‘बा ढोग छ !’
यूरोपबाट फोन गरेको छोरोले फोनैबाट ढोगूँला झैँ गरेर भन्यो ।
– आर्शिवाद छ बाबु तलाई !’
बाबुको छाती नाङ्लोजत्रो भयो ।
– ‘बा ! जिन्दगीभरि त्यही भीरपखेरामा रुखझैँ गाडिनुभयो । आफूलाई बिर्सिएर छोराछोरीको लागि गोरुझैँ जोतिनु भो । संसार देख्न पाउनुभएन । चीलगाडीको टिकट पठाइदिएको छु । एक महिनापछि मेरो साथीसँग युरोप आउनुहोला ।’
छोरोले भित्रैदेखि भन्यो ।
– ‘बाबु ! मलाई सानै देखि हुक्का तान्ने बानी परेको छ ।’
बाबुले छोराको कुरालाई सहर्ष स्वीकार गर्नुपूर्व केही संदिग्धता जाहेर गर्यो – ‘त्यहाँ तमाखु र चिलिम पाइन्छ कि पाइन्न ?’
– ‘बा ! यहाँ त तमाखु र चिलिम किन्न पनि पाइँदैन, त्यहाँबाट ल्याउन पनि पाइँदैन ।’
– ‘भैगो छोरा, बरु युरोपस्युरोप नगए पनि मलाई केही हुँदैन । तर, हुक्काविना त म एक दिन पनि बस्नै सक्तिनँ !’
(श्रोत :- अन्तर्जाल )