कथा : प्रवासीकी पत्नी

~विनोद ढकाल~

लौ आज पनि राइसकुकरमा भात छड्किने बेला झ्याप्पै लाइन गयो ! फेरि ग्याँसमै बसाउनुपर्‍यो । साढे ७ भइसक्यो बाबु उठेकै छैन ।

मुख धोइदिनेदेखि दाँत पनि आफैंले माझिदिनुपर्छ । भात ख्वाएर साढे ८ बजे स्कुल बस भेट्न रोडमा पुग्नुपर्छ ।

सरिताले ग्याँस अलि चर्को बालिन् र छोरालाई उठाउन लागिन् । छोरा रुन्चे मुख लाउँदै ट्वाइलेटतिर गयो ।

उनले छोराको झोलामा किताब कापी मिलाएर राखिदिइन् । भुटेको चिउरा र आलु टिफिन बक्समा राखिदिइन् । आधा लिटरको बोतलमा पानी भरिन्, त्यसलाई झोलाको बाहिरपट्टीको खल्तीमा राखिदिइन् । यसो झोला उचालिन्, कति गह्रौ !

कुकरले सिठ्ठी लगायो । सरिता छोराको हातमुख धोइदिन थालिन्, ब्रस गराइन् ।

‘अब भात खानुपर्छ बाबु’

छोराले खानै मन छैन भन्ने जस्तो गरेर मुख बिगार्‍यो ।

५ वर्षको बच्चा तरकारीसँग मात्रै के भात खान सक्थ्यो ?

उनले अलिकति चिनी हालिदिइन्, त्यसकै गुलियोमा अलिकति भात खायो र फेरि रुन्चे मुख लगाएर ममीतिर हेर्‍यो ।

‘लै भैगो त उठ, अब ड्रेस लगाउनुपर्‍यो नि बाबुलाई ढिलो भइसक्यो’

तल गाडीले हर्न बजाउन थालिसकेको थियो ।

हतारहतार लुगा र जुत्ता लगाइदिएर दाहिने काँधमा छोराको झोला भिरिन् र देब्रे हातले छोराको हात समातेर रोडतिर लागिन् ।

‘तपाइँ सधैं ढिलो गर्नुहुन्छ’ खलासी जंगियो ।

सरिताले मोवाइलको घडी हेरिन्, ८ बजेर ३५ मिनेट गएको थियो । पाँच मिनेट ढिलो त हो नि !

‘सबै तपाईं जस्तै त हो नि एउटाले मात्रै ढिलो गर्ने भए त हुन्थ्थ्यो नि’ अझ उ भन्दै थियो ‘यी आइमाइहरु अरु केही काम नहुँदा पनि एउटा बच्चालाई ठिक पार्न बिहानभरि लगाउँछन् ।’

त्यतिन्जेल बाबु सिटमा गएर बसिसकेको थियो, खलासीले ढोका ढ्याप ढ्याप पार्‍यो ।

‘बाई बाई ममी’ छोराले सिटबाट भन्यो ।

उनले दाहिने हात उठाएर छोरातिर हल्लाइन् ।

आज पनि स्कुल बसलाई कुराउन परेकोमा उनलाई खिन्न लाग्यो ।

**************************
सरिताका श्रीमान मलेसियामा छन्, ३ वर्ष भयो । उनी जाँदा छोरा २ वर्षको थियो, अलि अलि तोतेबोली बोल्थ्यो । अहिले त केजीमा पढ्ने भइसक्यो । बाबा मलेसिया नगएको भए उसले कसरी बोर्डिङ पढ्न पाउँथ्यो ?

गाउँमा घर नजिकै प्रावि स्कुल थियो । गाउँका अरु हुनेखानेले शहरमा राखेर छोराछोरी बोर्डिङमा पढाएका थिए । कोही सेनाका जागिरे थिए । कोही पुलिसका । कोही सरकारी अड्डाका हाकिम थिए । उनीहरुका श्रीमतीहरु छोराछोरी लिएर शहरतिर गएका थिए । गाउँको स्कुलमा पढ्ने ८/१० जना मात्रै हुन्थे ।

गाउँमा पढाइ राम्रो छैन भन्थे सबैले । बोर्डिङ पढेका भुराहरु दशैं, तिहार अनि जाडो र गर्मीका बिदामा मात्र गाउँ आउँथे । बोली बचन पनि गाउँलेको भन्दा अर्कै हुन्थ्यो, बच्चैमा अंग्रेजी मिसाएर बोल्थे ।

त्यसैले सरितालाई पनि छोरालाई बोर्डिङ पढाउन मन लाग्यो । एक दिन फोनमा श्रीमानसँग सल्लाह गरी । ‘बाबुलाई पनि बोर्डिङ पढाउनुपर्‍यो, सदरमुकाममा ।’

‘घरनजिकै स्कुल छ, किन जानुपर्‍यो त्यति टाढा ?’ श्रीमानले भने ।

‘यहाँ त सरहरु पनि राम्रा छैनन्, वल्लोघर पल्लोघर सबैले बाहिरै लगेका छन्, हाम्रो बाबुमात्रै के यहाँ पढाउने, भोलि छोरा बुझ्ने भएपछि के भन्ला ? मलाई राम्रो ठाउँमा पढाइदिएनन् भन्दैन उसले ?’

‘ल त्यसो भए बा आमासँग सल्लाह गरेर जाउ न त’ श्रीमानले त स्वीकृति दिए अब सासु ससुरालाई कसरी मनाउने ?

बेलुका खाना खाने बेलामा सोधिन् उनले ‘यसको बाबा बाबुलाई बोर्डिङ पढाउने भन्नुहुन्छ, के गर्नेहोला ?’ घरमा सासु ससुरा मात्रै ससुरा ६५ का सासु ५५ की । ससुरा प्रेसरका रोगी, सासु दमको ।

‘अरुले जे गर्‍यो त्यही गर्ने हो ? अरुले घोडा चढ्यो भनेर हामी धुरी चढ्ने हो र ? खै हाम्रो पालामा त बोर्डिङ सोर्डिङको चलन थिएन । यसको बाउले यही पढेको हो, बुढेसकालमा छोराबुहारी साथमा होलान् भन्यो, एउटा विदेश अर्को पनि शहर जाने रे ?’ सासु ससुराले मानेनन् ।

‘पहिले जस्तो जमाना कहाँ छ र ? सबैको छोराछोरी बोर्डिङ पढ्छन्, यसले बुझ्ने भएपछि मलाइ मात्रै गाउँकै पढाका भनेर हाम्लाई धिक्कार्ने जमाना आइसक्यो । फेरि म सधैं उतै बस्ने पनि होइन, शुक्रबार शनिबार विदा पारेर आइरहन्छु । खेतबारी अधियाँ दिए भइहाल्छ, दूध दिने एउटा भैंसी राखेर अरु बेचिदिए भइहाल्यो नि । हजुरहरु पनि किन दुःख गर्नुहुन्छ ?’ सरिताले सम्झाउने गरी भनिन् ।

लौ जाने भए जाउ के भन्ने त ? तिम्रो बुढाले नै जाउ भनिसकेको भए हामी जान्ने भएर किन रोक्ने ?’ ससुराले अफ्ठेरो गरी स्वीकृति दिए ।

बेलुका फेरि सरिताले फोनमा श्रीमानसँग कुरा गरिन् ‘बा आमाले पनि हुन्छ भन्नुभयो म त भोलि जाने भएँ ।’

‘ल ठिक छ, पैसा चाहिँ धेरै नसक, घरको ऋण तिरिसक्यो भनेर जथाभावी खर्च गर्ने होइन, सधैं विदेशमा बस्न सकिँदैन, त्यसैले पैसा बचाएर राखिदेउ, गाउँ फर्किएर त्यतै केही ब्यापार ब्यवसाय गर्ने विचार छ । अरुले कुरा काट्ने काम नगर, अरु त तिमी बुझ्ने मान्छे मैले के भन्ने ?’ श्रीमानले भने ।

**************************
सरिताले टेलरिङ पसल राखेको यसै महिना हो । छोरा बोर्डिङ पठाएपछि साथीहरुसँगै सिलाई सिक्न जान थालेकी उनी अहिले धेरैजसो लेडिज आइटम सिलाउन जान्ने भइसकेकी छिन् । सँगै सिलाइ सिक्नेहरुमध्ये काम थाल्ने उनी मात्रै हुन् ।

अस्ति सिलाइ भ्याउनुपर्ने लुगा आज जसरी पनि भ्याइदिनुपर्ने छ । उनलाई छिटो लुगा सिउन आउँदैन, बिग्रेला भन्ने डर । भर्खरै १५ दिन त भयो पसल राखेको, ३ महिना तालिम लिँदा कति जानिन्छ र । गर्दै गर्दा जानिएला नि भन्ने आश छ उनलाई ।

शहर बजारका केटीहरु फलानो सिरियलमा जस्तो साडी भन्छन्, उनकोमा टिभी नै छैन, के हेरेर डिजाइन थाहा पाउने ? तैपनि उनलाई कामको खाँचो छैन । विस्तारै सिक्दै गएपछि लुगा सिलाउन आउनेहरु पनि बढ्लान्, आफ्नो पनि कमाइ बढ्ला भन्ने आशमा छिन् सरिता ।

बेलुका भात खाइसक्दा घरको फोनबाट मिसकल आयो । सरिताले कलब्याक गरिन् । ‘हेलो’

‘आमा दर्शन’ सासु रहिछन् ।

‘खै त बाबु ? ’

‘यहीँ छ’ सरिताले छोरालाई फोन दिइन् ।

बाबु सञ्चै छौं ? कहिले आउँछौं त आइँको बुबु खान ? नदेखेको पनि कति भयो दुब्लायो होला मेरो साने, तिम्लाई हाम्रो माया लाग्दैन बाबु ?’

‘मामु हामी घर कहिले जाने ?’ छोराले सोध्यो

‘भोलिपर्सि जाने बाबु’

‘म भोलिपर्सि आउँछु है आमा’ बाबुले उसकी हजुरआमासँग भन्यो ।

छोराले सरितालाई फोन दियो ।

‘आमा हजुरहरुलाई कस्तो छ त ?’ सरिताले सोधिन् ।

‘कस्तो हुनु नि मरौं काल आको छैन’ सासुले भनिन् ‘छोराले पैसाले पठाछ की छैन ?’

५० हजार पठाउनुभाथ्यो, बाबुको भर्ना, कोठाभाडा तिर्दा १५ हजार मात्रै बाँकी छ ।

‘त्यत्रो पैसा सकेर घर कसरी चलाउने हो ? खेतीपाती कसरी लाउने ?’

के गर्ने त आमा छोराको फिस नै चर्को छ, राम्रो स्कुलमा पढाउँदा खर्च पनि धेरै लाग्नी रैछ’ सरिताले भनिन् ।

‘त्यसको बाउलाई पनि हाम्ले त्यसै भनेर पढाको अहिले मलेसिया जानुपर्‍यो जे लेख्या छ त्यही हुन्छ, राम्रो ठाममा पढाएर हुने हो र ?’ सासुले भनिन् ।

‘म बाबुको विदा भएपछि घर आउँछु त्यही बेला बाँकी पैसा ल्याइदिन्छु’ सरिताले कुरा टुंग्याईन् ।

**************************
सरिता दिनभरि पसलमै ब्यस्त हुन्छिन् । उनीसँगै एउटै घरमा बच्चा पढाउन बस्ने साथीहरु उसकै अगाडिको बाटो बजार हिँड्छन् । कहिले केटीहरुको ग्रुपमा कस्मेटिक्स र कपडा पसलमा छिर्छन् । कहिले कोही केटाहरुको मोटरसाइकलमा हुँइकिएका हुन्छन् । उनलाई यस्तो कुरामा चासो पनि छैन । बुढाले कमाएर पठाएको पैसा खर्च नगरी बैङ्कमा जम्मा पारेर राखिदन पाए पछि घर घडेरी जोडौंला र उसलाई पनि यतै कुनै ब्यवसायमा अल्झाउन पाए हुन्थ्यो भन्ने उनको सोचाइ छ ।

उनको पसल नजिकै एउटा होटल छ । होटलवाला केटो उनलाई फिटिक्कै मन पर्दैन, तर उ सरितालाई जिस्क्याउन खोज्छ ।

‘के छ साहुनी ? कति काममात्रै गर्‍या ? हाम्लाई पनि यस्सो केही सिलाइदिए हुने’ उ जिस्कन्छ ।

‘यो लेडिज टेलर्स हो भन्ने थाहा छैन ?’ सरितालाई रिस उठ्छ ।

‘ओ ओ सरी सरी ?’

‘यो साहुनी पनि कम बाठो छ र ?’

‘कति काममा मात्रै घोटिन सकेको, बुढाले पैसा कमा छैन र भन्या ? हिँड कफी खान जाम मेरोमा ?’

‘मलाई कफीसफी खाने फुर्सद छैन । आफैं जाने खाइरहने’ सरिता फेरि रिसाइन् ।

‘कस्तो रिसाको हो साहुनी राम्रो मुखले भन्दा पनि, काम गर्दा दिक्क लाग्या होला कफी खाउँ भनेको पनि नमान्ने ?’ उ अझै जाने सुरमा थिएन ।

‘धेरै जिस्क्याउने हैन है भन्द्याछु, तिमारुको बानी मलाई थाहा छैन र यहाँ घरी घरी डिस्टर्ब गर्न आउने हैन, म अरु जस्तो मान्छे हैन ।’ सरिता झन् रिसाईन् ।

‘लौ लौ तिमारुको बानी मलाई थाहा नभाको हो र ? बुढा बिदेश हुने मान्छे कस्ता हुन्छन् हाम्लाई थाहा छैन र ?’ केटो झोक्किदै गयो ।

सरितालाई दिक्क लाग्यो, कति दिन सहने यस्तो । कहिलेकाँही त उनलाई यहाँबाट पसल अन्तै सारौं जस्तो पनि लाग्छ, यस्ता नकचरा केटाहरु देख्दा ।
**************************
एक दिन बेलुका बुढाको फोन आयो ‘के गर्दैछौं’

सुत्न लागेको ।

बाबु नि ?

निदाइसक्यो ।

के छ त नयाँ खबर ?

सिलाई राखेको आज एक महिना पुगेछ । ७ हजार कमाइ भएछ । सबै कटाउँदा ४ हजार रुपैयाँ नाफा भएछ । एक/दुई महिना पछि त आमा छोरालाई पुग्ने खर्च पसलबाटै निकाल्छु । हजुरले कमाएको पैसा बचत हुने भयो ।

‘आमा सधै कचकच गर्नुहुन्छ, बुहारीलाई सुख कटाइस् हामीलाई दुःखमा पारिस् भन्नुहुन्छ । पैसो पनि बुहारीले मासेर सकी भन्नुहुन्छ’ श्रीमानले भने ।

‘तपाइँलाई त मैले भनि नै सकेँ नि पैसा बैङ्कमा छ । मैले बाबुको स्कुल फिस र अलिअलि अरु खर्च बाहेक चलाएको छैन । अरुका स्वास्नीहरुले झै पैसा मासिदिएको भए झन् के भन्नुहुन्थ्यो होला ? बुढा विदेशमा हुनेहरुको छन् म झैं काम गरेर आफ्नै खुट्टामा उभिन्ने लौ भन्नु त, बा आमाले त भन्नुभयो भन्नुभयो, तपाइँ पनि त्यसै भन्नुहुन्छ’ सरिताले रुन्चे स्वरमा भनिन् ।

‘मैले पनि कुरा नबुझेको कहाँ हो र, यसो केही भन्न पनि नहुने’ बुढा पछि हट्यो ।

‘आमाबालाई पनि पैसाको खाँचो कहाँ छ र ? खेतीपाती लगाउन तपाइँले पठाएको पैसा म लगिदिइहाल्छु, औषधि म जाँदा किनेर लगिदिन्छु । अनि घरमा अरु पैसा किन चाहिन्छ भन्नु त ? बुहारीले सिध्याइ भन्ठान्नु भा होला त्यही भएर तपाइँसँग गुनासो गर्नुभाको नि ?

‘ल ल बेला बेलामा घर गएर काम सघाइदेउ । बाबुको बिदा भएको बेला लिएर जाउ । समको भन्दा ब्याजको माया भन्छन्, बुढाबुढीलाइ नातिनातिनाको चिज हुन्छ क्या ।’ श्रीमानले भने ।
**************************
बाबुको स्कुल बिदा भयो । भोली घर जाने तयारीमा छिन् सरिता । उनले अघिल्लै दिन ससुराका लागि प्रेसर र सासुको दमको ओखती किनिन् २/२ पत्ता । दुई किलो स्याउ किनिन् । सासुलाई मखमली चोलो सिलाइदिइन् जाडोका लागि, ससुरालाई ज्याकेट ।

भोलिसम्म बुझाउनुपर्ने लुगा हतार हतार गरेर सिउँदैछिन् । घर गएपछि २/३ दिन बस्नु परिहाल्यो । दुई जना केटीहरु पसलमा आए ।

‘दिदी कुर्ता सिलाइदिन भ्याउनुहुन्छ ?’

‘कहिलेलार्इ चाहिने ?’

‘भ्याए भोली नै ।’

‘म त अहिले घर जान लागेको ३ दिन बस्छु होला के गर्ने त ?’

‘आ.. होस् अन्त कहाँ जाने, यो डिजाइन पनि छ यही हेरेर सिलाइदिनु ।’

सरिताले उनीहरुको शरीर नापजाँच गरिन्, अनि कपडाको बीचमा कुर्ताको डिजाइन छापिएको पत्रिकाको कटिङ पनि राखिन् ।

‘पर्सि आएपछि पहिलोचोटी तपाइँकै सिलाइदिन्छु है ।’

हुन्छ भन्दै गए उनीहरु ।
**************************
बिहान उठेर घर हेर्दा दिक्क लाग्यो सरितालाई, पिँढी भत्किएको छ, आँगनभरि झार पलाएको छ । बरण्डाको कठबारमा धमिरा लागेको छ । कतै कठबारको फलेकहरु झरेका छन् । बसाइँ गएको घर जस्तो लाग्यो उनलाई ।

सासु ससुरा बुढाबुढी भए । सधैं लिपपोत बढारकुँढार गर्न सक्दैनन् उनीहरु । घरमा अरु त को छ त सरसफाई र स्याहार संम्भार गर्ने ?

सबै कोठा, बरण्डा र तला बढारकुँढार गरिन् । पिँढी सबै लिपिन् । आँगनको झार सबै खुर्किईन् । घर त दशैंमा सिँगारेको जस्तो बनाइन् उनले ।

बाबु आँगनमा यता उति दौडियो, बारीतिर गएर बेलौती टिपेर खायो । ससुराले नास्पाती ताछेर चाना बनाएर दिए । उसले खुशी हुँदै खायो । उनलाई सदरमुकाम भन्दा घरमै रमाइलो भइरहेको थियो । भात भन्दा भैंसीको दूध धेरै खायो । बिहानभरि नास्पाती र बेलौती खाएर होला भात खानै मानेन । घिउ हालिदिएपछि अलिकति खायो ।

हजुरआमाले घिउ थपीथपी एक कचौरा भात खुवाइन् । सदरमुकाममा तरकारीसँग पटक्कै भात खान मान्दैनथ्यो । बजारमा किनेको दूध पनि मिठो भएन भन्थ्यो । सासु ससुराले खुब माया गरे ।

सरितालाई घर सफा गर्न दिनभरि लाग्यो । भैंसीको थलो पनि त्यस्तै फोहोर, गोठभरि भकारो थियो, भैंसी हिलाम्मै थियो । सरिताले सबै सोहोरेर गोठमुनि फालिन् । सोत्तर ल्याएर ओछ्याइदिइन् । भैंसीले उनलाई हेरिरह्यो । आज त तिमीले यस्तो राम्रो बनाइदियौं भोलिदेखि कसले सफा गरिदिन्छ मेरो थलो भनेर सोधेको जस्तो लाग्यो उनलाई ।

भोलिपल्ट उनी सदरमुकाम फर्कने तयारीमा लागिन् । फूल उठ्ने मकै भुट्न थालिन् । दाल पिँधिन्, भटमास गेडागुडीहरु तयार पारिन् । घरबाट यी सामान लैजाँदा तरकारी र खाजाको काम गर्थ्यो उनलाई ।

‘म त बजार जान्न मामु’ एक्कासी छोराले भन्यो ।

‘हुन्न हुन्न पर्सि स्कुल नगए त मिसले बाबुलाई पिट्नुहुन्छ फेरि’ सरिताले भनिन् ।

सासुले पनि बाबुलाई उकासिन् ‘हुन्छ हुन्छ बाबु यहीँ बस्ने बुबु माम खानी यही बस्ने है ?’

भोलिपल्ट सदरमुकाम फर्किने बेला पनि बाबु रोइरह्यो । बाजे बज्यैले पनि मुख अध्याँरो बनाए । बुढेसकालमा उनीहरुलाई पनि नाती नातिना खेलाउने रहर थियो । बुहारीले आफ्नो त्यो रहरमा बाधा हालेकोमा बुहारीप्रति खुशी थिएनन् ।

सरितालाई पनि सासु ससुराबाट छुटाएर बाबुलाई सदरमुकाम लैजानुपरेकोमा नरमाइलो लाग्यो । त्यसमाथि रोएको रोयै छ । तर सुन्दर भविष्यको आशामा डाँको छोड्दै गरेको छोरो बोकेर उनी सदरमुकामतिर लागिन् ।

(स्रोत  :- Ujyaalo Network )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.