ, टेन्सन भाग्छ ।” वीरबहादुरले ज्याकेटको खल्तीबाट अलिकति गाँजा निकालेर अल्बर्टलाई दियो ।
“हामी के गरौं यार ? सरकार हामीलाई जागिर दिँदैन तर वेश्यालय खोल्न दिन्छ । बेरोजगार भत्ता दिँदै भन्छ, ‘रेड लाइट एरियामा गएर मस्ती गर ⁄’ हामीलाई भत्ताबापत दिएको पैसा रन्डीहरुमार्फत जबरजस्ती असुलेर फिर्ता लान्छ । ल भन, हामी के गर्न सक्छौं यार ?” अल्बर्टले हताश हुँदै भन्यो ।
“मन दुख्ने कुरा नगर यार ⁄ निराश भएर आखिर के नै हात लाग्ने हो र ? आज बाँच्न सिक, भोलि के हो के हो ?” वीरबहादुरले अल्बर्टको काँध थपथपाउँदै भन्यो, “बरू कुरा गर नयाँनयाँ तरूनीहरुको, जो जुन महिना लागेपछि सारा संसारबाट यस आम्सटर्डमको रातो गल्लीमा आˆनो सौन्दर्यका किरण छर्दै भित्रिनेछन् । त्यसपछि यहाँ ओइरिनेछन् थकित, गलित तथा टेन्सनको बोझले थिचिएका पुरूषहरु । आम्सटर्डमको यस रेड लाइट एरियामा सुखका क्षणहरु खोज्दै भौंतारिनेछन् ।” वीरबहादुरको ठाउँमा कुनै कवि बोलिरहेको थियो । रेड लाइट एरियाको क्याबिनबाट ‘वाइन’ र ‘वुमन’ को पेग चढाएर मातेको वीरबहादुर भावुक बनिरहेको थियो ।
“भन्नुको अर्थ ?” अल्बर्ट बोल्यो ।
“कुरा बुझेनौ लाटा ? विदेशीहरु आम्सटर्डममा मस्ती गर्न आएको बेला तिमीले ट्वाँ परेर हेर्नुपर्ला । त्यसैले नयाँ तरूनीहरुसँग मोज गर्न पैसा बचाएर राख्नू भन्न खोजेको मैले । मैले बुझेअनुसार यस पटक ल्याटिन अमेरिकाबाट भर्खरका तरूनीहरुको झुन्ड आउँदै छ रे ⁄” उसले जिब्रो फट्कार्यो ।
“हेरौं यार, के हुन्छ ⁄” पहिले जस्तो स्फूर्ति थिएन अल्बर्टमा । ऊ थकित जस्तो देखिन्थ्यो ।
“आज बाँच्न सिक, भोलि के हो के हो ?” दार्शनिक लवजमा वीरबहादुर फेरि बोल्यो । “श्रीमतीको के चिन्ता गर्छौ ? त्यसले सधैं तिमीलाई साथ दिने हो र ! कुन दिन, कुन बेला डिभोर्स हुने हो, थाहा हुन्न । रहृयो बच्चाको कुरा, फ्रायडले भनेझैँ हाम्रो यौनानन्दका ‘बाइ प्रोडक्ट’ यिनीहरु पनि पखेटा लागेपछि कता उड्छन् कता ⁄ अन्त्यमा एक्लै जिउनु, एक्लै मर्नुपर्ने हो । बरू बाँचें भने म साथ दिउँला तिमीलाई । त्यो रातो गल्लीको कसम ⁄” वीरबहादुर जोडले हाँस्यो र खोकेको खोक्यै गर्यो ।
“साँच्चै भन्यौ तिमीले । त्यो रातो गल्लीको कसम ⁄ म पनि साथ दिउँला तिमीलाई ।” अल्बर्ट बोल्यो ।
एल्जो चुपचाप तिनीहरुको कुरा सुनिरहेकी थिई । सुरूसुरूमा यिनीहरुको कुरा सुन्दा उसलाई हाँसो लाग्यो, त्यसपछि रिस उठयो । अहिले उसको मन व्यथित बनिरहेको छ । ‘यी लफङ्गाका बेतुकका कुरामा केही न केही त सत्यता अवश्य छ ।’ उसका आँखा आँसुले भरिए ।
“अगाडिको चोकबाट बायाँ ठीक सामुन्नेको घरमा रोक्नू ।” अल्बर्ट बोल्यो ।
एल्जोले टयाक्सी बायाँ मोडी । अल्बर्टको घरअगाडि टयाक्सी रोकियो । ऊ ओर्लियो ।
“ओके, गुडनाइट ⁄ सि यु ल्याटर !” अल्बर्ट गेटभित्र छिर्यो ।
“सय मिटरअगाडि, बस स्टपनिर रोक्नू ।” वीरबहादुर बोल्यो ।
एल्जोले टयाक्सी घुमाई, गति बढाई । केही छिनमा एउटा पुरानो घर आइपुग्यो । उसले किनारमा टयाक्सी पार्क गरी । वीरबहादुरले मिटर हेर्यो । ठयाक्कै ५० युरो भएछ । ऊ ढोका खोलेर बाहिर आयो र पर्सबाट ५० युरो झिक्यो । एल्जो पनि टयाक्सीबाट बाहिर निस्किसकेकी थिई ।
“इ, ५० युरो, टयाक्सीको भाडा ⁄” वीरबहादुरले आफ्नो हात बढायो ।
ऊ अचानक जोडले खोक्न थाल्यो । खोकेको खोक्यै छाती समातेर ऊ भुइँमा घोप्टियो । एल्जोले आफ्ना हातको सहाराले उसलाई उठाई । ऊ अझै ख्याकख्याक खोकिरहेको थियो ।
“को चिच्च्याएको हो ?” ढोका खोलेर एउटी रोगीझैँ देखिने आइमाई बरन्डामा आइन् ।
“तिम्रो लोग्ने हो आमा ⁄” एल्जोले वीरबहादुरको अनुहारमा हेर्दै भनी ।
(श्रोत:- कथा संग्रह ज्याक्सन हाइटबाट )